Date:2017/08/18 |Friday

फोटो पत्रकारको नजरमा त्यो वैशाख १२

Posted on: April 25, 2017 | views: 77 | नवराज श्रेष्ठ

२०७२ वैशाख १२ गते शनिबारको दिन । खासै काम थिएन । त्यसैले महाराजगन्जस्थित आफ्नै डेरामा २६ दिनकी सुत्केरी श्रीमती र नवजात छोरीको हेरचाह गरेर बसिरहेको थिएँ । दिउँसोको खाना खाएर आमा–छोरी सुतिरहेका थिए । एक्कासि घर हल्लाउन थालेपछि मेरी श्रीमती रुँदै छोरीलाई आफ्नो शरीरले छोप्न थालिन् । मस्त निन्द्रामा निदाएकी मेरी २६ दिनकी छोरीले आमाको रोइकराइ र भुइँचालोको हल्लाइ थाहा नै पाइनन् । भुइँचालो रोकिएपछि हामी सबैजना घरभन्दा अलि पर रहेको खाली बारीको पाटोमा पुग्यौं । हामी पुग्दा अरूहरू बारीमा टन्नै भेला भइसकेका रहेछन् । कोही रुँदै थिए । कोही आफन्तलाई फोन सम्पर्कको प्रयास गर्दै थिए । तर फोन सम्पर्क भइरहेको थिएन । 

जब मैले छोरी र श्रीमतीलाई बारीको पाटोमा पु¥याएँ, त्यसपछि मेरो पेसागत जिम्मेवारीको बोध भयो । भुइँचालोका परकम्पन जान छाडेका थिएनन् । घरमा सुत्केरी श्रीमतीलाई हेर्ने मबाहेक कोही छैन । के गर्ने भन्ने दोधारमा परें । दोधारकै बीच मैले फोटो रिपोर्टिङमा जाने निधो गरेर श्रीमतीलाई भने– ‘तिमीहरू सुरक्षित छौ । यही बारीमा बस्दै गर, म आइहल्छु ।’

उनीसँग त्यति भनेर म अरू त्यहाँ भेला भएकाहरूको आड र भरोसामा निस्किएँ फोटो खिच्नलाई । म मोटरसाइकल चढेर हिँडे । पर्खाल ढलेका कारण बाटो बन्द थियो । त्यसपछि अर्को बाटो गएँ, त्यहाँ पनि पर्खाल ढलेकाले बाटो पूरै अवरोध । एकपछि अर्को गर्दै डेराबाट बाहिर निस्कने सबै बाटो चहारीसक्दा पनि मोटरसाइकल निस्कन नसकेपछि फेरि डेरा फर्केर श्रीमतीहरू भएको ठाउँमा मोटरसाइकल छोडेर म हिँड्दै शिक्षण अस्पताल महाराजगन्ज पुगेँ । 

किनकि म महाराजगन्ज नै बस्ने भएकाले हिँडेर छिटो पुग्ने ठाउँ शिक्षण अस्पताल नै थियो । म शिक्षण अस्पताल पुग्दा लगभग भूकम्प गएको १ घण्टा भइसकेको थियो । त्यतिबेला शिक्षण अस्पतालमा देखिएको दृष्यले मलाई एकदमै स्तब्ध बनायो । अस्पताल बाहिरपट्टिको खाली चौर पूरै घाइतेले भरिएको थियो । कोही स्लाइन पानी नपाएर छट्पटाइरहेका, कोही भुइँमा त्यसै लडिरहेका । त्यस्तो अवस्थाको बीच–बीचमा एम्बुलेन्स, सेना, प्रहरीलगायत अन्य सवारी साधनबाट बिरामी आउने क्रम रोकिएको थिएन । यस्तो अवस्थामा मलाई फोटो खिच्न एकदमै असहज महसुस भयो । म त फोटो खिच्नभन्दा पनि त्यहाँको कारुणिक र बीभत्स अवस्था देखेर त्यसै आत्तिएको थिएँ । फेरि मलाई खुलेर फोटो खिच्न पनि संकोच महसुस भइरहेको थियो । 

यस्तो विपतको बेलामा सबैजना उद्धार र बिरामी बोक्ने काममा खटिएका थिए । त्यसबीचमा गएर फोटो खिच्दा घाइते, आफन्त, उपचारमा संलग्न स्वास्थ्यकर्मी र स्वयंसेवकमा बाधा पुग्ला कि भन्ने पनि मलाई डर लागेको थियो । त्यसका बाबजुद मैले अस्पतालको दृष्यलाई सक्दो र मिलेसम्म कैद गरेँ । यसरी घाइतेको तस्वीर कैद गर्दै जाँदा ठूलो संख्यामा शव थुपारिएको स्थानमा मेरो आँखा पुग्यो, जहाँ धेरै संख्यामा भूकम्पबाट मरेकाहरूलाई राखिएको थियो । त्यो स्थान थियो– शिक्षण अस्पतालको एउटा सटर ।

मैले देख्दादेख्दै पनि शव थपिने क्रम जारी नै थियो । शवको थुप्रो खिच्न मेरो क्यामेराको लेन्स त्यता फर्काएर खिच्न लागेकोमात्र के थिएँ, सिविलमा रहेको प्रहरी हो वा अरू नै कोही, मलाई गाली गर्दै फोटो खिच्न निषेध ग¥यो । मैले आफू फोटो पत्रकार भएको भनेर भन्नै सकिनँ किनकि त्यहाँको अवस्थामा मान्छेका ज्यानभन्दा अरू कुराको कुनै माने राख्ने थिएन । 

त्यो सबै कुरा बुझिसकेपछि मैले आफ्नो परिचय नदिनै उचित ठानेँ । बाहिर खाली चौरमा रहेका घाइतेहरूको फोटो खिचेर म हिडेँ । शिक्षण अस्पतालबाट हिँड्दै चक्रपथ चोकतिर आइपुग्दा पूरै सडक मान्छेले ढाकिएको थियो । कोही रुँदै थिए, कोही भाग्दा मर्किएको खुट्टा देखाउँदै त कोही आफन्तको जानकारी लिन फोन गर्दै । सडकमा आकस्मिक बत्ती र साइरन बजाएर दौडिने सवारीको ओहोरदोहोर उत्तिकै छ । यसरी अस्पताल हँुदै रिङरोडबाट हिंड्दै चावहिल पुगेँ । पशुपतिनाथको मन्दिर पुग्दा त्यहाँ पनि मन्दिरबाहेक बाहिरका धरोहरहरू भत्किएको दृष्य कैद गरियो । दिन धेरै बितिसकेको थियो । शिक्षण अस्पतालको भयावह दृष्यले मेरो मन स्थिर हुन सकेकै थिएन । 

फोटो खिच्ने सुरैसुरमा मैले सुत्केरी श्रीमती र छोरीलाई पूरै बेवास्ता गरेँ जसरी हिंडेको हिंड्यै भएछु । अनि श्रीमतीलाई फोन गरेर के छ भनी सोधेँ । उताबाट ‘ठिकै छ, अलि चाँडो आउनू’ भनेपछि म घर फर्कने तरखर गर्दै गर्दा फेरि एकपटक आर्यघाट पुग्ने विचार आयो । जब आर्यघाट पुगेँ, शिक्षण अस्पतालमा देखेको दृष्यलाई झनै मात खुवाउने गरी लासका चिताहरूले मलाई पुनः स्तब्ध बनायो । आर्यघाटको लास जलाउन बनाइएको घाटमा मात्र होइन, बागमतीको पूरै बगर खाली थिएनन् चिताले । त्यहाँ रुने र बिलौना गर्नेको आवाजले पूरै कोलाहलको वातावरण सिर्जना गरेको थियो । यता त्यस्तैगरी उडेको धुवाँको मुस्लोले सास फेरिसक्नु थिएन । त्यो वैशाख १२ गते फेरि देख्नु नपरोस् भन्दै पुशपतिनाथसँग बिदा मागेर घरतिर फाइला चालेँ । 

यसरी बारीको आलीमा सुत्केरी श्रीमती र छोरीलाई छोडेर हिँडेको म फर्कदा साँझ परिसकेको थियो । साँझमा फर्कंदा सबैले मिलेर त्रिपालको छाप्रो बनाएका रहेछन् । हामीले पनि छोरी च्यापेर त्यहीँ रात काट्यौं । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं