18th August | 2018 | Saturday | 11:36:33 PM

पीडाभित्र खुशी खोज्दै

रमा लुइँटेल   POSTED ON : Saturday, 20 January, 2018 (12:29:29 PM)

पीडाभित्र खुशी खोज्दै

मोफसलबाट सपनाको शहर काठमाडौं पस्नेलाई यो शहरले के दियो ? व्यक्ति पिच्छे उत्तर फरक फरक हुनसक्छन् । हिृवलचियरमै बसेर जीवनको २८ वर्ष पूरा गरेका दीपक तिमल्सिनालाई यो शहरले धेरै कुरा दिएको रहेछ । सबैभन्दा ठूलो त, अवसर दिएको उनले खुलस्त बताए । 

यो शहरले पढ्ने अवसरको ढोका खोलिदिएकोमा उनी काठमाडौंसँग अभारी छन् । गाउँमै भएको भए उनले पढ्ने अवसर नपाउन सक्थे । अपांगता भएका व्यक्ति जो गाउँमै बस्छन्, उनीहरू अवसरबाट वञ्चित भएको देख्दा उनलाई त्यस्तै लाग्छ । आफूले पाएको अवसरको श्रेय उनी भाग्यलाई समेत दिन पछि पर्दैनन्, हिँड्न नसके पनि धेरै अवसर पाएँ ।’ छोराको उपचार गर्न काठमाडौं पसेको उनका बाआमाले काठमाडौं नै बस्ने निर्णय गरे । त्यो निर्णय दीपकको जीवन बदल्ने महŒवपूर्ण विन्दु बन्यो । उनी बाबुआमाप्रति त्यत्ति नै कृतज्ञ छन् । ‘छोरो हिँड्न नसक्ने भयो, घर नै फर्किउँ’ भनेर बाबुआमा घर फर्किएको भए अवसर र सुविधाबाट वञ्चित हुने उनी दाबी गर्छन् । 

ऋण नै गरेर किन नहोस्, उनले सुविधा भोगेका छन् । त्यसो त मोटरसाइक सुविधामात्रै होइन, आवश्यकता नै बनेको छ अहिले । सार्वजनिक यातायातको यात्रा, त्यसमा पनि हिृवलचियरसहितको ।’ धेरै पीडा दियो त्यो यात्राले उनलाई । त्यसैले उनले सुविधासँगसँगै आवश्यकता ठाने स्कुटरलाई । स्कुटरले उनको दैनिकीलाई धेरै सजिलो बनाएको छ । उनी अहिले हिृवलचियर बास्केट बल खेल्छन् । उनलाई क्रिकेटमा पनि त्यत्तिकै रूचि छ । जावलाखेल हिृवलचियर स्पोर्टस टिमका खेलाडी दीपक शनिबार नियमित त्यहाँ पुग्छन् । शनिबार जावलाखेलमा धेरै खेलाडीको जमघट हुन्छ । यो दिन प्रशिक्षकसमेत हुने भएकाले सिक्न पाउने उनी बताउँछन् । अन्य दिन अभ्यासका लागि समय मिलाएर जाने गरेका छन् । 


साथीहरू बाहिर निस्कनुस्

एक वर्षअघिबाट खेल्न सुरु गरेको दीपकले पछिल्लो समय आत्मविश्वास बढेको अनुभूति गरेका छन् । खेल्न सुरु गर्नुअघिसम्म उनी मान्छेका अघि बोल्न लजाउँथे । आफ्ना कुरा भन्न डराउँथे । केही भन्न खोज्दा धक लाग्थ्यो । हिृवलचियरमा हिँड्ने आफूमात्रै हूँ भन्ने सोच्थे । जब उनी खेलको मैदानमा आए, त्यसपछि दीपकमा विस्तारै आत्मविश्वास बढ्यो । म मात्रै होइन रहेछु भन्ने लाग्यो । समस्या उस्तैउस्तै लाग्न थाल्यो । त्यसपछि उनले झन् अनुभव गरे, यो शहरले आफूलाई धेरै अवसर दिएको रहेछ । अपांगता भएकालाई उनी भन्छन्, ‘घरभित्र गुम्सिएर नबस्नुस् साथीहरू बाहिर निस्कनुस्, त्ससले आशा र आत्मविश्वास बढाउँछ ।’ अपांगता भएका व्यक्तिको परिवारलाई पनि उनको एउटै आग्रह छ, त्यो हो, साथ र सहयोग गरिदिनुस् । 

अहिले दीपक आफ्नो लक्ष्यप्रति दृढ छन् । यो दृढता आफ्नो सर्कल भेटेपछि बढेको अनुभव उनको छ । अन्तर्राष्ट्रियस्तरको हिृवलचियर खेलाडी बन्ने लक्ष्य छ उनको । 

पोलियो नै कारण 

दीपक सानोमा धेरै बिरामी हुन्थे । सबैले ‘कमजोरीले गर्दा उभिन सकेन’ भन्थे । हिँड्डुल गर्न नसकेपछि ‘कोही ढिलै हिँड्छन्’ भन्दै लख काट्थे । आफन्त, छरछिमेक सबैले एउटै कुरा दोहो¥याएपछि दीपकका बाआमा पनि त्यसमै विश्वस्त भए । पाँच वर्षको हुँदा पनि दीपक उभिन सकेनन् । उनको यो अवस्थाले उनकी आमा पिरोलिइन् । बाबु उपचारका लागि धेरैको सल्लाह लिन पुगे । हेटौंडा बस्ने यो परिवार छोराको उपचारका लागि काठमाडौं आयो । काठमाडौंमा नाम चलेका सबै अस्पताल पु¥याए । पोलियोका कारण गोडा लुलो भएको थाहा पाएपछि दीपकका बाआमाले उपचारको थप प्रयास गरेनन् । दीपक सानैदेखि खुवै तेजिला थिए । पढाइ, खेलकुद जुनसुकै क्षेत्रमा अब्बल थिए । एक पटक देखेको कुरा उनका लागि ढुंगामा खोपेको अक्षरजस्तै हुन्थ्यो । तेजिलो स्मरणशक्ति भएका उनले कक्षामा कहिल्यै दोस्रो हुनुपरेन । कालिमाटीको जला सेकेण्डरी स्कुलबाट एसएलसी पास गरेका उनी अहिले स्नातक तहका विद्यार्थी हुन् । रत्नराज्य लक्ष्मी क्याम्पसका विद्यार्थी दीपकले अंग्रेजी र राजनीतिशास्त्रलाई मुख्य विषय बनाएका छन् । 

सास्ती होइन, सन्तोष 

प्रत्येक महिना औषधिमा मात्रै १० देखि १५ हजार खर्च हुन्छ । यो रकम आफ्नो उपचारका लागि होइन । दीपकको तीन वर्षे छोराको उपचारका लागि हो । उनका छोरा मृर्गौलाका रोगी छन् । उनको मुटुमा पनि समस्या देखिएको छ । छोराको स्वास्थ्य अवस्था नबिग्रियोस् भनेर दीपकले जसोतसो गर्दै यो रकम छोराको उपचारका लागि खर्चिएका छन् । ‘कहिले खेलकुद क्षेत्रका दाइहरूबाट चन्दा उठाउँछु, कहिले आफन्तसँग ऋण लिन्छु ।’ आर्थिक अभावका कारण छोराको उपचार गर्न निकै कठिन भएको उनले सुनाए । तर पनि दीपकले हार खाएका छैनन् । पीडाभित्र पनि खुशी खोज्ने प्रयास गरिराखेका छन् । आफ्नो फरक शारीरिक अवस्था, वृद्ध बाबुआमा, आर्थिक अभाव, बिरामी छोरा । जन्मेलगत्तै उनको छोराको स्वास्थ्यमा समस्या देखिएको थियो । ११ दिन आईसीयूमा राखेर घर ल्याएपछि पनि धेरै बिरामी भए ती बालकको स्वास्थ्यमा समस्या देखिइरहन्थ्योे । चिकित्सकसँग परामर्श गर्दा मुटुमा समस्या रहेको थाहा भयो । अवोध बालकको अनुहारमा हेर्दै उनी भन्छन््, ‘एकातिर सास्ती छ, तर मलाई यसले सन्तुष्टि दिएको छ ।’ यी अप्ठ्यारालाई व्यवस्थित गर्दा दीपकलाई सन्तुष्टि मिल्छ । यस्ता थुपै्र उल्झन झेल्दा झेल्दै पनि उनी खुशी हुन चाहन्छन् । दार्शनिक शैलीमा उनले हिलोमा फुल्ने कमलको फूलसँग आफ्नो जीवनलाई तुलना गर्दै भने, ‘अप्ठ्यारोमा फुल्न सक्नु ठूलो कुरा हो ।’ सम्झेर ल्याउँदा जीवन धान्न कति सास्ती छ तर उनी यसमा रमाएका छन् । 

मान्छेको मन न हो, कहिले काहिँ दीपकको मन पनि भक्कानिन्छ । के गरौं कसो गरौं हुन्छ । तर उनी सम्हालिन्छन् । यो समय पढाइमा लगाउन पाएको भए कति राम्रो हुन्थ्यो भन्ने महसुस दीपकलाई हुन्छ । छोराको उपचारमा सहयोग गर्ने उपकारी मन भेटे आफूलाई सजिलो हुने बताउँछन् । 

छुट्टै छ आफ्नो समस्या 

दीपकको स्वास्थ्य समस्या आफ्नै खालको छ । लगातार हिृवलचियरमा बस्दा हाड जोर्नी दुखेर शरीर नै डल्लो परेजस्तो हुन्छ । पिसाबको संक्रमणले स्वास्थ्य समस्या देखिइरहन्छ । वैशाखीसमेत प्रयोग गर्ने गरेका २८ वर्षीय दीपकले आफ्नै उपचारका लागि पनि महिनाको पाँचदेखि दश हजारसम्म खर्च गर्नुपर्छ । काठमाडौंको महँगीमा स्वास्थ्योपचारसहितको सम्पूर्ण खर्च कसरी जोहो गर्छन् । उनको कुनै बनावटी उत्तर छैन । वास्तविकतालाई विना ढाकछोप दीपकले भने, ‘आमाबाको एउटा चिया पसल छ, कार्यक्रमहरूमा उपचारका लागि सहयोग माग्छु ।’ चिया पसलको आम्दानीले उपचार खर्चदेखि घर खर्च धानेको छ । 

केही समयअघि कीर्तिपुरमा भएको हिृवलचियर बास्केटबल प्रतियोगिताबाट उनलाई सहयोग प्राप्त भएको थियो । हिृवलचियरमार्फत खेल खेलेर नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने लक्ष्य बोकेका यी युवाको समस्या फुकाउन उपकारी मनहरू सक्रिय भए कसो होला ।