22nd July | 2018 | Sunday | 2:39:11 AM

कविता– हो ! तिम्रो घर मैले विगारेँ

सीता आस्था   POSTED ON : Wednesday, 28 March, 2018 (3:57:31 PM)

कविता– हो ! तिम्रो घर मैले विगारेँ


तिम्रो आगनमा फूल रोपेर

सृजनाको प्रलय गर्न

आतुर भएर

एक मुठ्ठी विश्वास संगै 

मेरी आमाको काख 

छोडेर आएँ ,

बाबुको आशा पूरा गर्न नसकी

उनले चिनाएका अक्षरहरु 

तिमी संगको सह–यात्रामा

साथ दिन भनेर 

डोली चढेर रुँदै

यौटा दर्बिलो मायाको 

बन्धन तोडेर आएँ ।

हो !

तिमीले मेरी आमाको काखबाट 

एउटा सम्झौता गरेर 

आखाँ भरीभरी आँसु उमारेर

तिम्रो घर सजाउन ल्यायौ मलाई

र भन्यौ मेरो घर बिग्रियो

तर मेरी आमाले कहिल्यै त्यसो भनिनन्।

हो , 

साँच्चै मैले तिम्रो घर बिगारेँ?

मैले आफ्नै थर बिगारेँ

मेरा सन्तानको थर तिमीले नै हडपेऊ,

तर !

मैले र मेरी आमाले

कहिल्यै त्यो भनेनौ ।

सिउँदोमा यौटा 

तिम्रो नाउँको दोबाटो खनेर

गलामा यौटा पोते झुण्डाई देऊ

तिमीले मेरो पाठेघर बिगार्यौ

क्षत–बिच्छ्यत पार्यौ

छोरा जन्माउने बहनामा 

आधा पेट काटेर 

धेरै पटक 

आइ सी यू र भेन्टिलेटरमा घुसार्यौ।।

बोक्सीको आरोपमा 

बुझ्रुक समाज खन्याएर 

म माथि निल डाम बसायौ

तर, पनि मैले कहिल्यै 

घर बिग्रियो भनिन

मेरो जिऊ बिग्रियो भनिन


तिमी जुन धर्तीमा जन्मियौ 

म पनि उहि धर्तीमा जन्मिएँ

समान धर्तिका हामी

तर, दोष आखिर मेरै मात्र किन ?

मैले जोखिम मोलेर 

तिम्रो घर माथी घर बनाएँ

मेरो थर माथी थर थपाएँ

साँझमा तिम्रो घरमा 

दियो बाल्ने जिम्मा मेरै 

कुनै दिन चुलो निभेको छैन,

तर 

तर, सधैं तिमीले

मेरो घर बिग्रियो भन्यौ

मेरा बाबु आमाबाट 

टाढिएँ भन्यौ

लुटिँए भन्यौ 

अव तिमीनै भन त

मैले तिम्रो घर बिगारेँ कि !

तिमीले मेरो घर बिगार्यौ?