16th December | 2018 | Sunday | 6:33:30 PM

मुख स्वस्थ त सिंगै शरीर स्वस्थ

रमा लुइँटेल   POSTED ON : Saturday, 03 March, 2018 (2:49:36 PM)

मुख स्वस्थ त सिंगै शरीर स्वस्थ

शहरमा मानिसको शरीरका अंगैपिच्छेका अस्पताल छन् । आँखा अस्पतालमा आँखाको मात्रै, मुटु अस्पतालमा मुटको मात्रै छन् । हाडजोर्नीका रोगको उपचार हुने अलग्गै अस्पताल छन् । नसासम्बन्धी रोगको उपचारका लागि छुट्टै अस्पताल छन् । डा. रञ्जिता श्रेष्ठलाई लागेको छ, ‘सरकारले अब दाँतको मात्रै उपचार गर्ने विशेष अस्पताल पनि स्थापना गरोस् । डा. रञ्जिताले भन्नका लागि मात्र यसो भनेकी होइनन् । मुखको स्वास्थ्य पनि मानिसका लागि उत्तिकै महŒवपूर्ण छ । 

मानिस औंला मर्कियो भने हड्डीको डाक्टर खोज्छन् । हाडजोर्नी दुख्ने समस्याबाट मुक्ति पाउन महिनौं फिजियोथेपारीजस्ता उपचार गर्छन् । सबैमा अगाडि पर्ने मुखको स्वास्थ्यलाई मानिसले उति ध्यान दिएको पाइँदैन । धरै तातो वा धेरै चिसो खाँदा दाँतमा पुग्ने असरका बारेमा मानिसहरू बेखबर हुन्छन् । गिजा सुन्निने समस्यालाई बेवास्ता गर्छन् । आफ्नो पेशागत अनुभवमा डा. रञ्जिताले मानिसहरूले मुखको स्वास्थ्यलाई कम महŒव दिएको अनुभव गरेकी छन् । 

डा. रञ्जिताको भनाइमा मुख स्वास्थ्यका विषयमा राज्यले पनि विभेद गरेको छ । मानिसहरू मुखको स्वास्थ्यप्रति साह्रै कम सचेत छन् । उनीहरू दाँतको हेरचाहलाई सौन्दर्यसँग मात्रै जोडेर हेर्छन् । राज्य पनि त्यस्तै छ । सरकारले कार्यक्रम बनाउँदा, बजेट छुट्याउँदा विभेद गरेको छ । मुख स्वास्थ्यबारे केही सोचेको छैन । डा. रञ्जिता नेप्लिज सोसाइटी अफ पेरियो डन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीकी महासिचव छन् । नेपालमा मुख स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ । उनी व्यक्तिगत र संस्थागतरूपमा मुख स्वास्थ्यको छुट्टै अस्पताल खोल्न राज्य लाग्नुपर्ने उनको माग छ । 

डा. रञ्जिताको भनाइमा मुखको स्वास्थ्य अत्यन्तै संवेदनशील हुन्छ । उनी भन्छिन्, ‘मुखमा ब्याक्टेरियल संक्रमण भयो भने यसले शरीरका सबै भागलाई असर गर्छ, मुख र दाँतको सरसफाइमा ध्यान नदिँदा ब्याक्टेरियल संक्रमण हुन्छ ।’ 

मानिसले मुख स्वास्थ्यलाई सामान्य ठान्ने गरेका छन् । अझ डा. रञ्जिताको भनाइमा त मानिसहरू हेलचेक्र्याइँ नै गर्छन् । मुखको स्वास्थ्यमा मानिसको हेलचेक्र्याइँ नै समस्याका रूपमा छ । मुख स्वास्थ्य सिंगो शरीरको स्वास्थ्यका लागि महŒवपूर्ण छ । मुख मानिसको शरीरको भित्रिभागका लागि प्रवेशविन्दु हो । मुखबाट खाएको खानेकुरा पाचन प्रक्रियाबाट शरीरभर फैलिन्छ । मुख नै संक्रमित भयो त्यसको असर आन्द्रासम्म पुग्छ र शरीरमा फैलिन्छ । 

सधैं अब्बल ः

डा. रञ्जिताले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याचमा बिडिएस (ब्याचलर अफ डेन्टल सर्जरी) गरेकी हुन् । वीर अस्पतालमा दुई महिना स्वयंसेवा गरिन् । वीरको स्वयंसेवापछि उनी युनाइटेड मिसन टू नेपालमा जागिरे भइन् । त्यहाँ सेवारत रहँदै गर्दा वीरमा खुलेको स्थायी दन्त चिकित्सकको विज्ञापनमा आवेदन दिइन् । पढाइमा सधैं अब्बल हुने रञ्जिताको नाम ननिस्कने कुरै थिएन । त्यसपछि उनी सरकारी डाक्टरका रूपमा नियुक्त भएर भक्तपुरमा सेवा गर्न थालिन् । 

भक्तपुरमा डा. रञ्जिताले दन्त चिकित्सकको रूपमा काम थालेको केही समयपछि वीरमा पहिलोपटक उनको पेरियो डेन्टोलोजी एण्ड ओरल इम्प्लान्टोलोजीको पढाइ सुरु भयो । उनी मास्टर्स गर्न त्यहाँ भर्ना हुन् । पहिलो ब्याजमा पहिलो श्रेणीमा पास भइन् । उनी मुखको स्वास्थ्यमा दृढताका साथ काम गर्ने विशेषज्ञ चिकित्सक भइन् । 

चेतना छैन ः 

मुख स्वास्थ्यका क्षेत्रमा लामो अनुभव संगालेकी डा. रञ्जिता नेपालीहरू मुखको स्वास्थ्यप्रति सचेत नरहेको बताउँछिन् । त्यसको मुख्य कारण जनचेतनाको अभाव हो भन्ने उनको ठहर छ । मुखको सरसफाइ कसरी गर्ने भन्ने जानकारी नै छैन भने पनि हुन्छ । मुखको सफाइमा ध्यान नदिँदा दाँत र मुखको जटिल रोग निम्तिन सक्छ । दाँत माझ्ने ब्रस गर्ने तरिका नजानेर पनि धेरै नेपालीले दाँत बिगारेको उनको भनाइ छ । दाँत र मुखको सफाइका लागि निश्चित समय दिनुपर्ने उनको भनाइ छ तर उनले के देखेकी छन् भने, सबैलाई दाँत ब्रस गर्ने बेलामै हतार हुन्छ । जुनबेला दाँत ब्रस गरेपनि हतार भएजस्तो गरिरहेका हुन्छन् । 

दाँत ब्रस गर्ने तरिका पनि धेरैलालाई थाहा छैन । धेरैले ब्रस कस्तो हुनुपर्छ, दाँतमा ब्रस कसरी चलाउनुपर्छ भन्ने थाहै नपाई ब्रस गरिरहेका हुन्छन् । 

धेरै मानिसको दाँत र मुखको स्वास्थ्य सूर्तीजन्य पदार्थले बिगारेको छ । गुलियो खाएर दाँत सफा नगर्दा दाँतमा किरा लाग्ने समस्या धेरैमा हुन्छ । दाँत तथा मुख स्वास्थ्यकी विशेषज्ञ डा. रञ्जिता आमनागरिकलाई प्रत्येक ६ महिनामा मुख र दाँतको परीक्षण गराउन सल्लाह दिन्छिन् । अनि दिनमा दुईपटक फ्लोराइडयुक्त मञ्जन प्रयोग गरेर दाँत ब्रस गर्न उनको सल्लाह छ । बिहान र बेलुका खाना खाएपछि हलुका तरिकाले ब्रस गर्नुपर्छ । 

महिलालाई विशेष सुझाव ः 

धेरै नेपाली महिला अहिले पनि सुत्केरी भएको केही महिनासम्म दाँत ब्रस गर्दैनन् । कतिले त गर्भवती भएदेखि नै दाँत ब्रस गर्न छोड्छन् । सुत्केरी हुँदा शरीर कमजोर हुन्छ । कमजोर बेलामा ब्रसले दाँत ब्रस गर्दा दाँत पनि कमजोर हुन्छ भन्ने धारणा नेपाली समाजमा ब्याप्त छ । यस्तो धारणा गलत हो भन्छिन् डा. रञ्जिता, ‘भर्गवती वा सुत्केरी भएको समयमा दाँत ब्रस नगर्नु गलत हो, गर्भवती र सुत्केरी अवस्थामा मुखको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ । गर्भवती महिलाको मुखमा संक्रमण भयो भने त्यसको असर गर्भस्थ शिशुमा पर्न सक्छ । यसले समय नपुग्दै बच्चा जन्मने समस्य हुन सक्छ । आमाको मुख स्वास्थ्य राम्रो भएन भने बच्चाको वृद्धि कम हुन्छ र र कम तौलको बच्चा जन्मने खतरा हुन्छ । धेरैजसो महिलाको दाँत आमा बनेपछि बिग्रिएको उनले पाएकी छिन् । सुत्केरी बेलामा महिलाले गुलियो खानेकुरा धेरै खान्छन् तर दाँत ब्रस गर्दैनन् । महिलाको दाँत बिग्रनुको एउटा मुख्य कारण यही हो’, 

करिअरको चिन्ता ः 

रञ्जितालाई डाक्टर पढ्नका लागि आमाबाबु, दाजु र दिदीले प्रेरणा दिए । यसले उनमा ऊर्जा थपियो । पढेको ज्ञान व्यवहारमा उर्तान श्रीमान्, सासु र ससुराबाट उनले साथ र सहयोग पाइन् । भन्छिन्, ‘मेरो अरिअरमा पारिवारिक सहयोग अमूल्य छ ।’ 

इन्जिनियर दिपेश गोर्खालीसँग बिहे गोर्खाली परिवारमा आएपछि पनि रञ्जिताले कहिल्यै बुहारी भएको अनुभव गर्नु परेन । उनले घरमा जहिल्यै छोरीको जस्तै स्नेह र साथ पाइन् । परम्परागत बुहार्तन बेहोर्नु परेन । उनले भनिन्, ‘उहाँहरूले यो फिल्ड (स्वास्थ्य सेवा) बुझेकाले पनि त्यस्तो भएको हो भन्ने लाग्छ ।’ देवर अनिश गोर्खाली र देवरानी श्रद्धा पनि डाक्टर छन् । पारिवारिक सदस्य डाक्टर नै भएकाले पनि वातावरण सहज भएको उनको अनुभव छ । ‘मलाई भन्दा पनि मेरो करिअरको चिन्ता सासूससूरालाई छ’, हँसिलो अनुहारमा रञ्जिता भन्छिन् । उनका सासूससूरा सानातिना घरायसी काम र समस्यामा रञ्जितालाई अल्झाउँदैनन् । श्रीमान् र सासूससूराको सहयोग नभएको भए आफूले चाहेर मात्रै करिअरको सफलता सम्भव नहुने उनी बताउँछिन् ।

डा. रञ्जिता एकपटक १७ महिना उमेरकी छोरी छोडेर उनी फिल्ड गएकी थिइन् । रञ्जिताका ससूरा महेश गोर्खाली नेपाल फर्मास्युटिकल्सका अध्यक्ष, नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष र नेपाललाई औषधिमा आत्मनिर्भर बनाउने अभियानका अभियन्ता हुन् । उनीकी सासू दीपा गोर्खाली नेपाल फर्मास्युटिकल्सकी डाइरेक्टर हुन् । रञ्जिताका दुई छोरी छन् सान्भी र दृशा । साढे तीन वर्ष र डेढ वर्षकी दुवै छोरीको स्याहारसुसारमा उनले कहिल्यै तनाव लिनु परेको छैन । सासूससूरा र परिवारकै सदस्यले सहयोग गरेपछि ग उनलाई वीर अस्पतालमा डेण्टिष्ट बनेर जनतालाई सेवा दिइरहन सहज भएको छ । 


आमाबाबु नै प्रेरणा 

डा. रञ्जिता बालबालिकालाई घरको वातावरण र स्कुलिङले धेरै प्रभाव पार्ने बताउँछिन् । उनका बुवा राजेशलाल श्रेष्ठ र आमा राजेश्वरीले छोरीहरूलाई कहिल्यै कमजोर र छोरालाई बलियो हूँ भन्ने पर्न दिएनन् । सधैं सक्रिय र मिहिनेती बन्न प्रेरित गरिराख्थे उनका बाबुआमा छोराछोरीलाई । जुन क्षेत्रमा लागे पनि राम्रो गर्नुपर्छ भन्ने श्रेष्ठ दम्पतीको सिद्धान्त थियो । यो सिद्धान्तको गाढा छाप छोड्न सकेको थिए उनीहरूले आफ्ना सन्तानमा । रञ्जिताको पढाइप्रतिको लगाव, मिहिनेत देखेर उनीहरूले छोरीलाई चिकित्सा क्षेत्र रोज्ने प्रेरित गरेका थिए । काठमाडौंको फ्युचर स्टार्स स्कुलबाट एसएलसी गरेपछि उनले विश्व निकेतनबाट आइएस्सी गरिन् । त्यसपछि सुरु भयो डाक्टर बन्ने पढाइ । उनको सफलताको मुख्य आधार मिहिनेत गर्ने बानी र परिवारको प्रेरणा नै हो । 










Views: 26