Date:2017/08/18 |Friday

पितृसत्ताको सोचविरुद्ध अविराम संघर्ष

Posted on: August 12, 2017 | views: 74 | रमा लुइँटेल

काठमाडौं । यतिबेला नेपाली कांग्रेसकी नेतृ उमा रेग्मी स्थानीय तह निर्वाचनको समीक्षा गर्दैछिन् । नेपाल महिला संघकी अध्यक्षसमेत रहेकी उमा निर्वाचनको परिणामलाई मात्रै सम्पूर्ण मापक मान्न नहुने बताउँछिन् । संघका सदस्यहरू ७५ वटै जिल्लाका गाउँगाउँ पुगेका छन् जनताको सुझाव संकलन गर्न । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको पराजयको कारण खोज्न उनीहरू गाउँ पसेका हुन् । तरुण दलका सदस्यदेखि केन्द्रीय नेतासम्म यो काममा छन् अहिले । उमा भन्छिन्, ‘आत्तिएर गएका होइनौं, आउँदा चुनावका लागि रणनीति तयार गर्न हो ।’ 

जनताको सुझावले आफ्नो कमजोरी बुझ्न सजिलो हुने उमाको भनाइ छ । उनी निर्वाचनमा जित र हारलाई सामान्य र स्वाभाविकरूपमा लिनुपर्ने बताउँछिन् । उनको बुझाइमा निर्वाचन भनेकै जित र हार हो । पार्टीको हारको दुःख होइन, सिद्धान्तले जितेकोमा उनी खुशी छिन् । उमा भन्छिन्, ‘हामी बुलेटमा होइन, ब्यालेटमा विश्वास गर्छांै, निर्वाचनले जनताको प्रतिनिधि चुन्छ यो हाम्रो सिद्धान्त हो ।’ स्थानीय तहमा झण्डै १५ वर्ष लामो रिक्तता यो निर्वाचनले पूरा गरिदिएको छ । 

लैंगिक विभेदविरुद्ध लडेकी उमाका विचारमा महिलालाई निर्णायक तहमा ल्याउन बाध्यात्मक कानुन आवश्यक छ । प्रमुख वा उपप्रमुखमध्ये एकमा महिला उम्मेदवार हुनैपर्ने नियमपछि स्थानीय तहमा निर्वाचनमा महिला सहभागिता बढेको उनी बताउँछिन् । बाध्यात्मक नियम नभएको भए शायद स्थानीय तहमा अहिलेको संख्यामा महिलाको उपस्थिति हुँदैन थियो । प्रत्येक वडामा दलित महिलाको सहभागिता बाध्यात्मक कानुनको नतिजा हो । केही सकारात्मक हुँदै गएको छ तर धेरै सुधार गर्न बाँकी छ । उमा भन्छिन्, ‘प्रत्येक पार्टीभित्र पित्तृसत्ता छ र त्यसले महिलालाई निर्णायक तहमा ल्याउन चाहँदैन ।’ उनले यस्तो संकीर्ण सोच आफ्नै पार्टीभित्र पनि देखेकी छन् र यसविरुद्ध लड्न महिला एकजुट हुनुको विकल्प देखेकी छैनन् । 

चितवन उदाहरण 

चितवन गृहजिल्ला भएकी उमालाई आफ्नो ठाउँ उदाहरण भएको छ भन्ने लागेको छ । उनले कुराको चुरो अन्त्यतिर प्रष्ट पारिन् । भरतपुर महानगरपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट माओवादीकी रेणु दाहाल मेयरमा र नेपाली कांग्रेसकी पार्वती शाह उपमेयरमा विजयी भए, दुवै महिला । उमाका विचारमा यो कम्ती ठूलो उपलब्धि होइन । यसलाई उनले महिलाको नेतृत्वप्रति जनताको विश्वासका रूपमा लिएकी छन् । ‘चितवन जिल्ला सबैका लागि उदाहरण भएको छ,’ उनले खुसी प्रकट गरिन् । 

जनताको यो विश्वास जोगाउनु अबको चुनौती भएको उमाको भनाइ छ । उनी भन्छिन्, ‘यो चुनौती सामना गर्न विजयी महिलालाई सबैको साथ चाहिन्छ ।’ चितवनका महिलाका समस्यालाई कसरी हेरेकी छिन् त उमाले ? उनले जवाफ दिइन्, ‘पहाडी र हिमाली क्षेत्रका महिलाले जस्तो त होइन, अरूले जस्तोे समस्या भोग्छन्, सामान्यतयाः त्यस्तै हुन् ।’ चितवनका महिला ‘फरवार्ड’ छन् भन्छिन् उमा । त्यसको पुष्टि प्रत्येक आन्दोलनमा चितवनका महिलाको सक्रिय सहिभागिताले गरेको उनको भनाइ छ । ‘फरवार्ड’ महिलाको योगदानको कदर नभएकोमा भने उनी दुःखी छिन् । 

विभेदको जड 

उमा स्कुल पढ्ने जमानामा उनको घरमा छोरा र छोरीबीच विभेद नभए पनि समाजमा विभेद व्याप्त थियो । जन्म दिने आमाले आफ्नै सन्तानलाई फरक व्यवहार गरेको उनले देखेकी थिइन् । यसबाट उनलाई छट्पटी हुन्थ्यो । बुझ्दै जाँदा थाहा पाइन्, विभेदको जड त पित्तृसत्ता पो रहेछ । बाहुनका छोरीले किन पढ्न प¥यो भन्ने जमाना थियो । पढ्न त यति गाह्रो थियो भने राजनीति गर्न झन् कति गाह्रो हुँदो हो ¤

उमा बीपी कोइरालाको जीवनीबाट प्रभावित भएर राजनीतिमा लागेकी थिइन् । समस्यासँग जति जुध्दै गइन् त्यत्ति नै उनलाई थाहा भयो, पित्तृसत्ता पाइलापाइलामा छ । घरमा छ, टोलमा छ, पार्टीमा छ, मानिसको मन मस्तिष्क सबैतिर छ । पित्तृसत्ताले गर्दा नै महिलाको सहभागिता कमजोर भएको छ । उनीहरू अवसरबाट वञ्चित भएका छन् । त्यति मात्रै कहाँ हो र ¤ महिलाको मनस्थिति र स्वाभिमान नै कमजोर बनाउन पित्तृसत्ता सल्बलाइराखेको छ । उमा दृढताका साथ भन्छिन्, ‘पित्तृसत्ता प्रत्येक घरमा किलो गाडेर बसेको छ, यसलाई उखेल्न, महिला एक हुनैपर्छ ।’ पित्तृसत्ताकै कारण आफू राजनीतिक जीवनमा कठिनाइ भोग्न बाध्य भएको उनले सुनाइन् ।

कक्षामा सधैं पहिला 

उमा कक्षामा कहिल्यै दोस्रो भइनन् । परीक्षाको नतिजा आएपछि शिक्षकहरू अबिर लिएर उनको घर आइपुग्थे र बाबुलाई भन्थे, ‘छोरी हुनु त हजुरको जस्तो ¤ हाम्रा त के छोरी र ¤’ हुन पनि उनी कहिल्यै असफल हुनु परेन । शिक्षाशास्त्रमा स्नातकोत्तरमा उमा स्वर्ण पदक हासिल गरिन् । 

गोर्खामा जन्मिएकी उमा उनका बा चितवन बसाइँ सर्दा ६ वर्षकी थिइन् । नौ वर्षको उमेरमा उनको पढाइ सुरु भयो । चितवन जिल्लाको शारदा हाइस्कुलबाट एसएलसी पास गरिन् । उमेरले १६ वर्ष हुँदा नहुँदै राजनीतिमा लागिन् र कांग्रेस भइन् । उनी कुनै योजना बनाएर राजनीतिमा लागेकी थिइनन्, केवल बीपी कोइरालाबाट प्रभावित थिइन् । उनले विद्यालयमा कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको इकाइ अध्यक्ष भएर राजनीतिक यात्रा सुरु गरिन । उनका दाजु तीर्थराज रेग्मी पनि सक्रिय राजनीतिमा थिए । उनलाई दाजुको सहयोग थियो । तीर्थराज त्यतिखेर चितवनमा सक्रिय नेता थिए । दाजुले लुकाएर ल्याउने पत्रपत्रिकाले उमाको राजनीतिक चेतनालाई फराकिलो बनाइदियो । भन्छिन्, ‘दाजु मेरो कोठामा नजाओ है, पत्रपत्रिका छन् भन्नुहुन्थ्यो, म लुकीलुकी पढ्थेँ ।’ 

समाजमा विभेद भए पनि उमाका बाआमाले परिवारमा छोरा र छोरीमा कहिल्यै फरक व्यवहार गरेनन् । पढाइ राम्रो भएकाले उमाले बाबुआमाको विश्वास जितेकी थिइन् । बालबालिकाको व्यक्तित्व विकासका उद्देश्यले खोलिएको चारपाते क्लबमा सक्रिय थिइन् । एकपटक राष्ट्रिय स्तरमा आयोजना भएको वक्तृत्वकला प्रतियोगिता प्रथम नै भएकी थिइन् । 

उमा केटाकेटी उमेरमै म धेरैले चिन्ने मान्छे बन्छु भन्ने सोच्थिन् । यसो हुन उनले पढाइ र राजनीति समानान्तररूपले अघि बढाइन् । सामाजिक परिवर्तन राजनीतिक चेतनाबाट मात्रै सम्भव देखेकी थिइन् उनले । उनले आफ्नै शहर नारायणघाटबाट प्रविणता प्रमाणपत्र (आईए) पठाइ पूरा गरिन् । यसपछि भने उनी काठमाडौं आउनै पर्ने भयो । चितवनमा स्नातक तहको पढाइ हुने क्याम्पस थिएन । 

काठमाडौंले पढाइसँगै राजनीतिक सक्रियतालाई फराकिलो बनायो । उनी २०३६ सालको विद्यार्थी आन्दोलनमा सक्रिय भइन् । यी क्रममा उनी तीन वर्ष जेल परिन् । एमएसम्मको पढाइ पूरा भयो । २०४६ सालमा भएको जनआन्दोलनमा उनी झन् बढी सक्रिय भइन् । राजनीतिक परिवर्तनका लागि लडेका ती दिन सम्झँदा उनी अहिले पनि तरंगित हुन्छिन् । आन्दोलनको एक दिन उनी रत्नपार्कस्थित अञ्चलाधीशको कार्यालयनजिकै पक्राउ परिन् । ‘हिँड्दै थिएँ, प्रहरीले अचानक नियन्त्रणमा लियो,’ उमाले घटना सुनाइन् । त्यतिबेला उनी महेन्द्ररत्न क्याम्पस, ताहाचल क्याम्पसमा पढाउँथिन् । प्रहरीले उनलाई खोजिरहेको रहेछ । रत्नपार्कको शान्त सडकमा हिँड्दै गर्दा समातिएकी थिइन् । 

आन्दोलनका समयमा स्कुल पढ्ने छोरो अपहरण गरिन्छौं भन्ने धम्की पनि आयो । उनी विचलित भइनन् । विद्यालयलाई गोप्य सन्देश पठाएर छोरोको सुरक्षाका लागि सजग गराइन् । आन्दोलनको यो अप्ठ्यारो समयमा उमाले आफ्नी आमाको सहयोग र समर्थन पाइन् । 

प्राध्यापकबाट सांसद 

स्नाकतोत्तरमा उच्च अंक ल्याएर गोल्ड मेडलिस्ट भएपछि उमाका सामुन्ने अवसरका धेरै ढोका खुले । फरकफरक ढोकामध्ये उनको रोजाइमा प¥यो प्राध्यापन पेसा । प्राध्यापन उनको पहिल्यैदेखिको रोजाइ थियो । ‘राजनीतिसँगै वैचारिक सक्रियता पनि कायम राख्न सकिन्छ भन्ने थियो,’ उनले प्राध्यापन नै रोज्नुको कारण खुलाइन् । प्राध्यापनमा १० वर्ष बिताएपछि उमा २०४८ सालको प्रतिनिधिसभा निर्वाचनमा पर्वत क्षेत्र नं २ बाट नेपाली कांग्रेसकी उम्मेदवार भइन् । उनले चुनाव जितन्, प्रतिनिधिसभा सदस्य भइन् । 

उमा पार्टीको भगिनी संगठन नेपाल महिला संघमा सक्रिय भइन् । २०५८ सालमा उनी नेपाल महिला संघको पहिलो महाधिवेशनमा अध्यक्षमा निर्वाचित भइन् । संविधानसभाको पहिलो निर्वाचनमा समानुपातिकतर्फ सभासद भइन् । 

गाउँ गाउँमा प्रशिक्षण 

दोस्रोपटक नेपाल महिला संघको निर्वाचनमा अध्यक्षको उम्मेदवार हुने कि नहुने भन्ने दोधारमा थिइन् उमा । संघभित्रकै धेरै दिदीबहिनीले उनलाई महिला संघमा फेरि आउन आग्रह गरे । दिदी बहिनीको त्यो सद्भाव उनले नकार्न सकिनन्, त्यसैले एक वर्षअघि भएको संघको महाधिवेशनबाट उनी फेरि अध्यक्ष निर्वाचित भइन् । 

उमा यतिबेला अहिले गाउँगाउँ पुगेर महिलालाई प्रशिक्षित गरिराखेकी छिन् । हरेक क्षेत्रमा महिलालाई अघि बढ्न धेरै चुनौती रहेकाले उनीहरूलाई सचेत गराउनुपर्छ, प्रशिक्षित गराउनु पर्छ भन्ने उमाको धारणा छ । भन्छिन्, ‘परिवारमा महिलामाथि धेरै जिम्मेवारी र पित्तृसत्तात्मक सोचमा परिवर्तन आवश्यक छ ।’ उमा उमेरले ६२ वर्ष पुगिन्, उनको राजनीतिक यात्रा निरन्तर छ, जाँगर यथावत् छ । 


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं