Date:2017/12/15 |Friday

सरकार, मलाई उपयुक्त जिम्मेवारी देऊ

Posted on: July 17, 2017 | views: 133 | प्रतिक ढकाल

सुन्दैछु, अचेल कतिपय सचिव, महानिर्देशक, सहसचिव आदि दर्जाधारीहरुबाटै सरकारको काममा नजानिँदो गरी असहयोग भैरहेको छ रे । त्यो सुन्दा कुन नेपालीको मन नदुख्ला र ? जो जुन कामको लागि सपथ लिएको हुन्छ त्यो कामबाट विमुख हुनु कत्तिको न्यायोचित होला ?

म पनि एउटा ’महानिर्देशक’ नै हुँ र राष्ट्रलाई यत्रो संकट परेर जनता पीडित भैरहेको बेला म आठ घण्टा होइन, अठार घण्टा काम गर्न चाहान्छु । र गरि पनि रहेको छु । राष्ट्रलाई आपत परेको बेला म केवल दैनिक प्रशासनिक काममा मात्र अल्झन चाहन्न । मेरा छोरा(छोरी आफ्नै बलबुताले पढेर नाम निकालेर डाक्टर र इन्जिनियर भएका हुन् । होला सानै छदाँ मेरो केही सर सहयोग, मार्गनिर्देशन उनिहरुले पाए होलान् । तिनीहरुलाई पढाउन कुनै पनि दूतावासबाट मैले एक रुपैयाँ पनि लिएको छैन । मसँग डीभी वा पीआर पनि छैन । कसैको गुनगान गाएर र परचक्रीको पाउ मोलेर कुनै स्वार्थ पुरा गर्नु पनि मलाई छैन ।

त्यसैले म बिल्कुलै स्वतन्त्र र एउटा ’सच्चा नेपाली’ भएर काम गर्न सक्छु । यो मेरो दृढ संकल्प हो ।

 राष्ट्रलाई अप्ठेरो परेको बेला मुलुकको हित चिताइ काम गर्दा कुनै चुनौती आइपर्ने रहेछ भने त्यो ब्योहोर्न पनि म तयार नै छु । यो एउटा ’अवसर’ पनि हो, तर भावनाले मात्र आत्मनिर्भरताको बाटो पहिल्याउन सक्तैन । तसर्थ, मलाई उपयुक्त काम देउ सरकार । जहाँबाट अवरोध आएको छ, त्यहीको जिम्मेवारी मलाई देउ । म राष्ट्रका लागि जे पनि गर्न तयार छु । म राष्ट्रको लागि समर्पण गर्न पनि तयार छु । लम्पसारवादको जरो उखल्न म तयार छु ।

राष्ट्र संकटमा परेको बेलामा पनि काममा आउन सकिएन भने यो ज्यानको के काम ? अहिले यसरी सताइएका जनताले तिरेको करबाट तलब खाएको के काम ? त्यसैले मलाई तुरुन्तै परिणाम देखिन सक्ने, अरुबाट पन्छाइदै आएको, अरुलाई डर लागेको कुनै चुनौतीपूर्ण काममा तत्कालै खटाउ सरकार । यो बेला म मन्त्रालय, बिभाग, ब्यक्ति, संगठन वा पार्टीको होइन साँच्चिकै राष्ट्रको काम गर्न चाहन्छु । मलाई जिम्मेवारी देउ सरकार ।


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं