23rd July | 2018 | Monday | 6:18:53 AM

विद्यार्र्थी राजनीतिको औचित्य

विज्ञान दाहाल   POSTED ON : Wednesday, 27 June, 2018 (1:10:13 PM)

विद्यार्र्थी राजनीतिको औचित्य

विगतमा पेट्रोल, दैनिक उपभोग्य वस्तु आदिको मूल्य वृद्धि, विभिन्न प्रतिकूल सन्धिसम्झौता वा राजनीतिक परिवर्तन हुँदा प्रतिरोधका साथ सडकमा ओर्लने वर्ग भनेका विद्यार्थी नै हुन् । हालै मात्र पनि यस्ता कुरामा मूल्य वृद्धि भएको छ तर यो वर्ग मौन बसेको छ । यसले कतै विद्यार्थी आन्दोलनको औचित्य सकिएको त होइन भन्ने प्रश्न उठेको छ । 

संयुक्त विद्यार्थी आन्दोलनले नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा जुन विशिष्ट योगदान दिएको छ त्यसको अलवा जनताको जनजीविकाको सवालमा पनि उत्तिकै खरो उत्रिएर सरकारलाई कतिपय परिस्थितिमा पछि हट्न बाध्य पारेका घटना पनि छन् । उनीहरूको यति दर्बिलो इतिहास अब मेटिँदै जान लागेको हो त ? 

विकृति र विसंगतिका विरुद्व आन्दोलनको उभार शंखघोष गर्ने त्यो विद्यार्थी समुदाय आमजनताको आशाको केन्द्र थियो । निजी शैक्षिक संस्थाले शुल्क वृद्धि गर्दा होस् वा अनावश्यकरूपमा अभिभावकमाथि आर्थिक भार थप्दा होस्, विद्यार्थी वर्ग आँधी बनेर आन्दोलित हुन्थ्यो । तर विद्यार्थी आन्दोलन यति कमजोर बन्छ भन्ने आमसमुदायले सोचेका पनि थिएनन् । हालै पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिविरुद्धमा विद्यार्थी वर्गले आवाज बुलन्द गर्न सकेन । विद्यार्थी वर्ग आफ्नो सामूहिक हितप्रति पनि अनिच्छुक देखिएको हो कि भन्ने भान हुन्छ । चुनौतीका रूपमा निजी शैक्षिक संस्थाले मापदण्ड विपरीत शुल्क असुलेर सोझा अभिभावकको ढाँड सेकिरहेका छन् । यसका विरोध को उत्रिने ? एउटै वर्ग विद्यार्थी समुदाय हो तर यो वर्ग यततिर चासो राख्दैन । 

सार्वजनिक विद्यालयमा चर्को रूपमा समस्या उठ्ने गरेका छन् । सरकारले प्रतिविद्यार्थी कक्षा १० सम्म करिब १० र ११ लाखसम्म खर्च गरेको आकडा छ । यति धेरै खर्च गर्दासमेत सरकारी विद्यालयले परीक्षा शुल्क, भर्ना शुल्कसहित अन्य शीर्षकमा रकम असुल्न छाडेका छैनन् । यस्तो शुल्क उठाउन स्वयं सरकारले नै निषेध गरेको छ तर सार्वजनिक विद्यालयले अटेर गरेर अनेक बहानावाजीमा आन्तरिक स्रोतका रूपमा शुल्क लिइरहेका छन् । 

यस्ता विकृतिविरुद्व विद्यार्थी शक्ति लाग्नु पर्नेमा यो वर्ग हाल उदाशीन बन्दै गएको छ । त्रिविभित्र पनि बेतिथिका चाङ छन्, परीक्षा व्यवस्थापन, भौतिक पूर्वाधार, अध्ययन तथा खोजमूलक शिक्षामा कमी, पाठ्यक्रम र प्राध्यापकको सोधकार्यमा आएको शिथिलता यिनले त्रिवि जीर्ण बनेको जनाउँछ । इतिहास, भूगोल, राजनीतिशास्त्र आदि संकायका विषयलाई परिवर्तन गरेर समसामयिक रुचिको पाठ्यक्रम बनाउनुपर्ने आवश्यकता छ । यसलाई विद्यार्थीले आत्मसात गर्न सकेको छैन । आज हाम्रो पुरानो र गौरवका रूपमा रहेको त्रिभुवन विश्वविद्यालय, यसका आंगिक र सम्बन्धन प्राप्त कलेजको अस्तव्यस्तता हेर्दा यी कलेजबाट विद्यार्थीले कसरी शिक्षा पाउलान् र राजनीतिको आधारस्थल पनि यसलाई नै कसरी बनाउने भन्ने प्रश्न उठिरहेको छ । 

त्रिवि र अन्य विश्वविद्यालयमा स्ववियू निर्वाचन भएर ती संयन्त्रले विद्यार्थीका हकहितका पक्षमा काम गरिरहेका छन् तर तिनले गरेका कामको औचित्य कतैबाट लेखाजोखा भएको देखिँदैन । स्ववियूले आफ्ना काम मापदण्डअनुरूप गरिरहेका छन् वा छैनन् भनेर हेरिएको छैन । यस्ता विषयमा विद्यार्थी वर्ग चुप लागेर बसेको छ । यसले गर्दा कतै स्ववियू तथा विद्यार्थी आन्दोलनको औचित्य समाप्त हुने त होइन भन्ने कुरामा शंका उब्जिएको छ । 

विद्यार्थी आन्दोलनको प्रमुख प्रहार र तारोको विषय निजी शैक्षिक संस्था बनेका छन् । निजी शैक्षिक संस्थाले शुल्क वृद्धि गराउँदा होस् वा अन्य कुनै विषयमा होस् विद्यार्थी संगठन अनेरास्ववियु, नेविसंघ वा अन्य विद्यार्थी संगठन सडकबाघका रूपमा उर्लिन्थे । पछिल्लोसमय त झन् निजी शैक्षिक संस्थाको अव्यवस्थित प्रस्तिस्पर्धा र शुल्क वृद्धिका विरुद्ध घोषणा गरिएका विद्यार्थी आन्दोलन उत्कर्षमा नपुगी तुहिन पुगेको यथार्थ जगजाहेर नै छ । यसरी यस्ता आन्दोलनमा विद्यार्थीको उपस्थिति कम हुँदै गएको छ । यसले आन्दोलन खरिदबिक्री भएको आरोप खेप्नु परिरहेको छ ।

हाम्रा सार्वजनिक शैक्षिक संस्थाको नेतृत्वसमेत व्यावसायिक भएको आरोप लाग्ने गरेको छ । त्यसकारण अबको विद्यार्थी राजनीतिको विषय सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा दबाबतर्फ केन्द्रित हुनुपर्छ ।

अहिले विद्यार्थीको परिचयपत्र सार्वजनिक यातायातमा बेकम्मा बन्ने गरेका छन् । अझ राजधानीबाहिर विराटनगर, हेटौंडा, दिपायल, धनगढी र नेपालगञ्जतिर त सार्वजनिक यात्रा गर्दा विद्यार्थीले कार्ड नबोक्दै हुन्छ । यसरी वर्तमानका साझेदार तथा भविष्यका कर्णधार युवा विद्यार्थीलाई लामो संघर्षबाट प्राप्त सहुलियतको व्यवस्थाबाट वञ्चित गर्ने प्रयास भएको छ । यो अवस्थामा पनि युवा विद्यार्थी दबाब र जागरण मार्गबाट अगाडि बढेनन् भने यो सहुलियत पनि गुम्ने खतरा छ । त्यसकारण विद्यार्थी आन्दोलनलाई नयाँ उचाइमा पु¥याउन विद्यार्थी संगठन, स्ववियू, विद्यार्थी समुदाय एक हुन अत्यावश्यक छ ।

प्रमाणपत्र धितो राखेर ऋण दिने कुराको उद्घोष गरेको बजेटले यो वर्गमा खुशी पैदा गरिदिएको छ । तर ऋण दिने स्पष्ट मापदण्डको अभावका कारण पहुँचमा रहेकालाई मात्रा यो सहुलियत हात पर्ने हो कि भन्ने आशंका पैदा भएको छ । सानोभन्दा सानो कामका लागि चिनजान, आफ्नो मान्छे र भनसुन गर्नुपर्ने बाध्यता यसमा पनि पर्ने सम्भावना देखिन्छ । शैक्षिक ऋणका सम्भावित मापदण्डका निमित्त कार्यशाला, गोष्ठी, छलफल तथा अन्य जागरणमुखी कार्यक्रम गर्न पनि विद्यार्थी पर्ग चुकिरहेको छ । शैक्षिक ऋण कस्ता प्रमाणपत्रधारीले प्राप्त गर्छन् ? सीप, योजना तथा सुदूर गाउँवस्तीका युवा विद्यार्थीहलाई यस कार्यक्रममा कसरी समावेश गर्ने भन्ने मपदण्ड पनि आवश्यक छ । अब विद्यार्थी राजनीति यतातिर आकर्षित हुन अत्यावश्यक छ ।

विद्यार्थी संगठन पार्टी कार्यकर्ता तथा नेता उत्पादन गर्ने नर्सरीजस्ता बनेका छन् । त्यसैले पार्टीलाई यिनको आवश्यकता छ । तर, आफ्नो स्वार्थको पृष्ठपोषण र वकलात गर्न चुकेका कारण कतै विद्यार्थी आन्दोलनको गरिमा सकिएको हो कि जस्तो अहिले देखिएको छ । 

वर्तमान शिक्षा पद्धतिलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता पनि छ । विज्ञ अब विद्यार्थी राजनीतिको औचित्य सकिएको तर्क गरिरहेका छन् । विद्यार्थी राजनीति अब ढुंगा हान्न छोडेर सम्बन्धित विषयमा विज्ञता हासिल गनतर्फ लाग्नुपर्र्छ । यतिधेरै वेथिति रहँदासमेत यो वर्ग सडकमा ननिस्कनाले शंका गर्नेहरूले ठाउँ पाएका छन् । 

अब विद्यार्थी राजनीतिको शैलीलाई बदल्न जरुरी छ । विधार्थी राजनीति अब विज्ञतातर्फ अग्रसर हुन जरुरी छ । स्ववियू निर्वाचन हुन बाँकी कलेजमा शीघ्र निर्वाचन हुनुपर्छ । विद्यार्थी राजनीतिले राजनीतिक औचित्य खोज्ने कि आर्थिक समद्धितर्फको बाटो तय गर्ने ? बेलाबेलामा अनेकथरी राजनीतिक मुद्दा जन्मिरहेन्छन् । त्यसैका पछि लागेर विद्यार्थी राजनीति दौडिरहनुपर्ने हो कि भन्ने सन्देह सर्जिना हुन पुगेको छ । 

हिजो दल भूमिगत थिए र विद्यार्थी संगठन तिनको मुक्तिका लागि सडकमा जान्थे । यस्तो विगत विद्यार्थी आन्दोलनले बिर्सन सक्दैन । विद्यार्थीको यो प्रकारको क्रान्तिकारी इतिहास पुनस्र्थापित गर्न सके नेपालका सबै राजनीतिक पार्टीलाई फाइदै हुन्छ, यसबाट कसैलाई पनि हानि हुँदैन ।