19th August | 2018 | Sunday | 9:14:05 PM

समाज बदलिन्छ, प्रकृति उही रहन्छ

रमा लुइँटेल   POSTED ON : Saturday, 27 January, 2018 (12:08:41 PM)

समाज बदलिन्छ, प्रकृति उही रहन्छ

पिंकी गुरुङ निलहीरा समाजकी अध्यक्ष हुन् । उनको शारीरिक बनोट पुरुषको जस्तो जस्तो छ तर उनी जैविक चाहनामा स्त्री अर्थात महिलाजस्ती छन् । जब उनले आफ्नो यस्तो प्राकृतिक अवस्थाबारे थाहा पाउँदा समाजले उनलाई  अपहेलित गर्न थालेको थियो । आफू शारीरिक रूपमा पुरुष भए पनि मनले महिला हुँ र महिलाकै स्वभावमा जिउन चाहन्छु भनेर समाजलाई बुझाउन निकै संघर्ष गर्नु प¥यो । पिंकीले रमा लुइँटेलसँग आफ्नो त्यही संघर्षको कथा सुनाएकी छन् । 


शारीरिक रूपमा म पुरुष हुँ । मेरा इच्छा आकांक्षाचाहिँ सबै महिलाका जस्ता छन् । जब म किशोरावस्थामा प्रवेश गरँे, पुरुषसँग आकर्षित हुन थालेँ । म सानैदेखि शृंगार गर्न मन पराउँथे । म सानो छँदा मलाई देखेर ‘छोरी जस्तै’ भन्दै रमाउनेहरू थिए । मेरो बढ्दो उमेरसँगै उनीहरू नै मलाई ‘हिजडा, छक्का’ भन्दै गिज्याउन थाले । उनीहरूले गिज्याउँदा साह्रै नराम्रो लाग्थ्यो । मेरा इच्छा र चाहनाहरू गलत रहेछन् कि भन्ने सोच्थँे । उनीहरू समाजले चाहेजस्तै गरी म बदलिनुपर्छ भन्ने सोच्थे । जब मेरो तेस्रो लिंगी साथीहरूसँग भेट भयो, छलफल, सभासम्मेलनमा भाग लिन थालेँ । त्यसपछि बुझेँ, बरु समाज बदल्न सकिन्छ, मेरो रूचि र इच्छा बदल्न नसकिने रहेछ । मेरो लैंगिक अवस्था त प्राकृतिक रहेछ । 

त्यतिखेर म स्कुलकै विद्यार्थी थिएँ, मैले एकजना पुरुषलाई खुब मन पराएँ । बाहिरी आवरण पुरुष भएको मैले पुरुषलाई नै मन पराउनु यो समाजका लागि पाच्य थिएन । त्यो प्रेम एकतर्फी मात्रै थियो । त्यसैले प्रगाढ भएन । 

जीवन बदल्ने रत्नपार्क 

आजभन्दा २५–३० वर्ष अघिको समाज निकै संकीर्ण थियो । तेस्रो लिंगी, समलिंगीहरू त युरोप, अमेरिकामा मात्रै हुन्छन् भन्ने सोच्थ्यो । यस्तो समाजमा मैले आफ्ना भावना, आवश्यकता र चाहना कसैसँग बाँड्न सकिनँ । कसलाई भन्ने ? कहाँ जाने ? यस्ता प्रश्नहरू आफैँभित्र गुम्साउनुको विकल्प थिएन । आफैँमा ठूलो अन्योल थियो । सोच्नुस् त त्यो अवस्था कति पीडादायक थियो ¤

आफ्ना कुरा आफैँभित्र गुम्स्याएर मैले जीवनका धेरै वसन्त बिताएँ । मनभित्र कुरा लुकाउँदा ममा मानसिक समस्यासमेत देखिएको थियो । बेलाबेलामा म मुर्छा पर्थें । उपचारका लागि अस्पताल जाँदा आउँदा मैले मजस्तै साथीहरूलाई रत्नपार्कमा भेटेँ । त्यो एएटा भेट अविस्मरणीय बन्न पुग्यो । मेरो जीवनलाई वास्तविक बाटोमा हिँडाउने भेट सावित भयो, रत्नपार्कको त्यो भेट । 

यो १९ वर्ष अघिको कुरा हो । म अहिले ४० वर्षको भएँ । झण्डै २० वर्षसम्म आफ्ना कुरा आफैँभित्र गुम्स्याएर राखेकी थिएँ । तपाई कल्पनासम्म पनि गर्न सक्नुहुन्न मैलै कति पीडा खेपे हुँला । एकातिर समाजले गर्ने तिरस्कार । अर्कोतिर उकुसुमुकुस । आफ्ना कुरा भन्न सक्ने आफूजस्तै साथीहरूको समूह भेट्दा मलाई एक सय केजीको भारी बिसाएजस्तै भयो । शरीरका अंग पुरुषको, चाहना महिलाको । उनीहरूको पनि शरीर मेरोजस्तै रहेछ र आवश्यकता अर्को, अर्थात शरीर पुरुषको, इच्छा र आवश्यकता महिलाको । 

यो भेट मेरा लागि मनको भारी बिसाउने चौतारी मात्रै बनेन, आत्मविश्वास बढाउने महŒवपूर्ण अवसर समेत बन्यो । सुरु मलाई म जस्ता मान्छे ममात्रै हो कि जस्तो लाग्थ्यो, रत्नपार्कमा भेला हुने समूहले शरीरमा शक्ति सञ्चार गराउँथ्यो । त्यसै भनेको होइन रहेछ, समूहमा शक्ति हुन्छ भनेर । मैले मजस्तो मान्छे ममात्रै नभएर अरू पनि रहेछन् भन्ने थाहा पाएँ । यसले मरो अत्मबल बढायो । 

सञ्जीवबाट पिंकी 

बाबुआमाले राखिदिएको मेरो नाम सञ्जीव हो । नागरिकताले मलाई संजीव गुरुड भनेर चिनाउँछ । रत्नपार्कमा भेटेका मेरा साथीले मलाई पहिलो भेटमा नै नाम सोधे । अलिकति अलमलिएको जस्तो गरेर ‘पिंकी’ भनेँ । उनीहरूलाई यो नाम साह्रै राम्रो लागेछ । ‘कस्तो राम्रो नाम’ भने । म खुब खुसी भएँ । अनि  म आफैँले आफ्नो नाम पिंकी राखेँ अनि सञ्जीवबाट पिंकी भएँ । मलाई अहिले सबैले पिंकी गुरुड भनेर चिन्छन् । 

मलाई मेरो साथीले राखिदिएको नाम गौँथली हो । मलाई यो नाम पनि साह्रै राम्रो लाग्छ । मलाई कोइली ममी पनि भन्छन् साथीहरूले । ममी चाहिं निलहिरा समाज (ब्लु डाइमण्ड सासाइटी) को अध्यक्ष भएकाले भनेका हुन् । सबै समलिंगी र तेस्रो लिंगीलाई मैले आमाको जस्तै व्यवहार गर्नुपर्छ भनेरे मम्मी भनेका हुन् । मलाई पिंकी, गाँैथली, कोइली ममी सबै नाम मन पर्छ । 

अभियानको प्रतिफल 

आफूजस्तै साथी भेटेपछि बढेको आत्मविश्वासले म तेस्रो लिंगीको मानवअधिकार संरक्षणको क्षेत्रमा काम गर्न थालेँ । हामी केही साथी मिलेर तस्रो लिंगीहरूको संगठन बनायौँ र ‘ब्लु डाइमण्ड सोसाइटी’ अर्थात ‘निलहीरा समाज’ नामको संस्था खोल्यौँ । म यसको संस्थापक सदस्य हुँँ । यो क्षेत्रमा काम गर्न थालेपछि म तेस्रो लिंगीको समस्या, आवश्यकताको बारेमा वकालत गर्न थाले । आफ्नो प्राकृतिक जैविक अवस्थाबारे खुलेर बाहिर आएँ । यसपछि म नागरिकको मुख्य परिचयपत्र नागरिकतामा आफ्नो नाम परिवर्तन गर्न गएँ ।

हाम्रो शारीरिक पहिचान फरक छ । मेरै कुरा गर्ने हो भने, शारीरिक रूपमा म पुरुष हुँ । इच्छा, चाहना र आकर्षण र रहरलाई हेर्ने हो भने महिला हुँ । लामो समयअघिबाट हामीले थालेको अभियानमा हामी आंशिक रूपमा सफल भयौँ । नागरिकताको प्रमाणपत्रमा लिंग अन्तर्गत ‘अन्य’ राखेर नागरिकता प्रमाणपत्र लिएँ । पासपोर्टमा पनि लिंग ‘अन्य’ राखिएको छ । यस्तो नागरिकता पाउने व्यवस्था हाम्रो सफलता हो । सर्वोच्च अदालतले २०६४ पुस ६ गते लैंगिक पहिचानअनुसार नागरिकता प्रदान गर्नु भनेपछि यो सम्भव भएको हो ।

नामचाहिँ परिवर्तन गर्न सकेको छैन । हालै सर्वोच्च अदालतले सहज र सरल तरिकाले नाम परिवर्तन गरेर नागरिकता दिनु भन्ने निर्णय गएको छ । गृह मन्त्रालयले निर्देशिका नबनाएसम्म लागू हुन सक्दैन । निर्देशिका बनेपछि नाम परिवर्तन गरेर नागरिकता लिन्छु । नागरिकताम लिंगमा अन्य राख्न पनि धेरै अप्ठ्यारो झेल्नुप¥यो । सरकारी कर्मचारीहरू नीति नियममा अपडेट नहुँदा, निर्णयहरू थाहा नपाउँदा यस्तो समस्या हामीले झेल्नु पर्ने हो । कतिपयमा त अझैं पुरातन, सोच र शैली छ । यसलाई चिर्नु हाम्रो चुनौती हो । 


दक्षिण एसियाकै राम्रो संविधान 

तेस्रो लिंगी र समलिंगीको अधिकारको दृष्टिले हाम्रो संविधान एकदमै राम्रो छ । दक्षिण एसियाका अन्य मुलुकको संविधानले हाम्रो विषयलाई समेटेको छैन । यो सुखद पक्ष हो । नेपालको कानुन अधिकारमुखी छ । सबैभन्दा महŒवपूर्ण पक्ष त्यसको कार्यान्वयन हो । कानुन कार्यान्वयनका क्षेत्रमा नेपाल चुकेको छ । बनेका कानुनको केही प्रतिशत मात्रै कार्यान्वयन हुने हो भने, धेरै नेपाली अधिकारबाट वञ्चित हुनुपर्दैन थियो । हामीले सरकारलाई दबाब दिनुपर्छ । अभियान चलाउनुपर्छ । सकारात्मक दबाब आवश्यक छ । त्यसका लागि हामी एक हुनुपर्छ । 

अहिले हामी संविधानले दिएको अधिकारका लागि अभियान चलाइराखेका छौं । त्यो कानुनी र सामाजिक अधिकार दुवैका लागि हो । कानुनले एउटा बुँदा, दफा वा नम्बरबाट अधिकार दिन्छ । व्यवहारमा उर्तानु चुनौतिपूर्ण छ । प्रत्येक बस्तीमा पुगेर त्यहाँका जनतालाई तेस्रो लिंगीको अवश्यकता र समस्या बुझाउनुपर्छ । म अहिले त्यही अभियानमा छु । 


बदलिँदैछ समाज 

समाजमा तेस्रो लिंगीको अस्तित्व र पहिचान स्थापित गराउनु आवश्यक छ । तेस्रो लिंगीलाई सम्बन्धलाई विकृति हो भनिन्छ । यो विकृति होइन, यो त उनीहरूको आवश्यकता हो । जसरी सामान्य मानिसको लागि विपरित लिंगीसँगको सम्बन्ध आवश्यक पर्छ । जतिखेर मैले म मेरो शारीरिक पहिचान फरक छ भन्ने बुझो त्यत्तिखेरको समाजले हामीलाई गर्ने व्यवहार त कहालीलाग्दो थियो । अहिले समाज बिस्तारै बदलिँदै गएको छ । उनीहरूको अधिकार र पहिचानलाई समाजले विस्तारै स्वीकार गर्न थालेको छ । 

सबैभन्दा मुख्य कुरा त समाजले हाम्रो लैंगिक अवस्थालाई प्राकृतिक हो भनेर बुझ्न थालेको छ । फरक लैंगिक अवस्थाको सदस्य हाम्रै परिवारमा पनि हुनसक्छ भनेर बुझ्नु सबैभन्दा सकारात्मक पक्ष हो । अभियान, सभा, सम्मेलन र कार्यक्रमहरूमा जाँदा मैले त्यो महसुस गरेकी छु । देशका विभिन्न जिल्ला घुम्दा सँगालेको अनुभवका आधारमा मैले यो कुरा भनेको हुँ । पारिवारिक र सामाजिक दबाबका कारण समलिंगीहरू विपरित लिंगीसँग सम्बन्ध राख्न वाध्य छन्, यो अवस्थाको अन्त्य अक्षरको कानुनले हँुदैन । ज्ञान र चेतनाबाट मात्रै सम्भव छ । 

निर्णय भयो कानुन बन्दै 

केही वर्षअघि समलिंगी परिवारले हालेको मुद्दाको आधारमा सर्वोच्च आदालतको बेन्चले उमेर पुगेका व्यक्ति सँगै बस्न पाउने निर्णय गरिसकेको छ । तर कानुन बनेको छैन । कानुन नभएका कारण कानुनी रूपमा उनीहरूसँगै बस्नबाट बञ्चित छन् ।