20th June | 2018 | Wednesday | 2:52:32 PM

तन्नेरी कमरेडका उन्नति योजना

रमा लुइँटेल   POSTED ON : Saturday, 24 February, 2018 (3:04:59 PM)

तन्नेरी कमरेडका उन्नति योजना

केही सातादेखि त्यस्ता युवालाई शनिवारको यो पृष्ठमा ल्याउन मन थियो, जसले कल्कलाउँदो उमेरमै फरक काम गर्ने आँट गरेको होस् । यस्तो पात्रको खोजीमा थिएँ । स्थानीय तहका उपप्रमुख, अधिकारकर्मीहरूलाई निम्ता गरेर आयोजना गरेको एउटा कार्यक्रमको रिपोर्टिङको लागि बिहीबार बिहानै फोन आयो । समाचारका लागि सूचना संकलन गरिरहँदा पनि मेरो मस्तिष्कमा कुनै क्षेत्रको युवा आवरण घुमिराखेको थियो । उक्त कार्यक्रमको अन्तिम खण्डमा उद्घोषकले गाउँपालिका, नगरपालिका र महानगरपालिकाका उपप्रमुखहरूलाई छोटो मन्तव्यको लागि अनुरोध गरिराख्दा ती महिला मञ्चको पछिल्लो सिटबाट उद्घोषक नजिक पुगिन् । र परिचय दिइन्, ‘म कृशला घिसिङ, दोरम्भा गाउँपालिकाको उपाध्यक्ष, म २६ वर्षकी भएँ ।’ 

कृशलाको कुरा टुंगिएको थिएन । म खुशीले पुलकित भएँ । मेरो मस्तिष्कले मनलाई भन्यो– खोजेजस्तै पात्र भेटेँ । औपचारिक कार्यक्रममा कृशला बोलिरहँदा मेरो ध्यान उनको बोलीमा अडिएन । टोल, छरछिमेक, सडक, सार्वजनिक यातायातमा भेटिने युवाको व्यवहार, उनीहरूको चेतनाको स्तरलाई कृशलाको वौद्धिकतासँग तुलना गरिराखेकी थिएँ । साँच्चै, कृशला मैले देखेभेटेका युवाभन्दा धेरै फरक रहेछिन् । त्यसको पुष्टि राष्ट्रिय सभागृह परिसरमा खानासँगै उनीसँग गफिदा महसुस भयो । 


अपराहृनको २ बजेको हुँदो हो । खाना लिन लाइनमा बसेकी कृशलालाई मैले खाना खाँदै गफका लागि प्रस्ताव गरेँ । उनले मेरो प्रस्ताव स्वीकार गरिन् । सँगै खाना लिएका हामी फरक फरक ठाउँमा रहेका दुईवटा मेच एकै ठाउँमा राखेर बस्यौं । 

पहिलो गाँससँगै मैले कलिलै उमेरमा गाउँपालिकाकी उपाध्यक्ष हुनुभएछ भन्दै थप बोल्न प्रेरित गरेँ । 

परिवार नै प्रेरणा 

कृशला आफ्नो सफलताको श्रेय परिवारलाई दिन्छिन् । उनको परिवारमा छोरा र छोरी बीच कुनै भेदभाव छैन । जुन क्षेत्रमा लागे पनि राम्रो गर्नुपर्छ भन्ने चाहना उनका अभिभावकको छ । डाक्टर, इन्जिनियरले कुनै एक क्षेत्रमा मात्रै विज्ञता हासिल गर्छ । राजनीति गर्नेले देश बुझ्न सक्छ भन्ने मान्यता उनका आमाबाबुको थियो । उनले राजनीतिमा लाग्ने प्रेरणा परिवारबाटै पाइन् । भन्छिन्, ‘राजनीतिले मान्छेलाई ब्रोड बनाउँछ, म ब्रोड हुन चाहन्छु, त्यसैले मैले यो क्षेत्र रोजे ।’ प्रत्येक मान्छेको सफलताको पहिलो आधार परिवार नै हुने उनी बताउँछिन् । परिवारको दिने साथ, समर्थन, प्रोत्साहन र ऊर्जाले नै मान्छेलाई सक्रिय बनाउँछ भन्छिन् ।, ‘परिवार पहिलो पाठशाला हो, पारिवारिक स्कुलिङले मान्छेको जीवन कस्तो बन्छ भन्ने निश्चित गर्छ,’ एकै सासमा उनले भनिन् । 

देशमा सिस्टम छैन 

मार्सल आर्टकी राष्ट्रिय खेलाडी कृशला खेलाडी भएर विभिन्न देश घुमेकी छन् । विकसित देशको विकास, सभ्यता र अनुशासन देखेकी छन् । विदेशमा ती सबैै सिस्टमका कारण सम्भव उनले बुझेकी छन् । विदेशमा भएको नेपालमा नभएको एउटै कुरा हो सिस्टम । उनलाई लाग्छ– नेपालमा के छैन, प्राकृतिक स्रोत साधन छ, पौरख गर्न सक्ने पाखुरी छन, पर्याप्त पानी छ, जंगल छ । सिस्टम बसाल्न गरे नेपालमा विकास दु्रतगतिमा हुन्छ । सिस्टमका लागि दण्डहीनता अन्त्य हुनुपर्छ । रिवार्ड र पनिस्मेन्टको व्यवस्था हुनुपर्छ ।


लेखपढमै व्यस्त 

एकातिर स्नातकोत्तर तहको अन्तिम सेमेष्टरको पढाइ । अर्कोतिर स्थानीय तहको जिम्मेवारी । कृशला घिसिङलाई यतिखेर भ्याई नभ्याई छ । रामेछाप दोरम्भा गाउँपालिकाकी उपाध्यक्ष कृशला महिलामा ८÷१० पटक रामेछाप र काठमाडौं गर्छिन् । न उनी जनताले सुम्पेको जिम्मेवारीका कारण पढाइ बिर्गान चाहन्छिन् न त विद्यार्थी बनेर जनताकोे विश्वासमा घात गर्न नै । निकै जोशिली कृशला भन्छिन्, ‘यो वर्ष मलाई केही गाह्रो छ ।’ 

स्थानीय तहको ऐन कानुन बनाउने ती विषयसँग सम्बन्धित अध्ययनका लागि पनि समय छुट्याउँछिन् उनी । जनप्रतिनिधि भएकाले जनताको फोन उठाउनु उनी आफ्नो कर्तव्य ठान्छिन् । गुनासो सुन्न, समस्या बुझ्नमात्रै होइन, सल्लाह र सुझावका लागि पनि उनले मोवाइल फोनमा धेरै समय बिताउनै पर्ने हुन्छ । सूचना, प्रविधिको उच्चतम प्रयोगबाट जनताको समस्या बुझ्न दृढ छिन् । पत्रपत्रिका बाहेक अन्य पुस्तक पढ्न फुर्सद मिलेको छैन, दोहोरो व्यस्तताका कारण । उनी राजनीतिकर्मीका लागि अध्ययन अपरिहार्य ठान्छिन् । दिनहुँ जनताको माझमा बोल्न किताब नपढी हुन्न । उनलाई लाग्छ– सधैँ एउटै कुरा भन्दा कसले पत्याउँछ र ¤ 

एजेण्डाले उपाध्यक्ष 

स्कुले विद्यार्थी हुँदादेखि नै कृशला माओवादीको राजनीतिक एजेण्डाबाट प्रभावित थिइन् । प्रत्येक काम नयाँ ढंगबाट गर्न खोज्छिन् । स्थानीय तहको निर्वाचन हुने पक्का भएपछि उम्मेदवारीबारे छलफल भयो । गाउँपालिकाको उपाध्यक्ष पद धेरैले ताकेका थिए । पार्टीभित्रै आफ्नो उम्मेदवारीका लागि विकास एजेण्डा प्रस्तुत गरेकी थिइन् उनले । पार्टीले मात्रै होइन, जनताले पनि एजेण्डा हेरे । पार्टीले उम्मेदवार बनाउनु र जनताले जिताउनुमा आफ्नो एजेण्डा मुख्य भएको उनको भनाइ छ ।

रामेछापको मुख्य आवश्यकता सडक, शिक्षा र चेतना हो । यी विषय समावेश गरेर उनले प्रतिबद्धतापत्र तयार पारेकी थिइन् । रामेछापका धेरैजसो सडकमा छ महिनामात्रै मुश्किलले मोटर चल्छ । ती कच्ची सडकलाई पक्की बनाउनसके रामेछापको कृषि उत्पादन सजिलै सहर भिœयाउन सकिन्छ । यहाँको अर्को सम्भावना पर्यटन हो । थुप्रै पर्यटकीय ठाउँ भएको रामेछापका सबै ठाउँमा सडक नपुगेसम्म पर्यटक त्यहाँ पुग्न सक्दैनन् । 

कामको अनुभव 

कृशलाका लागि मात्रै होइन, सबै जनप्रतिनिधिका लागि यो जिम्मेवारी नयाँ हो । नयाँ संरचनामा पहिलो पटक काम हुँदै गरेकाले आफूले मात्रै होइन सबैतिरका स्थानीय तहले केही जटिलता महसुस गरेका छन् । कानुन नहुँदा काम गर्न अप्ठ्यारो भएको छ । केही कानुन बन्दैछन्, ती कानुनले काम सहज हुने अपेक्षा उनको छ । अप्ठ्यारो हुँदा हुँदै पनि दोरम्भा गाउँपालिका भित्र पाँच शैøयाको अस्पताल बनाउने प्रक्रिया अघि बढेको छ ।

गाउँपालिकाभित्र दुईवटा एम्बुलेन्स सञ्चालन छिट्टै हुँदैछ । रामेछापका बासिन्दा गुणस्तरीय शिक्षाका लागि सहर धाउन बाध्य छन् । गाउँमा वृद्धवृद्धामात्रै हुनुको पहिलो कारण त्यहाँका विद्यालयले गुणस्तरीय शिक्षा दिन नसक्नु हो । गाउँमा राम्रो पढाइ नभए पछि छोराछोरी पढाउन शहर छिर्ने प्रवृत्ति बढेको छ । विद्यालयमा शिक्षाको गुणस्तर सुधार्न हालै गाउँपालिकाले ३१ बुदाँको कार्ययोजना बनाएको छ । 

युवालाई स्थान 

राजनीतिलाई डर्टी गेम भन्नेसँग कृशला सहमत छैन । उमेर ढल्केपछि राजनीतिमा प्रवेश गर्नेहरूलाई उनी भन्छिन्, ‘अबको राजनीति युवालाई दिनुस् ।’ राजनीतिलाई पार्टटाइम जब को रूपमा लिन नहुने उनको तर्क छ । राजनीतिमा युवा सहभागी भएमात्रै नयाँ पुस्ताको आवश्यकता र माग सम्बोधन हुक्छ । नयाँ पुस्ताको आवश्यकता र समस्या उनीहरूकै समकक्षीले मात्रै बुझ्न सक्छन् । युवा सहभागिता विनाको राजनीति अपूर्ण हुने कृशलाको ठम्याइ छ । सबै युवालाई समेटेर राजनीतिक यात्रा अघि बढाउने निश्चय गरेकी छिन् । कृशलाको राजनीतिक यात्रा कुन उचाइसम्म पुग्ला ? उनले सहज जवाफ दिइन्, ‘जनताले जहाँसम्म पु¥याउँछन्, त्यहाँसम्म ।’