24th April | 2018 | Tuesday | 5:19:51 PM

सत्यको खोजीमा भौँतारिँदै

रमा लुइँटेल   POSTED ON : Saturday, 24 March, 2018 (12:58:43 PM)

सत्यको खोजीमा भौँतारिँदै

आज मार्च २४ । सत्य थाहा पाउने अन्तर्राष्ट्रिय दिवस । विश्वभर यो दिवस विभिन्न कार्यक्रम आयोजना गरेर मनाइँदैछ । यो अन्तराष्ट्रिय दिवसको पूर्वसन्ध्यामा त्यस्ता महिलासँग भेट्ने अवसर मिल्यो, जो वर्षौदेखि सत्य पर्खिएर बसेका छन् । सत्यको खोजीमा छन् । तत्कालीन माओवादीले सुरु गरेको सशस्त्र द्वन्द्वका बेला बेपत्ता पारिएका आफन्तको अवस्थाबारे अनभिज्ञ छन् । हत्या कसबाट भयो, त्यसबारे बेखबर छन् । आफ्नै छोरीचेलीलाई बलात्कार गर्ने, यौन शोषण गर्ने कोको हुन् ? यी घटनाको सत्यता जान्न चाहँदा चाहँदै पनि त्यस समक्ष पुग्न सकेका छैनन् । सत्यको खोजीमा निस्कँदा, न्यायका लागि संघर्ष गर्दा समाजले दिएको पीडाको चाङ त छँदैछ । व्यवधानका ती चाङलाई पन्छाउँदै सत्य खोज्ने बाटोमा हिँडेकाहरू अनवरत हिँडिरहेका छन् । 

न्याय विना सत्य संभव उनीहरूले देखेका छैनन् । सत्यको खोजी गर्ने क्रममै आफ्ना कुरा भन्न विभिन्न जिल्लाबाट दिदीबहिनीहरू काठमाडौं आएका थिए । उक्त कार्यक्रमका सहभागि ती महिलासँग भेटेर द्वन्द्वका बेला भएका घटनाको सत्य थाहा पाउन उनीहरूले गरेको संघर्षलाई यहाँ प्रस्तुत गरिएको छ । 

मैले सत्य कहिले थाहा पाउने ?

शीतलसिंह राठौर

१३ वर्ष अघिको त्यो दिन । कहिल्यै बिर्सन सक्दिनँ । श्रीमान् बाहिर आँगनको कलधारामा नुहाउँदै हुनुहुन्थ्यो । म भान्सामा थिएँ । मैले भान्छाबाट नै ‘ड्वांग’ आवाज सुनें । म दौडिएर बाहिर आएँ । हेर्दा त श्रीमान्को नुहाउँदा नुहाउँदैको साबुनको गाजसहितको शरीर भुईंमा पल्टिएको देखें । उहाँको शरीर रगताम्य थियो । साबुनको सेतो गाज पनि रातै भएको रहेछ । उनीहरूलाई समात्न पछिपछि दौडिएँ । मेरो केही लागेन । उनीहरू उम्किए । 

मेरा श्रीमान्लाई किन गोली हानेर उनीहरूले हत्या गरे ? मैले अहिलेसम्म त्यसको कारण थाहा पाएकी छैन । सत्य के हो ? बुझेकी छैन । सत्य थाहा पाउने मेरो अधिकार होइन ? 

सरकारले दिएको दश लाख रुपैयाँ राहत पनि पाएँ । त्यो दश लाखले न त मेरो श्रीमान्लाई फर्काउन सक्छ न त उहाँको साथ र मायालाई नै । मेरा श्रीमान्को हत्या किन गरियो, त्यो सत्य मैले कैले थाहा पाउने ? म अहिले ४९ वर्ष भएँ उमेर ढल्कँदैछ । कमाउने श्रीमान्को हत्या भयो आफू उमेर छँदा नै पीडाको भुमरीमा परियो । मेरो एउटै प्रश्न छ, सरकारले द्वन्द्वको चपेटामा परेका हामीजस्ता महिलालाई न्यायको अनुभूति कसरी दिलाउँछ ? 

श्रीमान् गुमाउनुको पीडा त छँदै थियो । घर परिवार र समाजले अरू पीडा पनि थपिदियो । सबैले साथ दिनु र सहयोग गर्नुको सट्टा हेप्न थाले । दुव्र्यवहार गर्न थाले ।  घरको सम्पत्तिबाट पनि बञ्चित भएँ । एक्लो महसुस भइरहेको थियो, एकल महिला समूह सुर्खेत मेरो पीडाको साथी बनेर आइपुग्यो । 

म यसमा सहभागी भएपछि बोल्न सक्ने भएँ, आफ्नो अधिकारको कुरा बुभ्mन र बोल्न सक्ने भएँ । आर्थिक रूपमा आत्मनिर्भर हुने बाटो खोजें । आजकल म मजस्तै अरू दिदी बहिनीहरूलाई संगठित गर्ने, आर्थिक रूपमा आत्मनिर्भर बनाउने र बाटो देखाउने अभियानमा छु । म आफू कसरी शान्त र खुशी हुनसक्छु र अरू दिदीबहिनीलाई पनि त्यस्तो वातावरण कसरी बनाइदिन सकिन्छ भनेर लागिरहन्छु । अहिले म द्वन्द्वपीडित साझा चौतारी सुर्खेतको सहसंयोजक छु । 

चित्तबुझ्दो जवाफ चाहियो 

सरिता थापा 

परिवारमा म प्यारी थिएँ । बुवाले साह्रै माया गर्नुहुन्थ्यो । बुवालाई द्वन्द्वकालमा तत्कालीन सरकारले बेपत्ता पारेसँगै मेरो लागि मायाममता र साथ विरानो भयो । मेरो बुवालाई २०५५ बेपत्ता बनाएका थिए । 

बुवालाई बेपत्ता बनाउने बित्तिकै आमालाई पनि प्रहरीले हिरासतमा राख्यो । आमाको खुट्टामा लगाएको करेन्टले आमा हिँड्न सक्नुहुन्न थियो । भाइबहिनी सानासाना थिए, उनीहरूको रेखदेख गर्नु मेरो जिम्मेवारी र कतव्र्य दुवै भयो । त्यसैले, म काम खोज्न थालेँ । मैले एउटा फाइनान्समा काम पाएँ । फाइनान्सको तलबले मलाई धेरै राहत दियो । १२–१५ सयले परिवारको सबै खर्च पु¥याउनुपथ्र्यो । आमाले चिया पसल खोलेपछि परिवार चलाउन केही सजिलो भयो । कमाई बढेपछि घर बनाउन घडेरी किन्यौं । त्यसपछि आँट बढ्यो । देशमा शान्ति सम्झौता भयो । आमाको चिया पसलले परिवार राम्ररी धान्थ्यो । फाइनान्सको काम गर्दै पढाइलाई निरन्तरता दिएँ । एसएलसी पास गरेँ । जति व्यस्त भएपनि बुवाको यादले सताइरहन्थ्यो । बुवाको खोजीमा हिँड्दै गर्दा द्वन्द्व पीडित समितिमा दुई वर्ष स्वयंसेवकको रूपमा काम गरेँ । त्यहाँँ काम गर्दा आफूजस्तै पीडा भोगेका, अनुभव भएका दिदीबहिनीलाई भेटेँ । त्यहाँ काम गर्दाको अनुभवले मलाई अवसरका अन्य ढोका पनि खुल्यो । 

अहिले ती दिन सम्झदाँ निकै खुशी लाग्छ, साँच्चै म आँटिली रहेछु । बुवा बेपता हुनुभएको अत्तोपत्तो छैन । बुवाको अभावले दिएको पीडा व्यक्त गर्न मसँग शब्द नै छैन । आमाको आँखाले पनि सधैँ बुवालाई नै खोजिराख्छ । 

के हाम्रा मान्छेको अवस्था कस्तो छ ? सत्य थाहा पाउने अधिकार हाम्रो छैन ? बुवाको अवस्था थाहा पाए मात्रै पनि हाम्रो लागि न्याय हुन्थ्यो । बुवालाई बेपत्ता बनाएपछि मैले यो समाजमा महिला भएकै कारण भोग्नुपरेको हिंसा, लान्छना, अपमानको क्षतिपूर्ति राहत बापतको दशलाख रुपैयाँले दिन सक्दैन । मलाई मेरो बुवालाई किन बेपत्ता पारियो ? उहाँको अवस्था के छ ? चित्त बुझ्दो जवाफ चाहिएको छ । हामीलाई निर्धक्कसँग बाँच्ने आधार चाहिएको छ । 


कसैले मेरो समय फर्काउन सक्छ ?

सिर्जना श्रेष्ठ 

हामी सबैजना कोठामा बसेर टेलिभिजन हेरिरहेका थियौं कसैले बोलाएजस्तै लाग्यो । ‘संजय दाइ, ओ सन्जय दाइ’ भन्दै कसैले बोलाएको आवाज सुनें । 

ढोका खोलेर ती मान्छेलाई ‘भित्रै आउनु न’ भनेर मेरो श्रीमान्ले बोलाउनुभयो । ती मान्छेलाई बस्नका लागि उहाँले निहुरिएर ठाउँ मिलाउँदै हुनुहुन्थ्यो, त्यति नै बेला तिनै मान्छेले कोठाभित्रै उहाँमाथि पाँच राउण्ड गोली प्रहार गरे । उनीहरूले मेरा आँखा अगाडि नै श्रीमान्को हत्या गरे । मेरो श्रीमान्को हत्या तत्कालीन विद्रोही माओवादीले किन ग¥यो भन्ने प्रश्नको उत्तर मैले अझसम्म पाउन सकेकी छैन् । उहाँ सबैको हित चिताउनुहुन्थ्यो । गाउँमा समस्या आइलागे समाधान निकाल्नुहुन्थ्यो । 

केही समस्या परेमा सबैजना उहाँलाई नै खोज्दै आइपुग्थे । दिन होस कि रात घरमा मान्छे खाली भएको समय हुँदैनथ्यो । तर २०५९ कार्तिक १४ श्रीमान्को हत्या भएपछि आफ्नाहरू सबै विराना भए । हेपेर भात खाँदा खाँदैको थालसमेत खोस्थे ।

बच्चा साना थिए, कमाइको कुनै आधार थिएन, साथमा कोही थिएन । मैले लुगा सिउने काम सुरु गरें । यो काम थालेपछि परिवार चलाउन सजिलो भयो । 

केही समयपछि त्रिभुवन विश्वविद्यालयमा लेखासम्बन्धी काम सुरु गरें । घरबाहिर निस्केर काम गर्दाखेरि शंकाको दृष्टिले हेर्नेहरू धेरै थिए । तर मैले त्यसको वास्ता गरिन न्यायको लागि म अगाडि बढी नै रहें ।

न्यायको लडाई ज्ञान र अनुभवविना सम्भव थिएन । जीवनमा महŒवपूर्ण निर्णय गरेकी रहेछु भन्ने महसुस अहिले भइरहेको छ । १५ वर्षसम्म रोकिएको मेरोे पढाईलाई निरन्तरता दिने निर्णय गरें । ३३ वर्षको उमेरमा बिए पढ्न फेरि क्याम्पस भर्ना भएँ । त्यसपछि मैले समाजशास्त्रमा स्नातकोत्तरसम्मको पढाइ पुरा गरें ।

पढाइ र सर्टिफिकेट मात्रै न्यायको यो संघर्षमा पर्याप्त हुने नदेखेर विभिन्न संघसंस्थामा आबद्ध भएँ । सुरुका दिनमा पहिला म द्वन्द्वको त्यो घटनालाई भाग्यको दोष भन्थे । अहिले मेरो बुझाई परिवर्तन भएको छ । सत्य, न्याय, आत्मसम्मान र परिपुरण मजस्ता धेरै द्वन्द्वपीडितहरूको अधिकार हो भनेर बुझेकी छु । द्वन्द्वपीडित साझा चौतारीको केन्द्रीय कोषाध्यक्ष छु । नेपालभरका द्वन्द्वपीडित र विशेषगरि महिलाका आवाजलाई अगाडि बढाउन नेतृत्व लिइरहेकी छु । 

मेरो श्रीमान्को हत्या किन गरियो भन्ने सत्य थाहा पाउनु नै मेरा लागि न्याय हो र अधिकार पनि हो । । मेरो श्रीमान्को हत्या भएकै कारण मैले यो समाजसँग जुन संघर्ष गर्नुप¥यो र त्यसले मलाई जुन पीडा दियो त्यसको क्षतिपूर्ति कसले र कसरी दिनसक्छ । के कसैले मलाई मेरो जीवनका ती संघर्षपूर्ण पन्ध्र वर्ष फेरि फर्काउन सक्छ ?

मेरो पढाइको क्षतिपूर्ति कसले गर्छ ? 

आशा चौधरी

नाम मेरो आशा । पहिलापहिला मलाई हेप्ने, होच्याउने घृणा गर्नेहरू अहिले ‘हमार आशा हिम्मतवाली आशा’ भन्नुहुन्छ । ममाथि उहाँहरूको ठूलो विश्वास र भरोसा छ । ‘आशा हमार बात सुनत’ भन्नुहुन्छ । उहाँहरू पनि मेरो भरोसा हो । 

उहाँहरूलाई संगठित गर्छु । कैलाली जिल्लाका द्वन्द्व प्रभावित मजस्तै ७५ जना दिदीबहिनीलाई एकै ठाउँमा ल्याएकी छु । 

यो भरोसा र विश्वासको पछाडि लामो कथा छ । १२ वर्षको उमेर भनेको खेल्ने पढ्ने उमेर हो । तर, जिम्मेवारीका हिसाबले म निकै ठूली भइसकेकी थिएँ । सानासाना भाइबहिनी, भतिजा जम्मा पाँचजना थिए । घरमा म नै उनीहरूको अभिभावक थिएँ । मेरो जिम्मेवारी अचम्मको थियो, दिनभर भाइबहिनी खेलाउने । राति घरमा आएका पुलिसको प्रश्नको जवाफ दिने । कुटपिट गर्थे । बन्दुकको कुन्दाले हान्थे । मेरो शरीरमाथि बुट बजार्थे । मलाई आफ्नोभन्दा पनि भाइबहिनीलाई कसरी जोगाउने भनेर पीर लाग्थ्यो । ‘तेरो दाइदिदी माओवादीमा लागेका छन बता कहाँ छन्’ भनेर सोध्थे । म जतिचोटी थाहा छैन भन्थे त्यति नै बढी यातना दिन्थे । 

साँझ प¥यो कि उनीहरू आउँछन् भनेर मलाई डर लागिरहन्थ्यो । मैले यस्तो डरका बीचमा पनि एसएलसीसम्म जसोतसो पास गरें । तर, मेरो पढाइ बिचमै रोकियो । ६ वर्ष पढाइ रोकिए पनि मैले अाँट गरेर ११ कक्षामा भर्ना गरे । अहिले मैले १२ कक्षा पास गरेकी छु । आफूले थप पढ्न नपाएपछि द्वन्द्वपीडित दिदीबहिनीलाई न्यायको बाटो देखाउन सफल भएकी छु, त्यसमै खुशी लाग्छ । आफ्नै हिम्मतले यहाँसम्म आइपुगेकी छु । 

मैलै त पढ्न पाइन अरूले यस्तो भोग्न नपरोस् । अहिले म सत्ताइस वर्षकी भएँ । मैले सानै उमेरमा त्यस्तो किन भोग्नुप¥यो ? मैले पढ्न नपाएको क्षतिपूर्ति कसले दिन्छ ? कसले फर्काउन सक्छ मेरो त्यो बाल्यकाल ? जुन समयमा म स्वच्छन्द भएर डरत्रासविना बाँच्न सकिनँ ।