Date:2017/09/23 |Saturday

‘कौंनो न आइल मालिक, हम सब भुखे सुतल छी, बचवा सब के कपडा भि नइ छइ’

Posted on: September 04, 2017 | views: 364 | महेश थापा

यो राहत बोकेर सर्लाही पुगेका नेपाली चलचित्रका महानायक राजेश हमालको टोलीसामु स्थानीय बाढीपीडितले पोखेको सुस्केरा हो । उक्त राहत कार्यक्रमको समन्वयकर्ता एवं टोलीमा सहभागी मध्ये एकजनाले कुराकानीको क्रममा बताएका हुन् ।

साउन अन्तिम हप्ताको तराई डुबानसँगै सर्लाहीको दक्षिणी भागमा पर्ने सकरौल, शिवनगर, बिनगर्रालगायतका बाढीपीडितले राहत नपाएको समाचार प्रकाशित भएपछि नायक हमालसहितको टोली चामल, दाल, तेल, कपडा, ब्ल्याँकेट आदि बोकेर पुगेको थियो । अफ्सोच त्यतिन्जेलसम्म राहत लिएर त्यहाँ कोही पुगेको रहेनछ । तराईका मसिया हौं भन्ने नत राजपा, नत देश हाक्ने हामी मात्र हौं भन्ठान्ने प्रमुख दल नत त्यहि बर्षौ देखि राजनीतिक गर्ने राजनीतिकका माहिर खेलाडीहरु नै पुगे ।

मधेशवादको झण्डा उठाउने लगभग आधाजसो प्रभावशाली नेता सर्लाहीकै छन् । महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र राय यादव, अमरेशकुमार सिंह, खोभारी राय, रामेश्वर राय यादव आदि केही उल्लेखयोग्य नाम हुन् । तर, त्यहींका मधेशी जनतालाई राहत उपलब्ध गराउने कुरामा उनीहरु उदासीन देखिन्छन् । सत्ता गठबन्धनमा सहभागी यी नेताले उद्धार र राहतको निम्ति न त सरकारसँग दह्रो पहल गरेको पाइयो न त त्यसका निम्ति आफ्नो पार्टीपंक्तिलाई नै रामरी परिचालन गरेको पाइयो । 

सर्लाहीमै जन्मेहुर्केको नाताले माथि उल्लेखित नेताहरुलाई मैले नजिकबाट नियालेको छु । बसाईको हिसावले राजधानी बसेपनि मेरो नशा नशामा सर्लाही दौडिरहेको हुन्छ । बाल्यकालका स्मरणीय घटनाक्रमले सर्लाही सम्झाई रहेको हुन्छ ।  मधेसकै नेता मानिएका एकाधसँग त संगतै गरेको छु । तर, उनीहरुले मधेशी जनताले भोग्नुपरेको प्रत्यक्ष समस्या र सरोकारबारे गम्भीर चासो राखेको वा दह्रो आवाज उठाएको मैले कहिल्यै सुनिनँ ।  भारतले सिमानामा बलात् बनाएको सडक, बाँध तथा संरचनाहरु तराईमा बढ्दो डुबान समस्याको प्रमुख कारण मध्ये एक हो, तर मधेशका मसीया हौं भन्नेहरु त्यसबारे बोल्दैनन् । डुबानबाट आजित सप्तरीका तिलाठीवासीले भारतद्वारा सिमानामा निर्मित बाँध भत्काउन जाँदा भएको झडपमा कयौं मधेशी घाइते भए । तर, मधेशी दाजुभाइको रगत बग्दा हाम्रा मधेशवादी दलहरुको वाक्य फुटेन । भारतले वर्षेनी सीमा मिच्दा सयौं मधेशीले घरबार गुमाउँछन्, उनीहरु सासै फेर्दैनन् परिबन्दमा परेर कथम् बोल्नु परिहालेमा– यो त सरकारले कूटनीतिक रुपमा सल्टाउनु पर्छ भन्दै टक्टकिन्छन् । मधेशी दलितले सार्वजनिक धारा–इनारबाट पानी ल्याउन नपाउँदा उपल्लो जात हौं भन्नेहरु अन्ठ्याएर बस्छन् । बोक्सी, दाइजो, छुवाछुत आदिको नाममा महिला, दलित एवम् सीमान्तकृत मधेशी प्रताडित भएको विषयमा उनीहरु मौनव्रत धारण गर्छन् । यो सबै देख्दा दुःखपूर्वक भन्न बाध्य हुन्छु– के देश र मधेशप्रति निस्पृह रही लैनचौरमा भतेर खानु र भारतीय इशारामा दशगजामा पन्डाल टाँगी राजनीतिको दोकान चलाउनु नै ’मधेशवाद’ हो ?

यस्तो तर्क गर्दा ’मधेशविरोधी’ र ’महेन्द्रीय राष्ट्रवादी’ को तक्मा भिराएर दपेट्ने कोशिस गरिन्छ भनेर भलिभाँती जान्दछु । जतिसुकै दुत्कारुन्, देखिजानेको र ब्रह्मले मानेको कुरा नबोली बसिन्न । 

म कसरी मधेशविरोधी हुनसक्छु ? म मधेशमै जन्मिएँ । मधेशमै हुर्किएँ । मधेशमै पढें । मधेशमै काम गरें । मधेशमै बिहे भयो । सन्तान पनि मधेशमै जन्मियो । मधेशमै बिरामी परें । मधेशमै थलिएँ, अनि उपचारको लागि मात्र काठमाडौं छिरें । मेरा धेरै साथीहरु मधेशी छन् । कतिलाई दाइ भन्छु, कतिलाई भाइ । मौका पर्दा भान्सामा सँगै बसेर खान्छौं पनि । अझ मलाई डोर्याएर लगी, मेरो निम्ति गोटी चालिदिएर, मलाई वुद्धिचालको राष्ट्रिय खेलाडीको परिचय दिलाउन सघाउने भाइ पनि मधेशी नै थिए । चाहेर पनि म मधेशविरोधी हुन सक्दिनँ । परिकल्पना पनि गर्न सक्दिन ।

मेरो समग्र परिचय मधेशसँगै गाँसिएको छ । पहाडमा त मेरो केही पनि छैन । म स्वयं मधेशी हुँ । त्यसैले, मधेश र मधेशीको विकास नभई मेरो उत्थान कसरी सम्भव छ ? मैले बुझेसम्म न त मधेशी जनता पहाडविरोधी छन् न त पहाडी जनता मधेशविरोधी छन् । हाम्रो विमति रोग, भोक, गरीबी, स्वास्थ्य, शिक्षा र सुरक्षाजस्ता मधेशी जनताका मूलभूत समस्याप्रति निस्पृह बसी मधेश–पहाडबीच विभाजन–रेखा कोरेर राजनीतिको रोटी सेक्ने प्रवृत्तिसँग हो । त्यसैले, यसपल्ट भोट माग्न आउनेहरुसँग सबैले सोधौं–मधेशवाद के हो ? र, सम्पूर्ण मधेश एवम् मधेशीको उत्थान कसरी सम्भव छ ?

(महेश थापाको फेसबुकबाट, उनि व्यङ्यात्मक कलम चलाउँछन् । )


Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं