Date:2017/08/18 |Friday

कविता : प्राप्ति

Posted on: April 19, 2017 | views: 105 | सीता आस्था


रित्तो घरको बार्दलीबाट 

कलमको निप टोकेर

आकाशमा टिल्पिलाएको जून हेर्दै


बिना आभाष, बिना लिप्सा

एकोहोरो टोलाइरहे म 

मनको माधुर्यतालाई तप्केनिमा थापेर


बेसुर, बेहिसाब

कर्कलामा अडिएको

शीतको थोपाझैं बिलाएर जान लाग्दा पनि 


आखिर खै किन्न हो कुन्नि 

नयनको आँसु बटुलेर

बादल लागेको आकाशलाई सोधेको थिए

पानी नपर्ने भए

पानीको आभाष किन गरायौ ?


जान्दा जान्दै तिमिले

आशको दिपमा बर्तन थप्दै

आखिर हुण्डरी, बतास किन चलायौ ?


ममता लेपिएका हत्केलाको स्पर्समा

आखिर किन तिमीले

मन चस्स छोएर फर्कियौ ?


रित्तो घर भित्र उज्यालो छर्ने रविको

आगमन सँगै व्युझिँएर

केवल सपनामा देखिएको निरर्थक चाहनाको

प्राप्तिमा घोइरिनुको, के नै अर्थ छ र ?

         –सीता आस्था विर्तामाड, झापा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं