13th December | 2019 | Friday | 3:36:47 PM

राज्यहरूमा वर्चस्व गुमाउँदै भाजपा

बिबिसी   POSTED ON : मंसिर १६, २०७६ (११:२३ AM)

राज्यहरूमा वर्चस्व गुमाउँदै भाजपा

नयाँ दिल्ली  । मार्च २०१८ सम्म बिजेपीको भारतको २१ राज्यमा सरकार थियो । केही राज्यमा बिजेपी एक्लैले सरकार गठन गरेको थियो भने केही राज्यमा अन्य दलको सहयोगमा सरकार गठन गरेको थियो । सन् २०१४ मा भाजपा नेता आम निर्वाचनको कमाण्डर र भावी प्रधानमन्त्रीका रूपमा पर्दामा देखिएपछि उनले नारा लगाएका थिए कांग्रेस मुक्त भारत । उनी त्यो चुनाव जित्न सफल पनि भए । र त्यसपछिका प्रदेश चुनावहरूमा भाजपा जित्दै पनि गयो । उनले भनेजस्तो कांग्रेसमुक्त भारत बन्ने अवस्थामा पुग्यो । तर, पछिल्लो एक वर्षमा नतिजा उल्टिँदै आएको छ । जब कि उनले २०१९ को आम निर्वाचनमा प्रचण्ड बहुमत पाएका छन् । तर, प्रदेशहरूमा भने पकड गुमाउँदै गएको छ भाजपा ।

२०१९ मा जम्मु–कश्मीरलाई दुई केन्द्र शासित राज्यमा विभाजन गर्नु पूर्व भारतमा कुल २८ राज्य थिए । महाराष्ट्रमा एनसिपी, शिवसेना र कांग्रेसले सरकार बनाएपछि बिजेपी अर्को एक राज्यबाट सरकार बाहिर भएको छ । २०१८ को विधानसभा चुनावमा मध्य प्रदेश, राजस्थान र छत्तिसगढमा हारेपछि महाराष्ट्र बिजेपीका लागि पछिल्लो झट्का हो । कुनै एक राजनीतिक दलका लागि देशका यति धेरै राज्यमा सरकार हुनु पहिलोपटक भने होइन । १९९३ मा पनि कांग्रेसको देशका २६ मध्ये १६ राज्यमा सरकार थियो । ती मध्ये १५ राज्यमा कांग्रेस एक्लैले सरकार बनाएको थियो । २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी सत्तामा आउनु पहिला भारतीय जनता पार्टीको सात राज्यमा मात्रै सरकार थियो । मार्च २०१८ बिजेपीले आफ्नो रफ्तार बढाउँदै २१ राज्यमा सरकार गठन गर्न सफल भयो । अर्थात् चार वर्षमा तीन गुणा विस्तार गर्यो । 

२०१५ मा जम्मु–कश्मीरमा सरकार बनाउनका लागि बिजेपीले पिडिपीसँग हात मिलाएको थियो । यो चुनावमा पिडिपी २८, बिजेपी २५, नेशनल कन्फ्रेन्स १५ र कांग्रेसले १२ सिट जितेको थियो । राज्यमा कुल ८७ सिटको विधानसभा थियो । पञ्जाबलाई छोडेर पूरै उत्तर भारतमा बिजेपीले आफ्ना सहयोग दलसँग मिलेर सरकार गठन गरेको पहिलोपटक थियो । तर बिजेपीको विजयरथ २०१८ देखि रोकिन सुरु भयो । जब कर्नाटकमा कांग्रेस गठबन्धनले सरकार बनायो । यद्यपि उक्त सरकार धेरै दिन टिकेन । र, फेरि केही समयपछि बिजेपीले फेरि राज्यमा सरकार बनायो । महाराष्ट्रको ताजा नजितापछि के स्पष्ट भएको छ भने बिजेपी र उसका सहयोगी दलको राज्यमा पकड कमजोर भइरहेको छ । यद्यपि, एक वर्षमा बिजेपी जुन राज्यमा सत्ताबाट बाहिरिएको छ, त्यो संख्या धेरै होइन । तर, के कुरालाई पनि अस्वीकार गर्न सकिँदैन भने बिजेपी देशका ठूला राज्य महाराष्ट्र, राजस्थान र मध्यप्रदेशमा पराजित भएको छ ।

यी यस्ता राज्य हुन्, जहाँ बिजेपी र उसका सहयोगी दलको पकड बलियो थियो । यी राज्यको जनसंख्या पनि अन्य राज्यको तुलनमा धेरै छ । २०११ को जनगणनानुसार २०१८ मा बिजेपीले जुन–जुन राज्यमा सरकार बनाएको थियो, त्यहाँको कुल जनसंख्या करिब ८४ करोड थियो । अर्थात् देशको कुल जनसंख्याको ७० प्रतिशत । पछिल्लो निर्वाचनमा पराजय भएपछि बिजेपीको राज्य सरकार देशको कुल जनसंख्याको ४७ प्रतिशत जनसंख्यामा शासन गरिरहेको छ । अर्थात् २०१८ देखि करिब २३ प्रतिशत गिरावट आएको छ । अब सबैको नजर डिसेम्बरमा हुने झारखण्ड निर्वाचनमा छ । जहाँ बिजेपी फेरि सत्तामा फर्किने कोसिसमा छ ।


Views: 48