13th December | 2018 | Thursday | 11:15:22 AM

गोडा नभए पनि हिम्मत छ नि !

रमा लुइँटेल   POSTED ON : Saturday, 31 March, 2018 (2:55:34 PM)

गोडा नभए पनि हिम्मत छ नि !


छत्रबहादुर श्रेष्ठ । उनलाई ‘हिम्मत’ र ‘सकारात्मक सोच’ का पर्याय भने पनि हुन्छ । कुनै काम असम्भव देख्दैनन् । सबै विषयको सकारात्मक पक्षलाई महŒव दिन्छन् । नकारात्मक पक्षबाट अगाडिका दिनका लागि शिक्षा लिनुपर्छ भन्छन् । आफ्नो सफलताको मूल आधार आफ्नो सकारात्मक सोचलाई नै ठान्छन् उनी । दुर्घटनामा परेपछि एउटा गोडा गुमाएका छत्रबहादुर करीब एक सय जनाका रोजगारदाता हुन् भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।

धेरैलाई अपत्यारिलो लाग्ने यो काम उनले गरेका छन् । काठमाडौंको नयाँ बजारस्थित ‘जे एन माउन्टे डियर’ फ्याक्ट्रीका उनी प्रमुख हुन् । यो फ्याक्ट्रीले ज्याकेट, ट्राउजर, डाउन ज्याकेट लगायतका लुगा सिलाउने काम गर्छ । यी लुगाको बजार नेपाल मात्रै नभएर विदेशमा समेत छ । व्यक्तिले अडर गर्छ, त्यो अडर विदेशका लागि हुन्छ ठमेल, नाम्चे, पोखरामा उनको उत्पादनको माग बढी छ । उनी कहाँ बनेको लुगा विदेशीले पनि खुबै रुचाउँछन् । बलियो र राम्रो गुणस्तरीय मानेर छत्रको फ्याक्ट्रीमा बनाएका लुगा धेरैले मन पराउँछन् । 

नयाँ यात्राको सुरुवात 

दुर्घटनामा परेको केही समय पछि छत्रबहादुरको गोडा काट्नु प¥यो । उच्च शिक्षाको लागि २०४२ सालमा संखुवासभाबाट काठमाडौं आएका उनी एक वर्ष नबित्दै बैसाखीको साहरामा फेरि गाउँ फर्र्किए । गाउँलेको व्यवहार उनलाई मन परेन । सबैले हेयको दृष्टिले हेर्न थाले । आफूले जति आत्मविश्वास देखाएपछि हेप्दै गरेको व्यवहार उनलाई सहृय भएन । त्यसपछि छत्रले निर्णय गरे, फेरि काठमाडौं फर्कने । 

काठमाडौंप्रतिको उनको जस्तो दृष्टिकोण थियो, त्यसलाई काठमाडौंले गलत सावित हुन दिएन । केही वर्ष काठमाडौं बसिसकेका उनले यहाँ सम्भावना देखेका थिए । मिहिनेत गर्नेले सफलता पाउन सक्ने थुप्रै आधार उनले पहिल्याएका थिए । काठमाडौं सहरप्रतिको आफ्नो दृष्टिकोण उनले सुनाए, ‘मिहिनेत गर्नेले यो सहरमा भोकै मर्नुपर्दैन भन्ने मैले बुझेको थिएँ ।’ काठमाडौं फर्कनुको कारण बेलिबिस्तार लगाए । 

छत्रले काठमाडौं जान्छु भन्दा उनकी आमाले पटक्कै मानेकी थिइनन् । मानुन् पनि कसरी ? आमाको मन न हो ? कहाँ बस्ला ? के खाला ? तर उनको जिद्दीको अगाडिको आमाको केही लागेन । आफन्त दाइको साथमा काठमाडौं आएका उनलाई यहाँ जसरी पनि टिक्नु थियो । पढ्न सुरु गरे । आइए, बीए पास गरे । काम गर्न नाइनास्ती गरेनन् । आफ्नो क्षमताले भ्याउने सबै काम गरे । यो नभए अर्को हुन्छ कि ? यसमा नभए अर्कोमा हुन्छ कि ? भन्दै दुई छाकको जोहो गर्न उनी धेरैतिर भौँतारिए । अर्काको काम गर्दा अनुभव सुनाउँदै थिए उनी । भने, ‘एक दिन राम्रो भएको काम अर्को दिन राम्रो नहुने, खोट मात्रै देखाउने ।’ रोजगार दिनेको यस्तो प्रवृत्तिबाट दिक्क भएपछि उनलाई लाग्यो, अब आफ्नै काम सुरु गर्नुपर्छ । हिम्मत नहार्ने र आफूलाई कहिल्यै कमजोर नठान्ने स्वभावका छत्रले सुरुमा दुईवटा सिलाइ मेसिन किने । उनमा सिलाइसम्बन्धी आधारभूत ज्ञान थियो । उक्त ज्ञानले कपडाको गुणस्तर बुझ्न, कपडाको बजार बुझ्न धेरै सहयोग ग¥यो । 

आफैं कपडा सिलाएर बस्नेभन्दा पनि अरूका लागि रोजगारी सिर्जना गर्न चाहन्थे । भन्छन्, ‘म फरक काम गर्न चाहन्थँे, त्यो प्रमाणित भएको छ ।’ उनको फ्याक्ट्रीमा ८० जनाभन्दा धेरैले रोजगारी पाएका छन् । छत्र रोजगारी त्यस्ता व्यक्तिलाई दिन चाहन्छन्, जसलाई साँच्चै आवश्यक छ । कामवापत पाएको ज्यालाले त्यो परिवारको ठूलो गर्जो टरोस् । त्यसैले उनको फ्याक्ट्रीमा काम गर्नेहरू महिला छन् । विपन्नलाई प्राथमिकता दिन्छन् । अपागंता भएकालाई यो काम सहज नहुने भएकाले उनीहरूलाई काम दिन नसकेको उनी बताउँछन् । 


हजारौंका छत्र दाइ 

फ्याक्ट्री खोल्न छत्रले सुरुमा त्यस्तै २०–२५ हजार रुपैयाँ लगानी गरेका थिए । त्यो लगानीले अहिले उनलाई १ करोडको मालिक बनाएको छ । सम्पत्तिले भन्दा धेरै खुशी समाजमा पाएको सम्मानले दिएको अनुभव गरेका छन् । त्यसबाट उनी गौरवान्वित छन् । मानसिकता कमजोर हुनेले मात्रै अपागंता भएकाहरू कमजोर ठान्ने ठहर उनको छ । अपागंता भएकै कारण उनले आफूलाई कहिल्यै कमजोर ठानेनन् । हेय दृष्टिले हेर्नेलाई उनको काम गतिलो जवाफ भएको बताउँछन् । खुशी छताछुल्ल भएको भावमा उनी भन्छन्, ‘कुरा नै गर्ने हो भने त मै अरूका लागि रोजगारी सिर्जना गरेको छु ।’ उनलाई सबैले छत्र दाइ भन्छन् । अप्ठ्यारो पर्दा सरसल्लाह समेत माग्छन् स्टाफहरू । यो अर्थमा उनी आफ्नो फ्याक्ट्रीलाई उनी एउटा परिवार भन्न रुचाउँछन् । 

सबैको सम्मान र स्नेह पाउनुको पछाडि यो मुख्य कारण भएको छत्रको बुझाइ छ । धेरै आम्दानी गर्न उनी फ्याक्ट्री विस्तार गर्न चाहँदैनन् । रोजगारी सिर्जनाका लागि काम विस्तार गर्ने योजनाको माला बुन्न व्यस्त छन् । जति धेरैलाई रोजगारी दिन सके त्यति नै फ्याक्ट्रीलाई फाइदा हो भन्ने बुझेका छन् उनले । 


निहुँ ठूलो थिएन 

निहुँ त्यत्ति ठूलो छैन, एउटा गोडा काट्नुको पछाडि । साइकलबाट यस्तो लडेका मात्रै थिए । गोकर्ण जाने विशेष काम प¥यो, छिटो पुग्नुपर्ने बाध्यता थियो, त्यसैले उनी साइकल लिएर त्यसतर्फ लागे साइकल ठोक्किपछि भुइँमा पछारिएका उनले गोडा नै काट्नु पर्ला भन्ने सोचेका थिएनन् । काठमाडौंको नाम चालेका धेरै अस्पतालमा उपचार गराए । उपचारका लागि भारत समेत पुगे । तर केही लागेन। उनले भने, ‘धेरै उपचारपछि वोन म्यारोको समस्या देखियो ।’ भारतको एउटा अस्पतालमा तिघ्राभन्दा मुनिको भाग काटेको उनी बताउँछन् । 

त्रिपन्न वर्षीय छत्रकी एक छोरी अस्ट्रेलियमा नर्सिङ पढ्दै छिन् । अन्य छोराछोरी काठमाडौंमै अध्ययनरत छन् । सखुवासभाबाट वैशाखीले डो¥याएको शरीर लिएर आएका उनले बालाजुमा घर बनाएका छन् । रोग लाग्दा उपचार गर्ने खर्च जुटाउन त्यस्तो गाह्रो छैन । उनी भन्छन्, ‘यो सबै मलाई यशुको कृपाले गर्दा भएको छ, उहाँलाई स्वच्छ मनले सम्झे, उहाँले पनि हामीलाई कृपा गर्नुहुने रहेछ’ इसाइ धर्मका अनुयायी उनले भने । 


सरकारले खै कुरा बुझेको ! 

कुराकानीको अन्त्यतिर, धर्म परिवर्तन गरेर क्रिस्चियन भएपछि जोनी नामले परिचय दिन थालेका छत्रबहादुर निकै भावुक देखिए । ‘अपागंता त जो कोहीलाई पनि हुन सक्छ, खै सरकारले हाम्रो कुरा बुझेको ?’ सरकारले अपागंता भएकाको मर्का नबुझेको गुनासो उनको थियो । सार्वजनिक सवारी साधान, अस्पताल, सार्वजनिक ठाउँमा अपागंता भएकाहरूलाई विशेष व्यवस्था हुनुपर्ने तर्क राखे । सबै खालका अपागंता भएकालाई मासिक भत्ताको व्यवस्था गर्नुपर्ने उनको माग छ । सरकारले उनीहरूका सहयोगका केही कार्यक्रम ल्याउने हो अपागंता भएकाहरूले स्वाबलम्बी हुने उनी बताउँछन् । भन्छन्, ‘परिवार समाजले हेप्छ, घृणा गर्छ, हातमा पैसा छैन कसरी के काम गर्ने ।’ 

अपांगता भएकाहरूको हिनताबोध हटाउनका लागि त्यस्ता कार्यक्रम आवश्यक भएको तर्क उनको छ । छत्रबहादुरले अर्को प्रसंग सुनाए । फ्याक्ट्रीको कामलाई चुस्त बनाउन उनले सवारी साधन चलाउन पर्ने भयो । सवारी साधन चलाउन लाइसेन्स आवश्यक पर्छ । लाइसेन्सका लागि उनी सम्बन्धित कार्यलयमा फारम भर्न गए । 

उनको शारीरिक अवस्था थाहा पाएपछि त्यहाँका अधिकारीले लाइसेन्स दिन इन्कार गरे । उनी भन्छन्, ‘कानुनले कतै रोकेको छैन, किन नपाउने ।’ विभागले दिएको एउटा चिठ्ठी देखाउँदै उनी सडकमा निजी साधन गुडाइराखेका छन् । सरकारले लाइसेन्स नदिएर अपागंता भएकाको मनोवल घटाएको उनी बताउँछन् । ट्रायल पास गर्नेलाई किन लाइसेन्स दिन नमिल्लने ? छत्रबहादुरले यो प्रश्नको उत्तर सरकारसँग मागिरहेका छन् । 


Views: 14