18th August | 2018 | Saturday | 12:40:19 PM

बाटोबाट समेटिएका जनभावना

  POSTED ON : Monday, 07 May, 2018 (5:50:17 PM)

बाटोबाट समेटिएका जनभावना

शक्तिको दुरुपयोग  

पैसा हुने धनीहरूले चाहिँ जे गर्दा पनि हुने जे गर्न पनि पाइनेजस्ता नियम कानुन बनाएका छन् । त्यसैले धनी र अलिअलि पावर पैसा हुनेवालाहरूले जे पनि गर्न थालेका छन् । सुन तस्करी यस्तै घटना हो । राज्यको उच्च ओदोदामा पुगेकाहरूले शक्तिको दुरुपयोग गरेका छन् । केही उच्च प्रहरीले बर्दीको बेइज्जती गरेका छन् । यसरी राष्ट्रको सेवा गर्न बसेको मान्छेले पनि नराम्रो काममा हात हाल्नु मैले जे गर्दा पनि हुन्छ भन्ने सोच राख्नु हो । त्यसैले हाम्रो देशमा पनि गलत गर्नेलाई सजाय दिन सक्नुपर्छ । 

पश्चिमी, मुस्लिम तथा निरंकुश शासन व्यवस्था भएका मुलुकहरूमा भ्रष्टाचार र तस्कर गर्नेलाई जुन खालको कठोर सजाय दिइन्छ सोहीअनुरूपको सजाय हाम्रोमा पनि दिने गर्नुपर्छ । कडा कानुन बनाउने तर तिनको कार्यान्वयन नगर्ने हो भने कानुनको पनि मर्यादा घट्छ । कानुनको पालना गर्नु गराउनुपर्छ । यस्तो गर्दा मानिसहरूमा गलत काम गर्नका लागि हौसला कम हुने थियो । सरकारमा बस्ने मान्छेले नै भ्रष्टाचार गर्नु भएन । यसरी भ्रष्टाचार गर्ने व्यक्तिलाई कडा कारबाही गर्नुप¥यो । 

कोपिला लामिछाने

सिन्धुपाल्चोक

(हाल : चावहिल, काठमाडौं ।


रक्षक नै भक्षक !

सरकारले जनताको सुरक्षा दिनका लागि राखिएको मान्छेले नै त्यस्तो भ्रष्टाचारी काम गर्नु एकदम गलत हो । सरकार प्रगतिको बाटो लम्किनुपर्ने समयमा सरकारका ठूला पदमा बस्ने मानिसले यस्तो गर्नु नहुने हो । सर्वसाधरणले बाटो बिराएर गलत काम गरेका खण्डमा उनीहरूलाई सही बाटोतर्फ ल्याउन कोसिस गर्नुपर्ने ठाउँमा प्रहरी अधिकृतहरू नै त्यस्तो गर्नु भनेको आफ्नो देशलाई खाल्डोमा हाल्नु हो । रक्षक नै भक्षक भएपछि कसको विश्वास गर्नु र ¤

यसरी नबुझ्ने मान्छेले गल्ति गरेको पनि होइन, सरकारको नियन्त्रणमा बसेको मान्छेले यस्तो गरेको हो जुन गर्नु हुँदैन थियो । अहिलेको समयमा मानवता भन्ने शब्द नै हराउन लागिसक्यो । कसैले पनि इमानदारीका साथ काम नै गर्दैनन्, चाहे त्यो सरकारी कर्मचारी होस् या प्राइभेट । 

लगनशीलताका साथ काम गर्ने र आफ्नो इमानदारी निर्वाह गर्ने कार्य कसैले गरेनन्, यो दुःखको कुरा हो । अब यो सुन तस्करीमा परेकालाई आजीवन कारागार राख्नु उपयुक्त हुन्छ । यसो गर्दा अरूलाई ठूलो चेतावानी हुन्छ । म के भन्न चाहन्छु भने नेपालमा नजान्ने र नबुझ्ने मानिसले भन्दा बुझ्ने मानिसले बढी अपराधका कार्यहरू गर्ने हुँदा यी भ्रष्टाचार गरेर मैलाउनेलाई कडाभन्दा कडा कारबाही होस् भन्न चाहन्छु । म सरकारसँग पनि यही अपेक्षा गर्छु । 

दुर्गाबहादुर लामा

सर्लाही (हाल : चण्डोल, काठमाडौं) 


सरकारले तस्कर पाल्नु हुँदैन  

तस्करी गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नु प¥यो । जति पनि बाँकी छन् तिनीहरूलाई पनि नियन्त्रणमा लिई हाल्नुप¥यो । सरकारले पनि यो कुरामा ध्यान दिएर सोचेर छिटोभन्दा छिटो नियन्त्रणमा लिइयोस् भन्न चाहन्छु । यसरी सरकारी मानिसले भ्रष्टाचार गर्नु भनेको सरकारको नियन्त्रणमा बसेर यस्ता कार्य गर्न मानिसलाई बढीभन्दा मनपरी गर्ने छुट दिनु हो । 

राष्ट्रसेवक कर्मचारी भनेको जनताको सेवक हो । राष्ट्रसवकले जनताको सेवा गर्ने शपथ गरेको हुन्छ । यस्तो राष्ट्रसेवक कर्मचारी नै तस्कारीमा संलग्न भएपछि सबैथोक बिग्रिन्छ । दोषीहरूलाई सरकारले कडा कारबाही गर्नुपर्छ । गहिरो छानविन गरी सबै दोषीलाई कानुनी सजायँ दिनुपर्छ । सुन तस्करीमा संलग्न कोही पनि उम्किन नपाऊन् । सुन तस्करीमा मात्रै होइन सबै किसिममा आपराधमा कडा कारबाही हुनुपर्छ । 

सुनिता दुलाल 

भोटेचौर, सिन्धुपाल्चोक 

(हाल : जोरपाटी, काठमाडौं)  


लज्जास्पद काम

राष्ट्रसेवकले त देशलाई सधैँ राम्रो बाटोतर्फ अघि बढाउनु पर्छ । हिजोआज जताततै सुन तस्करीको कुरा सुनिन्छ र यो हाम्रा लागि एउटा ताजा घटना  हो । सुन तस्करीमा प्रहरीका उच्च अधिकृत नै यसरी संलग्न भएका छन् कि यो कुरा सुन्दा हामी आफँैलाई अचम्म लाग्छ । अचम्म लाग्ने कुरा पनि छ किन कि राष्ट्रको एउटा जिम्मेवार पदमा बसेर यस्तो गैरजिम्मेवार काम गर्नु अत्यन्तै लज्जास्पद कुरा हो । 

देशलाई सही बाटोतर्फ उन्मुख गराउन प्रहरीको पनि मुख्य हात रहेको हुन्छ । अझ भन्नुपर्दा अरूले नराम्रा काम गरेको खण्डमा सम्झाउनुपर्ने मान्छे प्रहरी हामीहरूले विश्वास गरेका राष्ट्रसेवकमा पर्छन् । उनीहरू नै यसरी सुन तस्करीमा संलग्न भएको देख्दा हामीलाई दःुख लाग्छ । हाम्रो देशको सरकारले कस्ता मानिसलाई प्रहरीको पद दिएछ भन्ने लाग्छ । सुन तस्करीमा मुछिएका जुन उच्च अधिकृत छन् यिनीहरूले आफ्नो मर्यादामा बसेर अरूलाई कारबाही गर्नुपर्नेमा स्वयं यस्तो काम गरेर हिँड्नु भनेको देशलाई नै डुबाउनु हो । 

जति पनि समातिएका अधिकृत छन् तिनीहरूलाई विभिन्न कानुनी प्रक्रियाका साथ कडाभन्दा कडा सजाय दिनुपर्छ । दोषी उम्किन नपाउने गरी गहिरो छानविन गर्नुपर्छ । 

हो, अहिले जति पनि व्यक्ति सुन तस्करीमा संलग्न भएको कुरा बाहिर खुलासा भयो र तिनीहरू समातिए । अन्य यस्तै किसिमका गैरकानुनी तथा गैरजिम्मेवार काम गर्ने मान्छे हाम्रो समाजमा प्रशस्त मात्रामा हुन सक्छन् । सरकारले अब विभिन्न अनुसन्धान गरी यस्ता गैरकानुनी काम गर्नेहरूलाई कानुनी दायरामा ल्याउने र कडाभन्दा कडा सजाय दिने व्यवस्था गर्नुपर्छ ।

अनि मात्र देश हामीले चाहेजस्तो बन्छ र विकासको गतिमा जान्छ । सरकार सबै किसिमका तस्करी र भ्रष्टाचार नियन्त्रणमा कडाइका साथ अघि बढ्नु पर्छ । यसो भए यातायातको सिन्डिकेट तोड्न सफल भएजस्तै सरकार सफल हुनेछ । सरकारले जनताको साथ पाउने छ । 

 पवन दाहाल 

  संखुवासभा (हाल : गौरीघाट, काठमाडौं) 

 सबै तस्कर समाउनुपर्छ  

भ्रष्टाचार र दुई नम्बरी काम गर्ने मान्छे सबैलाई समातेर कारबाही गर्नुपर्छ । तर कतिपय मानिस पत्ता लागेर समाति हालियो भने पनि यहाँको कानुनअनुसार कारबाही भएको पाइँदैन । तर, त्यस्ता अपराधलाई खोई कडा सजाय दिइएको ? जसले गैरकानुनी काम गरे पनि एक दुई दिनका लागि थुनामा राख्ने अनि छोडिदिने, यस्तै छ हाम्रो देशको कानुन । नेपालको सरकार स्थिर नभएर पनि हो, जसजसले जेजे गर्दा पनि भएको छ यहाँ । 

हामीले विश्वास गरेका मान्छेहरू नै सुन तस्करीमा संलग्न रहेछन् । भ्रष्टाचार, हत्या, हिंसा, बलात्कारजस्ता काममा संलग्न छन् । अझ राष्ट्रसेवकका रूपमा चिनिने प्रहरीका उच्च अधिकृतहरू नै यस्तो पेशामा संलग्न रहेछन् । उनीहरूलाई खै कसरी सम्बोधन गरौँ म ¤ जसले देशको इज्जतसमेत राखेनन् । देशले विकास नगर्नु, देशको उन्नति नहुनु, देशले विकासको नयाँ मोड नलिनु यस्तै तस्करहरूका कारणले हो । बिस्तारै पर्दा खुल्दै गएको छ । अब देशमा यस्ता तस्कर र भष्टाचारीलाई मौलाउन दिनु हुँदैन । यस्तालाई खोजीखोजी कारबाही गर्नुपर्छ । संसारका जुनसुकै ठाउँमा रहेका भएपनि खोज्न सकिन्छ । खोज्नुप¥यो र समाउनुप¥यो । जबसम्म देशमा यस्ता तस्करी गर्नेहरूको राज चल्छ तबसम्म देशले केही प्रगति गर्न सक्दैन । 

जति पनि अहिले पक्राउ परेका तस्कर छन् तिनलाई कडा सजायको व्यवस्था हुनुप¥यो । एउटा सिंगो राष्ट्रलाई प्रगतिमा लम्काउन सहयोग गर्नुपर्ने उच्च अधिकृतका ती हातहरू सुन तस्करीमा संलग्न हुँदा हामी सर्वसाधारण जनताले के बुझ्ने ? उनीहरूले त सिंगो देशको भलाइका लागि, र देशवासीको हितका लागि काम गर्नुपर्ने हो । अहिलेसम्म जति सुन तस्करी भएको छ त्यो सबै फिर्ता दिनुप¥यो र तिनलाई कडा कानुनको दायरामा ल्याउनुप¥यो । 

जति समातिए तिनलाई सजाय दिनुप¥यो र त्यो दण्ड जरिवानाको रकम राज्यकोषमा आउनुप¥यो । यसमा संलग्न अन्य जति मानिस छन् तिनीहरूलाई जसरी हुन्छ खोज्नुपर्छ र सजाय दिलाउनु नै पर्छ । यहाँ देशका राष्ट्रसेवक मानिने उच्च अधिकृतहरूले नै यस्तो गरेर हिँडिरहँदा मलाई लाग्छ त्यस्ता तस्करहरूलाई कठोर सजायको व्यवस्था हुनुपर्छ ।

राज्यले पहिलेदेखि नै अनुसन्धान गर्नुपर्ने थियो । किन खोेजेन पहिले ? अहिले आएर यति ठूलो गिरोह भेटियो तर राज्यले पहिलेदेखि नखोज्नुको कारण के रहेछ ? अहिले प्रष्ट हुँदैछ । मानवता सबैबाट हराउँदै गएको छ तर अब सरकार र जनता दुवै सचेत भएर यसलाई गुम्न दिनु भएन । सबै जनताले आफ्नो मानवतावादी विचारलाई उजागर गर्नुप¥यो र आफ्नो कर्तव्य बुझ्नुप¥यो । 

 महेन्द्रप्रसाद घिमिरे 

 थली, काठमाडौं ।