20th June | 2018 | Wednesday | 2:49:56 PM

संघर्षकी पर्याय कल्पलता

रमा लुइँटेल   POSTED ON : Saturday, 10 March, 2018 (12:24:17 PM)

संघर्षकी पर्याय कल्पलता


सधैं झै यस वर्ष पनि १०८ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला अधिकारका विषयमा धेरै छलफल भए । छापामाध्यमका पानाहरूमा महिलाका तस्वीर र विषयले धेरै स्थान पाए । प्रसारण माध्यममा पनि धेरैले अन्तर्वार्ता दिए । धेरैको अन्तर्वार्ता सुनाइए, पढाइए । महिला अधिकार र अस्तित्वका विषयमा तहतहमा कुरा भए । 

महिला दिवस सकिएलगत्तै मैले कल्पलता दाहललाई भेटेँ । कल्पतला त्यस्ती महिला हुन्, जसले कल्कलाउँदो उमेरमै धेरै संघर्ष गर्नुप¥यो । संघर्षका अघिल्तिर घुँडा नटेक्ने उनको निर्भिक स्वभावको जित हुँदै आएको छ । संघर्षकै प्रतिफल हो, उनी अहिले सुखी र खुशी ठान्छिन् । सानासाना विषयमा खुशी भेट्ने कल्पलताको सकारात्मक दृष्टिकोण नै सफलताको मुख्य आधार हो । 

बल्ल बुझेँ 

पूर्वी पहाडी जिल्ला संखुवासभाको मादी नाम चलेको ठाउँ हो । त्यही मादीको ओखरबोटे गाउँमा जन्मिएकी कल्पलता ६ कक्षाकी विद्यार्थी हुँदा बिरामी आमाका साथ काठमाडौं आइन् । घरायसी व्यवहारको धेरै जिम्मेवारी आमाकै थियो । बुबाको धेरै समय घरबाहिर बित्थ्यो । बुबा कहिले काठमाडौं, कहिले भारतको कलकत्ता त कहिले कता हुन्थेँ । कहिले जहाजको मोडल तयार पार्थे तर कहिले रेलको । कल्पलताका बालाई सबैले ‘विज्ञान बाजे’ भन्थे । छोराछोरीको रेखदेख गर्ने, खेतीपातीमा ध्यान दिने जिम्मा आमाकै थियो । घरायसी व्यवहारको भार धेरै भर होला आमा बिरामी परिन् । उपचारका लागि काठमाडौं जाने कुरा भयो । यसरी कल्पलता २०२९ सालमा काठमाडौं आइपुगिन् । उपचारका क्रममा धेरै दिन काठमाडौं बस्नुपर्ने भयो । उनको पढाइ छुट्ने भयो । अन्ततः काठमाडौंमै बस्ने सल्लाह भयो । काठमाडौंमा रहेका आफन्तले मद्दत गरे । उनी काठमाडौंमै स्कुल भर्ना भइन् । उनको पढाइ अघि बढ्यो । बिरामी आमाको रेखदेख गर्दै पढाइ अगाडि बढाउन सजिलो थिएन । उनका संघर्षका दिन सुरु भए । कल्पलता पढ्दै गइन् । उनी आफूलाई संघर्षको अर्को नाम भन्न चाहन्छिन् । भन्छिन्, ‘संघर्षसँग म कहिल्यै थाकिनँ र डराइनँ पनि ।’ अहिलेको सफलताको मुख्य आधार शिक्षा र संघर्ष गर्ने साहस भन्न रुचाउँछिन् । 

आमाको जिम्मेवारी बोध

उनले स्नातक तह पास गरिन् । त्यसपछि नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा जागिर मिल्यो । बिए पास गरेपछि बिहेको कुरा चल्न थाल्यो । बिहेका लागि आमाले नै जोड गर्न थाल्नुभयो । छोरीमान्छे अब बिहे गर्नुपर्छ भन्ने आमाको आग्रह हुन्थ्यो । कल्पलताले बिएको पढाइमै विवाह सोचेकी थिइनन् । कहिले काहिँ त आमाका कुराले उनी हैरान हुन्थिन् । आखिर उनको विवाह भयो । सोचेअनुसारै, उपसचिवस्तरका सरकारी जागिरेसँग । 

हालै कल्पलताले उनले आफ्ना दुई छोरीकोे विवाह गरी सकिन् । आफ्ना छोरीको विवाह गर्ने उमेरसँगै उनले त्यतिबेला आफूमाथि आफ्नी आमाको स्नेही दबाब सम्झिन थालिन् । आजकाल उनलाई आमा ठिकै रहिछिन् भन्ने लाग्छ । भन्छिन्, ‘त्यो दबाबभन्दा पनि जिम्मेवारीबोध पो रहेछ, अहिले बुझेँ ।’ 

कल्पलताले आफ्नो विवाहअघिको एउटा प्रसंग सुनाइन् । विवाह गर्ने केटाले त केटी हेर्नु सामान्य हो, तर परिवारका अरू सदस्यलाई पनि हेर्नुपर्ने, जसलाई जतिखेर मन लाग्यो, त्यतिखेरै देखिन केटी तयार भएर अगाडि गइदिनुपर्ने । यो उनले भोगिन् । अझै चलन यस्तै छ । उनी आफ्नो समयमा पनि यस विषयमा असन्तुष्ट थिइन् र आज पनि । 

अत्यासको त्यो शनिबार 

२०४९ पुस २९ गते । शनिबारको दिन थियो । त्यसै दिनको दुई बजेको हुँदो हो । घरमा टेलिफोनको घण्टी बज्यो । श्रीमान् टेलिफोन उठाउन तल्लो तलामा झरे । कल्पलता माथिल्लो तलमा थिइन् । निकैबेर भयो । फोनमा बोलेको आवाज पनि सुनिएन र श्रीमान् माथिल्लो तलामा फर्केनन् । एकएक कल्पलताको नाकमा एउटा नमीठो गन्ध आयो । अचम्म मान्दै उठिन् र घरभित्रै यताउता घुमिन् । त्यो नमीठो गन्ध घरभित्र फैलिएको थाहा पाइन् । उनी हतास हुँदै टेलिफोन राखेको कोठामा पुगिन् । 

कस्तो भयावह दृश्य । श्रीमान्को विभत्स अवस्था देखिन् । आफैंलाई सहृमाल्न मुस्किल भयो । साहस बटुलेर सावधानीपूर्वक श्रीमान्लाई बोकेर कोठाबाहिर निकालिन् । नहुनु भइसकेछ, हुने हुनामी भइसकेछ । शरीरको बोसो पग्लिएर तेलजस्तो आएको थियो, मासु फत्फत्त झरेको थियो । हतारहतार अस्पताल पु¥याए पनि बचाउन डाक्टरले बचाउन सकेनन् । टेलिफोन उठाउन भएका श्रीमान्लाई ११ हजार भोल्टको करेन्टले लागेको रहेछ । 

यही दिन कल्पलताको जीवनमा हजारौं भोल्टको पीडा सुरु भयो । 

जताततै अविश्वास 

साथमा कलिला दुई छोरी थिए । जताततै अविश्वास नै अविश्वास । तिमीलाई कस्तो छ भनेर सोध्ने कोही थिएन । उनलाई बुझ्ने कोही थिएन । श्रीमान् बितेका केही वर्ष त उनले एक्लै रोएर समय बिताइन् । सधैं त्यस्तो जिन्दगी कसरी सम्भव हुन्थ्योँ र ¤ कठोर लाग्ने निर्णय गर्न उनले आँट गरिन् । परिवारकै सदस्यले गरेको अविश्वासको शृंखला बढ्दै गएपछि एक्लै बस्ने निर्णय गरिन् । निर्णय गर्न जति सजिलो थियो, त्यति व्यवहारमा उर्तान गाह्रो थियो । श्रीमान्को बरखीमा सेतो लुगा लगाएकी कल्पलतालाई कसले कोठा दिने । कोठा पाउन एकदमै गाह्रो भयो । 

सकेसमम घर छोड्दिन भनेकी कल्पलताको मनको बाँध परिवारका सदस्यको व्यवहारले आखिर टुटेर छाड्यो । २०५० साल वैशाख २८ गते उनले आफ्ना कलिला छोरीसहित श्रीमान्को घर छाडिन्, जहाँ उनी भित्रिएकी थिइन् । नेपाली समाजमा बरखीमा रहेकी छोरीको अनुहार माइतीले हेर्नु हुन्न भन्ने धारणा अझै छ । यसलाई उनी गलत धारणा मान्छिन् । यो गलत धारणा उनले तोडिन् । दश महिना पुग्दै थियो उनी माइती पुगिन् । 

माइतीको बसाइँले उनलाई थोरै सहज बनायो । उनले सकारात्मक ढंगबाट सोच्न थालिन् । यो कस्तो समाज ¤ आप्ठ्यारो पर्दा माइती जान नहुने, माइतीले अनुहार नै हेर्न नहुने । ‘जताबाट पनि महिलालाई नै पीडा, आफन्त भेट्दा पो पीर कम हुन्छ’ उनको यो संकीर्ण समाजप्रतिको कटाक्ष हो । 

श्रीमान् हुँदा सम्मान गर्ने समाजले श्रीमान् बितेपछि अपमान गर्न थाल्यो । श्रीमान्सँग हिँड्दा राम्ररी बोल्ने मान्छेले, श्रीमान् बितेपछि बेवास्ता गर्न थाले । श्रीमान् बितेपछि व्यवहार नै फरक हुन थाल्यो ठ्याक्कै उल्टो थियो । जब सम्पत्तिको अधिकारको कुरा भएपछि समस्या सिर्जना भयो । छोरो गयो अब सम्पत्ति पनि जाने भयो भन्ने भयो । 

केही समय माइतीमा बसेपछि उनले आफ्ना लागि कोठा भेटिन् । कोठामा बस्दाको संघर्ष भनी साध्य छैन । छोराछोरीको रेखदेख, खर्च टार्ने जिम्मेवारी । त्योभन्दा अर्को संघर्ष झन् जटिल थियो । एक्लै बस्नुको कारण सबैलाई प्रष्ट पार्दै हिँड्नुपर्ने । धेरै संघर्ष गरेपछि उनले काठमाडौंको गौशालमा आफ्नै घर बनाइन् । उनी अहिले गौशालाबाट जावलाखेलस्थित स्टाफ कलेजको जागिरका लागि आहोरदोहोर गर्छिन् । 

आमा स्याहार्दै पढेको पढाइले जागिर दियो । त्यही जागिरले उनमा आँट बढायो । आत्मविश्वास जगायो । त्यतिमात्रै होइन, अप्ठ्यारा र असजिला पन्छाउनसक्ने शक्ति दियो । त्यसैले ५८ वर्षीया उनी भन्छिन्, ‘महिलालाई शिक्षा चाहिन्छ, जागिर चाहिन्छ, सम्पत्तिमाथि अधिकार चाहिन्छ ।’ सम्पत्तिमाथिको अधिकारले महिलालाई अझै सशक्त बनाउँछ भन्ने उनलाई लाग्छ । 

आमाले पढाइ दिएकै कारण संघर्षसँग जुझ्न सिकेकी कल्पलताका छोरीहरूले अहिले पढाइ पूरा गरेका छन् । दुई छोरीको विवाह भइसकेको छ । स्नातकोत्तरसम्म पढेकी कल्पलताले छोरीहरूलाई म को हुँ र मेरो पहिचान के हो ? भन्ने बुझ्न सिकाएकी छिन् । कल्पलताको जागिर जीवनबाट निवृत्त हुन दुई वर्ष बाँकी छ ।