19th October | 2018 | Friday | 9:43:26 PM

ढुङ्गेलका मुक्तक

  POSTED ON : Friday, 01 June, 2018 (9:27:46 PM)

ढुङ्गेलका मुक्तक


काठमाडौँ । ‘दूध हो र हजुर पानीमा कहाँ तर लाग्छ 

सन्तको भन्दा अचेल चोरको चाहिँ भर लाग्छ 

जब याद आउँछ दुःशासन र द्रौपदीको 

शत्रुसँगभन्दा आफन्तसँग बढी डर लाग्छ ।’ 

गीतकार तथा लघुकथाकार सुवासचन्द्र ढुङ्गेलले आफू मुक्तककार पनि रहेको परिचय आज यहाँ २५ मुक्तक वाचन गरी दिएका छन् । 

सांस्कृतिक संस्थान र डिएमपिएस पूर्व्विद्यार्थी समाज सानोठिमीको आयोजनामा आज यहाँ भएको एकल मुक्तक वाचन र साङ्गीतिक कार्यक्रममा उनले मुलुकमा असल नेता नजन्मिएको, देवता र राक्षस गुण भएका छुट्याउन गाह्रो भएको, कालो धनको प्रयोग गर्न पुरस्कारहरु स्थापना गरिएको, युवाहरु विदेशमा रोजगारका लागि बाध्य भएर जानुपरेको जस्ता विषय उठाएका थिए । 

कार्यक्रममा साहित्यकार चेतन कार्कीले ढुङ्गेलका मुक्तकमा कतैकतै अनुप्रास नमिले जस्तो लागे पनि भावना र संवेगका दृष्टिले सशक्त रहेको बताए । साहित्यकार राजेन्द्र थापाले मुक्तक गाह्रो विधा भए पनि यसले लाखौँ मानिसलाई मन्त्रमुग्ध बनाउन सक्ने विचार राखे । 

संस्थानका महाप्रबन्धक राजेश थापाले संस्थाले हरेक महीनाको पहिलो बिहीबार सङ्गीत, दोस्रो बिहीबार काव्य र चौथो बिहीबार गायन कार्यक्रम आयोजना गर्ने गरेको जानकारी दिए । साहित्यकार प्रकाश सायमीले ढुङ्गेल ३० को दशकमा उदाएका गीतकार भएको बताए । कार्यक्रममा ढुङ्गेलद्वारा लिखित ‘मेरा यी हातहरुमा तरबार र छुरा नहोस्’, मनविना बाँच्न पाए हुन्थ्यो दुईचार वर्ष, ‘जति पीडा’, ‘चोट के हो’, ‘उसको नजरमा’, ‘जति चोट दिन्छौ’ बोलका गीत मेनुका पौडेल, अधिश्री कसपाल र दिवाकर शर्माले गाएका थिए । 

‘आजभोलि तँ त साह्रै बेइमान भइस् ऐना 

मेरो थिइस् मेरैविरुद्धमा लागिस् ऐना 

कति धेरै खुशी थिएँ आफूलाई जवान ठान्दा 

सोध्दै नसोधी मेरो उमेर भन्दिइस् ऐना ।’ 

रासस


Views: 11