17th July | 2018 | Tuesday | 1:35:45 PM

सरकार र दायित्व बोध

हिराबहादुर कार्की   POSTED ON : Monday, 09 July, 2018 (3:29:19 PM)

सरकार र दायित्व बोध

आधुनिक नेपालको इतिहासमा पहिलोपटक मुलुकले जननिर्वाचित बलियो सरकार पाएको छ । बलियो यस अर्थमा कि सरकारको नेतृत्व गर्दै आएको दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग संसद्मा करिब दुई तिहाइ सांसद छन् । दलभित्रका स्वाभाविक र सामान्य असन्तुष्टिलाई विधि सम्मत ढंगले सम्बोधन गर्दै कम्युनिस्ट पार्टीको नेतृत्व अगाडि बढ्ने हो भने यो सरकारले आगामी पाँच वर्षसम्म निर्धक्कसँग काम गर्न पाउनेछ । 

अहिले विपक्षी दल आकार र संख्यामा पनि निकै साना छन्, त्यसैले पनि वर्तमान सरकार शक्तिशाली देखिएको छ । सात दशक लामो राजनीतिक इतिहासमा यो सरकार पहिलोपटक यति सबल र सशक्त पाइएको हो । त्यसैले पनि पहिलोपटक सरकारले पूर्ण कार्यकाल काम गर्न पाउने परिस्थिति देखापरेको छ । लामो समय अस्थिरता बेहोरेका जनतामा एक प्रकारले उत्साह सञ्चार हुनुको प्रमुख कारण पनि मुलुक अब राजनीतिक स्थिरतामा प्रवेश ग¥यो भन्ने नै हो । 

यी सकारात्मक संकेत एकाएक सतहमा आएका होइनन् । राजनीतिक स्थिरताका लागि वर्षौंदेखि जनताले आकांक्षा राखेका भए पनि नेतृत्वमा त्यो सुझबुझ, त्याग र समर्पणको अभावमा जनआकांक्षा सार्थक हुन सकिरहेको थिएन । तर, तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकै मुखमा चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको खाका कोरेर जनताको त्यो आकांक्षा पूरामात्र गरेनन्, मुलुकलाई राजनीतिक स्थिरताको फराकिलो बाटोमा डो¥याउन सफल पनि भएका छन् । दुवै दल मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सातमध्ये ६ वटा प्रदेशमा सरकारको नेतृत्व गरेको छ । 

संघीय संसद्मा पनि यो पार्टीले सशक्त उपस्थिति जनाउँदै केन्द्र सरकारकोे नेतृत्व गरेको छ । पहिलोपटक संघीयताको अभ्यासमा गइरहेका हामी राजनीतिक स्थिरताबिना यसलाई संस्थागत गर्ने र यसको प्रतिफल जनतामा पु¥याउनसक्ने अवस्थामा थिएनौँ । तर, तत्कालीन एमाले र माओवादी केन्द्रको चुनावी तालमेल र पार्टी एकतासम्मको लक्ष्यलाई जनताले अनुमोदन गरेर मुलुकमा वाम गठबन्धनलाई भारी मत दिए । जनताको मतकै आधारमा प्रदेशहरू र केन्द्रमा अहिले सशक्त र प्रभावशाली सरकार छन् जो, संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि बलियो आधार बनेका छन् ।

सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा अघि सार्दै आर्थिक समृद्धिका आधार निर्माण गर्दैछ । नेपालका दुई विशाल छिमेकी मुलुक भारत र चीनसँग समदुरीको सम्बन्ध स्थापित गर्दै दुवै मुलुकले पछिल्लो दशक हासिल गरेको आर्थिक वृद्धि र विकासको फड्कोबाट नेपाललाई समेत लाभान्वित गराउने दिशामा सरकारले पहल थालिसकेको छ । र, यो पहल साकारत्मक रूपमा अघि बढेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले दुवै देशको भ्रमण गरी आर्थिक विकासका लागि देशको हित र चासोमा हुने सहयोग जुटाउने आधार तयार पारेका छन् । मुलुकमा शक्तिशाली सरकार भएकै कारण यो सबै सम्भव भएको हो । लोकतान्त्रिक अभ्यासका नाममा सरकार ढाल्ने र बनाउने खेलको अब अन्त्य भएको छ । अब कसैको दबाब र प्रभावबाट नेपाल मुक्त छ, किनकि नेपालमा बलियो सरकार छ ।

यतिमात्र होइन, विश्वबाटै कम्युनिस्टहरू हट्दै गएको परिस्थितिमा नेपालले विश्व कम्युनिस्ट आन्दोलनलाई नै ऊर्जा दिने गरी उपलब्धि हासिल गरेर देखाएको छ । जनताबाट अनुमोदन भएर झण्डै दुई तिहाई मतका साथ कम्युनिस्टले सरकारको नेतृत्व गरेको घटना विश्व कम्युनिस्ट इतिहासमा अनौठो मानिएको छ । कम्युनिस्ट आदर्श र दर्शनलाई देशकै माटो सुहाउँदो परिमार्जन गरी व्यावहारिकरूपमा लागू गर्नसके जनताले त्यसलाई जीवनपद्धति बनाउन सक्छन् भन्ने तथ्य नेपाली कम्युनिस्ट आन्दोलनले प्रमाणित गरेको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनले निकै उतारचढाव नझेलेको होइन । विभाजन र एकताका उदाहरण पनि छन् । कम्युनिस्ट घटक धेरै भएका कारण पनि विगतमा उनीहरूको भूमिका कमजोर रहँदै आएको थियो । राजनीतिक दल लोकतन्त्रका गहना हुन् । आफ्ना एजेन्डा लिएर जनतामा जाने र जनताले एजेन्डाका आधारमा निर्वाचनमार्फत् अनुमोदन गरेका दलले शासन गर्ने भएकाले नै राजनीतिक दल लोकतन्त्रका लागि गहना मानिएका हुन् ।

तर, नेपालजस्तो सानो मुलुक त्यसमा पनि जातीय तथा भौगोलिक आधारमा समेत राजनीतिक दल खोलिएका कारण विगतमा राजनीतिक अस्थिरताका लागि दलहरूको भीड पनि एउटा कारक बन्यो । भिन्न विचार र आदर्शका आधारमा अलग दल हुनु स्वाभाविक भए पनि ती भिन्नताबीच न्युनतम साझा विचार र आदर्शका आधारमा दलहरू एकीकृत हुनुपर्दछ भन्ने सन्देश एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताले दिएको छ । यस्तो एकताले बलियो राजनीतिक शक्ति निर्माण त गर्छ नै यसका साथै देशलाई समेत राजनीतिक स्थिरतामा लैजान्छ ।

अलग विचार र सिद्धान्त बोकेको अवस्थामा समेत वामपन्थी गठबन्धनका आधारमा न्युनतम साझा विचारमा एक ठाउँ आएका दुई ठूला दल अन्ततः पार्टी एकता गरेरै विश्वलाई दुर्लभ उदाहरण दिन सफल भएका छन् । एकता नै बल हो भन्ने तथ्यलाई आत्मसात गर्दै अन्य कम्युनिस्ट घटक पनि पार्टी एकता प्रक्रियामा सहभागी भई सुखी नेपाली, समृद्ध नेपाल निर्माणको यो महाअभियानमा सहभागी हुने हो भने नेपालमा बल्ल वैचारिक आधारमा दलीय ध्रुवीकरण हुन्छ र राजनीतिक स्थिरताको जग बलियो हुन्छ ।

जनतालाई प्रतिफल दिन सकेन भने शासन पद्धति जस्तोसुकै भए पनि त्यसको सार्थकता रहँदैन । संघीय लोकतान्त्रिक गणतन्त्रकले परिकल्पना गरेको प्रतिफल जनताको घरदैलोमा पु¥याउन सरकारले प्रभावकारी ढंगले कार्य सम्पादन गर्दै जानुपर्छ । बेरोजगारी समस्या, विकास निर्माणमा हुने गरेका ढिलासुस्ती, भ्रष्टाचारजस्ता विविध पक्षमा सरकारले आफ्नो ओजअनुसारकै काम गरेर देखाउन जरुरी छ । 

पार्टी एकताले परिकल्पना गरेअनुसार कार्यकर्ता पंक्तिबीच भावनात्मक एकता कायम गरी देश र जनताका पक्षमा एकजुट भएर सेवा गर्ने हो भने आगामी केही दशक मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेतृत्वदायी भूमिका निर्वाह गर्ने निश्चित छ । तर, यसका लागि नेतृत्व तहमा देश र जनताप्रतिको दायित्ववोध, पदीय लालचमुक्त राजनीति, अस्वस्थ प्रतिस्पर्धा अन्त्य तथा पार्टीभित्रै हुने प्रतिपक्षी भूमिका विसर्जन हुन जरुरी छ । यसो भयो भने नेकपाप्रतिको भरोसा र जनआकांक्षा सार्थक बन्नेछ ।