18th August | 2018 | Saturday | 12:40:16 PM

सुन तस्करी, अनुसन्धान र प्रहरी

कालिदासबहादुर राउत क्षत्री   POSTED ON : Tuesday, 08 May, 2018 (1:36:37 PM)

सुन तस्करी, अनुसन्धान र प्रहरी

साढे ६३ किलो सुन प्रकरण, यातायात व्यवसायीको हड्ताल, हजारौं कर्मचारीको भद्र अवज्ञा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण यो हप्ता विशेष चर्चामा छन् । लामो संक्रमणकाल सकिएर देश नयाँ राजनीतिक चरणमा प्रवेश गरेको छ । जनताबाट निर्मित संविधान कार्यान्वयनको चरणमा छ । तदनुरूप तीन तहको निर्वाचन सम्पन्न भएर सरकार निर्माण भई कार्यरत छ ।

२०७५ साल आर्थिक समृद्धिको आधार वर्ष हुनेछ भन्ने अपेक्षा गरिएको छ । देशमा स्थिर सरकार बनिसकेको स्थितिमा सुशासन र समुन्नतिको जनअपेक्षा पूरा हुन्छ भन्ने विश्वासमा छन् जनता । पाकेटमारदेखि जघन्य अपराधमा प्रहरीको संलग्नता रहन्छ भन्ने अनुभूत भएकै हो । सुन तस्करीमा पुलिसको संगठित गिरोह क्रियाशील रहेछ भन्ने खुलासा भएपछि मिहिनेत गरेर खाने जनतामा पुलिसप्रति वितृष्णा जागेको छ । प्रहरी संगठनमा शुद्धीकरण अभियान नै सञ्चालन गर्नुपर्ने अवस्था सिर्जना भएको छ । 

सुन प्रकरणले आन्तरिक सुरक्षा फितलो छ भन्ने उजागर भएको छ । सुरक्षा कायम गर्ने महŒवपूर्ण जिम्मेवारीमा रहेका प्रहरी अधिकारीहरू नै तस्करीमा संलग्न रहेको घटना सार्वजनिक हुनुले प्रहरीले मुलुकमा दिँदै आएको सुरक्षा व्यवस्था र आचरणमाथि गम्भीर प्रश्न उठेको छ । देशको सुरक्षा जिम्मा लिएको प्रहरी प्रशासनलाई कडा आचरणमा बाध्नुको विकल्प छैन । संगठनभित्रका गलत व्यवहार र आचरणका कारण सिंगो प्रहरी संगठनले अन्य थुप्रै आरोपसमेत खेप्नु परिरहेको यथार्थ छ । 

आन्तरिक सुरक्षा व्यवस्था गर्नु भनेको देशभरि हुने सबै प्रकारका अपराधिक घटना रोक्ने र नागरिकलाई सुरक्षाको पूर्णअनुभूति दिलाउनु हो । प्रहरी नै तस्करीमा संलग्न भएको घटनाले आन्तरिक सुरक्षा कमजोर तथा अविश्वसनीय देखाएको मात्र होइन, प्रहरी संगठनभित्र तस्कर र भ्रष्टाचारी सञ्जालको बोलवाला बढ्दै गएको देखाउँछ । 

चुनाव महँगो हुँदै गएको छ । समानुपातिक निर्वाचनको प्रावधान पनि पार्टीमा हैकम जमाउनेहरूका निम्ति करोडौंको सौदाबाजीमा बाँडफाँट हुने गरेको छ । कानुन कार्यान्वयन गर्ने गराउनेहरूकै प्रवृत्ति भ्रष्ट भएपछि कसले देशको हिततर्फ ध्यान दिने ¤ जनप्रतिनिधि संस्थाहरू पनि महँगो निर्वाचनले गर्दा विजयी बनेपछि भ्रष्ट प्रवृत्तिका बन्न पुगेका छन् । 

यस वर्षको प्रस्तावित विधेयकमा प्रहरीले कुनै प्रकारको दान, कोसेली, उपहार, चन्दा लिएमा एवं भ्रष्टाचार तस्करीमा संलग्न भएको पाइएमा आचरण विरोधी कार्य हुने र सिधै बर्खास्तसमेत हुने प्रावधान राखिएको छ । यस्ता नियम आचरण ल्याएरमात्र जनतामा कुनै सकारात्मक प्रभाव पर्दैन । राम्रो गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई दण्डित गर्ने नीति नियम पहिले पनि थिए तर त्यसको कुनै उल्लेख्य प्रभाव परेको छैन । 

भ्रष्ट माफियाको जालोभित्र देश फसिसकेको छ । त्यसैले देश अब अघोषितरूपमा संकटमा धकेलिँदैछ । श्री ३ जंगबहादुरको शासनकालमा शासन आचरण बनाइएको थियो जसमा शासकका आफन्तले समेत ठेक्कापट्टा तथा व्यापार व्यवसाय गर्न नपाइने नियम थियो । तर, अहिले शासकहरूले विद्यालय, यातायात उद्योग आदि सञ्चालन, ठेक्कापट्टालगायतमा लगानी गर्ने गरेका छन् । पार्टीका नाममा भ्रष्टाचार र तस्करी सबैभन्दा सहज र पाच्य भएको छ ।

प्रहरीको कर्तव्य नागरिकलाई सुरक्षा दिनु र अपराध नियन्त्रण गर्नु हो । तर, प्रहरी वृत्तका जिम्मेवारहरू नै भ्रष्टाचार र तस्करीमा संलग्न भएको पुष्टि हुँदा सिंगो संगठनमाथि गम्भीर प्रश्न उब्जिएको छ । प्रहरीमा संस्थागत, नीतिगत, पेशागत, व्यवहारगत, संरचनागत र आचरणगत सबै पक्षमा आमूल सुधारको जरुरी छ । यस पटकको ३३ केजी सुन प्रकरणले गुपचुप रहेका अनेकन पोल खुल्दै गएको छ । पक्राउ परेकाले पञ्चायत कालदेखि नै आफू सुन तस्करीमा रहेको सबै नालीबेलीसहितको बयान दिएका छन् । जम्मा ३८ क्विन्टल सुन तस्करी भएको देखिएको छ सुरुदेखिको हिसाब जोड्दा । सुडान घोटाला काण्डका पुलिसका केही प्रमुख जेलमै छन् । ६३ जनाविरुद्ध चलाइएको मुद्दा, सुनचाँदीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानसम्बन्धी मुद्दामा डिआइजी, एसएसपी, एसपी, डिएसपी, सई, जवान, मुख्य नाइकेलगायतका पदीय हैसियतका प्रहरी छन् । 

यो सुन तस्करी प्रकरणमा तीन जनाको हत्या भएको छ । यसरी एकपछि अर्को प्रमाण नष्ट गर्ने क्रममा मुख्य प्रमाण मानिएको ६३ किलो सुनकै पत्तो नहुँदा अदालतलाई स्पष्ट प्रमाणको अभाव हुने भएको छ । त्यसैले फैसला जनअपेक्षा बमोजिम हुन्छ होला भन्न सकिने अवस्था छैन । अदालतमा सरकारी वकिल तीनजना छन् भने सुन तस्करको पक्षबाट बहस गर्ने सय जना वकिल देखिएका छन् । सरकारले इमानदारीपूर्वक चाहेमा समुद्रमुिनको चिज पत्ता लगाउन सक्छ भने एयरपोर्टमा भित्रिएको करिब एक क्विन्टल सुन कहाँ गयो र त्यो अहिले कहाँ छ भन्ने पत्तो लगाउन कुनै कठिनाइ छैन । पत्तो पाइएन भन्नु ती अभियुक्तलाई छुटकारा दिने प्रयासमात्र हो र भविष्यका लागि सुन तस्करी गर्न संगठित गिरोहलाई प्रोत्साहित गर्नु पनि हो । सुन तस्करीमा प्रहरीको संलग्नता पञ्चायत कालदेखिकै हो भन्ने पक्राउ परेकाको बयानलाई आगामी दिनका लागि पनि नजिरसिद्ध गर्नु पनि हो ।