Date:2017/09/23 |Saturday

कविता - स्वर्गबाट म कमलु सदाको सन्देश

Posted on: August 26, 2017 | views: 111 | मिलनकान्छा किराती

मेरो प्यारो तिलाठी, कोइलाडी

मेरो स्वर्ग मुसहर बस्ती

त्यहाँ,

विभेदको बाढी उहिल्यै आएको हो

र, सबै खेत बगायो

जमिन छैन ।

अभावको आँधी उहिल्यै आएको हो

र, महल उडायो

घर छैन ।


फुदन सदाको साहसले

सिञ्चिएकोे एउटा झुपडी

दुःखका दस दुलोभित्र

मुसा लुकामारी खेल्थे 

त्यसरी,

मुसाले पनि हेप्थे

मान्छेले त हेप्थे–हेप्थे !


बत्तासले पनि हेप्थे

घामले पनि हेप्थे

बादलले पनि हेप्थे

वर्षातले पनि हेप्थे ।

शोषकको साम्राज्य थियो

त्यसैले,

झुपडीभित्र गएको हो गरिबीको पहिरो 

र त,

जम्थ्यो अगेनामा आँशुको आहाल 

डुब्थे खुशीहरू

चर्किन्थे भरोसाका भित्ताहरू

भत्किन्थे आशाका पर्खालहरू

किचिन्थे कलिला मुलायम मुटुहरू

हृदयका दैलो बन्द थिए

थिए प्रकाशको किरण बन्द

हावाको पनि आवतजावत बन्द थिए

मान्छे त मान्छे भइहाले

बतासले पनि ढोका उघार्दैन’थे ।


पानी पिएर होइन

मृत्यु पिएर विद्रोह गरेँ

मुक्तिको ढोका उघारेँ ।

म डुबेर सागरमा

पानीको साम्राज्य बनाएँ ।

मैले छोएको पानी नचल्ने ?

म कसैको घरभित्र छिर्न नहुने ?

महासागर भएर

प्रत्येकको घरभित्र छिरेको छु ।

अगेनो र कुल छोएको छु 

समानता ल्याएको छु ।


मेरो पार्थिव शरीर

सद्गतका लागि

नदेऊ मलाई जमिन

यहाँ जमिन कसैको छैन ।

सबै रित्तो छ

सबै भूमिहीन छ ।

नत्र,

ए जमिन हुनेहरू

स्वर्गमा जमिन लिएर आऊ

ए सम्पति हुनेहरू

स्वर्गमा सम्पत्ति लिएर आऊ

दुःखको दल–दलमा भासिएर

म जस्तै आँशु पिएर नआऊ !


म जस्तै,

पानीको मृत्यु

पानीको चित्ता

पानीको दागबत्ती

पानीको चिहान, पानीको जमिनमाथि तैरिएर

पानीको महासमर–यात्रा कसैले गर्न नपरोस्

पानीले कुल छोएर समानता दिएको छु

विभेद सहेर कसैले मजस्तै मर्न नपरोस् ।

यही छ,

महासागरको स्वर्गबाट

म कमलु सदाको सन्देश !


नत्र,

चेतनाको ढोका खोलेर हेर्नू

विभेदको पर्दा च्यातिएर

समानता आइसकेको छ ।

त्यो बस्तीको घाम र बतास हेर्नू

निर्मल, चञ्चल उस्तैगरी छाइसकेको छ ।




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं