Date:2017/09/23 |Saturday

कविता - एउटा सत्य जन्माउनेछन् फूलहरूले

Posted on: August 26, 2017 | views: 59 | कमला रिसाल ज्योति

समयको वासन्ती बगैंंचामा

घामका रङ्गहरू 

सेताम्य फुलेका हिउँका मुस्कानभरि 

हाँसिरहेछन् गुराँस जसरी  !


हिलाम्य पाउभरि जेलिएर 

चाँदीको घेरा वरिपरि 

कसरी फक्रिरहेका

कमलहरू ..........!


घामसित लुकामारी खेल्ने 

पारिजात हुन् 

या, 

प्रेमीको स्पर्शबाट मर्माहत

नीला गगनभरि चम्किरहेका

शिरिषका मुहार जसरी

अलिकति पे्रयसीको अँगालो 

र, त्यसैमा फक्रिएका फूलहरू 

कसरी हाँसिरहेछन् 

हिमाललाई इष्र्या गरी !


गोधूलीमा माइत गएकी

चाँदनी पनि त 

गर्भमा फक्रिरहेका फूलहरू सुम्सुम्याउँदै 

हतारहतार फर्किन्छे 

शिशिरका भाइरसहरू 

वसन्तका डाली डाली हेरेर 

कसरी कठ्याङ्ग्रिदै मर्छन् ...। 


हेर त भत्किएका गुँडमा 

बेसाहारा चरीहरूलाई 

सिरू फुलेझैँ 

सेताम्य हाँसिरहेका ...। 


फूल नफुले 

स्वर्गको के अर्थ ?

देवताको के अर्थ ?

बगैँचाको के अर्थ ?

अनि, 

लोभी भँवराहरूको के अस्तित्व ??


फूलको थोपाथोपाबाट 

पराग बटुलेर जून फक्रेको हो 

अब, हाँस्दा हाँस्दै 

एउटा सत्य जन्माउनेछन् फूलहरूले । 




Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं