8th April | 2020 | Wednesday | 10:02:40 AM

इटालीको अवस्था बिग्रियो, एकै दिनमा ७ सय ९३ को मृत्यु

एजेन्सी   POSTED ON : चैत्र १०, २०७६ (१०:३५ AM)

इटालीको अवस्था बिग्रियो, एकै दिनमा ७ सय ९३ को मृत्यु

रोम । कोरोना भाइरसको नयाँ केन्द्र बनेको इटलीको अवस्था नराम्ररी बिग्रँदै गएको छ । चीनपछि सबैभन्दा बढी संक्रमित रहेको इटलीमा मृत्यु हुनेको संख्या भने चीनमा भन्दा करिब २ हजार बढी हुन लागेको छ । इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसका कारण इटलीमा एकै दिन मृत्यु भएको यो हालसम्मकै बढी हो । इटलीमा पछिल्लो २४ घण्टामा मात्रै ६ हजार ५ सयभन्दा बढीमा नयाँ संक्रमण देखिएपछि संक्रमितको संख्या ५३ हजार ५ सय नाघेको छ । इटलीमा कोरोनाका कारण ४ हजार ८ सय २५ जनाको मृत्यु भइसकेको छ । यो संख्या चीनमा भन्दा यो १ हजार ५ सय ६४ ले बढी हो ।

लोम्बर्डी क्षेत्रमा कडा नियम घोषणा

इटलीको लोम्बर्डी क्षेत्रमा कोरोनाभाइरस संक्रमण नियन्त्रण गर्न कडा नियमहरू लगाइएको छ । शनिबार अबेर घोषणा गरिएका नयाँ नियमअनुसार समूहमा वा एक्लै पनि घरबाहिर खेल्न र शारीरिक व्यायाम गर्न प्रतिबन्ध लगाइएको छ । सामानहरू किन्ने मेशिन प्रयोगमा पनि रोक लगाइएको छ । लोम्बर्डी इटलीको सबैभन्दा नराम्ररी प्रभावित स्थान हो । त्यहाँमात्रै कोरोनाभाइरसका कारण ३ हजार ९५ जनाको मृत्यु भइसकेको छ । यो क्षेत्रका अध्यक्ष एट्टिलियो फोन्टानाले कडाइका नयाँ नियमहरू एक विज्ञप्ति जारी गर्दै घोषणा गरेका हुन् । ‘अति आवश्यक’ सामग्रीका पसलहरू बाहेक सबै व्यवसायहरू बन्द गर्न भनिएको छ । अस्पताल, सडक र रेलमार्गबाहेक कुनै पनि निर्माणसम्बन्धी काममा रोक लगाइएको छ । लोम्बर्डीमा ८ मार्चदेखि ’लकडाउन’ गरिएको छ । सरकारले त्यो क्षेत्रमा सबैभन्दा पहिले परीणाम देखा पर्ने आशा राखेको छ । यो खतरनाक संक्रमणले संसारभरी हालसम्म १३ हजार बढीको मृत्यु भइसकेको छ । साथै संक्रमितको संख्या ३ लाख नाघिसकेको छ । यद्यपि, चीनमा लगातार पछिल्लो तीन दिनदेखि घरेलु संक्रमणका कारण कोरोनाका एकजना पनि बिरामी भेटिएका छैनन् । 


Views: 198