18th January | 2020 | Saturday | 5:27:34 PM

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

रासस/सिन्हृवा   POSTED ON : कार्तिक २८, २०७६ (९:५४ AM)

नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा अहिलेसम्मकै बढी

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा वायु प्रदूषणको मात्रा झनै बढेको स्वास्थ्य एवं मौसम क्षेत्रका अधिकारीले जनाएका छन् । बुधबार बिहान नयाँ दिल्लीको आकासको वायुमा अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषित कण भेटिन पुगेको उनीहरूको भनाइ रहेको यहाँका सञ्चारमाध्यमले जनाएका छन् । 

प्राप्त जानकारीअुनसार बुधबार यहाँको वायु प्रदूषणको मात्रा अघिल्ला दिनहरूका तुलनामा बढेको र हावाको प्रदूषण मापन गर्ने मापदण्ड एयर क्वालिटी इण्डेक्स, एक्युआई बढेर ५०० पुगेको बताइएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी प्रदूषण हो । एक्युआई ५०० पुग्नु भनेको हावामा प्रदूषित वस्तुको मात्रा अति खराबरूपमा रहनु हो । हरियाणा राज्यको नजिक रहेको गुरुग्राम भन्ने नगर र उत्तर प्रदेश राज्यको छिमेकी नगर नोइडाको वायुमा रहेको प्रदूषणको मात्रा यति धेरै पुगेको ती समाचारमा बताइएको छ । 

बुधबार बिहान यी दुई नगरमा लिइएको मापनमा यस्तो अवस्था रहेको स्वास्थ्य तथा वातावरण क्षेत्रका अधिकारीले जनाएका छन् । उक्त मापनअनुसार ० देखि ५० सम्म एक्युआइलाई राम्रो मानिन्छ भने ५० देखि १०० लाई सन्तोषजनक मानिन्छ । त्यसैगरी १०० देखि २०० सम्मलाई मध्यम र २०० देखि ३०० एक्युआइलाई कमजोर मानिन्छ । त्यसैगरी ३०० देखि ४०० सम्म एक्युआइलाई अतिकमजोर र ४०० देखि ५०० एक्युआइलाई कडा अर्थात् एकदमै खराब मानिन्छ । अनि ५०० भन्दा बढी एक्युआई भयो भने त्यसलाई संकटकालीन अवस्थाका रूपमा लिनुपर्ने हुन्छ । यस्तो अवस्थामा कुनै पनि देशको सरकारले ती क्षेत्रमा संकटकालीन अवस्थाको घोषणा गर्नुपर्ने हुन्छ । वायु प्रदूषणको यस्तो अवस्थाका कारण यहाँको जनजीवन थप अप्ठ्यारोमा पर्न थालेका समाचार आइरहेका पनि समाचारमा जनाइएको छ । 

नयाँ दिल्ली र यहाँको वरपरको बस्तीसमेतमा समस्या देखिन थालेको छ । विगतका केही हप्तादेखि नै यहाँ सडक र वरपरका क्षेत्रका निर्माण कार्य ठप्प छन् भने अरू दैनिक आवश्यकताका वस्तुको परिपूर्तिसमेत अप्ठ्यारो परिरहेको छ । भारतको राजधानी नयाँ दिल्लीमा अघिल्ला वर्षजस्तै यसपटक पनि चिसो मौसमको सुरुमै दिल्लीको आकाशको मौसममा खराबी देखिन थालेको हो । यहाँकोे वायु प्रदूषित भएकोले उत्पन्न स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालय पनि बन्द गरिएको बताइएको थियो । यसका कारण बालबालिकालाई बढी असर पर्ने बताइएको छ । उनीहरूमा फोक्सोमा असर पार्ने भन्दै विद्यालय बन्द गरिएको हो । 

त्यसैगरी सबै नागरिकलाई पनि स्वासप्रस्वासका साथै मुटुमा पनि समस्या उत्पन्न हुनसक्ने भन्दै गम्भीर स्वास्थ्य खतरा देखिएको बताइएको छ । यस मौसममा नयाँ दिल्लीको आकाशमा सवारीसाधनको धुवाँ र धुलो, औद्योगिक उत्पादनका कारण उत्पन्न प्रदूषण, कृषिजन्य उद्योगबाट निस्किएको प्रदूषित मात्राका कारण यहाँको वायु प्रदुषित हुने गरेको बताइएको छ । नयाँ दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरिवालले यस प्रदूषणका कारण परिस्थिति अत्यन्तै खतरनाक भएको भन्दै वायु प्रदूषण हटाउन आवश्यक पहल गरिएको बताएका छन् । दिल्लीको हावामा प्रदूषित हावाका कणको स्तर विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा २० गुणासम्म बढी भेटिएको स्वास्थ्य अधिकारीले जनाएका छन् । 

विश्व स्वास्थ्य संगठनले बनाएको मानकभन्दा नयाँ दिल्लीको आकासमा बढी मात्रामा वायु प्रदूषण हुनलागेको धेरै वर्ष भएको यहाँका अधिकारीले जानकारी दिएका छन् । यहाँका मौसमविद्ले पनि प्रदूषण अत्यन्त बढेका कारण त्यहाँको जनजीवन निकै कष्टकर बन्दै गएको बताएका छन् । नयाँ दिल्लीको जनसंख्या ४ करोड ५० लाख रहेको छ । भारतीय राजधानी शहर नयाँ दिल्लीको प्रदूषण नियन्त्रण गर्न यहाँको सरकारलाई निकै सकस परिरहेको छ । नयाँ दिल्ली सरकारले राष्ट्रिय राजधानी नयाँ दिल्लीमा केही दिन यतादेखि यातायातका साधनमा जोरबिजोर प्रणाली लागु गरेको छ । सवारी साधनबाट हुने प्रदूषणको मात्रालाई रोक्न यस्तो नियम बनाएको भए पनि यसबाट प्रदूषण घट्न नसकेको बताइएको छ । यातायातका साधनबाट निस्किने धुवाँ, अत्यधिक यातायातको चाप र आवागमनका कारण उडेको धुलोका कारण भारतको राजधानी दिल्लीमा वायु प्रदूषण भएको भन्दै राज्य सरकारको यो निर्णय आएको हो 


Views: 56