18th January | 2020 | Saturday | 4:53:49 PM

२१ वर्षदेखि मृत्युदण्डको पर्खाइमा

बीबीसी   POSTED ON : मंसिर २, २०७६ (९:५१ AM)

२१ वर्षदेखि मृत्युदण्डको पर्खाइमा

वासिंटन्  । अमेरिकाको टेक्सस राज्यस्थित एउटा अदालतले हत्याको अभियोगमा दोषी ठहर भएर २१ वर्षअघि सजाय सुनाइएका एक व्यक्तिको मृत्युदण्ड अन्तिम समयमा रोकिदिएको छ । 

सन् १९९६ मा एउटी युवतीको हत्या गरेको भन्दै रोड्नी रिडलाई मृत्युदण्डको फैसला सुनाइएको थियो। उनलाई त्यति बेलादेखि नै मृत्युदण्डको पालोमा राखिएको थियो । उनलाई आगामी नोभेम्बर २० मा विषालु सुई दिएर मृत्युदण्ड दिने योजना थियो । उनलाई मृत्युदण्ड दिने कुराले अमेरिकामा ठूलो चासो व्यक्त भएको थियो । 

२९ लाखभन्दा बढी मानिसले उनलाई क्षमादान दिन याचना गरेका थिए । विभिन्न चर्चित व्यक्तिले पनि उनको जीवनरक्षाका लागि बोलेका थिए । रिडले आफू निर्दोष भएको बताउँदै आएका छन् । उनका वकिलका अनुसार नयाँ प्रमाणहरूले उनले अपराध नगरेको पुष्टि गर्छन् । रिडलाई सुनाइएको मृत्युदण्ड १२० दिन थाँती राखिने निर्णय टेक्सस बोर्ड अफ पार्डन्ज एन्ड परोल्जले गरेको छ । तर मृत्युदण्डको सजायलाई आजीवन कारावासमा परिवर्तन गर्न उनले गरेको निवेदनलाई उक्त बोर्डले अस्वीकार गरिदिएको छ । 

मृत्युदण्ड तत्काल कार्यान्वयन नहुने जानकारी पाउँदा रिड प्रख्यात टेलिभिजनकर्मी किम कार्ड्याशिअन वेष्टसँग भेट गर्दै थिए । आफ्नो इन्स्टाग्राम खातामा किम कार्ड्याशिअन वेष्टले त्यो सूचना पाउँदा देखिएको सन्तोष र आशा शब्दमा वर्णन गर्न नसकिने उल्लेख गरेकी छन् । रिडको मुद्दामा संलग्न इनसन्ट प्रोजेक्ट नामक संस्थाले अदालतको निर्णयको स्वागत गरेको छ ।

अप्रिल २३ को बिहानै १९ वर्षीया स्टेसी स्टाइट्सले काममा पुगिसक्नुपर्ने थियो । तर अस्टिननजिकै रहेको उक्त किराना पसलमा उनी पुगिनन् । केही घण्टापछि उनले चलाएको ट्रक बेवारिसे अवस्थामा भेटियो । दिउँसो उनको शव फेला प¥यो । उनकै पेटी प्रयोग गरी घाँटी थिचेर उनको हत्या भएको थियो ।

अनुसन्धानकर्ताले उनको योनिमा अतिन्यून मात्रामा वीर्य भेटिएको बताएका थिए । त्यो वीर्य रिडको रहेको खुलेको थियो । यौन दुव्र्यवहारसम्बन्धी एउटा फरक मुद्दामा परिसकेका कारण प्रहरीसँग उनको डीएनए थियो । त्यो पुरानो घटनामा उनी निर्दोष साबित भएका थिए । रिडले स्टाइट्ससँग आफ्नो गोप्यरूपमा सम्बन्धमा रहेको दाबी गरेका थिए ।

स्टाइट्सले प्रयोग गरेको ट्रकमा रिडको औँठाछाप फेला परेको थिएन । शुक्राणुका कारण उनीविरुद्ध मुद्दा चलाइएको थियो । हत्याको एक दिनअघि आफूहरूबीच सहमतिमै यौन सम्पर्क भएको उनले बताएका थिए । तर सुनुवाइका क्रममा विज्ञहरूले उनीप्रतिकूल बयान दिए । स्टाइट्सको शरीरमा त्यति लामो समयसम्म शुक्राणु रहन नसक्ने तर्क उनीहरूको थियो । 

उनीहरूले स्टाइट्सको बलात्कार गरिएको र त्यसपछि हत्या भएको हुनसक्ने आफूलाई लागेको बताएका थिए । त्यसैका आधारमा अश्वेत वर्णका रिडलाई दोषी ठहर गरिएको थियो । मुद्दा हेर्ने जुरीका सबै सदस्य श्वेत वर्णका थिए ।

रिडका वकिलले अहिले नयाँ प्रमाण पेस गरेका छन् । पहिला विज्ञका रूपमा साक्षी बसेका डा. रोबर्टो बायार्डोले एउटा विज्ञप्तिमा मृत्यु भएको केही दिनसम्म योनिमा शुक्राणु जीवित रहन सक्ने आधार देखिएको बताएका छन् । त्यसैले स्टाइट्स र रिडबीच सहमतिमा यौन सम्पर्क भएको भन्नुबाहेक अन्य कुराको प्रमाण नपुग्ने उनले बताएका छन् । 

स्टाइट्सको एक पूर्वप्रहरी जिमी फेनलसँग विवाह हुन कुरा छिनिएको थियो । तर अहिले केही साक्षीहरूले ती दुईको सम्बन्धबारे आफूले देखेको कुरा भन्न थालेका छन् । एउटी महिलाका अनुसार फेनलले यदि आफ्नी प्रेमिकाले धोका दिएको थाहा पाए घाँटी थिचेर मारिदिने बताउने गरेका थिए । एउटा बीमा कम्पनीका प्रतिनिधिले पनि आफूसँग फेनलले त्यस्तै कुरा गरेको बताएका छन् ।

स्टाइट्सको अन्तिम संस्कारमा सहभागी हुन गएका फेनलले उनको शव हेर्दै आफ्नो कर्मको फल पाएको आशय व्यक्त गरेको आफूले सुनेको ती साक्षीले बताएका छन् । पछि फेनल अर्की महिलाको अपहरण र यौन शोषण गरेको अभियोगमा जेल परे । 

उनी सन् २०१८ मा रिहा भए । उनीसँग जेलमा बसेका एक व्यक्तिलाई अहिले नयाँ साक्षीका रूपमा प्रस्तुत गरिँदैछ । जेलमा हुँदा फेनलले आफ्नी प्रेमिकाले अर्का पुरुषसँग सम्बन्ध राखेका कारण हत्या गरेको आफूलाई बताएको उनको दाबी छ । तर फेनलका वकिलले भने उक्त दाबी असत्य भएको बताएका छन् । उनका अनुसार ती साक्षी पेसेवर अपराधी भएको र उनले आफू जोगिन खोजेको बताएछ छन् ।


Views: 88