22nd July | 2018 | Sunday | 3:08:59 AM

कविता - म कस्तो छु ?

ज्योति किरण   POSTED ON : Saturday, 08 April, 2017 (3:32:54 PM)

कविता - म कस्तो छु ?

मेरो सपना हो बाच्ने,

मेरो रहर हो ,फल्ने,फूल्ने र जीउने

यी सबै प्रयत्नहरुमा,

यी सबै मेरा सपनाहरुमा,

निर्धक्क उभिएको एउटा धरहरा,

पटक पटक आवेगले किन ढल्छ ?

अनुत्तरित छ प्रश्न ,

बोझिलो छ छाती 

र,

निरीह छन् आज मेरा यी आँखाहरु ।

म,

जहाँ छु ठिकै छु,

म,

जे छु ठिकै छु,

यो मेरो कुरा हो !

तर ,

सानी भन त !

किन तर्किन्छेउ म सग ?

किन भाग्छेउ टाढा टाढा ?

तिम्ले देख्दा म कस्तो छु ?

के ,


विन लादेनको गिदी बोक्ने भरिया जस्तो छु ?,

के,


मुसोलिनी को जुठेल्नु सोहोर्ने ,

भोको पेट को,

स्वार्थी दरिद्र जस्तो छु ?

के,


हिटलर ले बनाएको रगतको पोखरीमा ?

माछा खोज्ने मछुवा जस्तो छु ?,

म 

कस्तो छु ?

कस्तो देख्छेउ सानी ?

म 

तिम्रो नजरमा कस्तो छु ?

तिमीलाई काखमा बसाएर,

मेरो बारे सोध्न मन छ मलाई आज ।

भन्देउ है साँचो कुरा,

म कस्तो छु ?