18th February | 2019 | Monday | 5:02:53 PM

कविता : अन्तिम बिश्वास

ज्योती किरण   POSTED ON : Saturday, 25 November, 2017 (2:56:57 PM)

कविता : अन्तिम बिश्वास

                        

पुरानो फाटेको मजेत्रो 

धारामा धोइरहेकी तिमीलाई 

म,

सोधौ कि नसोधौ भन ?

यो,

थोत्रो मजेत्रो 

किन धुँदैछौ आज ?

प्वालै प्वाल परेको 

आँखी झ्याल जस्तो फटाइ 

न ओड्न सकिन्छ 

न जाडो छेल्न 

न देखाउन सकिन्छ 

यो,

थोत्रो परिस्थिति 

तर तिमीले,

मिची मिची धोइरहेको यो परिश्रम 

कुन जतन जगेडा हो ?

कुन,

सम्मान र प्यार हो ?

कुन समयको याद हो ?

मलाइ सोध्न मन छ 

काल्दिदी,

यो थोत्रो मजेत्रो 

किन धुदैछौ आज ?

अनुभूतिका तरंगहरु छन् ,तिम्रा अनुहारमा 

मृदुल मुस्कान हराएको ओठ,

भावुकताले भरिएर,

चुप चाप धारामा

भिजाइरहेछ आँखाहरु,

एउटा,

मुर्ति झै लाग्ने ठूलो शरीर,

कला हिन लयमा ,

छुप्छुपाइरहेछ ,हत्केलाबाट ।

म,

अनौठो देखिरहेछु,

हृदयका कोमल भाव धाराहरु,

हराए जस्तो,

सिमा रेखाले बन्देज गरेको,

भुगोल जस्तो,

लक्षमण रेखाले साँधु्र्याए जस्तो,

एउटा,

कोलाहल पूर्ण मौन अँध्यारोमा

तिम्रै नजिकबाट हिडिरहेको देख्छु,

काल्दिदी,

निरस आकृतिमा

जल धारानै अँध्यारो पार्ने,

यस्तो नाथे थोत्रो मजेत्रो,

किन धँुदैछौ आज ?

काल्दिदीले भनिन

भाइ,

यस पटक चुनावमा

यहि मजेत्रो ओडेर भोट खसाल्नु छ मैले,

यो थोत्रो मजेत्रोमा 

अन्तिम बिस्वास अडिएको छ मेरो यस पटक ।


Views: 266

सम्बन्धित सामग्री:

ए ! प्रणय दिवश

मुना दाहाल : Thursday, 14 February, 2019 (5:52:10 PM)

गजल...

राजेन्द्र ढुंगेल : Tuesday, 05 February, 2019 (8:45:35 PM)