24th February | 2020 | Monday | 9:23:15 AM

वर्षान्त सन् २०१९ : चर्चित १९ घटना

जीवन भण्डारी /रासस   POSTED ON : पुष १४, २०७६ (१०:०२ AM)

वर्षान्त सन् २०१९ : चर्चित १९ घटना

वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरू नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनाए । सन् २०१९ का चर्चित १९ घटनालाई यहाँ छोटकरीमा स्मरण गरिएको छ ।  

१. भेनेजुएलाको पक्ष विपक्षमा विश्व विभाजित   

सन् २०१९ को सुरुवात भेनेजुएलाको राजनीतिक संकटबाट भएको थियो । जनवरीमा २३ मा भेनेजुएलाको राष्ट्रिय सभाका प्रमुख ३५ वर्षीय हुँवा गुएइदोले आफैँलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि विश्व समुदाय विभाजित भयो । राष्ट्रपति निकोलस मदुरोलाई निर्वाचित गरेको निर्वाचन निष्पक्ष नभएको भन्दै उनले मदुरो अवैध राष्ट्रपति भएको तर्क गर्दै आफैँलाई राष्ट्रपति घोषणा गरेका थिए । गुएइदोको घोषणापछि चीन, रुससहितका केही ठूला देश र टर्की, क्युबा, बोलिभिया, उरुग्वे, मेक्सिकोसँगै इरान र उत्तर कोरियालगायतका देशले ५६ वर्षीय मदुरोको समर्थन गरेका थिए भने अमेरिका, युरोपेली राष्ट्रहरू, ब्राजिल, कोलम्बिया, अर्जेण्टिना, अष्ट्रेलिया, इजरायललगायत झण्डै ५० देशले गुएइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएका थिए ।

२. बेलायतमा ब्रेक्जिट सम्झौताको पक्षमा जनमत 

बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कञ्जरभेटिभ्सले संसद्को निर्वाचनमा बेलायतलाई युरोपेली संघ (इयू) बाट बाहिर निकाल्ने जनादेशसहितको बहुमत पाएको छ । हाउस अफ कमन्सका ६ सय ५० स्थानमध्ये घोषणा गरिएका ६ सय स्थानमा जोनसनको कञ्जरभेटिभ्स पार्टीले ३ सय २६ स्थानमा विजय प्राप्त गरेको छ । उनले आगामी जनवरी ३१ मा बेलायतलाई इयूबाट अलग्याउने गृहकार्य गरेका छन् । 

३. सम्बन्ध सुधार्ने प्रयासमा अमेरिका र उत्तर कोरिया  

एक अर्कालाई प्रमुख दुश्मन ठान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१९ मा उल्लेख्य प्रगति नभए पनि शीर्ष नेताको दुई बैठक भयो । अघिल्लो वर्षको जुन १२ का दिन सिंगापुरमा पहिलोपटक अँगालो हालेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किमजोन उनले यस वर्ष दुईपटक शिखर बैठक गरे । दोस्रो बैठक फेबु्रअरी २७ र २८ मा भियतनाममा भयो भने तेस्रो बैठक दुई कोरियाबीचको सिमानामा जुलाई १ मा भयो । दुवै बैठक ठोस उपलब्धिमूलक नभए पनि द्विपक्षीय सम्बन्धमा दरार नहुनुलाई नै सन्तोषका रूपमा हेरिएको छ ।  

४. बाढी र रोगबाट सयौँको मृत्यु 

बाढीका कारण भारतको केरला, कर्नाटक, गुजरात र महाराष्ट्र गरी ३ सयभन्दा बढीको मृत्यु भयो । भारतकै विहारमा फैलिएको इन्सेफ्लाइटिस् रोगका कारण १ सय ६१ भन्दा बढीले ज्यान गुमाए । अष्ट्रेलियामा यसवर्ष फ्लुका कारण २ सय २० जनाभन्दा बढीको मृत्यु भयो ।  

५. आन्दोलनमा सयौँ मारिए 

सुडानमा भएको आन्दोलनका क्रममा १०८ जनाको मृत्यु भयो भने इराकमा झण्डै सयजना आन्दोलनकै क्रममा मारिएका छन् । अफ्रिकी अन्य देशहरूमा पनि बेरोजगारी बढेको, आधारभूत सेवाबाट आम जनता विमुख रहेको तथा सरकारमा भ्रष्टाचार बढेको भन्दै भइरहेका आन्दोलनमा परी सयौँको मृत्यु भएको छ ।  

६. बेलायतमा कण्टेनरभित्र ३९ जनाको शव 

बेलायतको एसेक्सस्थित वाटरग्लेड औद्योगिक क्षेत्रको पूर्वी सडकमा राखिएको एउटा लरीको कण्टेनरभित्र ३९ वटा शव फेला परेका छन् । शवमध्ये ३८ जना वयस्क र एक जना किशोरको रहेको परीक्षणबाट पुष्टि भएको थियो । उनीहरू सुरुमा चिनियाँ नागरिक भनिए पनि पछि भने भियतनामी भएको अधिकारीहरूले बताएका थिए ।  

७. राहुल गान्धीको राजीनामा 

भारतीय कांग्रेस पार्टीका अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिए । लोकसभा चुनावमा नराम्रोसँग हार व्यहोरेपछि राहुलले पदबाट राजीनामा दिए । उनलाई राजीनामा नदिन शुभेच्छुकहरूले दबाब दिए पनि उनले मानेनन् । उनको अडानका कारण पार्टीका पूर्व अध्यक्ष तथा राजीवकी आमा सोनिया गान्धी नै अहिले भारतीय राष्ट्रिय कांग्रेसको अन्तरिम अध्यक्ष छन् ।  

८. जापानी सम्राट्को दुर्लभ निर्णय  

जापानको इतिहासमा २ सय वर्षभन्दा बढी समयसम्म नभएको घटना यसवर्ष भयो । स्वेच्छाले राजगद्दी त्याग्ने दुर्लभ निर्णय तत्कालीन सम्राट् अकिहितोले गरे । अकिहितोले गद्दी त्याग गरेपछि उनका छोरा ५९ वर्षका नारुहितो जापानको राजा भए । 

९. भारतमा बाबरी मस्जिद र जम्मु कश्मीर विवाद   

भारत सरकारले जुलाई ५ मा मुस्लिम बाहुल्य रहेको जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेश जारी ग¥यो । त्यसपछि जम्मु–कश्मीर छुट्टै राज्य नभई केन्द्रशासित प्रदेश भएकाले भारतको इतिहासमा यसलाई महŒवपूर्ण दिनका रूपमा लिइएको छ । भारतकै अयोध्यामा वर्षाैँ पुरानो तथा विवादित मुद्दामा यस वर्ष फैसला भयो । सर्वाेच्च अदालतले सो स्थान हिन्दुलाई दिने र इस्लामहरूका लागि मस्जिद बनाउन अर्को ठाउँमा जमिनको व्यवस्था गर्न फैसला ग¥यो । 

१०. श्रीलंकामा दाजुभाइको सत्तारोहण  

श्रीलंकामा भएको राष्ट्रपतीय निर्वाचनबाट पूर्व राष्ट्रपति महिन्दा राजपाक्षेका भाइ गोटावया राजापाक्षे राष्ट्रपतिमा निर्वाचित भए । उनी निर्वाचित भएको केही दिनमै तत्कालीन प्रधानमन्त्री रणिल विक्रमासिंघेले राजीनामा दिए र आफ्नै दाइ तथा पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई नै प्रधानमन्त्रीमा नियुक्त गरे । । सन् २००५ देखि २०१५ सम्म श्रीलंकाका राष्ट्रपति बनेर बाहिरिएका राजापक्षे फेरि सत्तामा फर्किएको र दाइ प्रधानमन्त्री तथा भाइ राष्ट्रपति भएको विषय दक्षिण एसियाको एक चर्चाको विषय रहृयो ।

११. इजिप्टका पूर्वराष्ट्रपति मोर्सीको अदालतमै मृत्यु  

इजिप्टका पूर्वराष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिने क्रममा ढलेर मृत्यु भयो । अरब क्रान्तिपछि सन् २०१३ मा इजिप्टका राष्ट्रपति भएका मोर्सीलाई सेनाले एक वर्षमै अपदस्थ गरेको थियो । अदालतमा बयान दिन लागेको केहीबेरमा मोर्सी ढलेका थिए । प्रतिबन्धित मुस्लिम ब्रदरहुडका शीर्ष नेता ६७ वर्षीय मोर्सीका समर्थकहरूले भने उनको हत्या भएको आरोप लगाएका थिए ।  

१२. पेरुका पूर्व राष्ट्रपति अमेरिकामा पक्राउ 

भ्रष्टाचारको आरोपमा फरार रहेका पेरुका पूर्वराष्ट्रपति अलेक्जाण्ड्रो टोलेडो संयुक्तराज्य अमेरिकामा पक्राउ परे । सन् २०१७ देखि संयुक्तराज्य अमेरिकामा बस्दै आएका टोलेडोमाथि ब्राजिली विशाल निर्माण कम्पनी ओडेब्रेक्टसँग पेरु र ब्राजिल जोड्ने राजमार्ग निर्माणको ठेक्का दिँदा घुस लिएको तथा अरू विभिन्न अपराधमा संलग्न रहेको आरोप छ ।  

१३. दुई सय २७ बालबालिकाको सामूहिक चिहान 

दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातŒवविद्हरूले २ सय २७ जना बालबालिकाको सामूहिक चिहान फेला पारे । आजसम्म फेला पारिएका यस्ता चिहानहरूमा यो सबैभन्दा ठूलो भएको अधिकारीहरूले बताएका थिए । 

१४. ‘मिटु’ मुद्दामा ३४ लाख क्षतिपूर्ति  

जापानमा ‘मिटु’ अभियानबाट चर्चित ३० वर्षीया पत्रकार शिओरी इटोले बलात्कारसम्बन्धी मुद्दा जितेकी छन् । जापानमा यौनको विषयमा कम बहस हुने भएकाले यसलाई अत्यन्त महŒवका साथ लिइएको थियो । टोकियोस्थित ‘सिभिल कोर्ट’ ले इटोको पक्षमा फैसला सुनाउँदै पीडितलाई ३४ लाखभन्दा बढी रुपैयाँ जरिवाना तिर्न आदेश दिएको थियो । उनले आफूलाई करिअरबारे छलफल गर्न होटलमा बोलाएर बलात्कार भएको भन्दै दोषीलाई कारबाही गर्न र आफूलाई क्षतिपूर्ति दिलाउन माग गरेकी थिइन् ।

१५. सरिफ सिकिस्त, अब्बासी पक्राउ 

पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफ सिकिस्त बिरामी भएका छन् । भ्रष्टाचार अभियोगमा जेल सजाय भोगिरहेका सरिफ जेलमै सिकिस्त बिरामी भएपछि पाकिस्तानको एक अस्पतालमा उपचार गरी निको नभएपछि उनलाई बेलायत लगिएको थियो । उनको अवस्था अहिले पनि चिन्ताजनक नै रहेको छ । सन् २०१९ मै पाकिस्तानका पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासी पनि भ्रष्टाचार आरोपमा पक्राउ परे ।

१६. मुसरफलाई मृत्युदण्ड 

पाकिस्तानका अर्का पूर्वराष्ट्रपति परवेज मुसर्रफविरुद्ध देशद्रोहको मुद्दामा विशेष अदालतले मृत्युदण्डको सजाय सुनाएपछि विश्वभरि नै फैसलाले विवाद निम्त्याएको छ । बिरामी अवस्थामा विदेशमा उपचार गराइरहेका मुसर्रफको मृत्युदण्ड हुनुअगावै निधन भएमा उनको शव तीन दिनसम्म सार्वजनिक ठाउँमा राख्नसमेत आदेश दिएपछि यो विषय थप चर्चामा रहेको छ ।

१७. नागरिकताको नयाँ व्यवस्थाले तात्यो भारत  

नागरिकतासम्बन्धी संशोधित विधेयक पारित गरिएपछि पनि भारतका पश्चिम बंगाल, कलकत्ता, तामिल नाडू राज्यलगायतका सहरी क्षेत्रमा आन्दोलन चर्किएको छ । आन्दोलनका क्रममा दर्जनौँको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दु, शिख, बौद्ध, जैन, पारसी र इसाई धर्मावलम्बीले भारतको नागरिकता पाउने नयाँ व्यवस्थाको विरोध भएको हो । 

१८. ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव  

सदनबाट महाअभियोग लगाइएका अमेरिकी राष्ट्रपतिमध्ये डोनाल्ड ट्रम्प तेस्रो राष्ट्रपति बने । हाउस अफ रेप्रिजेण्टेटिभ्सले राष्ट्रपति ट्रम्पले शक्तिको दुरुपयोग गरेको भन्दै यही डिसेम्बर १८ मा महाभियोगको पक्षमा निर्णय गरेको हो । तल्लो सदनमा ट्रम्पलाई महाअभियोग लगाउने पक्षमा २३० र विपक्षमा १९७ मत खसेको थियो ।

१९. सान्ना विश्वकै कान्छी प्रधानमन्त्री 

फिनल्याण्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री चयन भएको विषय यो वर्षको अन्त्यतिर निकै चर्चा भयो । प्रधानमन्त्री आन्ती रिन्नेले पद त्याग गरेपछि सोसल डेमोक्र्याटिक पार्टीले मरिनलाई सरकारको नेतृत्व गर्न चयन गरेको थियो । उनले मन्त्रिमण्डलमा महिलाको बहुमत र धेरै मन्त्री ४० वर्षभन्दा कम उमेरकालाई बनाएकी छन् । गठबन्धन सरकारमा ५ वटा दल सहभागी भएका छन् । ती सबै दलको नेतृत्व महिलाले गरेका छन् ।  

यसबाहेक अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्वलगायत विषय पनि वर्षभरि चर्चामा रहिरहे । यस्तै आरोह–अवरोहबीच वर्ष २०१९ बिदा हुँदैछ र नयाँ वर्ष २०२० लाग्न थालेको छ । (राससबाट)


Views: 58