22nd July | 2018 | Sunday | 12:40:15 PM

कविता–बिषको नदी तर्नु छैन

आदित्य बिक्रम   POSTED ON : Saturday, 05 August, 2017 (7:11:49 PM)

कविता–बिषको नदी तर्नु छैन

भो नआऊ तिमी मेरो नजिक मलाई गल्नु छैन 

पुस माघको सिरेटोमा पनि भित्रभित्रै बल्नु छैन ।।


तिमी त मोहिनी रुप हौ अनुरागी छौ आफैंमा,

रात पर्न धेरै समय बाँकी छ अहिल्यै ढल्नु छैन ।।


तिम्रो स्पर्शको कन्दर्पले जब तताउँछ तन र मन

निरीह र विवश बनेर फेरि आफु भित्रै जल्नु छैन ।।


काम बासनाको सुगन्धले ओतप्रोत भएकी तिमी

तिम्रो बासनाको सुगन्धमा लठ्ठिएर नै चल्नु छैन ।।


जे सोच्छौ सोच अनि जे गर्छौ गर मलाई केहि छैन

तिम्रो बिषालु बिषको नदीमा अब मलाई तर्नु छैन ।।


तिमी नदीको चञ्चल लहर हौ दुबै किनारा चुम्ने

त्यही गर्भ भित्रै डुबेर अहिले नै मलाई मर्नु छैन ।।