Date:2017/12/14 |Thursday

रेग्मी सरको साहित्यिक–समाजशास्त्रीय दृष्टि

Posted on: September 23, 2017 | views: 108 | रमा लुइँटेल

काठमाडौं । आजभोलि प्राडा. ऋषिकेशवराज रेग्मी अर्थात रेग्मी सर आराम गरिराखेका छन् । पाँच महिनाअघि माइल्ड हार्ट अट्याक भएपछि उनले लेख्न छाडेका छन् । सामान्य हिँड्डुल गर्छन् । हलुका व्यायाम गर्छन् । आफ्नो स्वास्थ्यप्रति सचेत छन् । पत्रपत्रिका पढ्छन् । समाचार सुन्छन् । उनलाई समाजमा देखिने ससाना विषयले पनि लेख्न प्रेरित गरिराख्छ । रेग्मी सर भन्छन्, ‘लेख्दा कुनै खास विषयमा फोकस्ड हुनुपर्छ, त्यसले दिमाग र शरीरलाई लोड पर्छ, लेख्न मन लागेको छ तर अस्वस्थताका कारणले हिजोआज लेखेको छैन ।’ 

रेग्मी सरले १६ वर्षको उमेरदेखि नै साहित्य लेख्न थालेका हुन् । उनको लेखनशैलीबाट त्यतिखेरका नाम चलेका साहित्यकारहरू समेत प्रभावित थिए । ‘यिनको कलम राम्रो छ’ भन्दै फुक्र्याउँथे, लेख्न हौसला दिन्थे । साहित्यकार वासुदेव त्रिपाठी ‘सिंहनाथ’ भन्ने पत्रिकाका सम्पादक थिए । २०१८ सालमा सिंहनाथमा रेग्मी सरको ‘पला’ शीर्षकको कथा छापिएको थियो । यो उनको पहिलो कथा थियो । त्यो कथा छापिएपछि उनी लेखनमा अघि बढे । अल्लारे उमेरमै पत्रिकामा कथा छापिएपछि उनलाई हौसला मिल्यो । 

यसरी साहित्यकार 

रेग्मी सरलाई आमाको अनुहार सम्झना छैन । उनी तीन वर्षको हुँदा नै आमाले संसार छोडिसकेकी थिइन् । उनी मातृवात्सल्यबाट वञ्चित भए । हुर्किंदै जाँदा आमाको माया नपाउनु पीडा बोध हुन थाल्यो । मातृवात्सल्यबाट वञ्चित हुनु नै आफू साहित्यकार बन्नुको एउटा कारण हो कि भन्ने अनुमान लगाउँछन् रेग्मी सर । 

त्यसो त युवा अवस्थामा मनभित्र स्वतः अंकुराएका प्रेम र चलेका प्रेम प्रसंगले पनि उनलाई साहित्यकार बनाउन सहयोग गरेका छन् । उनी पाल्पाको तानसेनमा जन्मिए । विद्यालय शिक्षाका लागि काठमाडौं आए । होस्टेल बसेर पढे । होस्टेलको वातावरण पनि साहित्य सिर्जनाका लागि उनलाई उपयोगी बन्यो । 

होस्टेल बस्दा मनमा अनेक तरंगहरू आउँथे । तिनै तरंगहरू समेटेर उनी कथा बुन्थे । यसैगरी कुनै कथाले उपन्यासको आकार ग्रहण ग¥यो । उनका रचनामा कतै आमाको माया त कतै प्रेमिकाको प्रेमका कुरा अभिव्यक्त भएका हुन्छन् । समाजमा भएका अनेक गतिविधि र सामान्य विषय वस्तु समेटेर रेग्मी सर मिठासपूर्ण ढंगबाट रचना तयार गर्छन् । 

रेग्मी सरले आफ्नो एउटा उपन्यास ‘सिन्दुरे यात्रा’ को विषयवस्तु छनोट गर्दाको प्र्रसंग सुनाए । एकजना विदेशी प्राध्यापक कुनै विषयको अध्ययनका लागि नेपाल आएका थिए । ती प्राध्यापकले एक नेपाली युवतीलाई खुब प्रेम गरे । ती युवतीको मायामा लठ्ठ भए अनि प्रेमिकालाई सिन्दुर नै हाले । उनीहरूको प्रेम चक्कर नियालिरहेका रेग्मी सरले त्यही विषयमा केन्द्रित भएर ‘सिन्दुरे यात्रा’ उपन्यास लेखे ।

रेग्मी सरलाई साहित्य सिर्जनाका लागि विशेष परिस्थितिको भूमिका पनि त्यति नै महŒवपूर्ण हुने रहेछ । केही वर्षअघि उनी अति विकसितमध्येको एक युरोपेली मुलुक नर्वे गएका थिए । नेपाल र नर्वेको रात र दिनको समयको फेरो नमिल्दा सुरुका केही दिन निदाउन सकेनन् । त्यो समयमा उनले लेख्ने काम गरे । केही कथा र उपन्यास भए । अहिले उनी ती कृतिहरू पल्टाउँछन् । केही प्रकाशित छन् त केही अप्रकाशित पाण्डुलिपि । अहिले ती सिर्जना पढ्दा उनी आफैँलाई कसरी लेखेँ हुँला जस्तो लाग्छ । आफ्ना कृतिहरू प्रायः दुखान्त कथामा आधारित हुने गरेको उनी बताउँछन् । 

किन उनका सिर्जनामा दुखान्त कथाकै प्रधानता छ ¤ यसको पनि कारण छ– बाल्यकालमा आमाको मायाबाट वञ्चित हुनु । आमाको माया नपाएको कुराले उमेरको यो सातौँ दशकमा पनि उनलाई चिमोटिरहन्छ । 

रेग्मी सरका सातवटा उपन्यास प्रकाशित छन्– स्वयम्भुको डाँडा, सुन्दुरे यात्रा, फुंग उडेको यौवन, फुटेको पुर्पुरो, परिवर्तनका खुड्किलाहरू, बलिरहेको चिता र ‘द चेन्ज’ शीर्षकमा अंग्रेजी भाषाको उपन्यास । दुई कथा संग्रह ‘पला’ र ‘बिलाउँदै गएको छायाँ’ प्रकाशित छन् । 

समाजको डाक्टर 

रेग्मी सर डाक्टर भएर मानिसको उपचार गर्न चाहन्थे । उनी एमबिबिएस र त्योभन्दा माथि पढेर शरीर विज्ञानको डाक्टर बन्न चाहन्थे । उनको जमानामा डाक्टर बन्ने विषय पढ्न जो कोहीले आँट गर्दैन थियो । त्यसको कारण थियो आर्थिक अभाव । पाल्पाको पहाडमा घर भएका उनका बासँग छोरालाई डाक्टर पढाउन पुग्ने पैसा कहाँ हुनु र ¤ 

रेग्मी सरले विद्यालय तहसम्मको शिक्षा फर्पिङको त्रिभुवन आदर्श विद्यालयबाट पूरा गरे । डाक्टर बन्ने धुनले विज्ञान विषयमा भर्ना भएर त्रिचन्द क्याम्पसबाट आइएस्सी उत्तीर्ण गरे । स्नातक तह अर्थात बिएस्सी पढ्न छात्रवृत्ति पाएर उनी कलकत्ता गए । बिएस्सीको पढाइ पूरा गरेर नेपाल फर्किएका रेग्मी सर पुरातŒव विभागका कर्मचारी भए । उनको सिर्जनशील मन कर्मचारीको जागिरमा अडिएन । 

रेग्मी सरले थप पढाइका लागि अवसरको ढोका खोज्न थाले । उनले एमएस्सीका लागि कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाए । यही छात्रवृत्तिमा उनले सन् १९८४ मा समाजशास्त्र मानवशास्त्रमा पिएचडी गरे । यसपछि डा. ऋषिकेशवराज रेग्मी त्रिभुवन विश्वविद्यालयका शिक्षक भए । यहीबाट उनी ‘रेग्मी सर’ भनेर चिनिए । पाँच वर्षअघि प्राध्यापक तहबाट सेवा निवृत्त भए । 

समाजशास्त्र मानवशास्त्रका अध्येता रेग्मी सरले आफ्नो विषयमा आठवटा पुस्तक लेखेका छन् । उनले लेखेका पुस्तक समाजशास्त्र मानवशास्त्र विषयको पाठ्यपुस्तकमा पनि समावेश गरिएका छन् । त्रिभुवन विश्वविद्यालयबाट सेवा निवृत्त भएपछि पनि रेग्मी सर केही निजी क्याम्पसमा संलग्न भए ।  

रेग्मी सरले देखेको समाज

समाजशास्त्रका प्राध्यापक रेग्मी सर नेपाली समाज अझै समाज बनिनसकेको टिप्पणी गर्छन् । भन्छन्, ‘यहाँ सधैँ उथलपुथल छ, यो उथलपुथलले नेपाली समाजलाई पूर्ण समाजको रूप दिन सकेको छैन ।’ उनले आफूले भनेको उथलपुथललाई राजनीतिक अस्थिरतासँग जोडे । प्रजातन्त्रको पुनर्बहालीका लागि ४६ सालको आन्दोलन, त्यसपछि १० वर्षसम्म चलेको माओवादीको सशस्त्र आन्दोलन, लोकतन्त्र र गणतन्त्रका लागि माओवादीसमेतको संलग्नतामा भएको संयुक्त जनआन्दोलनलाई रेग्मी सर लगातारको उथलपुथल मान्छन् । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताजस्ता राजनीतिक परिर्वतनहरू अझै पनि स्थिर भइसेकका छैनन्, अझै पनि ढुक्क हुने बेला आइसकेको छैन भन्छन् रेग्मी सर । 

रेग्मी सरले नेपाली समाजलाई धार्मिक आस्थामा अडेको समाजको रूपमा बुझेका थिए । समय बित्दै जाँदा, समाजका गतिविधि नियाल्दा उनी अहिले अर्कै निक्र्योलमा पुगेका छन् । भन्छन्, ‘धर्ममा मात्रै अडेको समाज होइन रहेछ नेपाली समाज, नेपाली समाज त विविधताको एकतामा अडेको रहेछ ।’ नेपाली समाज साँच्चै पूर्ण समाजको रूपमा आउन अझै कति वर्ष लाग्छ उनी अनुमान गर्न सक्दैनन् । कारण के भने नेपाली समाजमा छिटोछिटो ठूला राजनीतिक परिवर्तनहरू हुँदै आएका छन् र प्रत्येक परिवर्तन स्थिर हुन नपाउँदै अर्को परिवर्तन भएको छ । करिब १० वर्ष वा केही बढीको फरकमा भएका ठूला आन्दोलनले र परिवर्तनहरू कहिल्यै स्थिर हुन पाएनन् । यो क्रम अझै पूर्ण भइसकेको छैन भन्ने लागेको छ रेग्मी सरलाई ।

राजनीतिक स्थिरता र सांस्कृतिक–सामाजिक विविधतामा परस्परको सम्मान एउटा पूर्ण समाजका आधारभूत तŒवहरू हुन् । सामाजिक सांस्कृतिक विविधतामा नेपाल औधी धनी छ । यो धन समृद्धिका लागि उपयोग गर्न राजनीतिक नेताहरूमा विवेक चाहिन्छ । विवेकहीनतामा यस्तो धनले हानी पनि गर्न सक्छ । 

समाजको समृद्धिमा बौद्धिक जमातको महŒवपूर्ण भूमिका हुन्छ भन्छन् रेग्मी सर । नेपालका बौद्धिक व्यक्तिको विदेश पलायनको क्रमले उनी चिन्तित छन् । गाउँमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । शहर र गाउँ दुवै ठाउँमा विदेश जाने तयारीमा रहेका युवाको ठूलो जमात छ । गाउँका बाबुआमा छोराछोरी कतार, दुबईतिर भएकोमा खुशी छन् । शहरका बाबुआमा छोराछोरी युरोप अमेरिकातिर भएकोमा मख्ख छन् । रेग्मी सरका विचारमा यो राम्रो संकेत होइन । 

देशभित्र अवसर नहुनु वा अवसरको खोजी नगर्नु र विदेश जानमा गौरव मान्नु समृद्धितिरको पाइला होइन । मुलुकमा रोजगारीको सिर्जना हुन नसक्नुका धेरै कारणहरूमध्ये एउटा राजनीतिक अस्थिरता हो भन्छन् रेग्मी सर । बौद्धिक र शिक्षित व्यक्तिमा समृद्ध समाज निर्माणको ताकत हुन्छ । बौद्धिक पलायन निकै चिन्ताको विषय हो । राजनीतिका गफले मात्रै यस्तो पलायन रोकिँदैन । आफ्नै देशमा श्रम गर्न संस्कृति आवश्यक छ । 

नेपाली समाजबारे रेग्मी सरको पछिल्लो सार यही हो । 

सामाजिक सम्बन्धको सेतु 

यसपालिको दशैं मुखैमा छ । दशैंंलाई सबैले आआफ्नै ढंगले व्याख्या गर्छन् । रेग्मी सरको पनि आफ्नो व्याख्या छ । उनी दशैंलाई सम्बन्धको सेतुको संज्ञा दिन्छन् । वर्षौंसम्म भेटघाट नभएका आफन्तलाई यो पर्वले एकै ठाउँमा ल्याइदिन्छ । आफन्त भेटघाट गर्ने मौका मिलाइदिन्छ यो पर्वले । 

रेग्मी सर पछिल्लो समयमा मान्छे एकांगी हुँदैै गएकाले पर्वको मौलिकता हराउँदै गएको देख्छन् । उनलाई दशैंको टीका र जमरा पनि देखावटी र करबल बन्न थालको हो कि भन्ने लागेको छ । यस्तो संकेत देखिए पनि नेपाल समाजमा दशैं सबैभन्दा सशक्त पर्व हो । यसले दशैं मनाउने र नमनाउने सबै जातजाति र संस्कृतिमा सद्भावको सञ्चार गर्दै आएको छ । दशैंलाई राष्ट्रिय चाड भन्नुको कारण पनि यही हो । फजुल खर्च र देखासिकीलाई रेग्मी सर चाडको विकृति भन्छन् । विकृति अन्त्य गर्दै समृद्ध समाज निर्माण बौद्धिक जमात र युवाको भूमिका महŒवपूर्ण हुन्छ भन्छन् रेग्मी सर ।



Share your thoughts!


इम्प्रेसन पब्लिकेसन एण्ड मिडिया प्रा.लि.द्वारा सञ्चालित
केन्द्रीय कार्यालय – मध्यबानेश्वर काठमाडौं