8th April | 2020 | Wednesday | 11:24:12 AM

भारतमा १४ घण्टा लामो ‘जनता कर्फ्यु’

एजेन्सी   POSTED ON : चैत्र १०, २०७६ (१०:३२ AM)

भारतमा १४ घण्टा लामो ‘जनता कर्फ्यु’

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आहृवानमा आइतबार भारतभर एकदिने ‘जनता कर्फ्यु’ जारी गरिएको छ । कोरोना भाइरस संक्रमण रोकथामको पहल स्वरूप ‘जनता कर्फ्यु’ जारी गरिएको बताइएको छ । बिहान सात बजेदेखि जारी गरिएको कर्फ्यु बेलुकी नौ बजेसम्म लागू गरिएको थियो । कर्फ्यु अवधिभर सबै सरकारी तथा गैरसरकारी कार्यालय बन्द भएका थिए भने सार्वजनिक यातायातसमेत सञ्चालन भएनन् । कुनै पनि लामो दूरीका र शहरमा चल्ने रेल सेवासमेत बन्द भए । तर कर्फ्यु अगाडि नै आफ्नो गन्तव्यका लागि हिँडेका रेल भने रोकिएका थिएनन् । औषधि पसलसहित केही अत्यावश्यक सामग्री बिक्री गर्ने पसलमात्रै खुलेका थिए । भारतमा यसरी सरकारीस्तरबाटै अपील गरिएको यो पहिलो बन्द हो । 

प्रधानमन्त्री मोदीले ट्वीटरमा समेत सबै भारतीयलाई ‘जनता कर्फ्यु’ को अंश बन्न आग्रह गर्नुभएको थियो । उहाँले अहिले चालेको पाइलाले आगामी दिनमा सहयोग पु¥याउने दाबी गर्नुभएको छ । 

सम्पूर्ण गतिविधि रोकिँदा कोरोना भाइरस डिस्इन्फेक्सन गर्न सहयोग पुग्ने भएकाले भारतले ‘जनता कर्फ्यु’ को अवधारणा ल्याएको बताइएको छ । यसरी बन्द गर्दा भाइरसको किटानु निष्क्रिय हुने भएकाले सम्पूर्ण गतिविधि ठप्प पार्न कर्फ्यु जारी गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

केन्द्र सरकारको निर्देशनपछि सबै प्रान्त सरकारहरूले पनि यसको अबलम्वन गरेका थिए । दिल्ली प्रहरीले भने कर्फ्यु पालना नगरी सडकमा निस्किएका सर्वसाधारणलाई फूल दिएर घर फर्काएका थिए । 

सरकारले ‘जनता कर्फ्यु’ सफल भएको दाबी गरेको छ । भारतको एक अर्बभन्दा बढी जनताले प्रधानमन्त्रीको आहृवानलाई सफल बनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता नै आइतबारको कर्फ्यु घोषणा गर्दै त्यो भाइरसविरुद्ध लड्ने भारतीय क्षमताको परीक्षण हुने बताउनुभएको थियो । 

भारतले युके र सबैजसो युरोपेली मुलुकबाट आउने हवाई उडान रोक्दै सबैलाई भारत प्रवेशमा प्रतिबन्ध लगाएको छ । उसले अरू देशबाट भारत जान लिइएका सबैजसोका प्रवेशाज्ञा दिन पनि रोकेको छ । 

विहारमै संक्रमित एकजनाको मृत्युु

भारतको बिहारमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ । भारतमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या ३ सय ४१ पुगेको छ ।

विहारको राजधानी पटनाको एम्स अस्पतालमा कोरोना भाइरसका कारण एकजनाको मृत्यु भएको हो । स्थानीय सञ्चारमाध्यमका अनुसार मृतक मुगेंरमा बस्दथे । पछिल्लो दिन उनी कतारबाट फर्किएका थिए । उनको मृत्यु शनिबार बिहान भएको थियो । पछि उनको रिपोर्टमा कोरोना भाइरस पोजेटिभ देखिएको थियो । उनको दुवै किड्नी फेल भएको थियो । विहारमा कोरोना संक्रमित अर्का व्यक्ति एनएमसीएचको आइसोलेशन वार्डमा छन् । उनी स्कटल्याण्डबाट फर्किएका थिए । आइतबारभन्दा अघि विहारमा कोरोना भाइरस संक्रमणका कुनै घटना थिएन ।


Views: 61