21st February | 2020 | Friday | 12:54:21 PM

बंगालमा आँधीको आपत्, लाखौं मानिस स्थानान्तरण

हिमालय टाइम्स   POSTED ON : कार्तिक २५, २०७६ (९:३७ AM)

बंगालमा आँधीको आपत्, लाखौं मानिस स्थानान्तरण

ढाका । बुलबुल नामक समुद्री आँधी बंगालको खाडीमा आइपुग्दा भारत र बांगलादेशका बीस लाखभन्दा बढी मानिसलाई स्थानान्तरण गरिएको छ । उक्त आँधीले शनिबार मध्यरातमा भारतको सागर टापु नजिकै पश्चिम बंगालको जमिनलाई छोएको थियो । त्यसले समुन्द्रमा सात फिटसम्म अग्लो छाल ल्याउने अनुमान गरिएको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार आँधीका कारण दुई मानिसहरूको ज्यान गइसकेको छ । पश्चिम बंगाल क्षेत्रका थुप्रै समुद्री बन्दरगाह र विमानस्थलहरूको सेवा अवरूद्ध भएको छ । जसमा व्यस्त कोलकाता विमानस्थलसमेत छ । बुलबुलको मार्गमा पर्ने सुन्दरवन संसारकै प्रख्यात जंगल हो जहाँ खतरामा परेका बंगाल टाइगर प्रजातिका बाघको बसोवास छ । 

बंगलादेशको दुई ठूला समुद्री बन्दरगाहहरू मोङ्ला र चित्तगङलाई बन्द गरिएको छ भने चित्तगङ विमानस्थलमा उडानहरू रद्द गरिएका छन् । बांगलादेशको विपत् व्यवस्थापन निकायका सचिव शाह कमलले समाचार संस्था एएफपीलाई बताएअनुसार ५,५०० मानिसहरूलाई सुरक्षित आश्रयस्थल लगिएको छ । मौसम पूर्वानुमान अधिकारीहरूले उक्त आँधी उत्तरतर्फ बढ्दै जानेक्रममा बिस्तारै कमजोर हुने बताएका छन् । बंगलादेशको मौसम विभागका अनुसार बुलबुल आँधीका बेला वायुको गति करिब १२० किलोमिटर प्रतिघण्टा पुग्नेछ भने समुद्रमा उच्च छाल आउनेछ ।

हजारौँ स्वयंसेवीहरूले घरघरै पुगेर आँधीबारे नागरिकहरूलाई सतर्क गराइरहेका छन् । भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले आँधीले जमिनमा नहान्दै एउटा ट्वीटमार्फत ‘नआत्तिन’ आग्रह गरेकी थिइन् । बंगलादेशमा यसअघि पनि आँधी आउँदा हजारौँ मानिसले ज्यान गुमाएका थिए तर पछिल्ला वर्षहरूमा पूर्वतयारी गर्दा ज्यान गुमाउनेको संख्या निकै घट्न पुगेको छ । आँधीको पूर्वसूचना प्रणालीमा सुधार गरिएको छ जसले अधिकारीहरूलाई मानिसहरू प्रभावित हुने ठाउँबाट हटाउन समय मिल्ने गरेको छ । आँधीबाट प्रभावित हुनेहरूका लागि शिविरहरू पनि बनाइएको छ 

स्थानीय अधिकारीहरूले शिविरबाहेक विद्यालय भवन र मस्जिदलाई पनि मानिसहरू उद्घार गरेर राख्ने ठाउँका रूपमा प्रयोग गर्न आदेश दिइएको बताएका छन् । बुलबुल आँधी समुद्रमा उत्पन्न भएसँगै बंगलादेशमा यसका प्रभाव कम गर्ने प्रयास थालिएको थियो । बंगलादेशमा शुक्रबारदेखि नै मानिसहरूलाई सुरक्षित स्थानतर्फ जान सरकारले आहृवान गरेको थियो भने उद्धारकर्ताहरूलाई तयारी आवस्थामा राखेको थियो । 


Views: 77