22nd July | 2018 | Sunday | 9:06:36 AM

रिटायर्ड बट नट टायर्ड

रमा लुइँटेल   POSTED ON : Saturday, 17 March, 2018 (12:21:13 PM)

रिटायर्ड बट नट टायर्ड


स्वास्थ्य मन्त्रालयको सचिवबाट सेवा निवृत्त अर्थात रिटायर्ड भएका चिकित्सक डा प्रविण मिश्र काठमाडौं विश्वविद्यालय अन्तर्गतको कान्तिपुर डेन्टल कलेजमा दन्त स्वास्थ्य पढाउँछन् । नीति निर्माताले सल्लाह सुझाव मागे सुझाव दिन्छन्, अनुभव बताइदिन्छन् । सम्भावना र चुनौती प्रष्ट पारिदिन्छन् । यस्ता कामले उनको व्यस्तता झन बढेको छ । 

कुन डाक्टर कुन राजनीतिक आस्थासँग नजिक छ भन्दै मान्छे छान्ने प्रवृत्ति उनलाई मन पर्दैन । भन्छन्, ‘विद्वानको विज्ञता भन्दा पार्टी हेरिन्छ, यो राम्रो होइन । पछिल्लो समय यो प्रवृत्ति झनै बढेको अनुभव गरेका छन् उनले । अनुभव र ज्ञानलाई प्राथमिकता दिनुपर्छ भन्छन् उनी । 

डाक्टर भएर मात्रै होइन, नीति निर्माणको तहमा बसेर समेत नेपालको स्वास्थ्य क्षेत्रको विश्लेषण गरेका डा. प्रविण अहिलेको मुख्य चुनौती स्वास्थ्य चेतना, स्वास्थ्य मन्त्रालयको जनशक्ति व्यवस्थापन र प्राप्त उपलब्धिको जगेर्ना रहेको बताउँछन् । मिर्गौला जोगाउने अभियानमा नेपालमा एकदमै कम खर्च गरिन्छ । मिर्गौलाका बिरामीको उपचारमा सरकारले धेरै बजेट छुट्याएको छ । भन्छन्, ‘कसरी स्वस्थ बन्न सकिन्छ भन्ने विषयमा लगानी धेरै हुनुपर्छ, पोषण, सरसफाइ, प्रदूषण लगाएको विषयमा व्यापक जनचेतना जगाउनुपर्छ ।’ 

फराकिला चिल्ला सडक र ठूला भवन निर्माणलाई मात्रै विकासको मापक मान्न नहुने उनको धारणा छ । अर्को चुनौती उनले देखेका छन् स्वास्थ्य मन्त्रालयको जनशक्ति व्यवस्थापन । जनशक्ति जतिसक्दो छिटो व्यवस्थापन गर्नुपर्नेछ । ठीक तरिकाले जनशक्ति व्यवस्थापन गर्न नातावाद, कृपावाद छोड्नुपर्छ । जुन ठाउँमा मन्त्रालयले खटाएको छ त्यही गएर काम गर्नुपर्छ चिकित्साकर्मीले । जो बिरामीको उपचार गर्छु भनेर डाक्टर पढेको छ, ऊ चैबीसै घण्टा खट्नुपर्छ । त्यस्ता चिकित्सलाई सरकारले इन्टेन्सिभ दिनुपर्छ । स्वास्थ्य मन्त्रालयले यो काम प्रभावकारीरूपमा गर्नसके नेपालको स्वास्थ्य क्षेत्रमा सकारात्मक परिवर्तन देखिने उनको भनाइ छ । भन्छन्, ‘नीति निर्माण भएका छन्, कार्यान्वयन नभएको पनि होइन तर प्रभावकारी हुन सकेन ।’ पाएका उपलब्धिहरू जोगाउनु झन् चुनौतीपूर्ण छ । 

डा. प्रविणले कुराकानीकै क्रममा अर्को चुनौती देखाए । एउटा मान्छे स्वस्थ हुन विभिन्न विषय जिम्मेवार हुन्छन् । पानी, पोषण, वातावरण, चेतना, शिक्षा । सफा खानेपानी उपलब्ध गराउने काम स्वास्थ्य मन्त्रालयको होइन । वातावरण जोगाउने कार्यक्रम यो मन्त्रालयमार्फत जाँदैन । काम भएन, जनताको स्वास्थ्य स्तर खस्कियो भन्ने कुरा उठ्छ । यसलाई समाधान गर्न समन्वय गर्नु आवश्यक देखेका छन् उनले । भन्छन् , ‘अन्तरमन्त्रालय समन्वय अत्यन्तै कम छ ।’ अचेल आफू सहभागी हुने सभासम्मेलन र कार्यक्रमहरूमा उनी यस्ता चुनौतीका बारेमा छलफल गर्छन् गर्न रुचाउँछन् । 

बुबाको पथ

महोत्तरीको पिपरामा जन्मिएका मिश्रको प्राथमिक शिक्षा भारतको जवाहारनगरको सेन्टर स्कुलमा भयो । पाँच जना दाजुभाइ सबै पढाइका लागि भारतमा थिए । कलकत्ताबाट डाक्टर पास गरेका उनका बाबु ज्वालाप्रसाद त्यतिखेर महोत्तरीकै एक अस्पतालमा कार्यरत थिए । 

धनुषाको गोकुलप्रसाद माध्यमिक विद्यालयमा प्रविण ७ कक्षाका विद्यार्थी भए । उनी पढाइमा अब्बल मात्रै थिएनन्, चतुर र जिज्ञासु स्वभावका थिए । गृहकार्य गरेर शिक्षकको मन जित्थे । कक्षामा सबैका प्रिय थिए । त्यहीबाट एसएलसी उत्तीर्ण गरेका प्रविणले आइएसस्सी भने जनकपुरको रामस्वरुप कलेजबाट पूरा गरे । 

आइएस्सी सकेर प्रविणले बम्बै विश्वविद्यालय अन्तर्गत नायर हस्पिटल एण्ड डेन्टल कलेजमा दन्त चिकित्सक विषयमा छात्रवृत्ति पाएर पढ्न थाले । छात्रवृत्ति पाएपछि डाक्टर बन्ने सपनाको नजिक पुगे । २०४२ सालमा दन्तचिकित्सकको पढाइ पूरा गरेर उनी स्वदेश फर्के । लगत्तै सरकारी सेवा सुरु गरे । दन्तचिकित्सकको पढाइ पुरा गर्दा प्रविण २२ वर्षका थिए ।

उनका बाबु चिकित्सक नै थिए । त्यसैले प्रविणलाई यो क्षेत्रप्रति बढी झुकाव भयो । उनमा बाबुको सोच, संस्कार र विचारको गहिरो प्रभाव छ । त्यसैबाट आजको स्थानमा आइपुगेका हुन् । बाबुको लगन, मिहिनेत, इमादारी र समाजसेवाबाट उनी प्रभावित थिए । 

कलिलै उमेरमा डाक्टर बनेका प्रविणलाई काम सुरु गर्ने बित्तिकै पैसा कमाउने लहड नचलेको होइन । उनको त्यो इच्छा र उद्देश्यमा बाबुको एउटै वाक्य पर्याप्त भयो । छोरालाई सधैं सत्मार्गमा लाग्न प्रेरित गर्थे । प्रविणले बाबुको वचन उद्धृत गर्दै भने, पेसाप्रति इमानदार बन, सेवाभाव राख, पैसा आफैं तिम्रो पछि दगुरेर आउँछ । बाबुको यो वाक्य उनी कहिल्यै बिर्सिदैनन् । 

आन्दोलनको मोर्चामा 

नियुक्ति लिएर जनकपुर गएको केही वर्षमात्रै भएको थियो । त्यही समयमा व्यवस्था परिवर्तनको आन्दोलन चरमोत्कर्षमा पुगेको थियो । आन्दोलन चर्र्किएका बेला उनी चिकित्सक संघ जनकपुरका महासचिव भइसकेका थिए । रोगविरुद्ध मात्रै नभएर उनले स्वतन्त्रताको लडाइँमा पनि योगदान गर्नुपर्ने भयो । 

यता चिकित्सकहरूले जनआन्दोलनको समर्थनमा कार्यक्रम गर्न थाले, उता पञ्चायती शासकले आन्दोलनकारीलाई गोली हान्ने धम्की दिइराखेका थिए । एक दिन प्रविणलाई जनकपुरका तत्कालीन अञ्चलाधीशले मध्यरातमा फोन गरेर चिकित्सक आन्दोलन नरोके भने गोली हान्ने धम्की दिएको उनी सम्झन्छन् । त्यसो धम्कीले उनको दृढता हलचल भएन । बरु आन्दोलनलाई सशक्त बनाउन उत्साह मिले झैं भयो । 

जनआन्दोलनका बेला चिकित्सकहरूको सबल नेतृत्व गरेपछि उनको चर्चा हुन थाल्यो । आन्दोलनमा सक्रिय हुने क्रममा उनको सम्बन्ध नेता डा. रामवरण यादव (पूर्वराष्ट्रपति) झन प्रगाढ भयो । डा प्रविण रामवरणको सक्रियताले निकै प्रभावित भएका रहेछन् । 

एकपछि अर्को फड्को 

मुलुकमा प्रजातन्त्र आएपछि डा प्रविण दन्त चिकित्सामा थप विशेषज्ञता हासिल गर्ने योजनामा लागे । २०५० सालमा विश्व स्वास्थ्य संगठनको छात्रवृत्तिमा स्नातकोत्तर (एमडिएस) पढ्न उनी कर्नाटकको मणिपाल विश्वविद्यालय गए । तीन वर्षको कोर्ष उनले दुई वर्षमै पूरा गरे । एक वर्ष छात्रवृत्ति बाँकी रहेकाले उनले अर्थोडेन्टिक्समा पोष्टडक्रेट गरे । यो विशेषज्ञताले उनमा डिग्री मात्रै थपेको थिएन, दन्त चिकित्साको क्षेत्रमा उनले विज्ञता हासिल गरेका थिए । नेपाल फर्केलगत्तै वीर अस्पतालमा सामान्य सेवा पुयाइराखेको दन्त विभागलाई चुस्त सेवा दिनसक्ने अवस्थामा पु¥याए । 

सेवा चुस्तमात्रै बनाएनन्, २०५५ सालमा वीर अस्पतालमा पहिलोपटक दन्त चिकित्सामा एमडिएस (मास्टर्स अफ डेन्टल सर्जरी) को पढाइ नै सुरु गराए । रमाइलो त के भने दन्त चिकित्सामा एमडिएस पढाइ सुरु हुँदा उनका विद्यार्थी दुई जनामात्रै थिए । दन्त विभागको विभागीय प्रमुख रहेका डा. प्रविण २०६५ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल (न्याम्स) को डिन भए । डिन भएको त्यस्तै ६ महिना जति भएको हुँदो हो, उनी स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा भए । 


उपयोगी कार्यकाल 

डा. प्रविणका लागि सचिवमा बढुवामात्रै ठूलो विषय थिएन । प्रभावकारी काम गर्न सकिन्छ कि सकिँदैन भन्ने मुख्य विषय थियो । पदीय जिम्मेवारीले उनी जति खुशी थिए, त्यति गम्भीर पनि । त्यसको मुख्य कारण जनताको पक्षमा निर्णय गर्न सकिन्छ वा सकिदैंन भन्ने नै थियो । 

काम गर्ने इच्छा शक्ति भए, असम्भव केही नभएको उनले पुष्टि नै गरिदिए । त्यसको उदाहारण सचिव हुँदा बनेका थुपै्र नीतिनियम हुन् । उनकै कार्यकालमा नेपालले स्वास्थ्य क्षेत्रमा थुपै्र अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त ग¥यो । सहस्राब्दी विकास लक्ष अन्तर्गतका बाल मृत्युदर घटाउनेदेखि मातृ मृत्युदर कम गर्ने र एचआईभीको संक्रमणदर घटाउने लक्ष पूरा गर्न उनको कार्यकाल फलिफाप सिद्ध भएको थियो । 

स्वास्थ्य क्षेत्रका नीति नियम बनाउने र संशोधन गर्ने मात्रै होइन, मिर्गौलाका रोगीहरूका लागि स्मरणीय काम उनी सचिव हुँदा भएको थियो । मुलुकमा मिर्गाैला रोगी अपत्यारिलो किसिमले बढ्दै गएको तर उपचारको सुविधा न्यून थियो । सरकारीस्तरमा वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा मात्र सेवा उपलब्ध थियो । वीरमा भएको प्रत्यारोपणको नाममात्रको सुविधालाई उनले भरपर्दो बनाए । सुविधा सम्पन्न अपरेसन थिएटर र डायलासिस सेवा डा मिश्रकै कार्यकालमा सुरु भएको थियो । भक्तपुरमा छुट्टै मानवअंग प्रत्यारोपण केन्द्र स्थापना भई मिर्गौला प्रत्यारोपण सुरु भयो । अत्याधुनिक अपरेसन थिएटरसहित चालीस वटा डाइलासिस मेसिन सञ्चालनमा आए । विपन्न मिर्गौला रोगीहरूले निःशुल्क डायलाइसिस सेवा लिने मौका उनैको पालादेखि पाए । प्रत्यारोपण सेवा सुरु भयो । सहर र सदरमुकाम मात्रै होइन दुर्गम कर्णाली अञ्चलमा विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्ने योजना भन्यो । 


नीति कार्यान्यन 

डा. प्रविणको कार्यकालमा स्वास्थ्यका धेरैजसो नीति नियम बने । स्वास्थ्य सञ्चार नीति, रक्तसञ्चार नीति, मानवसंशाधन रणनीति, राष्ट्रिय मुखस्वास्थ्य नीति, नसर्ने रोगहरूको कार्ययोजना, सामाजिक स्वास्थ्यविमा नीति, लगायतका दर्जनौ नीति बनेर कार्यन्वयनमा आए । जुन काम उनले सोचेजति सजिलो भने थिएन । उद्देश्य प्राप्तिका लागि उनी रात दिन खटे । स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न उनी हरेक दिन क्षेत्रीय स्वास्थ्य निर्देशक र जिल्ला जनस्वास्थ्य प्रमुखसँग छलफल गर्न थाले । निर्णय अड्काएर नराख्ने बानीले सफल हुन सहयोग गरेको उनी बताउँछन् । भन्छन्, ‘मैले हुने कामलाई हुन्छ भने, नहुनेलाई हुँदैन भनेँ, अड्काएर राखिनँ ।’ 

स्वास्थ्य मन्त्रालयको सचिव भएर प्रविणले पाँच वर्ष काम गरे । यो अवधिमा उनले विभिन्न पार्टीका १० जना स्वास्थ्य मन्त्रीसँग काम गरे । मन्त्रीको दबाब बेवास्ता गर्दा केही मन्त्री त प्रविणसँग रिसाए पनि । मन्त्री रिसाए पनि उनले आफ्नो अडान छाडेनन् । काम गर्दा गल्ती हुन नदिन ऐन, नियमको अध्ययन गरे । कानुनका किताब त उनका साथी नै भए । सचिव हुँदाको कार्यकाल मात्रै होइन, ३० वर्षे सरकारी सेवाबाटै डा. प्रविण सन्तुष्ट छन् । तीन वर्ष पहिले स्वास्थ्य सचिवबाट अवकास पाएपछि पनि डा. प्रविण नेपालको स्वास्थ्य सेवा सुधारको अभियानमा सक्रिय छन् । भन्छन्, ‘रिटायर्ड, बट नट टायर्ड ।’