Date:2017/10/17 |Tuesday

बैशाख १२ लाई सम्झँदा

Posted on: April 25, 2017 | views: 122 | राजकुमार सिग्देल

दुई वर्षअघि अर्थात बैशाख १२ को त्यो दिन । शनिबार भएपनि कार्यालय जानै पर्ने बाध्यता । त्यतिबेला एक संस्थामा कार्यरत थिएँ । जहाँ दिउँसोको समय मेरो कार्यतालिका हुन्थ्यो । अरुदिन ११ बजेभित्रै सो कार्यालय पुग्ने म शनिबार त्यसमा पनि कामको चाप कम हुँदा ढिला गरि नेपालटारमा रहेको डेराबाट निस्किएँ ।

निस्कनै लाग्दा जहानले आफूपनि माछापोखरीसम्म जाने बताएपछि सँगै गयौं माछापोखरीसम्म । माछापोखरीमा केहिबेरको अलमलपछि जहानलाई कोठामा पठाएर आफूचाहिँ लागे कार्यालयतिर !

केहि ढिला गरि म पुग्दा सहकर्मी समुन्द्र घिमिरे अफिस पुगिसकेका । सामान्य औपचारिकता लगत्तै कम्प्यूटरमा आवश्यक काम सुरु मात्र ैके गरेको थिए–एउटा आवाज आयो, जुन आउँदा चारतल्ले भवनमा कुनै कम्पन थिएन । मात्र अनौठो आवाज थियो –

मैले भनेँ –होइन, कस्तो अनौठो आवाज आयो ?

हो त है–समुन्द्र बोले,

तल ग्यारेजमा मोटरसाइकल स्टार्ट गरेको होला

समुन्द्रले यसो भन्दै गर्दा अकस्मात अघिको आवाज भयानक मात्रै बनेन पूरै भवन बेजेडले हल्लिन थाल्यो ।

‘भुकम्प, भुकम्प’

‘भागौं, भागौं’

जब म चिच्याउन के थालेको थिए समुन्द्र हाँस्न थाले । तर भाग्ने सुर गरेनन् । मैले जोडले पुन दोहोर्याएपछि भाग्न त खोजे तर अत्यधिक कम्पन र डरले उनि भागेनन् बरु टेबुलभित्र छिरेछन् । पछि भन्दै थिए–‘भयानक भुकम्प हो भन्ने ख्यालै गरिनछु !’ त्यतिबेलासम्म म भने खुल्ला सडकमा पुगिसकेको थिए । जतिबेला कम्पन जारी थियो । यद्यपी चार तल्ले भवनको पहिलो तल्लाबाट खुल्ला ठाउँसम्म पुग्दाको समय भने कम्ति कहालीलाग्दो थिएन । भवनको सिँढी झर्दैगर्दा बेजोडको कम्पनले बारम्बार खुट्टा लर्बराउँथ्यो । कहिले यता र कहिले उता हल्लिदा पाइला सार्नै नसकिने । जब सिँढि झरियो प्यासेज हुँदै बाहिर निस्किँदै गर्दा एकाएक भवनको भित्तो चिरियो । भूई फाटियो । हेर्दा हेर्दा भवन ढल्नै लाग्यो । त्यतिबेला लाग्यो–जीवनको यहीँ अन्त्य हुन लेखेको रहेछ । यहि रहेछ आखिरी दिन । सेकेण्ड भरमा गर्भवती श्रीमति सम्झिए, जो भर्खरै डेरा फर्कँदै थिइन् । कतै केहि पो भइहाल्यो कि ! घर सम्झिए, जहाँ बुढा बाआमा एक्लै थिए । लगभग बेसहारा थिए । आफन्त, साथीभाई सबैसबै !

त्यतिबेलाको समय स्मरण गर्दा अहिले लाग्छ । जीवन अनमोल छ । करिब एक मिनेटको त्यो कोलाहल समयमा लोभ, मोह सबै पत्तासाथ भइसकेको थिए मनमष्तिस्कबाट । मलाई जस्तै सायद अरुलाई पनि यस्तै भएको थियो होला । केबल थिए त बाँच्ने आशाहरु । जीवनका अर्थहरु । हुन पनि हो, मानिस सँधै धन–सम्पत्तिका लागि संघर्षरत रहन्छ । त्यही धन सम्पत्ति, ऐस आरामको चक्रले त मानिसलाई लोभी, असंतोषी बनायो । लोभले स्वार्थ जन्मायो । तर–जीवनको अन्तिम घडीमा ज्यानको महत्व हुँदो रहेछ । धनसम्पत्ती भन्नेकुरा गौण हुँदा रहेछन् । त्यतिबेला मनमनै लागेको थियो–मान्छे किन पैसाका लागि मरिहत्ते गर्नेरहेछ ?, आखिर पैसा भन्नेकुरा केहि रहेनछ । पैसा त केबल विलासिलता नै रहेछ । साधन मात्र रहेछ । सम्पत्ति त जीवननै पो रहेछ, जीनन रहे मात्र सम्पत्ति रहेछ ।

बाहिर निस्कँदा मुटुको धड्कन बढेको थियो । अघिसम्म फुर्तिलो अनुहार लोलाएको थियो । जताततै कोलाहल, चिच्याहट । सडकमा मोटरसाइकलहरु असरल्ल थिए । गाडीहरु रोकिएका अवस्थामा थिए । भागदौड मच्चिएको थियो । भुकम्प त आयो कति रेक्टरस्केल र कहाँ केन्द्रबिन्दु पत्ता लगाउन सक्ने अवस्था थिएन । त्यसको मतलब पनि गरिएन । डेरामा जाँदै गरेकी श्रीमतिलाई सम्पर्क प्रयास गरेँ पटक पटक । तर , प्रयास सफल भएन । फोन नलागेपछि उनको अवस्थाबारे चिन्ता बढ्यो । हतारहतार स्कुटरको व्यवस्था गरेर उनी डेरा फर्किने रुट हुँदै नेपालटार लागियो । जतिबेला पराकम्प जारी थियो । चुनौति थियो हिँड्नलाई । त्यस्तो अवस्थामा सहकर्मी समुन्द्रले साथ दिएका थिए । बेला बेला गाँउमा भएका बुवाआमालाई फोन लगाउँथे तर कहाँ सम्पर्क हुन सक्थ्यो र ।

विपत्तीमा बाँचिएको थियो । आफू बाँचेर आफन्त तथा जीवनसाथीलाई बचाउन सकिएन भने फेरि जीवनको के सार हुन्थ्यो र ! त्यसैले त चुनौतिका बीच पनि जहानको सहयोगका लागि जुटिएको थियो । धन्य उनीपनि सुरक्षित रहिछन् । तनाव अझैं सकिएको थिएन । गाउँमा बाआमा थिए । आफन्त थिए, सबैको एकएक सुचना पाएपछि मनमा शान्ति मिल्यो । धन्य कसैलाई केहि भएको रहेनछ । 

आफैं भने स्कुटरबाट लडेर घाइते हुन पुगेँ । जसका कारण विनाशकारी भुकम्पबारे सुसूचित गराउनु पर्ने बेला केहि दिन खुल्ला आकाशमै खुम्चिनु पर्यो ।

वातावरण कोलाहलमय थियो । कोहि ट्याक्सीमा त कोहि मोटरसाइकल अथवा बोकेर भएपनि घाइते लिएर अस्पतालतर्फ दौडिदै थिए । कोहि आफन्त भग्नावशेसमा पुरिएको भन्दै चित्याउँदै थिए । साँचैनै बैशाख १२ को त्यो दिन कोलाहलमय थियो । त्रासदीपूर्ण थियो ।

विनाशकारी भुकम्पले आठ हजारबढीको ज्यान लियो । ६ लाखबढी घर ध्वस्त भए । प्राकृतिक सम्पदाहरु ध्वस्त भए । अर्बौको क्षति भयो । गति लिन लागेको नेपालको अर्थतन्त्र ध्वस्त भयो । उठ्न खोजेको देशको अर्थतन्त्रमा फेरि धक्का पुग्यो ।

भुकम्पलगत्तै देश संकटमा फस्यो । भुकम्पले कयौंको उठिबास लगायो । जो अहिले पनि पुर्न्निर्माणको पर्खाईमा छन् । पुर्न्निर्माण प्राधिकरणको ढिलासुस्तीको कारण २ बर्ष सम्म पनि भुकम्पपीडितहरुमा अन्यौलता कायमै छ । ३ लाख राहत दिएपनि प्रभावकारी काम हुन नसक्दा कति भुकम्प पीडीत अझैंपनि अस्थायी टहरा र त्रिपालमै बस्न बाध्य छन् । 

प्राकृतिक विपत्तीलाई कसैले पनि टार्न सक्दैन । तर यसबाट बच्नका लागि सुरक्षा भने अवस्य अपनाउन सकिन्छ । त्यसैले अबका दिनमा हुन सक्ने यस्ता प्रकारका जोखिमहरुको न्युनिकरणका आवश्यक तयारी गर्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको छ । त्यसका लागि सरकारी निकाय नै बढी सक्रिय र जिम्मेवार हुनुपर्छ ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं