21st November | 2018 | Wednesday | 1:14:27 AM

विगततिर फर्केर हेर कसो होला !

स्वयम्भुनाथ कार्की   POSTED ON : Monday, 02 July, 2018 (1:08:08 PM)

विगततिर फर्केर हेर कसो होला !

अब राल्फाका गीतहरूले सत्तास्वाद चाखिसकेका नेपाली वामपन्थीहरूलाई तर्साउँछन् । छलफल, बहस आफैँलाई प्रजातन्त्रको पर्यायवाची घोषणा गर्ने प्रजातान्त्रिकहरूलाई तर्साउने भएका छन् । निर्वाचनका नामले त झन् सातो नै जान्छ । पत्रकारहरूलाई आफ्नो हितको निमित्त मिसन पत्रिकारिता गर्न प्रेरित गर्नेहरू नै अहिले सञ्चार जगत जिम्मेवार नभएको भन्दैछन् । कलिला केटाकेटीलाई कखरादेखि नै आफ्नो राजनीतिक सिद्धान्तले मथिंगल माभ्mनेहरू विद्यालय राजनीतिमुक्त हुनुपर्छ भनेर अर्ती दिन व्यस्त छन् । शिक्षकहरूको का“धमा बन्दुक राखेर पुरानो सत्ताका सिकार गर्नेहरू शिक्षकप्रति कडा भएका छन् । शिक्षक नियुक्त भएर राजनीतिमा लागेर वर्तमानमा नेपालमा चर्चित भएकाहरू नै शिक्षकलाई शिक्षणबाहेक अरू काममा लाग्न नदिने कानुन तेस्र्याउँदैछन् । 

यो आलेखको विषयवस्तु त्यसो गर्नु ठिक हो वा होइन भन्ने बारेमा विवेचना गर्नु होइन । केवल आफूले गर्दा महान् र अरूले गर्दा गर्न नहुने काम भन्ने प्रवृत्ति औल्याउनुमात्र हो । विरोध, धर्ना, प्रदर्शन भरसक हु“दै नहोस्, भए पनि तोकिएका क्षेत्रमा मात्र होस् भन्ने सोच हरेक सत्ताको हुने गर्छ । अनि हरेक विरोधी आफ्नो विरोध गर्न पाउने अधिकारको कुरा गर्छ । त्यसैले ‘खाली चउर देख्यो कि धर्ना बसिहाल्ने ?’ भन्ने सरकार प्रमुखको प्रश्न नाजायज होइन । यस्तो प्रश्न गर्दा विगतमा आफूले पनि त्यसै गरेको कुरा सम्झना आउँछ वा आउँदैन भन्ने जनताको कौतूहलता पनि जायज हो ।

भनाइ छ ताजमहल बनिसकेपछि बादशाहले त्यो ताजमहल बनाउने कारिगरको हात काट्न लगाएका थिए रे । आफूले सफलता हासिल गरेपछि त्यो सफलताको बाटोबाट अरू कोही नआउन् भनेर त्यसलाई बन्द गर्ने प्रवृत्ति तानाशाही हो । ‘सर्पले सर्पको खुट्टा देख्छ’ भन्ने भनाइमा वैज्ञानिक तथ्य नभए पनि लाक्षणिकरूपमा यो भनाइ खुब चलेको छ । आफूले सफलता हासिल गरेको बाटो बन्द गर्न खोज्नुले आत्मविश्वासको कमी देखाउँछ, आफ्नो स्थान खोसिने डरले थर्कमान भएको पनि अर्थ लाग्छ । यो डर चानचुने होइन देवराज इन्द्रले पनि इन्द्रासनमा टिक्न अरूको तपस्या जसरी भए पनि भंग गर्ने काम गरेको कुरा पुराणमा आउँछ ।  

गणेशमान सिंहको चाक्सीबारीमा भएको पञ्चायत विस्थापन गर्ने अधिवेशनमा भारतीय नेता चन्द्रशेखरले नेपालमा २ सयभन्दा ज्यादा दल हुनुपर्ने कुरा गरेका थिए । कुरा सही वा गलत के थियो त्यो आफ्नै ठा“उमा होला । तर, त्यसै कुरालाई राजनीतिक स्वतन्त्रता हो भनेर आन्दोलन भयो । त्यही आन्दोलनको बलमा पुनःस्र्थापना भएको बहुदलीय व्यवस्थामा दलहरूको संख्या धेरै भएको राम्रो मानिएन । नेपालमा २ सयभन्दा धेरै दलको क्षमता छ र त्यो हुनुपर्छ भनेर आन्दोलन गर्नेलाई प्रतिनिधिसभामा दलहरूको अधिकता र त्यसले पैदा गरेको त्रिशंकू सरकारहरूको अस्थिरताले पोल्न थाल्यो ।

आपसी झगडामा कहिले मुलुकमा सशस्त्र विद्रोह जन्म्यो त्यो पत्तै भएन । बहुलवादको सिद्धान्त संस्थागत गर्ने विश्वको उत्कृष्ट भनेर आफैँले बारम्बार भनेको संविधान पन्छाइयो । गाह्रो साँघुरोमा अपजस लगाउन सजिलो राजसंस्था किनारा छैन । अबका कुनै पनि कुरामा राजसंस्थामा अपजस पोखेर जनतालाई विश्वास दिलाउन सकिने छैन । प्रहार गर्ने एउटै भुत्ते हतियारमात्र छ राजतन्त्र पुनस्र्थापनाको निमित्त चलखेल गरेको आरोप । अब दलहरूको संख्या सकेसम्म कम गर्न चुनावमा थ्रेसहोल्ड चाहिएको छ । बहुलवाद उनीहरूलाई नै ठा“डो भएको छ जो हरहमेशा बहुलवदको जपना गर्छ । 

हरेक समूह तथा वर्गको प्रतिनिधित्व गराउन समानुपातिक निर्वाचन थप गर्दा त्यस कामको खुबै प्रशस्ति गाइएको थियो । छ सय एक संख्यालाई अग्रगामी भन्न दिएको तर्कमा समावेशी शब्द अहिले पनि कर्णप्रिय छ । संविधानसभाको दोस्रो निर्वाचन गर्नेताका एकाएक छ सय एकको संविधानसभा ठूलो भयो । धेरै दल हु“दा आफूले प्रभावमा पारेर मनोमानी गर्न पाइन्छ भन्ने आशामा ‘ककस’ ले तुषारापात गरेकाले आफूले चढेको भ¥याङ भा“च्ने आवश्यकता भयो । विभिन्न समूहलाई उक्साएर आफूले पाएको सफलतामा अर्काले त्यही भ¥याङको प्रयोग गर्दा ग्रहण लाग्न थालेपछि हिजोको भा“डो आज ठा“डो हुनैपर्ने थियो र भयो पनि ।

जुन कलिला बालबालिकामा संस्थापनाको विरुद्धको कुरा कोच्याइएको थियो तिनै आज वयस्क भएका छन् । शिशुकालमा थोपरिएका मान्यताबाट बाहिर निक्लन नसकेर निराशाको खाडलमा जाकिँदैछन् । उनीहरूले अर्को बाटो देखेका छैनन् । आफ्ना नेताहरूले जेजे भन्यो त्यही मात्र ध्रुवसत्य हो अरू सबै असत्य हुन् भन्ने कुरा मस्तिष्कबाट निकाल्न नसक्नाले जहा“ मौका पायो त्यही आफ्नो असन्तुष्टि पोख्ने गर्छन् । सकारात्मक सोच विकास नै हुन नपाएकाले वयस्कहरूको कुण्ठाले आजका संस्थापनविरुद्ध आक्रोस पैदा हुँदैछ । यो आक्रोस रोक्न आफूले आक्रोस पैदा गराउन प्रयोग गरेको भा“डोलाई ठा“डो बनाएर आफल्नुपर्ने एक मात्र बाटो देखेका छन् ।

सैद्धान्तिक उपलब्धिको चाङ नै भए पनि जनताले व्यावहारिक उपलब्धि महसुस गर्न पाएका छैनन् । अझ कतिपय सैद्धान्तिक उपलब्धि व्यवहारमा जनताले धान्न कठिनजस्तै हु“दै जा“दैछन् । यही कारणले उहिलेको दा“जोमा अहिले धेरै उग्र कुरा मन पराउन थालेका छन् । आगो ओकल्ने भाषणहरू, मर्यादाको सीमा तोडिएका गालीहरू वर्तमानमा सबैभन्दा मन पराइने कुरा भएका छन् । समाजमा कानुन व्यवस्था कायम रहनु पर्छ, त्यसको परिधिमा मात्र व्यक्तिगत स्वतन्त्रताको प्रयोग हुनुपर्छ भन्ने मान्यता ‘कालरात्रि’ भनिने पञ्चायतको दर्शन हो । अब अहिले त्यो परिधिमा राख्ने प्रयत्नले फलामको चिउरा चवाउनै पर्छ ।

विगतमा लोकप्रिय भएको गीतको बोल ‘बसाइँ हिँड्नेको ता“तीले’ आज पनि उत्तिकै सान्दर्भिक छ, केवल यसले लक्ष्य गरेको ‘मुठ्ठीभर’ पात्र फरक परेको छ । ‘गाउँ गाउ“बाट उठ’ भन्दै अहिले यो गीतले जुर्मुराउने पार्न सक्छ किनभने यो देशको मुहार फेर्न इतिहासमै सबैभन्दा अहिले आवश्यक भएको छ । उहिले र अहिलेको तुलनामा भोगाइमा ज्यादा कष्ट अहिले नै छ । हुन पनि हो जसरी भए पनि उहिलेको अवस्थाबाट आफ्नो अस्तित्व जोगाएर वर्तमान आयो । वर्तमान पार लगाउन सकिने हो वा होइन त्यो अनिश्चय छ । त्यसैले असन्तुष्टि सर्वकालिक हुन्छ ।

हिजो जनताको यही असन्तुष्टिको भ¥याङले काम गरेको थियो । त्यसैको सहारामा तात्कालिक सत्ताधारी हटाएर आज सत्तामा अरू नै छन् । शासक र शासित वर्ग कायम छ, केवल त्यहाँका पात्र बदलिएका हुन् । आशा र आकांक्षाको माग असीमित बनाएर आश्वासनको पुलिन्दा थमाएर सत्तारोहण गरेकाहरूमा आश्वासन कार्यान्वयन गर्ने ल्याकत छैन । जनताको आकांक्षा प्रतीक्षा गर्नसक्ने अवस्थामा छैन । किनभने यसलाई सर्वप्रथम चाहिएको हो गा“स, बास र कपास । यसको अभावमा जनताले जीवन नै धान्न सक्दैन । तर, सत्तासँग यी कुरा दिने ल्याकत छैन, सीप छैन जिब्रो नचपाई भन्नुपर्दा योग्यता नै छैन । 

हालका सत्ताधारीसँगको अनुभव नारा दिनु हो, घोषणा गर्नु हो भविष्यको सपना देखाउनु हो । ती सबैभन्दा बढेर ‘वाद’ दिनु हो । यी सब दिन कुनै कन्जुस्याइँ गरिएको छैन, दैनिक नै भनेजस्तो नया“नया“ नारा दिइँदैछ । अनेकौँ घोषणाको बाढी लगाइँदैछ । नपत्याउने आवाजलाई विगतमा नपत्याइएका तर भएका कुराको उदाहरण दिइँदैछ । परापूर्व कालदेखिको ‘असार पन्ध्र’ धान दिवस भएको छ । खेती किसानीको अपमान नै भए पनि यसमा अनेकौँ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएकै छन् । पुराना धरोहरका नाम परिवर्तन भएका छन्, सकेसम्म त्यसलाई पैसा कमाउने माध्यमका रूपमा परिवर्तित गरिएको छ । 

तैपनि हिजो आफैँले प्रयोग गरेको तरिकाले आफ्नो विरोध भएकाले तिल्मिलाउनु स्वाभाविक नै हो । त्यसैले ‘काम हुन्जेल भा“डो काम सकियो ठा“डो’ नै उपाय देखिएको छ । हिजो शिक्षा दिन ‘तनखा’ लिएका र आज सत्ता सम्हाल्न पुगेका आजका शिक्षकहरूलाई आफूले खनेको बाटो नहिँड्न चेतावनी दिँदैछन् । हिजो तीखो पत्रकारिता गर्नेहरू आज अरूलाई मर्यादामा रहन अर्ती दिँदैछन् । विद्यार्थी राजनीतिमा ढुंगामुढा गरेर वरिष्ठ भएकाहरू त्यो बाटो नलाग्न उपदेश दिँदैछन् । कर्मचारीलगायतका क्षेत्रमा दलगत संगठन गरेर सत्ताले पत्याउने भएकाहरू त्यो बाटो नआओ भन्दैछन् । 

यो सबै गर्नुभन्दा सरकारको काम सपना बा“ड्नु होइन सपना पूरा गर्नु हो भन्ने बुझिदिए पुग्छ । विदेशतिर लर्को लागेकालाई देशमै रोक्ने काम गरे हुन्छ । हिजो आफूले हिँडेको बाटो नहिँड्न धम्काउनुभन्दा आफूले गल्ती गरेको स्वीकार गरेर त्यसबाट प्राप्त हैसियत त्याग्नु राम्रो । होइन भने हिजो आफ्नो निमित्त उचित भएको कुरा आज अरूका नमित्त अनुचित कसरी हुन्छ ? यदि हुन्छ भने त्यो नै हो तानाशाही, सर्वसत्तावाद । समय निर्मम हुन्छ, यसले शतब्दीयाँैदेखि विष्णुको अवतार मानेकालाई त छोडेन भने ‘कस्ताकस्ता कता गए मुसाको छोरा ...’ भनेझैँ हुन के बेर 

(कार्की विराटनगरबाट लेख्छन्) 


Views: 11