16th December | 2018 | Sunday | 12:20:17 PM

चीर निन्द्रामा म

अनिता कोइराला   POSTED ON : Tuesday, 10 April, 2018 (1:25:35 PM)

चीर निन्द्रामा म

आफ्नै प्रीयजनहरुलाई,

बगरेले टुक्राटुक्रा पारी

पूर्ण सन्तुष्टिका साथ,

बेचिरहँदा ,

म त्यहीँ मस्तसंग उसैले दिएका, 

मीठा–मीठा चारा,

जिब्रो पड्काई –पड्काई,

खाइरहेको हुन्छु

मात्र आफ्नो भुँडी भरिरहेको हुन्छु ।


आफ्ना साथीहरुको चित्कारलाई नजरअन्दाज गर्दै,

म बहिरो ,

लाटो ,

अन्धो भएर,

एकोहोरो त्यही खानाको लालचमा ,

आफ्नो स्वाभिमान ,

नैतिकता ,

इमानदारीता,

बौद्धिकता, र

मानवताको

तिलान्जली दिन कति पनि संकोच लिएको हुन्न,



मेरो विबेकमा खोइ कताबाट हो 

ठुलो भोटे ताल्चा लाग्न पुगेको रहेछ

म रत्तिभर पनि सोच्न सक्दिँन ,

जुन व्यबहार मेरा बन्धुहरुले भोग्नु पर्यो ,

मलाई के थाहा, भोलि मैले पनि यस्तै नियति भोग्नु पर्ला भनेर ?

म चीरनिद्रामा घोडा बेचिरहेको हुन्छु, 

विच्छ्यौनाको पिसावलाई न्यानो ठानिरहेको हुन्छु ,

अचानक ,

एक तन्द्राले विउझायो

मात्र

पेट भर्नका लागि मात्र मैले ,

मेरा सबै मानवीय गुणहरुलाई ,

इतिहासको पानामा ,

धर्मशास्त्रका पुस्तकमा ,

एकादेशको कथामा मात्र ,

सीमित गर्दै ,

मैले मेरा ईश्वरीय बिशेषताहरुको

चीरहरण गरेर,

आफूलाईनै,

खोक्रो  ,निरस, सम्वेदना र यान्त्रिक,

बनाइरहेको छु !

मैले कसरी, कहिले र कहाँ,

कसका लागि यो स्वार्थीपन अपनाउन पुगें म आफैलाई थाहा छैन ।

खै, कसरी अब फेरि मेरा पुरातन गुणहरुलाई ,

पून, आफूमा हरा भरा गराउन सकुँला या नसकुँला, 

कसरी मेरा भावी पुस्तालाई मानवताको

बिशेषता घोक्न र बुझ्न ,

पुस्तकका पाना पल्टाउनुको सट्टा ,

मान्छेको व्यवहार र स्वरुपमा प्राप्त गरून भनेर सिकाऊ ?

मेरा सन्ततिले पूर्ण मानव खोज्न,

यान्त्रिक मानवको साहारा लिन पुगे भने कहाँ पुग्ला मेरो अस्तित्व ?


Views: 29