Date:2017/11/23 |Thursday

लघु कथा– ऊ कहिल्यै फर्किन्न

Posted on: August 29, 2017 | views: 173 | सीता आस्था

त्यही समय त्यही पल आखिरी कुहिरीमण्डल भएर आँखा अगाडी नाच्न आइपुग्छ । मनभरी ठूलै हुण्डरी चल्छ ,ब्यथाहरु एक पछि अर्को गर्दै उडिरहन्छन् । श्वास भित्र बाहिर गरिरहन्छन् । कार्यालय जाँदा र आउँदाको समय देख्ने गर्छु एउटै दृष्य, कालो मैलो र झुत्रे बर्को लमतन्न पछारिएको सडकको छेउमा र शहरका घर तथा पेटीहरुमा । कहिल्यै आँखाबाट ओझेल पर्दैन, लम्पसार त्यो फाटेको जिन्दगी । आखिर त्यो पनि त एउटा सजिव जिन्दगी हो । कोही मात्तिएकाहरु उन्मुक्त हाँसो हासेर हिड्छन् । थोरै बुद्धत्व बोक्नेहरु मानवता देखाउछन्,मनलाई थोरबहुत निरास बनाएर हिड्छन् । अलिक धर्ममा आस्था राख्नेहरु पूर्बजन्मको कमाई हो भन्ठान्छन् ।

सबै परिभाषा र व्याख्या भित्र पस्दा पनि म मौन छु । ऊ प्रति माया छ सहानुभूति छ मलाई । को हो ? कहाबाट आएको र कहाँ सम्म हिडेको ? कस्को आफन्त हो कस्को रगत हो , कस्को पसिना हो ? आखिर के थाह मलाई ! उसको मन कति धेरै भत्किएको होला ? उस भित्र के छ ? क्रुर अन्याय भएको छ कि ! उसले ठूलै अपमान सहेको छ कि ! समय बित्दै जान्छ उसका दिन चर्याहरु सडकमानै हुन्छन् । सायद मेरो पनि समय बढी भन्दा बढी उसप्रति जिज्ञासु बनेर बित्न थाल्छ । मर्नुनबाच्नुको दोसाधमा अल्झिएको त्यो जिन्दगीलाई सडकमा हिँडिराखेका सुकिला हँसिला जीवन संघ मोलतोल गर्छु । आखिर त्यो पनि त जीवन हो । त्यो जीवन पनि त बाँचेकै छ, उसरीनै निदाएकै छ । कहिले पनि बोलाउने साहास गरेकी छैन मैले । उसले पनि ब्यूँझिएर मेरो नजरमा नजर जुधाएकी छैन, उसको पीडा ओकलेको छैन ! मैले पनि त सोधेकै छैन !

उ भित्रको वास्तबिकता नबुझिन्जेल मलाई पनि मनको कौतुहलता मेटाउन सार्हो परेको छ । दिनचर्याहरु अलपत्र बन्न थालेका छन् । हातमा कुनै काम आएको छैन । मनले शान्त हुन पाएको छैन । उसको निन्द्रा भत्काएर उसबाट केही बुझ्न चाहन्छु म। निन्द्रा बिथोलि हालाँै त कस्तो मीठो सपनामा होलि ! कतै सपना बिथोलिन्छ कि ! भावना बरालिन्छ कि ! असामान्यखालको कुनै गतिबिधि पनि छैन । कसैलाई औलो ठड्याएको पनि छैन,कसैलाई फलाकेको पनि छैन । जसले जे दिन्छ त्यहि खायो निदायो । खै कस्तो जिन्दगी । आफूले खाने बेलामा गाँसहरु उसकै यादमा भुइभरी छरपस्ट हुन्छन् । रातहरु उसकै यादमा बिलाएर जान्छन् । ठूलै कस्ट हुन्छ, ठूलै पीडा हुन्छ । कहुतुहलता अझै बढ्दै गएको छ । जसरी पनि मनको कौतुहलता मेटाउनु छ । जसरी पनि ऊ भित्रको पीडा र बिचार बुझ्नु छ । के छ उसका भित्र खोज्नु छ ।

बिहान सबेरै उठेर उसको छेउमा पुग्छु । दिदी..दिदी...तपाईं कहाँबाट आउनु भएको ? घर कहाँ हो ? श्रीमान छैनन्,छोराछोरी छैनन ?किन यसरी...।



यी शब्द सुनेपछि ऊ बिस्तारै उठेर बस्छे, भक्कानिएर कोही.... छैन ...भनेर छेउको पानीको बोतल उचालेर घुटुक्क प्यूँछे थपक्क भुइमा राख्छे । मलाई राम्ररी हेर्दा नयाँ अनुहार लागेन । पुरानो पुरानै तर कहाँ देखे देखे जस्तो!कहाँ पहिल्यै चिने भेटे जस्तो । निर्क्योल गर्न सकिन । फेरि ऊ लामो श्वास तानेर मेरो कोहि छैन भन्छे । घर कहाँ हो त ? कहाबाट आउनु भएको ? लडाईबाट घाइते भएर आएं । यो ..छातीमा गोली लागे जस्तो भएको छ , श्वास फेर्न पनि निक्कै गार्हो हुन्छ । देशमा शान्ती आउँछ गरिवको पनि गाँस बासको ग्यारेन्टी हुन्छ । हाम्रो देश पनि अमेरीका जस्तै बिकसित हुन्छ अरे भनेर सबै लडाइमा गए । हामी पनि स–परिवार गयौ । श्रीमान छोराछोरी सबै गुमे, म मात्र ज्यूँदो लास भएर बाच्न विवश छु । भएको सम्पक्ति पनि युद्धमा अरूलाई पाल्दै सिद्धियो जब टेक्नेन समाउने भएपछि कस्ले वास्ता गर्छ र!जस्तो भएपनि ज्यानको माया हुदो रैछ । यति सुनेपछि म केही समय उसलाई हेरेर टोलाउछु । ऊ त मेरै साथी सरीता पो रहिछ।पहिला नौ दशमा हामी सङ्गै पढेका थियौ । एसएलसी सकेर ऊ जनयूद्धमा लागि म परिवारको उचाईका कारण पढाईमा नै लागें । ऊ भित्र बिद्रोह थियो, पढ्ने हैसियत थिएन त्यही भएर युद्धबाट परिवर्तन ल्याउने ठूलो सपना थियो अनि गरिब र निमुखाका निम्ति लड्नु थियो र अधिकार सम्पन्न बनाउनु थियो ।

मेरो त्यो नभएर खाली पढ्नु र ठूलो पोष्टमा जागिर खानु थियो । आखिर मेरो पनि सपना अधुरै रहयो ,कुनै पदको पधादिकारी बन्न सकिन । म उसलाई चिनाउन खोज्छु । मलाई चिनिनस् ? ठम्याई हेरन कहि कतै देखेको हो कि ! ऊ एकोहोरो भएर मलाई हेर्छे । ए चिनें आस्था हैन ? जुरुक्क उठ्छे । म कल्पनामा बग्न थाल्छु , कतिवटा युद्ध लड्नु पर्ने ? कति लडेपछि जीवन पूरा हुन्छ ? धेरै समय खर्च भयो उसमाथी अब घरमानै लगेर सबै बास्तविकता बुझ्नुपर्ला भनेर म मेरो घरसम्म जान आग्रह गर्छु। ऊ उसको झोला र पानीको बोत्तल च्यापेर मलाई फर्केर नहेरी आफ्नो बाटो लाग्छे । म बोलाउँछु , िचच्याएर कराउँछु तर ऊ फर्किन्न मेरो आँखाबाट ओझेल पर्छे शहरबाटै हराउँछे । कहिल्यै फर्किन्न ऊ !


झापा


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं