25th June | 2018 | Monday | 9:32:09 PM

ग्लोबल वार्मिङको समस्या

एजेन्सीहरू   POSTED ON : Tuesday, 05 June, 2018 (2:49:48 PM)

ग्लोबल वार्मिङको समस्या

विश्वव्यापी उष्णता (ग्लोबल वार्मिङ) लाई अहिले जलवायु परिवर्तनको रूपमा समेत बुझिने गरेको छ । यसमा पृथ्वीको जलवायु प्रणालीको तापमान र त्यसका असरको प्रसंगसमेत पर्दछ । सन् १९५० को दशकबाट सुरु भएको यो अध्ययनका क्रममा थुप्रै अप्ठेरा परिदृश्यहरू देखिएका छन् । जसले १९औंं शताब्दीको मध्यतिरको र अझ हजारौं वर्षअघिका कुराहरूको परिदृश्यसमेत प्रष्ट पारेको छ ।

सन् २०१३ मा प्रकाशित इन्टरगभर्मेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आइपीसीसी) को पाँचौं प्रतिवेदनले २०औं शताब्दीको मध्यदेखि उष्णता बढ्नुमा मानव गतिविधि कारक रहेको जनाएको छ । मानव जातिले सिर्जना गरेको कार्बनडाइअक्साइड, मिथेन र नाइट्रोजनको प्रभावले हामी रहने पृथ्वीमा विस्तारै नकारात्मक असर पर्दै गइरहेको छ । प्रतिवेदनमा विश्वको तापमान वर्षेनी बढ्दै गइरहेको उल्लेख छ ।

यसप्रकारको परिवर्तनको असर क्षेत्रगत हिसाबले विश्वमा फरक रूपमा देखिएको छ । उष्णता पानीको भागमा भन्दा बढी जमीनमा बढी हुने आँकलन प्रतिवेदनमा छ । यसकै कारण मौसममा अनेकता, तातो हावा, ठूलो वर्षा, अचानक हिमपात जस्ता गतिविधि भइरहेका छन् ।

जलवायुमा आउने यी परिवर्तनले मानवलाई चाहिने खाद्यान्न सुरक्षामा पनि असर पर्ने प्रतिवेदनमा उल्लेख छ । यो अवस्थाले गर्दा आगामी हजारौं वर्षसम्म यसको नकारात्मक असर पर्नेछ । सरकारी र निजी क्षेत्रबाट विश्वव्यापी रूपमा यसबारे चिन्ता प्रकट हुँदै आइरहेका छन् । संयुक्त राष्ट्रसंघ तथा विभिन्न सरकारी तथा गैह्रसरकारी तहबाट यसको उपचारका लागि सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको भए पनि यो त्यति प्रभावकारी हुन सकेको छैन । खासगरी विश्वका ठूला अर्थतन्त्रका रूपमा चिनिएका अमेरिका र चीनले बढी कार्बनडाइअक्साइड उत्सर्जन गर्दा यो समस्या बढेको निजी क्षेत्रको आरोप छ, जुन यथार्थ पनि हो ।

यस सम्बन्धी प्रतिवेदनहरूमा समुद्री सतह बढ्दै गइरहेको, हिउँ बढी नै पग्लिँदै गएको, समुद्रमा तापको मात्रा बढेको, बोटबिरुवा फुल्ने समयमै हेरफेर हुन थालेको जस्ता गतिविधि प्रामाणिक रूपमै सार्वजनिक हुन थालेका छन् । अठारौं शताब्दीमा औद्योगिकीकरणको सुरुवातसँगै तापमान वृद्धिले गति लिन थालेको अध्ययन प्रतिवेदनले जनाएका छन् ।

पृथ्वीको तापमान विगतका इतिहासमै बढ्दै गइरहेको हो । यद्यपि यसो हुँदै जानुमा २०औं शताब्दीको मध्यबाट मानवीय गतिविधिका कारण नै ९५ प्रतिशत यसो भइरहेको छ । पृथ्वीको सतहको तापक्रम १९औं शताब्दीको अन्त्यदेखि २ डिग्री फरेनहाइट अर्थात् १ दशमलव १ डिग्री सेल्सियसले बढेको छ । यसो हुनुको कारण अत्यधिक मात्रामा कार्बनको उत्सर्जनले गर्दा हो । धेरैजसो उष्णताको वृद्धि भने गएका ३५ वर्षमा भएका छन् । सन् २००१ यतामात्रै १६ वटा वर्षहरू सबैभन्दा बढी गर्मी वर्षका रूपमा मापन गरिएका छन् । यस्तै १२ मध्येका ८ महिनामा गर्मी बढेको अध्ययनले देखाएका छन् । 

जलवायु परिवर्तनले गर्दा निशन्देहरूपमा वातावरणमा पनि असर गरिरहेको छ । हिमताल फुट्ने खतरा बढिरहेको छ । वनस्पति र जनावरहरूमा समस्या उत्पन्न भइरहेको छ । पहिला वैज्ञानिकहरूले भन्दै आएका जलवायु परिवर्तनबाट हुन सक्ने असरबारे अहिले परिणाम देखिन थालेको छ ।

वैज्ञानिकका अनुसार आगामी दशकहरूमा विश्वको तापमान अझ बढ्नेछ । उनीहरूका अनुसार आगामी शताब्दीसम्ममा विश्वको तापमान २ दशमलव ५ देखि १० डिग्री फरेनहाइटसम्म बढ्नेछ । तापमानको वृद्धिले क्षेत्रगत हिसाबले फरक असर पर्ने वैज्ञानिकहरूको भनाइ छ । आगामी केही दशकमा बाढीको मात्रा बढ्ने, समुद्रको छाल माथिसम्म उठ्नेलगायत समस्या देखिनेछन् ।

यता नेपालमा के कस्ता असर पर्छन् भन्नेबारे चासो र चिन्ता व्याप्त छ । दुई छिमेकी भारत र चीनमा अहिले तीव्र ढंगले भइरहेको औद्योगिक विकासबाट जलवायु परिवर्तनको हिसाबले पनि नेपाललाई असर पर्न सक्ने अनुमान गरिएको छ । त्यहाँ भएका परिवर्तनबाट नेपाल अछुतो रहने अवस्थामा छैन । नेपालका सबैजसो नदिका स्रोत भनेको हिउँ नै हो । हिउँ पग्लिँदा त्यसले नदिको सतह बढेर सुरुमा बाढीजस्ता समस्या ल्याउन सक्छ भने, पछि गएर बिजुली निकाल्ने स्रोत नै घट्ने अवस्था हुन सक्छ । त्यसले कृषि, पर्यटनजस्ता क्षेत्रमा समस्या देखिन सक्छन् । हिमाली देश भएका कारणले प्रमुख असर पर्ने मुलुक पनि हो नेपाल । यसका अन्य थुप्रै असर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा देखिने कुरालाई कम आँक्न मिल्दैन । त्यसैले राजनीतिक नेतृत्वले बेलैमा सजगता अपनाएर यो मामिलालाई गम्भीरतापूर्वक सम्बोधन गर्नु जरुरी छ । यो मामिलामा हामीले बेलैमा गम्भीरता देखाएनौं भने पछि पछुताउन पनि अबेर हुनेछ ।

हुन त यो मामिलामा नेपालमात्रै जिम्मेवार छ भन्ने होइन । यो विश्वव्यापी असर हो । खासगरी ठूला औद्योगिक राष्ट्रका गतिविधिले गर्दा हामीलाई अप्ठेरो परिरहेको छ । उनीहरूले गरेका गल्तिको शिकार हाम्रोजस्तो सानो मुलुक हुनुपर्ने अवस्था कदापि जायज होइन । त्यसैले अन्तर्राष्ट्रिय मञ्चहरूमा यस विषयमा राज्यले प्रष्ट ढंगले विश्व समुदायको ध्यानाकर्षण गर्नु जरुरी छ ।