Date:2017/10/20 |Friday

भुइँचालोपछिको जिन्दगी

Posted on: September 16, 2017 | views: 227 | रमा लुइँटेल

काठमाडौं । गएको मंगलबार राजधानीको जोरपाटीस्थित खगेन्द्र जनजीवन केन्द्र पुग्दा साँझको पाँच बज्नै लागेको थियो । निकै हतारमा थिएँ । भनिएको समयभन्दा झण्डै एक घण्टा ढिलो पुगेकी मलाई गौशालादेखि झेलेको ट्राफिक जामको पट्यारले दिक्कदार बनाएको थियो । चाबहिलबाट जोरपाटीसम्म खाल्डैखाल्डा परेको सडकमा माइक्रोबसले गराएको चचहुईले शरीर शिथिल भएको थियो । 

खगेन्द्र जनजीवन केन्द्रको मूलगेटबाट भित्र पस्दै रमेश खत्रीलाई सम्पर्क गर्न सकिने मोवाइल नम्बर डायल गरेँ । मूलगेट सँगैको चौरमा दुईवटा हृवीलचियर थिए । हृवीलचियरमा बसेकामध्ये एक हातले इशारा गर्दै उनीतिरै मलाई बोलाए । म पुगेपछि उनले भने, ‘तपाईं नै हो ?’ 

मैले पनि यसै भनिदिएँ, ‘हो ।’

उनले आफ्नो परिचय दिए– म नवराज कार्की । 

सँगैको हृवीलचियरमा बसेका युवकलाई देखाउँदै नवराजले भने– तपार्इंले मेरो मोवाइलमा फोन गर्नुभएको हो । उनको मोबाइल बिग्रेको छ । इमरजेन्सी पर्दा यसमै सम्पर्क गर्न सकिन्छ । 

त्यसपछि मलाई रमेश खत्री उनै रहेछन् भन्ने पक्का भयो । रमेशले २७ महिनाअघिको विनाशकारी भूकम्पमा आफ्ना तिघ्रामुनिको पूरै भाग गुमाएका थिए । छोटिँदै गएको दिनले साँझको स्वागत गर्दै थियो । केही छिनमै झमक्क साँझ पर्दैछ भन्ने संकेत गुँडतर्फ जाँदै गरेका चराका बथानले दिँदै थिए ।

चौरनजिकै एउटा रूख, रूखसँग इँटा र सिमेन्टले बनेको  बेन्च छ । म बेन्चमा टुसुक्क बसँे । नवराज र रमेश म नजिकै हृवीलचियरमै छन् ।  


बदलिएको बाटो 

मध्यपश्चिम पहाडी जिल्ला दैलेखका रमेश खत्री सानैदेखि लाहुरे बन्न चाहन्थे । गाउँका धेरै दाइले लगाएको लाहुरे लुगाले उनलाई मोहित बनाएको थियो । दसैं तिहारको बिदामा घर आउँदा ती दाइले गाउँमा पाउने सम्मानले उनी त्यसतर्फ आकर्षित भएका थिए । 

परिवारको गर्जो टार्न दुई चार वर्ष रमेशले जे पाइन्छ त्यही काम गर्नुपर्ने बाध्यता थियो । त्यसैले उनी १४ वर्षमै काठमाडौं आए । त्यो उमेरका किशोरले काठमाडौंमा रोजेको काम के पाउन सक्थ्यो र ¤ उनी बालाजुको एउटा गेष्ट हाउसमा काम गर्न थाले । काम गर्न थालेको तीन वर्ष भएको थियो । उनी दसैंतिहारमा घर जान्थे । अरू बेला पनि न्यास्रो लाग्नेबित्तिकै बिदा मिलाएर एकै रातलाई भए पनि घर पुग्थे ।

वैशाख १२ को भूकम्पले उनी काम गर्ने सात तले गेष्ट हाउस गल्र्याम्मै ढल्यो । 

भयानक भूकम्पले उनको घर जाने योजना मात्रै बिथोलेन, जीवनको बाटो नै अर्कैतिर बदलिदियो । आर्मी बन्ने सपना बोकेका उनको लक्ष्य अहिले फिजियोथेरापिस्टमा बदलिएको छ । पढाइ छोडेर कमाउन शहर पसेका उनी पढ्न थालेका छन् । नौ कक्षाका विद्यार्थी उनी जोरपाटीस्थित खगेन्द्र नवजीवन केन्द्रमा पढ्छन् । बोधिसत्व इन एक्सन (बिआइए) नामको संस्थाले उनीजस्तै अपांगता भएका धेरैलाई खाने र बस्ने निःशुल्क व्यवस्था गरिदिएको छ । रमेश किन फिजियोथेरापिस्ट बन्न चाहन्छन् ? उनले छोटो उत्तर दिए, ‘फिजियोथेरापीले मलाई छिटो निको पा¥यो, म अरूलाई यस्तै सेवा दिन चाहन्छु ।’ 

फिजियोथेरापीले शरीरमा व्यायाम गराउने भएकोले छिटो निको भएको उनको अनुभव छ । अपागंता भएकालाई फिजियोथेरापी गराएर जीवन सहज बनाउन सहयोग गर्ने लक्ष्य राखेका छन् रमेशले । ‘आर्मी बन्ने मन थियो, अब त्यता जान्नँ, फिजियोथेरापीको डाक्टर बनेर म जस्ता धेरैको जीवन सजिलो बनाउन मद्दत गर्छु ।’  

त्यो अत्यास लाग्दोदिन 

रमेशले भूकम्पको कुरा सुनेका थिए तर भोगेका थिएनन् । गाउँमा छँदा साथीभाइसँग गफिँदा आकाश खस्छ रे, पृथ्वी ध्वस्त हुन्छ रे भन्ने सुनेका थिए । 

वैशाख १२ को त्यो दिन पनि उनी घर जाने तयारीमा थिए । बिहानको खाना खाएर हिँड्ने तयारी थियो । बिहान केही किनमेल गरे । गेष्ट हाउसमा आएर खाना खान थालेका मात्रै के थिए पूरै गेष्ट हाउस हल्लिन थाल्यो । 

भुइँचालो ... भुइँचालो ... भन्दै कोकोहोलो मच्चिन थाल्यो ।  के गर्ने र कसो गर्ने पत्तै भएन । मानिसहरू आत्तिँदै कराउँदै बाहिर निस्कन थाले । रमेश पनि निस्कन खोज्दै थिए । भ¥याङमा चिप्लिएर उनी लडे । रमेशको अघिल्तिर पेम्बा लामा डौड्दै थिए । जसले रमेशलाई भात पस्केका थिए केही मिनेटअघि । बाहिर निस्किन नपाई त्यो साततले गेष्ट हाउस गल्र्याम्मै ढल्यो । ठूलो पिलर उनको सिरान बन्यो । रमेश त्यही पुरिए । 

त्यो विनाशकारी भूकम्पलाई पनि उनले पृथ्वी ध्वस्त हुन लागेकै रूपमा बुझे ।

त्यो सात तले घरले किचिँदा पनि रमेश जीवनप्रति आशावादी थिए । ‘म बाँच्छु भन्ने होप थियो, त्यस्तो किन भयो थाहा छैन,’ सकारात्मक सोचका धनी रमेशले अत्यासलाग्दो घटना सुनाए । पुरिँदा पनि उनी आत्तिएनन् । लगातार बचाऊ बचाऊ भनिराखे  । जोन र पेम्बा उनका साथी थिए । जोन रमेशसँगै घर जाने तयारीमा थिए । 

पुरिँदा पनि जोन र पेम्बासँग कुरा गरेको रमेश बताउँछन् । ‘तपाईं को ? म रमेश । अनि तपाइँ नि ¤ म जोन । 

पुरिँदा भएको संवाद सुनाए उनले । 

साथीहरू पनि पुरिएको थाहा पाएपछि उनमा झन् आँट बढेको रहेछ । जीवनप्रति आशावादी भएकैले बाँच्न सफल भएको अनुभव सँगालेका छन् । पटकपटक आएको परकम्प र मान्छेको भागदौडसमेत ख्याल गरेका रमेशको झण्डै १२ घण्टापछि रातको १२ बजेतिर उद्धार गरिएको थियो । माइला दाइ भनिने ट्याक्सी चालक र नेपाली सेनाको समूहले उनलाई च्यापिएको ठाउँँबाट निकै मुश्किलले झिकेको थियो । 

उनलाई अस्तपाल पुगेको सम्म थाहा छ । त्यसपछि उनी तीन दिनसम्म केही थाहा पाएनन् । थाहा पाउँदा उनको तिघ्रामुनिको भाग थिएन । बाह्र घण्टा च्यापिएपछि तिघ्रामुनि रक्तसञ्चार बन्द भएछ । ‘सुरुमा त मलाई गोडा छैन भन्ने थाहै थिएन, सबैले हेर्थे, गोडाको औंला चलेको जस्तै हुन्थ्यो, गोडा नभएको कुरा अलिक पछि मात्रै थाहा पाएँ,’ रमेशले व्यथा सुनाए । 

उनले आफू महाराजगञ्जस्थित टिचिङ अस्पतालमा रहेको पनि थाहा पाए । त्यहाँबाट उनी नेपाल अर्थोपेडिक अस्पताल हँुदै खगेन्द्र नवजीवन केन्द्र पुगे ।

सहयोगी रमेश 

रमेश हृवीलचियरबाटै चावहिल चोकसम्म पुग्छन् । कृत्रिम खुट्टा  लगाएर विद्यालय जान्छन् । त्यसो त उनी दुईपटक कृत्रिम गोडाले गाउँघर पनि पुगे । सुरुमा त उनलाई कृत्रिम खुट्टा लगाउँदा अप्ठ्यारो भयो । उनको अनुभवले के बताउँछ भने कृत्रिम खुट्टा लगाएर हिँड्न धेरै मिहेनत गर्नुपर्छ, अभ्यास त्यत्तिकै चाहिन्छ । सबैभन्दा ठूलो कुरा त हिनताबोध हुनु हुँदैन, खुशी हुनुपर्छ । 

रमेश भन्छन्, ‘मेरो गोडा छैन, त्यसैले यो यस्तो गोडा लगाएँ भन्ने भयो भने त्यसले कमजोर बनाउँछ, लगाउने बानी परेपछि सजिलो हुन्छ, शरीरमा रक्तसञ्चार भएको अनुभव हुन्छ, फूर्ति बढ्छ ।’

अरू बेला हृवीलचियरमै हुने १९ वर्षका रमेश आफ्नो काम आफैं गर्छन् । त्यति मात्रै होइन, गेष्टमा खाना पकाउने अनुभव सँगालेका उनी भान्सामा सहयोग गर्नसमेत पुग्छन् । रमेशका कुरा सुनिरहेका नवराजले कुराकानीको बीचमै भने, ‘हामी कहिले काहिँ बिरामी भएर सुतिराखेका हुन्छौँ त्यतिबेला खाना लिएर कोठामै आइपुग्छन् रमेश ।’

परिवारको चिन्ता

भूकम्पमा परेर दुवै गोडा गुमाउँदा रमेशलाई आफ्नो भन्दा परिवारको चिन्ताले सतायो । उनकै कमाइमा परिवारको गर्जो टरेको थियो । भाइबहिनी विद्यार्थी थिए । ‘आफू त जसोतसो बाँच्छु भन्ने थियो, परिवारको चिन्ताले म पिरोलिन्थे,’ उनले दुःखको क्षण सम्झे । भित्रभित्र दुखी भएपनि उनले बाबुआमाको अगाडि कहिल्यै आँशु देखाएनन् । उनीहरू रुँदा रमेश हाँसिदिन्थे अनि बाबुआमा पनि हाँस्थे । उनले अपागंता भएका साथीभाइबाट अपांगता हुनु जीवनको समाप्ति होइन भन्ने बुझेका थिए । त्यसैले अपांगतामै पनि जीवन नयाँ ढंगबाट अघि बढाए । 

पौडीबाज रमेश 

रमेश सानोमा पौडी खुबै खेल्थे । गाउँका खोलामा पौडी खेल्ने प्रतिस्पर्धा नै हुन्थ्यो । हृवीलचेयरमा गुड्दै नेपाल पुलिस क्लब पुगेका रमेशले स्विमिड पुल देखेपछि मन थाम्नै सकेनन् । गाउँको खोलामा पौडी खेलेको यादले सतायो । हृवीलचेयरबाटै पुलमा हाम फाले । ‘सबैले मलाई नै हेरिराखेका थिए,’ उनले एक वर्षअघिको कुरो सुनाए ।

खुट्टा थिएन, फ्रि स्टाइलबाट आफूलाई उतारे । एक वर्षमा उनी पौडी खेल्न निकै जान्ने भइसके । 

केही साताअघि पौडीको तालिम लिन उनी जापान गए । उपत्यकाभित्र हुने पौडी प्रतियोगितामा उनले सफलता हात पारेको सुनाए । पहिलो, दोस्रो वा तेस्रोमा पर्छन् । उनी हृवीलचेयर क्रिकेट, बास्केटबल, टेबुलटेनिस खेलमा पनि उत्तिकै अब्बल छन् । 

खेलमा रुचि भएका रमेश अपागंता भएकाहरू स्वस्थ रहन खेल महŒवपूर्ण हुने बताउँछन् । खेलले शारीरिक मात्रै नभएर मानसिक स्वास्थ्य समेत राम्रो हुनुपर्छ भन्छन् रमेश ।








Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं