27th January | 2020 | Monday | 6:44:46 AM

बलात्कृत महिलालाई अदालत लैजाँदै गर्दा जलाइयो

बिबिसी   POSTED ON : मंसिर २०, २०७६ (१०:४२ AM)

बलात्कृत महिलालाई अदालत लैजाँदै गर्दा जलाइयो

नयाँ दिल्ली । एक २३ वर्षीया ‘बलात्कार पीडित’ महिलालाई अदालत जाँदै गर्दा आगो लगाइएपछि उनी बाँच्नका लागि उत्तरी भारतस्थित एउटा अस्पतालमा सैघर्ष गरिरहेकी छन् । उत्तर प्रदेशमा गत मार्च महिनामा आफूलाई दुईजनाले बलात्कार गरेको आरोप लगाएकी ती महिला सो मुद्दाको बहस सुन्न अदालत जाँदै थिइन् । 

आगोका कारण गम्भीर घाइते ती महिलाको अस्पतालमा उपचार भइरहेको बताइएको छ । एक वरिष्ठ प्रहरी अधिकृतले बिबिसीलाई सो घटनामा संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरिएको बताएका छन् । पक्राउ गरिएकामध्ये एकजना केही महिनाअगाडि भएको बलात्कारको अर्को घटनाका पनि आरोपित हुन् । स्थानीय सञ्चारमाध्यमका अनुसार ती महिलालाई रेल्वे स्टेशन जाँदै गर्दा आरोपितहरूले कुटपिट गरेका र नजिकैको खेतमा तानेर लगेका थिए । उन्नाओ जिल्लामा भएको सो घटनाको भारतभरि विरोध भइरहेको छ ।

केही दिनअघि भारतमा दक्षिणी शहर हैदराबादमा एक २७ वर्षीया महिला पशुचिकित्सकको बलात्कार र हत्या भएको थियो । गत बुधबार साँझ स्थानीय समय ६ बजेतिर ती महिला आफ्नो स्कुटरमा डाक्टरकहाँ जाने भन्दै घरबाट निस्किएकी थिइन् । पछि उनले आफ्नो स्कुटर पञ्चर भएको, र एक ट्रक ड्राइभर मद्दत गर्न अघि सरेको जानकारी परिवारलाई फोनबाट दिएकी थिइन् । त्यसको केही समयपछि उनलाई फोनमा सम्पर्क गर्ने प्रयास विफल भयो । बिहीबार बिहान उनको मृत शरीर सडकको ‘फ्लाइओभर’ मुन्तिर एक दूध व्यापारीले भेटेका थिए । 

डाक्टर बलात्कारपछि हत्या भएको घटनाले पूरा भारतभर आक्रोश उत्पन्न गराएको छ । भारतीय संसद्मा पनि यो विषयमा कुरा उठेको छ । भारतीय सांसद जया बच्चनले बलात्कारका दोषीमाथि कडा सजाय हुनुपर्ने माग संसद्मा गरेकी थिइन् । त्यस्तै सो प्रकरणका आरोपीका अभिभावकहरूले आफ्ना छोराहरू दोषी भए फाँसी दिनुपर्नेसमेत बताएका छन् । 

सन् २०१२ को डिसेम्बरमा राजधानी दिल्लीमा एक महिलाको बसभित्र सामूहिक बलात्कार र हत्या भएयता भारतमा महिलाविरुद्धका यौन हिंसा चर्चाको केन्द्रमा रहँदै आएका छन् । तर, त्यस्ता हिंसाका घटना कम भएका संकेत देखा परेका छैनन् । अपराधबारे पछिल्ला सरकारी आँकडामा सन् २०१७ मा भारतभरि प्रहरीले ३३,६५८ बलात्कारको घटना अर्थात् प्रतिदिन ९२ रेकर्ड गरिएको उल्लेख छ । 


Views: 133