3rd June | 2020 | Wednesday | 8:39:11 AM

समृद्धि होस् त – सामाजिक न्यायसहितको

  POSTED ON : पुष ८, २०७४ (११:०२ AM)

समृद्धि होस् त – सामाजिक न्यायसहितको

-रमा लुइँटेल

प्रदेश नम्बर तीनको मुख्यमन्त्री बन्ने प्रस्ताव अष्टलक्ष्मीको चाहना होइन । उनका हितैषीले प्रदेश हाँक्ने जिम्मेवारीमा तपाईं चाहिन्छ भनेपछि आफू प्रतिनिधिसभातिर नलागेर प्रदेशमै केन्द्रित भएको उनको भनाइ छ । मुख्यमन्त्रीको बन्नुपर्छ भन्ने प्रस्ताव राजनीतिमा आफ्नो निरन्तरता र लगाव भन्न रुचाउँछिन् उनी ।

अष्टलक्ष्मीले केन्द्रीय र स्थानीय सरकारलाई बलियो बनाउन प्रदेश सरकारको भूमिका महŒवपूर्ण हुनेछ भन्ने ठानेकी छन् । प्रदेश सरकार स्थानीय सरकार र संघीय सरकारबीचको सेतु हो । त्यसैले पनि प्रदेशसभा आफ्नो रोजाइमा परेको उनले खुलाइन् । नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी अष्टलक्ष्मी शाक्य काठमाडौं क्षेत्र नम्बर ८ को क्षेत्र ‘ख’ बाट प्रदेशसभा सदस्यमा विजयी भएकी छन् ।  

प्रदेश नम्बर तीनको मुख्यमन्त्री पदमा चर्चा पाइरहेकी अष्टलक्ष्मी यो प्रदेशलाई देशकै नमूना प्रदेश बनाउन चाहन्छिन् । यहाँकै स्रोत प्रयोग नमूना बनाउन सकिने योजना छ उनीसँग । भन्छिन्, ‘विकास, समृद्धि र सामाजिक न्यायसहितको प्रदेश बनाएर विदा माग्छु ।’ यो जिम्मेवारी अन्तिम हुनसक्ने बताउँछिन् । अहिलेको प्रदेश ३ सँग उनको भूमिगत कालदेखि नै विशेष परिचय छ । भूमिगत कालको अधिक भाग उनले यही प्रदेशका विभिन्न जिल्लामा बिताइन् । यो प्रदेशलाई म राम्रोसँग चिन्छु, यो प्रदेशसँग भिजेकी छु भन्ने उनलाई लागेको छ । यहाँका जटिलता र सहजतासँग उनी जानकार छिन् ।  

जलस्रोत, सांस्कृतिक र पर्यटकीय स्थल यो प्रदेशका सम्पदाहरू हुन् । यी सम्पदाबाटै अथाहा रोजगारी सिर्जना गर्न सकिन्छन् । यहाँको प्राकृतिक सम्पदाले प्रदेशलाई मात्रै होइन सिंगो देशलाई समृद्ध बनाउन सक्छ । प्रदेशभित्र रोजगारी सिर्जना गर्नु उनको महŒवपूर्ण कार्य योजना हुनेछ । त्यसका लागि लघु घरेलु साना उद्योग सञ्चालनलाई प्राथमिकता दिनुपर्ने देखेकी छिन् । बन्द भएका कलकारखाना खोल्नु आवश्यक छ । हेटौंडा कपडा कारखानाले धेरैलाई रोजगारी दिन सक्छ ।  नयाँ उद्योग समेत खोल्न सकिने उनको भनाइ छ । भन्छिन्, ‘यो प्रदेशका जनता रोजगारी खोज्दै विदेश भौतारिनु नपरोस् ।’ विज्ञहरूको सल्लाह र सुझावसहित यो प्रदेशलाई नमुना बनाउने योजना अष्टलक्ष्मीसँग तयार छ ।  

विकास र समृद्धिले मात्रै पुग्दैन 

जिम्मेवार पदमा पुगेका नेता विकास र समृद्धिको कुरा गर्छन् । अष्टलक्ष्मी भने समृद्धि र विकास मात्रै अबको आवश्यकता नभएको बताउँछिन् । उनका अनुसार सामाजिक न्यायसहितको समृद्धि र विकास जनताले चाहेको छ जहाँ महिला समानता होस्, महिलाले हिंसा भोग्न नपरोस्, बालबालिका सुरक्षित हुन्, वृद्धवृद्धाको राम्रो हेरविचार होस् । अपांगता भएकालाई सबैले सम्मान गरून् । उनीहरूले अवसर पाऊन् । उनी यस्तै समाज निर्माणको सपना देखेर राजनीतिमा लागेकी थिइन् । यो सपना पूरा गर्ने समयम आएको छ ।  

पछि पारिएका वर्गले न्याय नपाए विकास र समृद्धिले मात्रै मुलुक विकसित नहुने उनको तर्क छ । उनले शक्तिशाली भनिएका केही मुलुकको उदाहरण दिइन् । ‘विकास छ, समृद्धि छ तर त्यहाँका महिला हिंसा भोग्न बाध्य छन्, बालबालिका अपहरणमा पर्छन्, असुरक्षा छ । ‘यस्तो अवस्थालाई कसरी विकास र समृद्धि मान्ने ?’ उनी प्रश्न गर्छिन् । सामाजिक न्यायसहितको समाजमा कसैले पनि असुरक्षित महसुस गर्नु पर्दैन । यस्तो समाज निर्माणका लागि प्रदेश सरकारलाई प्रतिपक्षदेखि स्थानीय तहसम्मको रचनात्मक सल्लाह र सहयोग आवश्यक पर्छ । उनी यसरी भावी प्रदेश सरकारबारे सोच्दैछिन् । 

घर छोडेर भूमिगत  

क्याम्पसको पढाइसँगसँगै अष्टलक्ष्मीले क्याम्पससँगसँगै चिनियाँ भाषा पनि सिक्न थालेकी थिइन् । यो भाषा सिक्दा चिनियाँ क्रान्ति र कम्युनिष्ट सिद्धान्त बुझ्न उनलाई सजिलो भयो । त्यो बुझाइले उनलाई भूमिगत भएर राजनीति गर्न धेरै सहयोग ग¥यो । चीनमा महिला अधिकारकर्मीका संघर्ष, उनीहरूको जीवनीसँगै योगदानबारे थाहा पाइन् । माओत्सेतुङका विचारले प्रभावित भइन् । भाषा सिकाउने गुरु डा. महेशमान श्रेष्ठ थिए । उनले भाषासँगसँगै चिनियाँ क्रान्तिका धेरै सन्दर्भ र विषय पनि बुझिन् । ती पुस्तकको अध्ययनले राजनीतितर्फ उनी आकर्षित भएकी थिइन् । त्यही बेला उनले राजनीति र विचारसँगसँग सम्बन्धित पुस्तक खोजी खोजी पढ्न थालिन् ।  

नेपाली राजनीतिक इतिहासमा २०३६ सालको महŒव जति छ, त्यत्ति नै महŒवपूर्ण छ यो वर्ष अष्टलक्ष्मीका लागि पनि । त्यही सालको पुस ४ गते उनले सधैँका लागि घर छोडेकी थिइन् । उनी काठमाडौंको नेवार परिवारकी छोरी हुन् । उनका बाबु दरबारका लागि सुनचाँदीको गहना बनाउने काम गर्थे । परिवारमा केहीको अभाव थिएन । 

अभावविनाको जीवनले मात्रै मान्छेलाई कहाँ खुशी दिन्छ र ¤ त्यस्तै भयो अष्टलक्ष्मीलाई पनि । समाजमा सोझै देखिने छोराछोरीबीचको विभेद र गरिबमाथिको अन्यायले उनी बिथोलिन्थिन् । गरीबहरूलाई सहयोग गर्ने भावना जाग्थ्यो । बढ्दो युवा उमेरमा घरभित्रको सुखसयलले समाजमा व्याप्त अन्यायविरुद्ध उत्रन सकिँदैन भन्ने उनलाई लाग्यो । उनी यसमै दृढ भइन् । त्यसैले उनले घर छोड्ने निर्णय गरिने । त्यो उमेरमा आफूले गरेको त्यो निर्णय सम्झिँदा आज पनि उनलाई अनौठो लाग्छ । कहिले खुशीले आँखा टिल्पिल हुन्छन् । यतिबेल उनी २६ वर्ष उमेरकी थिइन् । 

परिवर्तनको संघर्षमा लाग्ने अठोटसँगै उनले एउटा चिठ्ठी लेखिन् । त्यो चिठ्ठी आफू सुत्ने ओछ्यानको सिरानी मुनि राखिन् । उनी आमाबाबु, दिदीबहिनी, दाजुभाइ सबैलाई छोडेर भूमिगत राजनीतिमा प्रवेश गरिन् ।  

२०४६ सालको राजनीतिक परिवर्तनपछि पारिवारिक पुनर्मिलन भयो ।

बिहेको विद्रोह

क्याम्पस पढ्न थालेपछि अष्टलक्ष्मी शाक्य पढाइमा भन्दा राजनीतिक छलफल र बहसकै केन्द्रित हुन थालिन् । राजनीति परिवर्तनका लागि मुख्य हतियार भएको उनले बुझेकी थिइन्, त्यो ज्ञान उनले अध्ययनबाट प्राप्त गरेकी थिइन् । दिनहुँ क्याम्पस धाएर लिएको शिक्षा उनलाई बुर्जुवा लाग्न थाल्यो । बुर्जुवा शिक्षाबाट परिवर्तन सम्भव देखेकी थिइनन् । घर परिवार र पढाइ सबै छोडेर राजनीतिमै होमिने विचार उनको मनमा आइसकेको थियो, क्याम्पस सुरु गर्नुका दिनदेखि नै । छोरीको व्यवहार र गतिविधि देखेर परिवारजनले उनको निगरानी गर्न थालेका थिए । 

पढाइलाई भन्दा राजनीतिलाई महŒव दिएको थाहा पाएपछि घरमा बिहेको कुरा चल्न थाल्यो । साथीमार्फत केटाको जानकारी लिइन् र बिहे नगर्ने निर्णय सुनाइदिइन् । उनको यो निर्णय बाबुआमालाई मन पर्ने कुरै भएन । केटीले बिहे गर्दिनँ भनेर निर्णय सुनाउनु त्यो बेलाको समाजका लागि पाच्य थिएन । उनले गाली खाइन् तर त्यसलाई पूरै बेवास्ता गरिदिइन् । 

बिह नगर्ने त्यो निर्णयले उनलाई छोड्न सहयोग ग¥यो । घर छाडेर राजनीतिमा लग्ने, परिवर्तनको संघर्षमा लाग्ने, ठिक छ तर पेट कसरी पाल्ने ? यो समस्याको समाधान उनले आफैँबाट खोजिन् । ‘भोजमा जानुछ’ भन्दै सुनका केही गहना लिएर हिंडिन्, केही महिनाको गर्जो ट¥यो । समाजका समानता स्थापित गर्न, निरंकुश शासनको अन्त्यका लागि घर छोडेर त्यो अभियानमा एकचित्त हुने उनको त्यो निर्णय जति सुन्दर थियो, परिवारसँग छुट्टिएर भूमिगत हुनुको पीडा कम थिएन । तर उनी दृढ थिइन् । ‘म अडिग थिएँ आफ्नो निर्णयमा, पीडालाई शक्तिमा बदलेँ,’ उनले ती दिन सम्झिन् ।  

भूमिगत आमा 

भूमिगत जीवनमा उनी फरक फरक खालका अनुभव सँगाल्दै थिइन् । भूमिगत भएको त्यस्तै एक–डेढ वर्ष भएको थियो । पार्टीकै नेताहरूको सहयोगमा उनको बिहे भयो, पार्टीका अर्का भूमिगत नेता क. श्याम अर्थात अमृतकुमार बोहोरासँग । भूमिगत हुँदा अष्टलक्ष्मीको क. टीका थियो ।  

एउटै राजनीतिक उद्देश्यका लागि हिँडेका यी दुई जना जीवनको नजिकका साथीसमेत बन्ने निर्णयमा पुगेका थिए । पार्टीको काम गर्दा गर्दै छोरी आस्था र छोरा विश्वास जन्मिए । भूमिगत हुने बित्तिकै सिन्धुपाल्चोकको पिस्कर गाउँको जिम्मा पाएकी थिइन् । आमा भएपछि काठमाडौंमै बसेर गर्ने कामको जिम्मेवारी दिइयो । त्यतिबेला उनी काठमाडौं उपत्यका कमिटिको सदस्यको जिम्मेवारीमा थिइन् । 

दुबै सन्तानलाई १५ महिनाको हुँदासम्म उनले आफैँसँग हुर्काइन् । राजनीति छाडेमात्रै सन्तान आफैँसँग राखेर हुर्काउन सम्भव थियो । त्यतिबेला अष्टलक्ष्मीले अर्को पटक फेरि मुटु दह्रो बनाइन् । उनी साना छोराछोरीलाई कहिले कुन नेताको घरमा त कहिले कुन नेताकोमा छोड्दै राजनीतिमा सक्रिय भइन् । छोड्दै हिँडेकाले त छोराछोरीले आमा चिन्न नै छोडेका थिए । चिचिला सन्तान अर्काको जिम्मा लगाएर राजनीतिमा सक्रिय हुनु महिलाको लागि ठूलो चुनौती थियो । त्यसमा पनि साना छोराछोरी छोडेर भूमिगत राजनीतिक गर्नु त फलामको चिउरा चपाउनु जस्तै हो । 

ती दिन सम्झिँदा उनी रोमाञ्चित हुन्छिन्, अनौठो पनि लाग्छ । साँच्चै ती सबै काम आफैँले गरेकी हुँ र जस्तो लाग्छ पनि कहिलेकाहिँ त । डेरा दिन तयार हुने पनि बच्चाकी आमा भनेपछि आलटाल गर्थे । बच्चा पाउनेले किन यसरी हिँड्नु प¥या होला भन्दै कुरा काट्ने पनि कम थिएनन् । भूमिगत श्रीमान् चिनाउन पनि गाह्रो थियो । एक्लै बच्चा बोकेर हिँड्ने कस्ती महिला होली भन्नेहरू पनि नभएका होइनन् । कुरा काट्ने र कमजोर बनाउने मात्रै पनि थिएनन् । उनले धेरै भेटिन् । उनीहरूले राजनीति अघि बढाउन सघाए । भूमिगतकालमा चाहिने सहयोग गरे । आजकाल ती कुरा काट्ने र सहयोग गर्ने सबैलाई सफलताका खुड्किला भन्न रुचाउँछिन् । काठमाडौंमै जन्मिएर हुर्किएकी अष्टलक्ष्मी जिम्मेवारी सम्हाल्दै सिन्धुपाल्चोकदेखि पूर्वको मेचीका गाउँघर पुगिन् । एक दशक भन्दा धेरै भूमिगत जीवन बताइन् । जेल पनि भोगिन् ।  

अष्टलक्ष्मी २०५६ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भइन् । त्यसपछि उनी दोस्रो संविधानसभामा सदस्य भइन् । उनले मन्त्रीका रूपमा उद्योग मन्त्रालय र महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी सहृमालिन् । उनी झण्डै चार दशकको राजनीतिक जीवनमा छिन् र   अझै सक्रिय छिन् । ६४ वर्षीय अष्टलक्ष्मीको दैनिक १८ घण्टाजस्तो राजनीतिक विषय, छलफल, भेटघाट विचार विमर्शमै बित्छ । समाजको आर्थिक, सामाजिक सांस्कृतिक लगायत सबै किसिमका रूपान्तरणको आधार राजनीति हो । सामाजिक र पारिवारिक जिम्मेवारीका कारण महिलालाई राजनीतिमा लाग्न सजिलो छैन र  असम्भव पनि छैन । राजनीतिमा महिला सहभागित आवश्यक छ । महिलाहरू राजनीतिमा अघि बढ्न सके भने समाज छिटो र सहज हुने उनको विश्वास छ ।   


Views: 279

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)