23rd July | 2018 | Monday | 6:18:48 AM

कोमाको कांग्रेस र विपक्षी भूमिका

देवेन्द्र चुडाल   POSTED ON : Friday, 22 June, 2018 (1:18:18 PM)

कोमाको कांग्रेस र विपक्षी भूमिका

मुलुकको सबैभन्दा पुरानो र अहिले संसदमा मुख्य प्रतिपक्षी पार्टी नेपाली कांग्रेस चिकित्सकीय भाषामा भन्ने हो भने कोमामा पुगेको छ । कांग्रेस स्थापनाकालमा लिएको उद्देश्य र सिद्धान्त छाडेर अर्काको मुद्दामा गएपछि नेपाली यस्तो अवस्था आएको हो भनिँदैछ । तीस वर्षको पञ्चायती शासन २०४६ सालमा कांग्रेसकै नेतृत्वको आन्दोलनमा ढल्यो तर त्यो राजनीतिक परिवर्तनपछि कांग्रेसले आफूलाई जनताभन्दा माथि ठान्दा अहिले कोमामा पुगेको हो । कांग्रेस स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभा र राष्ट्रियसभा सबै निर्वाचनमा नराम्रोसँग पराजित भयो । पार्टीभित्र व्यक्तिगत स्वार्थ हाबी हुँदा कांग्रेस विस्तारै विघटनको मार्गतिर अग्रसर भएजस्तो देखिएको छ । यही बेला कांग्रेसले आफ्ना ७७ वटै जिल्लाका जिल्ला सभापतिहरूको भेला हेटौँडामा बोलायो । भेलाको उद्घाटन समारोहमा सभापति शेरबहादुर देउवाले आउँदो निर्वाचनमा पार्टीलाई फेरि पहिलो बनाउने घोषणा गरे । कांग्रेसभित्र यतिबेला अनेक गुट, उपगुट चलेका छन् । हिजो देउवालाई साथ दिनेहरू उनलाई गाली गर्दै रामचन्द्र पौडेलका पक्षमा पुगेका छन् । देउवा आफ्ना विपक्षीलाई तर्साउँदै पार्टीलाई पहिलो बनाउँछु भन्दैछन् ।

जिल्ला सभापतिहरूको भेलाले कांग्रेसलाई कोमाबाट बाहिर ल्याउँछ कि ल्याउँदैन हेर्न बाँकी छ । तीन तहको निर्वाचन परिणामपछि आन्तरिक द्वन्द्वमै रुमलिएको कांग्रेसले आफूलाई सुधारको बाटोमा अघि बढाउन सकेन भने कोमाबाट पुनर्जीवन असम्भव छ । 

कांग्रेसलाई सुधार गर्ने हो भने पहिला नेतृत्व वर्ग आफैँ सुध्रिन जरुरी छ । निर्वाचनबाट आएका केन्द्रीय सभापतिलगायतका अन्य पदाधिकारीहरूसमेत पार्टीको साझा नेता बन्न नसकेको कांग्रेसभित्रको कटुसत्य हो । आन्तरिक सुधार गर्दै सबै प्रजातान्त्रिक शक्तिहरूको नेतृत्व कांग्रेसले लिन सकेको अवस्थामा मात्रै पार्टीको उद्देश्य पूरा हुन सक्छ । अब मुलुकमा दुईवटा मात्र राजनीतिक धार बलियो हुने अवस्था देखिएको छ । एउटा धारको नेतृत्व कम्युनिष्टले गर्ने र अर्को धारको नेतृत्व लोकतन्त्रवादीले गर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा कांग्रेस कमजोर हुँदा लोकतान्त्रिक धार नै समाप्त हुने खतरा बढेको छ । त्यसैले पनि कांग्रेसले सबै लोकतान्त्रिक शक्तिलाई नेतृत्व दिन सक्नुपर्छ । त्यसका लागि कांग्रेसभित्र एकता आवश्यक छ । लोकतन्त्र भनेको आवधिक निर्वाचन मात्र होइन, यो खुला बहस र सबै विचारको सम्मान, सहअस्तित्व, बहुलवाद र वैचारिक स्वतन्त्रताका सबै पक्षहरूको सशक्तता हो । यसको साटो समृद्धिका नाममा आगामी दिनमा लोकतन्त्र आवधिक निर्वाचनमा सिमित हुने खतरा उत्तिकै छ । निर्वाचन त तानाशाहहरूले पनि गराएका छन् तर लोकतन्त्र दिन सकेका छैनन् । 

नेपाल पनि लोकतान्त्रिक पद्धति खुम्च्याउने र औपचारिकतामा सिमिति पार्ने प्रयास हुन थालेको आभाष हुन थालेको छ । विश्वका धेरै मुलुकहरूमा अत्यधिक बहुमत प्राप्त सत्ताले शक्तिको दुरुपयोग गरेका धेरै उदाहरणहरू छन् । नेपालमा पनि अहिलेको सत्ताले शक्तिको दुरुपयोग गर्ने बढी सम्भावना देखिएको छ । यसका लक्षणहरू देखिन थालेका छन् । लोकतन्त्रका नाममा हुने स्वेच्छाचारीताबाट देश जोगाउन प्रमुख प्रतिपक्षी दलको महŒवपूर्ण भूमिका हुन्छ । त्यसैले बहुमत पक्षलाई सत्ता र प्रतिपक्षलाई संसद भन्ने गरिएको हो । सशक्त प्रतिपक्ष नहुँदा सत्तापक्षले पार्टीगत र व्यक्तिगत स्वार्थका लागि सत्ताको दुरुपयोग गर्ने सम्भावना हुने भएकाले भएकाले लोकतन्त्रमा सशक्त प्रतिपक्ष अनिवार्य मानिएको हो । २०४६ सालपछि कांग्रेले धेरैपटक सत्ताको नेतृत्व ग¥यो । अहिले ऊ प्रतिपक्षमा छ तर सशक्त प्रतिपक्ष बन्न सकेको छैन । ठूलो अन्योल र अलमलमा देखिएको छ ।

सत्तापक्षले विकास र समृद्धिको नारा जोडदार ढंगले उचालेको छ । यो प्रिय नाराले लोकतन्त्रलाई साथै हिँडाउँछ कि छाडेर अघि बढ्छ भन्ने थाहा पाउन आगामी आम निर्वाचनसम्मका सत्ता गतिविधिहरू हेर्नुपर्छ । विकास र समृद्धिको नाराले मात्र जनताको जीवनस्तर उठ्न सक्दैन, जनताका अधिकारहरू सुरक्षित राख्नु उत्तिकै अनिवार्य छ । यही बिन्दुमा प्रतिपक्षी दलको सशक्त भूमिका आवश्यक पर्छ । सरकारलाई रचनात्मक सहयोग गर्दै कमी कमजोरी जनतासामु पु¥याउने काम प्रतिपक्षी दलको हो । आफ्नै द्वन्द्वमा अल्झेको कांग्रेसले यो भूमिका निर्वाह गर्न सक्दैन । कांग्रेसले आपसी द्वन्द्व साम्य बनाउँदै संसददेखि सडकसम्म आवाज बुलन्द गर्न सक्नुपर्छ । एक ढिक्का भएर कांग्रेस अघि बढ्ने हो भने सरकारको स्वेच्छाचारिता नियन्त्रण हुनेछ । 

नेपाली कांग्रेसको जन्म समाजवादी नीतिमा भएको हो । झण्डै ६ दशकअघि वीपी कोइराला नेतृत्वको सरकारले केही महŒवपूर्ण निर्णयहरू गरेको थियो, जसको प्रभाव अहिले पनि छ । वीपीपछि पटक पटक सत्ताको नेतृत्व गर्ने अवसर पाएका नेताहरूले जनताको हितमा वीपीको गतिमा काम गर्न सकेनन् । गिरिजाप्रसाद कोइरालाले आफ्नै नेतृत्वमा रहेको बहुमतको सरकार विघटन गरेर २०५१ सालमा पार्टीलाई दोस्रो बनाए । यही समयदेखि मुलुक संकटको खाल्डोमा जाकिएको हो । माओवादीले जनयुद्धका नाममा १० वर्ष उत्पात मच्चायो । धेरै व्यक्तिको हत्या भयो, धेरैको धनसम्पत्ति लुटियो, हजारौं मानिस थातथलोबाट विस्थापित भएर आन्तरिक शरणार्थी भए । हजारौं व्यक्तिहरू अपांग भए । त्यो क्षतिको उपलव्धिको मूल्यांकन हुँदै जाला । अहिलेसम्म पनि सशस्त्र युद्धका पीडितहरूले न्याय पाउन सकेका छैनन् । न्याय दिन बनाइएका संयन्त्रहरू निकम्मा भएका छन् । यो अवस्थाको जिम्मेवारी कांग्रेसले पनि लिनुपर्छ । टुंगोमा पु¥याउने जिम्मेवारी सत्तापक्षको हो । 

कांग्रेसले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै सबै प्रजातान्त्रिक शक्तिहरूलाई गोलबद्ध गरी अघि बढ्नु आवश्यक छ । नत्र कांग्रेस इतिहासमै सिमित हुन सक्नेछ । कांग्रेसले संवैधानिक राजसंस्था र हिन्दुराज्यका पक्षमा आवाज उठाउनुपर्छ । झण्डै ९० प्रतिशत हिन्दु रहेको मुलुकमा कांग्रेस जोगाउने विकल्प यही हुन सक्छ र देशको हित पनि यसमै छ ।