3rd July | 2020 | Friday | 1:23:16 AM

कारागारमा भएको १६ कैदीको हत्याबारे अनुसन्धान जारी

  POSTED ON : पुष २८, २०७६ (४:०४ PM)

कारागारमा भएको १६ कैदीको हत्याबारे अनुसन्धान जारी

रासस/सिन्ह्वा । मेक्सिकोको एक कारागारमा एक हप्ताअघि कैदीबीच भएको झडपको क्रममा कम्तीमा १६ कैदीको मृत्यु भएको विषयमा अनुसन्धान जारी रहेको बताइएको छ । 

मेक्सिकोको उत्तरी क्षेत्रमा पर्ने जाकातेकास क्षेत्रमा रहेको कारागारमा सो झडप भएको थियो । उक्त झडपका कारण १६ कैदीको ज्यान जानुको साथै अरु दर्जनौँ व्यक्ति घाइते पनि भएका थिए । 

स्थानीय सञ्चारमाध्यमले दिएको जानकारीअनुसार उक्त झडपबाट धेरै व्यक्तिको ज्यान गएकोले यसको कारणको बारेमा यहाँको गृह प्रशासनले अनुसन्धान थालेको छ ।

प्रदेश राजधानी जाकातेकासदेखि १३ किलोमिटर टाढा पर्ने सिएनेगुइल्लासमा घटना भएको अधिकारीले जनाएका थिए । यस विषयमा अनुसन्धान जारी रहेको र केही दिनमा यसको कारण स्पष्ट गरिने बताइएको छ ।  

प्रारम्भिक अनुसन्धान प्रतिवेदनअनुसार सो कारागारमा सयौँ व्यक्ति रहेकाले ठूलो क्षतिको त्रास रहेकोमा स्थानीय प्रहरीले तत्कालै हस्तक्षेप गरेर नियन्त्रणमा लिएका कारण ठूलो क्षति हुनबाट रोकिएको थियो । 

मेक्सिकोका कारागारमा यस्ता झडपहरु समय समयमा हुने गर्दछन् । यस्ता प्राय झडपहरु लागूऔषधका कारोबारीमा संलग्न कैदीबन्दीबीच हुने गर्दछ ।  


Views: 166