17th July | 2018 | Tuesday | 1:35:26 PM

नैतिकताको संकटमा सम्पत्ति विवरण

रामजीप्रसाद दाहाल   POSTED ON : Wednesday, 04 July, 2018 (12:40:20 PM)

नैतिकताको संकटमा सम्पत्ति विवरण

समाजको सबैभन्दा मजबुत चिज भनेको नैतिकता हो । नैतिकताको कमीले हुने अनेकन नियम उल्लंघनका उदाहरण प्रशस्तै छन् । सत्तामा रहेकाहरूबाट नैतिकता पालनाको सुरुवात भएमात्र राजनीतिक दलको आचरण राम्रो हुन्छ र त्यसको प्रभाव कर्मचारी, सेना, प्रहरी, प्रसाशन हुँदै जनतासमक्ष प्रभावकारी ढंगले पुग्छ । समाजलाई कुन बाटोमा लैजाने भन्ने जिम्मेवारी बोकेका राजनीतिक दलका नेतृत्व स्वयं नै आचरणबाट च्यूत भएपछिको शृंखला प्रष्ट देखिएको छ । 

त्यसमा पनि सजाय पाएकालाई पनि उच्च ओहदाको आडमा माफी गरिदिने परिपाटीले अझ गलत बाटोतर्फ नेपालको राजनीति गइरहेको देखिएको छ । यो लज्जाको राजनीतिक बाटोका कारण नेपालको वर्तमान समाज र राजनीतिको समन्वय हुन सक्ला त भन्ने प्रश्न पनि उठेको छ । हाम्रो यस्तो व्यवहारले आगामी पुस्तालाई कुन बाटोमा लैजाने भनेर गम्भीर भएर सोच्नुपर्ने बनाएको छ ।

बाल्यकालबाटै व्यक्तिलाई नैतिक शिक्षा दिन सकेमात्र समाजका सबै वर्ग नैतिकवान बन्न सक्छ । अकूत सम्पत्ति आर्जनकर्ताका बालबालिका र सामान्य परिवारका बालबालिकाबीच सानैदेखि आर्थिक प्रतिस्पर्धा बढ्दै जानाले समाज अस्वस्थ हुन त्यहीँबाट सुरु हुन्छ र कालान्तरमा यस्तो प्रवृत्ति उसको आवश्यकतामा परिवर्तन हुन्छ जसले नैतिकता, शैक्षिक योग्यता, ज्ञान, सीप र क्षमता भएका मानिस कमजोर बन्न पुग्छन् र पैसावालामात्र मजवुत हुँदै जान्छन् ।

कुनैपनि सरकारी कर्मचारी वा अन्य संस्थानमा जागिर खाने कर्मचारीले वार्षिक सम्पत्ति विवरण बुझाउने प्रचलन छ तर त्यो व्यवस्था जनताको आँखामा छारो हाल्ने काममात्र बन्न पुगेको छ । नेपाल सरकारले दिएको तलब भत्ताको सुविधाले उनीहरूको परिवार धान्न मुश्किल त छ नै तर यसो भन्दैमा उनीहरू आफ्नो नैतिक दायित्वबाट भाग्नु हुँदैन । महँगी र खर्चबीच तलमेल मिलाउन उनीहरूलाई मुस्किल छ तर उनीहरू जसरी तसरी धानिरहेका छन् । यसरी धान्न नसकेका कारण कर्मचारीमा भ्रष्ट मनोवृत्ति विकास हुन पुगेको छ र त्यसको संरक्षण माथिल्लो स्तरबाट भइरहेको छ । सो कुरालाई मलजल गर्ने काम दलहरूबाट पनि भइरहेको छ ।

तराईका नेता समाउँदा जातीय वा क्षेत्रीय दंगा भड्केला वा व्यापारीको कुरा उठाउँदा चन्दा नदेला भन्ने सोचले नेताहरू केही गर्न सकिरहेका छैनन् । उनीहरू केवल आफ्नो जागिर पकाइरहेका छन् । देशका लागि केही गर्छु भनेर जेलनेल खाएकाहरू समाज बदल्नुभन्दा पहिला आफू बदलिन पुगे । अहिले एसियका धनी नेता भनेर नेपालकै एकजनालाई भन्ने गरिएको छ, यदि त्यसो हो भने निजले प्रधानमन्त्री हुँदा पेश गरेको सम्पत्ति विवरण विश्वासयोग्य छ त ? सन्तनेता कृष्णप्रसाद भट्टराईबाहेक अरू सबै लोभानि पापानिमा फसेका छन् । 

मन्त्री पदमा आसीन व्यक्तिले बुझाएको सम्पत्ति विवरणले अविश्वसनीय छ । जनताको खिसिटिउरीका पात्र भएर बस्नुको सट्टा उनीहरूले जनतालाई चित्त बुझ्दो उत्तर दिनुलाई दायित्वबोध गर्नुपर्छ । हालका सरकारका मन्त्रीको हास्यास्पद सम्पत्ति विवरण ढिलो आयो अनि यो जनअपेक्षाबमोजिम पनि आएन । उनीहरूले देखाएको सम्पत्ति विवरणलाई समाजले विश्वास गर्न सकेन । 

सम्पत्ति विवरणको सवालमा तराई मधेशका सबै दलका नेताहरूको बरु तारिफ गर्नुपर्छ, उनीहरूले जहिले र जसरी कमाएको भएपनि विवरण सही दिएका छन् । हिजोका दिनमा पनि मन्त्रीले सिडिओ कुट्नेदेखि एलडिओ थुन्ने तथा महिलामाथि दुव्र्यवहारसम्मका काम गरेका थिए । यस्तै व्यवहारलाई निरन्तरता दिएको भन्न नमिले पनि नैतिकताको संकटको अवस्था यो सरकारमा पनि देखिएको छ । संगठित भएर समाजमा धन्दा चलाउनेहरूलाई कसरी नैतिकताको सीमामा ल्याउने भनेर सरकारले सोच्नेबेला यही हो । 

भर्खरै मात्रै नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको छ जसलाई सम्भावनाको सूर्योदय भनेर व्याख्या गरिन्छ । जनताको मनमा बस्ने हो भने स्थायी समितिमा रहने नेताहरूको सम्पत्ति विवरण सार्वजनिक गरी पार्टीले उच्च नैतिकता प्रस्तुत गर्ने अवसर पनि यही हो ।

कानुनअनुसार ४५ दिनभित्र बुझाउनुपर्नेे सम्पत्ति विवरण ढिला आयो त्यसमा पनि विश्वसनीय ढंगले आएन । कुनै दिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पशुपतिनाथको मन्दिर प्राङ्गणमा गाडी लिएर जाँदा गल्ती गरें भनी ट्विट गरेर उच्च नैतिकता देखाएका थिए । ऊर्जामन्त्री हुँदा जनार्दन शर्मा र उनको टिमले देखाएको सम्भावनाको गोरेटो, सोही मन्त्रालय चलाउँदाको बखतमा गोकर्ण विष्टले देखाएको काम वा लालबाबु पण्डितको अघिल्लो मन्त्रीपरिषद्को काम अनि गगन थापाले प्रारम्भ गरेको स्वास्थ्य मन्त्रालयको आन्तरिक मजबुतिको अभियान यी सबैले जनस्तरमा सकारात्मक प्रभाव पारेका थिए । 

यो परम्परालाई अझै बलियो बनाउँदै जनता, नेता तथा कर्मचारीतन्त्रलाई मर्यादित र नैतिकवान् बनाउने कार्यको थालनी प्रधानमन्त्री र उक्त पार्टीबाटै प्रारम्भ गर्नु उचित हो र यसको प्रारम्भ गर्ने बेला पनि यही हो । यसो भएका खण्डमा नेपालीहरूको उच्च नैतिकतामा गौरव गर्न सकिनेछ ।