24th April | 2018 | Tuesday | 4:21:50 AM

छेपारोजस्तो होइन्, मौरी र कमिलाजस्तो बन्नूस्

रमा लुइँटेल   POSTED ON : Saturday, 14 April, 2018 (3:19:23 PM)

छेपारोजस्तो होइन्, मौरी र कमिलाजस्तो बन्नूस्

दश वर्षको उमेरमा आमालाई सघाउन समाएको सियोले जिन्दगीमा ‘यु टर्न’ लिन्छ होला भन्ने उनले सोचेकी थिइनन् । काठमाडौंको रैथाने सिकर्मी परिवारमा ज्ञानीशोभा तुलाधर ६७ वर्षअघि जन्मिएकी थिइन् । बाबु सिकर्मी काम गर्न जान्थे । श्रीमान्लाई आर्थिक भरथेग गर्न आमा लुगा सिलाउने काम गर्थिन् । श्रमजीवी उनका बाबु ज्ञानीशोभालाई ज्ञानगुनका कुरा सिकाउँथे । श्रमको महŒव बुझाउँथे । मान्छेले गर्ने कामले उसको स्तर निर्धारण नगर्ने बताउँथे । त्यसैले, उनले सानै उमेरमा श्रमको महŒव बुझिन् । श्रमलाई सम्मान गर्न सकिन् । बालमस्तिष्कमा परेको श्रमप्रतिको धारणाले फेसनकी गुरुआमा ज्ञानीशोभालाई अहिले यति उचाइसम्म पु¥याएको छ । उनी आफ्नो यो सफलतालाई धैर्य र मिहिनेतको प्रतिफल भन्छिन् । काम गर्ने सिलसिलामा अवरोध नआएको होइन, ती अवरोधका अघिल्तिर उनी विचलित भइनन् । कामप्रति प्रतिबद्ध भएर लागी रहिन् । नाफा, नोक्सानको हिसाब कहिल्यै गरिनन् । मात्रै त्यसको उनले हिसाब गरिन्, ‘मेरो कामबाट को–को र कसरी लाभान्वित भए ।’ उद्देश्य राम्रो भए पैसाले व्यक्तिलाई पछ्याउने उनको अनुभव छ । पैसालाई कहिल्यै प्राथमिकतामा नराखेकी ज्ञानीशोभालार्ई हिजोआज लाग्छ, ‘वास्तवमा पैसा साध्य होइन, साधन मात्रै हो ।’ 

छेपारोजस्तो आफ्नो वास्तविक रूप बदल्ने प्रवृत्ति ज्ञानीशोभालाई पटक्कै मन पर्दैन । मौरी र कमिलाको मिहिनेती स्वभावबाट सानैदेखि प्रभावित उनी यो सफलताको उचाइलाई मिहिनेतको परिणाम भन्छिन् । ज्ञानीशोभा यस्ती महिला हुन्, जसलाई संघर्ष सफलता र उक्त सफलताले ल्याएको सकारात्मक उत्प्रेरणालाई बेलायतको एक युनिभर्सिटीमा पढाइने भएको छ । जसमा लिभरपुल जोन मुरे युनिभर्सिटीले तुलाधारसँग कोर्समा २४ जना नेपाली महिलाको संघर्ष र सफलतालाई समावेश गरेको छ । यसलाई उनी आफूप्रतिको सम्मान भएको बताउँछिन् । उनी संघर्ष, बाधालाई पैतालामुनि हालेर अघि बढ्न सुझाव दिन्छिन् । 


कहिले त आफ्नै गालामा थप्पड 

आफ्नो घरको सानो कोठा । सिलाई मेसिन, मेजरिड टेप, कैँची, इस्तरी । सबै एक एक वटा । दुईवटा किन्ने उनीसँग पैसा थिएन, त्यत्तिखेर । पैसा नभएर के भो त । आँट, साहस, हिम्मत थियो । श्रमप्रतिको विश्वास थियो । लुगा सिलाउने पेशा सुरु गर्दा ज्ञानीशोभा दिनको झण्डै १८ घण्टा काम गर्थिन् । शारीरिक रूपमा थकान महसुस भएपनि मानसिक रूपमा उनी जति काम गर्थिन् , त्यत्ति नै सिर्जनशील हुन्थिन् । 

बम्बईबाट फेसनसम्बन्धी औपचारिक अध्ययन सकेर नेपाल फर्किएपछि धेरै ठाउँबाट जागिरको प्रस्ताव आएको थियो । ज्ञानीशोभाका बाबु छोरीलाई अरूकाम जागिर खान पठाउन चाहदैनन् थिए । छोरीको क्षमता र योग्यतालाई राम्रोसँग जानेका उनले ज्ञानीशोभाभित्र धेरैलाई योग्य र सक्षम बनाउन सक्ने क्षमता देखेका थिए । 

बाबुको सल्लाहले उनले घरकै कोठामा लुगा सिलाउने पेसा सुरु गरिन् । सिलाइ पेसा सुरुमात्रै के गरेकी थिइन्, बम्बई पढेर आएको मान्छेले सिलाई पसल खोल्ने भन्दै अनेक टीका टिप्पणी सुरु भयो । ती टिप्पणी पानीका फोकाजस्तै गरी बिलाए । उनले तिनलाई खासै महŒव दिइनन्, किन भने  उनले बुझेकी थिइन् काम गर्नेले जित्छ । कुरा गर्नेहरू हार्छन् भन्ने कुरा ।  आफ्नो यस्तो सफलताको मुख्य कारण सकारात्मक सोच भएको बताउँछिन् उनी । उनी सधैँ सकारात्मक पक्षलाई महŒव दिन्छिन् । के त्यसो भए उनीभित्र कहिल्यै नकारात्मक भावना आउँदैन त ? उनलाई यस्तो प्रश्न गर्दा उनले ‘म पनि सामाजिक प्राणी हँु, समाजका घटनाक्रमले प्रभावित हुन्छु तर नकारात्मक भावलाई व्यवस्थित गर्छु, नियन्त्रण गर्छु,’ उनले थपिनन् ‘म नकारात्मक पक्ष आफूभित्र सवल हुन लागेको अनुभव हुनेबित्तिकै कहिले आपैmले आफ्न गालामा थप्पड मार्ने् त कहिले कपाल तान्ने   र आफैले आफैँलाई प्रश्न गर्ने गर्थे ।’ उनले भनिन्, ‘किन म यस्तो सोच्दैछु ? के मेरो सोचाइ ठीक त  छ ?’ यस्तो प्रश्नले नकारात्मक भावलाई न्यून बनाउने उनी प्रष्ट पार्छिन् । 

रोल मोडल तुलसीमेयर 

पद्यकन्या कलेजमा पढ्दा स्नातक तहको परीक्षामा ज्ञानी अंग्रेजी विषयमा अनुतीर्ण भइन् । उनी हतास भइनन् । मनलाई सम्झाइन् । सिलाइमा विशेष रुचि भएकी ज्ञानी समयको सदुपयोग गर्दै थप ज्ञानका लागि तुलसीमेहरको ‘नेपाल चर्खा प्रचारक सिलाइ कटाइ प्रशिक्षण केन्द्र’ मा तालिम लिन पुगेकी थिइन् । केन्द्रको प्रशिक्षणमात्रै पर्याप्त नदेखेपछि तुलसीमेहरले उनलाई ‘तिमी बम्बई पढ्न जान्छौ त ?’ भनी सोधेका रहेछन् । तुलसीमेयरको प्रश्नमा उनले प्रतिप्रश्न गरिन् । ‘ म पढ्न त जान्छु त नेपाल फर्किएर के गर्ने ?’ नेपालमा फेसन कजेज खोल्ने सल्लाह दिएका थिए । तुलसीमेयरले त्यत्तिखेर दिएको सल्लाह २०५९ सालमा सार्थक भयो । ज्ञानीशोभाले ७ जना विद्यार्थीबाट नमुना कलेज अफ फेसन टेक्नोलोजी नामको नेपालकै पहिलो फेसनसम्बन्धी पढाइ हुने कलेज स्थापना गरिन् । अहिले उक्त कलेजमा ३ सय ५० विद्यार्थी अध्ययनरत छन् । उनी समाजसेवी तुलसीमेयरलाई जीवनको रोल मोडलका रूपमा लिन्छिन् । सरल जिन्दगीको मूल्य मान्यता र गौरव बुझ्ने मौका ज्ञानीले तुलसीमेयरबाट पाएकी रहेछिन् । 

आँट जीवन जिउने कला 

अचानक उनको पाठेघरमा क्यान्सर देखियो । भारत गएर उपचार गर्न सल्लाह भयो । अस्पतालबाट ट्याक्सी चढेर घर फर्कदै थिइन । बाटोमा सडक दुर्घटनाको विभत्स दृश्य देखेपछि उनले भारत गएर उपचार गर्ने निर्णय बदलेकी थिइन् । नेपालकै प्रसुति गृहमा उनको शल्यक्रिया भयो । अस्पतालकै शैयामा हुँदा उनीभित्र एउटा यस्ता सोच उत्पन्न भयो, जुन सोच आफूभित्रको सीप अरूलाई बाँड्ने थियो । स्वस्थ भएपछि उनले नमुना इन्स्टिच्यूड अफ टेक्नोलोजी खोलिन् । केही समय पछि ज्ञानीमा अर्को रोग देखियो । नसासम्बन्धी विश्वकै यो दुलर्भ रोग लाग्दासमेत उनी उद्यमशीलताबाट टाढा रहन चाहिनन् । अझै काममा समर्पित भइन् । नमुना कलेज अफ टेक्नोलोजी खोल्ने आँट गरिन् । उनी आँटको परिभाषालाई प्रष्ट पार्छिन् । ‘आँट जीवन जिउने कला हो ।’ थुप्रै पुरस्कार प्राप्त गरेकी ज्ञानीशोभाको संघर्ष, मिहिनेत र निरन्तरको अर्को नाम हो । 

आमाबाट सिकिन् क्षमा दिने प्रवृत्ति 

 ज्ञानीशोभाले सुरुमा खिचापोखरीस्थित जुजुभाइ टेलर्समा कपडामा आइरन लगाउने काम थालिन् । त्यहाँ काम गर्दा उनले व्यापार र व्यवसायको सीप मात्रै सिकिनन्, पैसाको पछि होइन, कामको पछि लाग्नुपर्ने रहेछ भन्ने बुझिन् । श्रमको सम्मान गर्ने सीप त्यहाँबाट सिकेकी उनले व्यक्तिलाई क्षमा दिने प्रवृत्ति आमाबाट सिकेकी रहेछिन् । अन्तर्वाताको क्रममा बाँसबारीस्थित नमुना कलेजमा भेटिएकी उनले उबेलाको एउटा प्रसंग सुनाइन् । एक दिन उनलाई आमाले तरकारी किन्न पैसा दिएर पसल पठाइन् । पैसा कहाँ खस्यो थाहा छैन । तरकारीको टोकरी वा बाटोमै । थाहा भएन । पैसा नभएकाले दिइसकेको सामान पनि साहुजीले फर्काए । 

पैसा पनि छैन, सामान पनि छैन, उनी सुक्कसुक्क गर्दै घर आइन् । यो घटनाले साह्रै पिरोलिएकी ज्ञानीशोभाले आमालाई फेरहिस्त सुनाइन् । आमाले आक्रोश पोखिनन् । नम्र शैलीमा भनिन्, ‘यो पटक हरायो त के भयो, अर्कोपटक नहराउनु ।’ यो घटनाले उनलाई जीवनमा मान्छेलाई गल्ती सुधार गर्न क्षमा गर्ने प्रवृत्ति सिकायो । मान्छेलाई राम्रो बनाउन गाली र ताली दुवै आवश्यकपर्ने उनी बताउँछिन् । उनको जीवनमा यस्ता थुप्रै घटना छन्, जसले उनलाई संसारकै उत्कृष्ट विश्वविद्यालयमा समेत नपाइने ज्ञान र शिक्षा दिएको छ । ती ज्ञान र शिक्षा नै आफ्नो जीवनको मार्ग दर्शक भएको उनको दाबी छ । 

सानैदेखि सिर्जनशील 

ज्ञानीशोभा सानै उमेरदेखि घरमा भएको कपडा काटेर विभिन्न नापका लुगा सिलाउँथिइन् । उनले एकदिन कपडा किन्न आमासँग जिद्दी गरेर पैसा मागिन् । उक्त कपडामा राम्रो डिजाइन झिकेर बहिनीलाई फ्रक सिलाइन् । उनले सिलाएको फ्रकको टोल छरछिमेक, आफन्त सबैबीच खुबै चर्चा पयो । उनको सीपको सबैतिर चर्चा हुन थाल्यो । त्यसपछि उनकोमा लुगा सिलाउने काम धमाधम आउन थाल्यो । सानैदेखि सिर्जनशील ज्ञानीशोभा फेसन डिजाइनिङगलाई सिर्जनशील काम भन्छिन् । को कति र कसरी सिर्जनशील हुने त्यो व्यक्तिमा भरपर्ने उनको ठम्याई छ । विभिन्न डिजाइनको अवधारणासहित देश, विदेशबाट उनीसम्म अर्डरहरू आइपुग्छन् । ती अर्डरमा उनी कुनै न कुनै रूपम आफ्नो सिर्जनशीलता व्यक्त गर्छिन् । 

ज्ञानीशोभाका पाँच दिदीबहिनी । एकै थानका कपडा काटेर दसैंमा सबैलाई लुगा सिलाइदिने चलन थियो । आफ्नो लुगाको डिजाइन आफैँ दिन्थिइन् । त्यत्तिखेर लुगा सिलाइदिने सूचीकार अचम्म पर्थे । इन्द्रचोकका एक सूचीकारले आमालाई भनेका थिए रे, ‘यी केटी पछि गएर ठूलो मान्छे बन्छिन् ।’ ज्ञानीको सिर्जनशीलता देखेर उनीहरू छक्क पर्थे । 

 के हो त फेसन ? 

के हो त फेसन ? यो स्वास्थ्य , शिक्षाजस्तै हो ? फेसन डिजाइनर ज्ञानीशोभाले भनिन्, ‘बोल्ने कसरी भन्नेदेखि सुपारी कसरी चपाउने भन्नेसम्म फेसनमा पर्छ ।’ लुगा, जुत्ता, कपाल कोर्ने तरिकामात्रै फेसनमा पर्छ भन्ने आमधारणा बदलिइसकेको रहेछ अहिले । ज्ञानीशोभालाई भेटेपछि फेसन डिजाइनिङ, फेसन शिक्षा र यो शिक्षाबारेको आकर्षणबारे छर्लंड हुने मौका मिल्यो । त्यत्ति मात्रै होइन, फेसनको परिभाषाको साँघुरो बुझाई फराकिलो बन्न पुग्यो । वास्तवमा फेसन सबैलाई आवश्यक रहेछ । यसलाई सबैले बुझ्नुपर्ने रहेछ । फेसन डिजाइनिङ क्रियाशील र सिर्जनशील काम भएकाले यसमा डिजाइनमात्रै नभएर रङ छनोटसम्ममा ध्यान दिनुपर्ने उनी बताउँछिन् । संसारमा कहाँकस्तो डिजाइन चलिराखेको छ, त्यो बुझ्नुपर्ने उनलाई लाग्छ ।