24th February | 2020 | Monday | 7:03:23 AM

नरिवलको रक्सीले ८ को मृत्यु, सयौँ अस्पताल भर्ना

रासस/एएफपी   POSTED ON : पुष ८, २०७६ (१०:०५ AM)

नरिवलको रक्सीले ८ को मृत्यु, सयौँ अस्पताल भर्ना

मनिला । नरिवलको रक्सी सेवन गर्दा फिलिपिन्समा कम्तीमा आठजनाको मृत्यु भएको छ । रक्सीकै कारण बिरामी भएका अरू सयौँजना अस्पताल भर्ना भएका अधिकारीहरूले सोमबार जानकारी दिएका छन् । उनीहरूले सेवन गरेको रक्सीमा ‘मेथनल’ भन्ने पदार्थ अत्यधिक भएकाले असर गरेको हुन सक्ने विश्वास गरिएको छ । 

राजधानी मनिलादेखि दक्षिणपूर्वी क्षेत्रमा पर्ने रिजाल भन्ने ठाउँमा भएको हप्तान्त भेलामा सहभागी भएर रक्सी सेवन गरेकाहरू मध्ये केहीको मृत्यु भएको र केही बिरामी भएका हुन् ।  रक्सी सेवन गरेपछि उनीहरूले सुरुमा पेट दुखेको बताएका थिए । बिरामी भएका मध्ये नौजनाको अवस्था गम्भीर रहेको राजधानी मनिलास्थित फिलिपिन्स जनरल अस्पतालका प्रवक्ता जोसे जोनास डेल रोसारिओले जानकारी दिए । रक्सी सेवनका कारण बिरामी भएका ३ सयजना अस्पतालमा भर्ना भएका उनले बताए । उनीहरू सबैको बिरामीको कारण एउटै देखिएको चिकित्सकहरूको भनाइ छ ।  

क्रिसमसको अवसरमा अत्यधिक माग हुने यस रक्सीको बेचबिखन, वितरण र सेवनमा प्रतिबन्ध लगाउन स्थानीय सरकारले आदेश दिएको छ । बजारमा बिक्री वितरणका लागि पाइने नरिवलको अधिकांश रक्सी स्थानीय बासिन्दाले नै बनाउने गर्दछन् । रक्सी बनाउने अधिकांश स्थानीय बासिन्दा पछडिएका समुदायका हुने गरेका छन् । पछडिएका अशिक्षित समुदायले बनाउने यसप्रकारको रक्सीमा गुणस्तर राम्रो नहुने गरेकाले धेरै उपभोक्ता बिरामी हुने गरेको चिकित्सकहरूको भनाइ छ ।


Views: 77