20th June | 2018 | Wednesday | 2:53:12 PM

‘पाठकले पुनर्मुद्रण गराए ऐलानी’

  POSTED ON : Saturday, 24 February, 2018 (3:28:06 PM)

‘पाठकले पुनर्मुद्रण गराए ऐलानी’


‘ऐलानी’ विवेक ओझाको पहिलो उपन्यास हो । सुदूरपश्चिमको वादी समुदायमाथि केन्द्रित भएर उपन्यास बजारमा आएको छ । प्रकाशनको छोटो समयमा नै यो पुस्तकले निकै चर्चा पायो । हाल यो पुस्तकको पुनः मुद्रण गरिएको छ । यसै सन्दर्भमा रहेर ललित विष्टले विवेक ओझासँग गरेको आख्यान वार्ता ।

किताब आएको छोटो समयमा पुनः मुद्रण भयो । यति छोटो समयमा पुनः मुद्रण गर्नुको कारण के हो ?

कारण धेरै सामान्य छ । तर त्यो मेरा लागि अमूल्य छ । मजस्तो नयाँ लेखकको किताबको यति छोटो समयमै बजारमा अभाव हुनेगरी बिक्री हुनु । यति सुन्दर तरिकाले प्रतिक्रियाहरू पाउनु । यो सब पाठकको मायाले सम्भव भएको हो । पाठकको मायाभन्दा अरू कारण हुनै सक्तैन । 

कुनै स्थान, समय र आञ्चललिकताको नाममा त्यसको प्रयोगभन्दा पनि दुरुपयोग भनौँ नेपाली आख्यान लेखकहरूले गरेको पाइन्छ । तपाईको उपन्यासले यो विषयलाई कसरी समेटेको छ ?

कुनैपनि लेखकले स्थान, समय र आञ्चलिकताको दुरुपयोग गर्न खोज्दैन । बरु ती तŒवसँग स्पष्ट नभएर त्यस्ता त्रुटि आउन सक्छन् । त्यसैले लेख्नुअघि नै धेरै गृहकार्य गर्न जरुरी हुन्छ । लक्षित ठाउँको हरेक कुरासँग घुलिन जरुरी हुन्छ । मेरो सन्दर्भमा त्यो त्रुटि हुने कुरा भएन । किनकि मैले कुनै अन्य ठाउँको आञ्चलिकता प्रयोग गर्नु परेन । मेरो माटोको सुगन्ध जहाँ मेरा हातगोडाले जमिन पहिलोपटक छोए, जहाँ म बच्चाबाट युवा भएँ त्यहींको सेरोफेरो, त्यहींको आञ्चलिकता ल्याउँदा झन् मलाई मूल भाषासँग सन्तुलनमा राख्न गाह्रो भएन । सरल र रहज नै भयो ।

लेखकको विचारधाराअनुसार पात्रलाई बाँधेका पुस्तकहरू प्रायः भेटिन्छन् । के वास्तविक पात्र र समाजलाई त्यसले न्याय गर्छ ?

लेखकले आफूअनुसार पात्रलाई बाँध्दा सायद दुर्घटना हुन्छ । त्यस्तो देखिनु दुःखद् छ । पात्रअनुसार जति बढी लेखक ढल्किन सक्छ त्यति नै उच्च कोटिको साहित्य सिर्जना हुन्छ भन्ने मलाई लाग्छ । तर, ती कुरालाई प्रस्तुत गर्ने लेखकको मौलिक तरिकाको सधैँ आवश्यकता भइरहन्छ । लेखकले पात्रलाई आफूअनुसार ढल्कायो भने वास्तविक समाज र पात्रमाथिको न्यायभन्दा पनि अपराध गरेको ठान्छु म । लेखकले पात्रको मूल्य, मान्यता, स्वभाव, स्वाभिमान र मनोविज्ञानलगायतका कुराहरू कायम गर्नसक्नुपर्छ जस्तो मलाई लाग्छ । 

‘ऐलानी’ वादी समुदायमाथि लेखिएको छ । यसमा यौन व्यवसाय, गरिबी, अभाव छ । प्रायः सबै लेखेकले जुनसुकै बस्ती होस् त्यही कुरा कोट्याएका हुन्छन् । तपाईंको उपन्यासले वादी समुदायकै कथा हो भनेर कसरी प्रमाणित गर्छ ?

यो किताबको केन्द्रबिन्दु वादी समुदाय हुनु र मूल पात्रहरू वादी समाजका रहनु र कथा विषयवस्तु त्यही समाजसँगै घुलेर बग्नु नै यो पुस्तकको आधारभूमि हो । वादी समुदायसँग अन्य समाजको सम्बन्धको रेखासमेत यसमा खिचिएको छ । साथै बाहृय दुनियाँको परिवर्तन र समुदायमा आएका परिवर्तन प्रस्ट देख्न सकिन्छ । वादी समाजको मूल्य, मान्यता एवं कुरीति पनि दर्शाउन खोजिएको छ । मैले बस्तीमा गएर अध्यन गरेँ, धेरैभन्दा धेरै कुराहरू बटुलेँ । त्यसैले पनि सानासाना कुरासमेत औँल्याउन खोजेको छु । यो वादी समुदायकै कथा भनेर प्रमाणित गर्नु नै पर्दैन । यो पुस्तक आफैँमा एक प्रमाण हो । 

यो किताब नै राम्रो हो वा हल्ला मात्रै हो ? तपाईंलाई के लाग्छ ?

कुनै पत्रपत्रिकामा यो किताबको विज्ञापन आएको पनि छैन । कुनै पनि किसिमले व्यावसायिक प्रचार भएकै छैन । सब ‘माउथ पब्लिसिटी’ ले प्रभाव पारेको देखिन्छ । र, मान्छेले मन पराएमात्र माउथ पब्लिसिटीको बाटो खुल्ने हो । हल्ला मात्रै भए सायद यति सुन्दर प्रतिक्रिया पाउने थिइनँ । र, मजस्तो नयाँ लेखकको किताब यति छोटो समयमा पुनः मुद्रणमा जाने नै थिएन । त्यसैले आफैँले किताब राम्रो नराम्रो भन्नु मलाई उपयुक्त लागेन । पाठकको माया र अहिलेको अवस्थाले नै जवाफ दिइसकेको छ ।

किताब यात्रा, अन्तरक्रिया अनेक बाहानामा लेखक आफ्नो किताब बोकेर दौडिरहेका हुन्छन् । तपाईंलाई अनुभव होला, किताब प्रकाशनपछि लेखक किताब बोकेर पाठकसम्म दौडिनुपर्छ ? वा किताव स्वयं पाठकमाझ जानुपर्छ ?

किताब यात्रा र अन्तरक्रियाजस्ता सुन्दर कुरालाई नराम्रो भन्नै मिल्दैन । यसले त लेखकलाई पाठकको मनस्थिति र प्रतिक्रिया सोझै रूपमा थाहा पाउने अवसर दिन्छ । अर्कोतर्फ यसले जहाँ कार्यक्रम भइरहेको छ त्यो समुदायमा थोरबहुत किताबी हलचल पैदा गर्छ जसले किताबप्रति ध्यान खिच्छ । यसले स्वतः पाठकको संख्या वृद्धि गर्न मद्दत पु¥याउँछ । प्रत्येक पाठकसम्म लेखक पुग्न सक्दैन, प्रत्येक ठाउँमा पनि अन्तरक्रियाहरू गर्न सकिदैन । पाठक त पुस्तकका लागि कसी हो ।

यो उत्पीडित वर्गलाई आम मान्छेझैं बनाउन तपाईंले कस्ता सम्भाव्य बाटाहरूको खोजी गर्नु भएको छ उपन्यासमा ? यस समुदायको उत्थानका लागि के गर्नसक्छ ?

पुस्तौदेखि जरा हालेर बसेको यौन व्यवसायलाई यो राज्यले उचित सम्बोधन गर्न सकेको छैन । यहाँ थप्रै बाध्यता छन्, थुप्रै बाधा चुनौती छन जो निकै गुजुल्टिएका छन् । कुनै एक व्यक्ति वा कुनै एक समुदायले चाहेर नाटकीयरूपले परिवर्तन ल्याउन मुस्किल छ । यो राज्यको गहिरो समस्याको खाडल हो । जो पहिले नै पुरिनुपथ्र्यो । मैले यही वादी समुदायको अवस्था चित्रण गरेको छु । जो कारुणिक छ, दयनीय छ । यो राज्यसत्तामाथिको व्यंग्य हो । यो मूलतः सत्तापक्षलाई झकझकाउने मेरो चेष्टा हो । उनीहरूको नजर त्यहाँसम्म पुग्न जरुरी छ । यो उपन्यासले सत्तापक्षको ध्यान खिचोस् भन्ने कामना गर्दछु ।