27th January | 2020 | Monday | 6:32:16 AM

इरानमा सरकारविरोधी प्रदर्शन

एजेन्सी   POSTED ON : पुष २९, २०७६ (१०:३९ AM)

इरानमा सरकारविरोधी प्रदर्शन

तेहरान । इरानको राजधानी तेहरान तथा इरानका अन्य विभिन्न सहरमा आइतबार राति पनि सरकारविरोधी प्रदर्शन भएको छ । प्रदर्शनकारीहरूले सर्वोच्च नेता आयतुला अली खामनेइको विरोधमा नारा लगाएका छन् ।

तेहरानमा प्रदर्शनकारीले गत हप्ता अमेरिकी हवाई आक्रमणमा मारिएका सैन्य नेता कासिम सुलेमानीका तस्वीर पनि च्यातेका छन् । १ सय ७६ जनाको ज्यान जानेगरी तेहरानमा भएको विमान दुर्घटनाबारे सरकारले झुट बोलेको भन्दै विरोध सुरु भएको हो । प्रदर्शनकारीलाई तितरबितर पार्ने प्रयासमा इरानी प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । कैयौँ व्यक्ति पक्राउ परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले छन् । इरानी नागरिकसहित विभिन्न देशका यात्रु चढेको युक्रेनी विमान इरानी क्षेप्यास्त्र प्रहारका कारण भुईंमा खसेको थियो । पहिला क्षेप्यास्त्र प्रहार नभएको दाबी गरेको भए पनि शनिबार इरानी सेनाले ‘मानवीय त्रुटिका कारण’ त्यसो हुन गएको स्वीकारेको थियो । इरानको रेभलुशनरी गार्डस् कोरका प्रमुख हुसेन सलामीले संसद्मा बोल्दै विमान खसालिनु अनुचित भए पनि त्यो घटना भइसकेको टिप्पणी गरेका छन् । ‘ईश्वर साक्षी छन् । यो दुःखद घटना झेल्नुभन्दा म त्यो विमानमा रहन र उनीहरूसँगै जल्न चाहन्छु,’ उनले भने । 

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिए पनि प्रदर्शनकारीहरू विरोध कार्यक्रममा सहभागी भएका थिए । सडकमा दंगा प्रहरीका साथै मोटरसाइकलमा रेभलुशनरी गार्डस्का सैनिक खटिएका छन् । सुरक्षाकर्मीलाई सादा पोसाकमा पनि परिचालित गरिएको छ । 

सामाजिक सञ्जालमा प्रेषित भिडियोमा प्रदर्शनकारीले सरकारविरोधी नारा लगाइरहेका छन् । प्रदर्शनकारीमा महिलाको उल्लेख्य सहभागिता छ । इरानले इराकस्थित अमेरिकी सैनिक बसेका दुईवटा आधार शिविरमा क्षेप्यास्त्र आक्रमण गरेको केही घण्टापछि नै उक्त विमान दुर्घटना भएको थियो । तेहरानबाट किएभ हुँदै टोरण्टोका लागि उडेको युक्रेन इण्टरनेशनल एयरलाइन्सको विमान ७५२ मा अधिकांश यात्रु इरान र क्यानाडाका थिए । मृतकमध्ये १५ जना बालबालिका थिए । जनवरी ३ मा अमेरिकी ड्रोन आक्रमणमा इरानका सैन्य नेता कासिम सुलेमानी मारिएपछि इरानले अमेरिकाविरुद्ध प्रतीकात्मक कारबाही गरेको थियो । 

सुरुमा दुईवटा विश्वविद्यालयका विद्यार्थीहरू मृतकप्रति सम्मान प्रकट गर्न भेला भएको बताइएको छ । सरकारी फार्स समाचारसंस्थाले प्रदर्शनबारे समाचार सम्प्रेषण गरेको थियो । समचारमा झण्डै एक हजार प्रदर्शनकारीले नेताविरुद्ध नाराबाजी गरेको र सुलेमानीको तस्वीर च्यातेको बताइएको छ । विद्यार्थीहरूले विमानमा क्षेप्यास्त्र प्रहार गर्ने व्यक्ति र उक्त घटना लुकाउनेमाथि मुद्दा चलाइनुपर्ने माग गरेका छन् । नाराबाजीका क्रममा उनीहरूले इरानका सर्वोच्च नेता आयतुला अली खामनेईतर्फ लक्षित हुँदै ‘मुख्य कमाण्डर राजीनामा गर’ र ‘झुटो बोल्नेहरूलाई मृत्यु’ भन्दै नाराबाजी गरेका थिए । फार्सका अनुसार सडक अवरुद्ध पारेका प्रदर्शनकारीलाई प्रहरीले तितरबितर पारेको थियो । सामाजिक सञ्जालमा अश्रुग्यास प्रहार गरिएको भिडियो देखिएको छ ।

सरकारको कदमले सामाजिक सञ्जाल प्रयोगकर्तालाई क्रुद्ध बनाएको छ । 

सुलेमानी मारिएपछि भएका प्रदर्शनका तुलनामा भने यी प्रदर्शनहरू साना छन् । सुलेमानीको शवयात्रामा दशौँ लाख मानिस सहभागी भएका थिए । फ्लाइटरेडार वेबसाइटका अनुसार विमान दुर्घटना भएका बेलामा तेहरान विमान भिजिबिलिटी अर्थात् दृश्यता राम्रो थियो । विमानको चालकदलमा अनुभवी व्यक्तिहरू भएको विमानसेवाले बताएको छ ।

अमेरिकी सञ्चारमाध्यमको अनुमानानुसार विमान दुर्घटनाको समयलाई विचार गर्दा इरानले प्रत्याक्रमणस्वरूप हुन सक्ने सम्भावित क्षेप्यास्त्र प्रहारका लागि तयारी गर्दै गर्दा उक्त विमानलाई अमेरिकी लडाकु विमान भनेर झुक्किएको हुन सक्छ । दुर्घटना भएपछि तेहरानस्थित युक्रेनी दूतावासले पहिला विमानको इञ्जिनमा समस्या देखिएको बताएको थियो । तर, छानबिन हुनुभन्दा अघि विमान दुर्घटनाका कारणबारे व्यक्त टिप्पणी आधिकारिक नभएको भन्दै उसले त्यो भनाइ फिर्ता लियो । 

इरानले दुर्घटनाको विस्तृत अनुसन्धान गरिने वचन दिएको छ । इरानका राष्ट्रपति हसन रूहानीले सेनाको आन्तरिक छानबिनमा ‘मानवीय त्रुटिका कारण प्रहार भएको क्षेप्यास्त्रले युक्रेनी विमानको दुर्घटना गराएको र १७६ जना निर्दोष मानिसको मृत्यु भएको’ निष्कर्ष निस्किएको जनाएका थिए ।

उक्त घटनालाई ‘ठूलो विपत्ति र अक्षम्य गल्ती’ भन्दै उनले कसले त्यसो ग¥यो त्यो पत्ता लगाउन र कारबाही गर्न अनुसन्धान भइरहेको शनिबार ट्वीटरमा लेखे । तर, टेलिभिजनमा प्रसारित दृश्यमा दुर्घटनास्थलमा भग्नावशेष हटाउन उपकरणहरू प्रयोग गरेर खनिएको देखिएको थियो । त्यसो गर्दा महŒवपूर्ण प्रमाण दुर्घटनास्थलबाट हटाएको हुन सक्ने शंका उत्पन्न भएको थियो । 

इरानका एक सैन्य नेता कासिम सुलेमानी अमेरिकी हवाई कारबाहीमा मारिएपछि बढेको तनावका बीच इरानले उक्त विमानको ब्ल्याकबक्स अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई नदिने बताएको थियो । तर, एक इरानी अधिकारीले रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै विमान दुर्घटनासम्बन्धी अनुसन्धानमा सहभागी हुन अमेरिकालाई औपचारिकरूपमा नै आमन्त्रण गरिएको शुक्रबार बताए । अमेरिकी राष्ट्रिय परिवहन सुरक्षा बोर्ड (एनटीएसबी) ले आफूले आफ्नो तर्फबाट एक अनुसन्धानकर्ता नियुक्त गरिएको पुष्टि गरेको छ । 

बोइङले आफूले एनटीएसबीको अनुसन्धानलाई सघाउने बताएको छ, र क्यानाडाको यातायात सुरक्षा बोर्डले पनि आफूलाई तेहरानले दुर्घटनास्थलको अवलोकनका लागि बोलाएको जनाएको छ । विश्वव्यापी उड्डयन नियमानुसार कुनै पनि अनुसन्धानको नेतृत्व गर्ने अधिकार इरानको हो, तर सामान्यतया विमान निर्माता पनि अनुसन्धानमा संलग्न हुन्छन् । 

युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले दुर्घटनाको अन्तर्राष्ट्रिय कानुनबमोजिम पूर्ण र स्वतन्त्र छानबिन हुने घोषणा गर्दै सहकार्य बढाउन आफूले इरानी नेताहरूसँग कुरा गर्ने बताएका थिए । क्यानडाका प्रधानमन्त्रीले पनि छानबिनमा आफ्नो देश सहभागी हुने अपेक्षा व्यक्त गर्दै प्राविधिक सहयोग उपलब्ध गराउने प्रस्ताव गरेका थिए । 

यसैबीच इरानले इराकस्थित अमेरिकी सैन्य शिविरमा तेस्रोपटक क्षेप्यास्त्र प्रहार गरेको छ । आइतबार राति इरानले ४ वटा क्षेप्यास्त्र एकैपटक इराकस्थित अमेरिकी सैन्य शिविरमा प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सो क्षेप्यास्त्र प्रहारमा ४ जना घाइते भएको बताइएको छ । यद्यपि, ती घाइतेहरू सैनिक हुन् कि सामान्य नागरिक हुन् भन्ने केही खुलाइएको छैन । 


Views: 105