21st February | 2020 | Friday | 1:01:51 PM

वातावरण र विकास

राजेशमान के.सी.   POSTED ON : श्रावण १७, २०७५ (११:५५ AM)

वातावरण र विकास

वातावरणीय समस्या अहिले विश्व समुदायकै लागि प्रमुख चासो र चिन्ताको विषय बन्न पुगेको । नेपाल पनि यो समस्याबाट अलग रहन सक्ने कुरै भएन । अहिले विश्वव्यापी रूपमा बढ्दै गइरहेको वातावरणीय विनासको स्थितिलाई दृष्टिगत गर्दा साँच्चै अब हामीले वातावरण विनासको चर्चापरिचर्चा गरेरमात्र पर्याप्त हुँदैन । यसको लागि हामीले केही ठोस र प्रभावकारी काम गर्ने बेला आएको छ । 

वातावरणीय विनासको कुरा गर्दा खासगरी बढ्दो हरितगृहको प्रभाव, मरुभूमीकरण, अम्लीय वर्षा तथा वायुमण्डलमा भइरहेको ओजन तहको विनास आदि कारणले विश्वमा वातावरणीय विनासको समस्या जटिल बन्दै गएको छ । अर्कोतिर जनसंख्याको तीब्र वृद्धिदर एवम् वनजंगल फँडानी र यसबाट उत्पन्न जल प्रदूषण, स्थल प्रदूषण, वायु प्रदूषण, ध्वनि प्रदूषण आदि जुन गतिमा बढ्दै गइराखेको छ त्यसले गर्दा विशेष गरी नेपालजस्ता तेस्रो विश्वका मुलुकहरू वातावरणीय विनाशको समस्याबाट सबैभन्दा बढी ग्रसित हुन पुगेका देखिन्छन् । 

वातावरणीय विनासको यो संकटको स्थिति निम्त्याउनमा मूलतः हामी मानवजाति नै बढी जिम्मेवार छौँ । त्यसैले बढ्दो वातावरणीय विनास अरू जटिल बन्न नदिने मुख्य अभिभारा पनि हामी मानव जातिकै हो ।  

नेपालको सन्दर्भमा पनि अहिलेको सबैभन्दा प्रमुख र जल्दोबल्दो समस्या वातावरणीय विनास नै हो । नेपालका कतिपय सहरी क्षेत्रहरू र त्यसमा पनि महानगरपालिकाको जामा पहिरेको राजधानी काठमाडौं अहिले वातावरणीय समस्याबाट सबैभन्दा बढी ग्रसित भएको छ । देशका विभिन्न भागहरूबाट आप्mनो व्यावहारिक समस्याको सिलसिलामा र कामको खोजीमा आउने मानिसहरूको ठूलो जमात, बढ्दो सवारी साधनहरूको तुलनामा ट्राफिक व्यवस्थापनको अपर्याप्तता, फोहरमैला निष्काशनसम्बन्धी उचित व्यवस्थापनको कमी आदि कारणहरूले गर्दा काठमाडौंको वातावरणीय स्थिति दिन प्रतिदिन दयनीय बन्दै गएको छ ।  

काठमाडौंको उपत्यकाको जनसंख्या अहिले २५ लाखभन्दा माथि छ ।  बढ्दो जनघनत्वको परिणामस्वरूप काठमाडौं उपत्यकाको लागि अहिले फोहर निष्काशनको व्यवस्था पनि प्रमुख समस्याको रूपमा रहेको छ । विशेष गरेर प्लास्टिक तथा पोलिथिन झोलाको अत्यधिक प्रयोग, ढल निकासको उचित व्यवस्थाको अभाव, सडक र गल्लीहरूमा जथाभावी फोहर फाल्ने प्रवृत्ति र फोहर फाल्ने डम्पिङ साइटकै अस्पष्टताले गर्दा काठमाडांैको वातावरण दिन दुगुना र रात चौगुना प्रदूषित बन्दैछ ।  

त्यस्तै भौतिक पूर्वाधारहरूको ख्यालै नगरी जथाभावी किसिमले घर निर्माण गर्ने परिपाटीले कुनै बेला सुन्दर र ऐतिहासिक नगरको रूपमा परिचित काठमाडौं उपत्यका अहिले बसोबासकै लागि अनुपयुक्त थलोमा परिणत हुन खोजेको प्रतीत भइरहेको छ । राजधानीका खाल्डाखुल्डी र उचित मर्मत हुन नसकेका सडकहरूमा गुड्ने झण्डै पाँच लाखको हाराहारीमा रहेका सवारी साधनको संख्याले उत्पन्न गरेको वायु प्रदूषणले स्वच्छ हावामा सास फेर्नु अब हाम्रो लागि एक किसिमबाट दुर्लभ भइसकेको छ । 

यस प्रकारको प्रदूषित वायुका कारण टाउको दुख्ने, जीउ भारी हुने, शरीरको छाला फुस्रो हुँदै जाने, हातगोडा फुट्ने, कब्जियत हुने, श्वासप्रश्वास सम्बन्धी कठिनाइ हुने र अपच जस्ता रोगहरू उत्पन्न हुने गर्दछन् । प्रदूषणयुक्त जमिनमा उब्जेका खाद्य पदार्थको सेवनले पनि पेट दुख्ने, हेपटाइटिस आदि जस्ता रोगहरू लाग्ने प्रबल सम्भावना रहेको कुरा स्वास्थ्य विशेषज्ञहरू बताउँछन् । त्यसैगरी प्रदूषणको कारण पानीमा क्षार, फलाम, तामा आदि जस्ता तŒवहरू अधिक मात्रामा मिसिने हुँदा त्यस्तो पानी पिउने गर्नाले अनेकौं घातक रोगहरू उत्पन्न हुने गर्दछन् । झाडापखाला, आउँ, कमलपित्त, हेपटाइटिस आदि मूलतः प्रदूषित पानीकै कारण लाग्ने रोगहरू हुन्् । 

ध्वनि प्रदूषणको लागि पनि राजधानीका साँघुरा सडक गल्लीहरूमा गुड्ने मोटर  गाडीहरूमा बजाइने चर्को र अनावश्यक हर्न नै प्रमुख कारकका रूपमा रहेको देखिएको छ । हुन त अहिले ट्राफिक कार्यालयले जथाभावी हर्न बजाउन नपाउने व्यवस्था गरेको छ । सहरका विभन्न स्थानहरूमा हर्न बजाउन निषेध गरिएको ब्यानर टाँगिएको पनि देख्न सक्छौँ । तर, ट्राफिकले लागू गरेको यो व्यवस्था पनि त्यति प्रभावकारी रूपमा कार्यान्वयन हुन सकिरहेको देखिँदैन । बरु ट्राफिकले टाँगेको ब्यानरकै मुनिबाट ठूलाठूला आवाजले हर्न बजाउँदै गाडी र मोटरसाइकलहरू हुइँकिएका हुन्छन्  । 

अर्कोतर्फ विभिन्न उद्योग एवं कलकारखानाहरूमा जडित यन्त्रहरूको कर्कश आवाज तथा विभिन्न भोजभतेर एवं वैवाहिक समारोहहरूमा ¥याप म्युजिक र ज्याज म्युजिकको नाममा बजाइने चर्को आवाज पनि ध्वनि प्रदूषणको लागि कम जिम्मेवार छैनन् । विशेषज्ञहरूका अनुसार चर्को ध्वनिले मानव शरीरको रक्तसञ्चार प्रणाली, श्वासप्रश्वास प्रक्रिया, मांसपेशी, पाचन क्रिया आदिमा प्रतिकूल असर पु¥याउँछ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार ध्वनि प्रदूषणको सबैभन्दा प्रमुख असर मानिसको श्रवण शक्तिमा पर्ने गर्दछ । 

स्मरण रहोस् ७५ डेसिबलसम्मको ध्वनिले मानसिक चिडचिडाहट पैदा गर्ने र १२५ डेसिबलसम्मको ध्वनिले मानिसको दृष्टि शक्तिसमेत क्षीण तुल्याउने गर्दछ । जब कि विश्व स्वास्थ्य संगठनका अनुसार सुरक्षाको दृष्टिकोणबाट दिउँसोको अधिकतम ध्वनि ५५ डेसिबल र रातिको अधिकतम ध्वनि ४५ डेसिबलभन्दा बढी हुनु हुँदैन । 

त्यसैले वातावरणीय विनासको यो समस्या अरू जटिल हुन नदिन विभिन्न अल्प र दीर्घकालीन उपायहरूको अवलम्बन गर्नु आवाश्यक भइसकेको छ । यसको लागि सर्वप्रथम त जनसंख्याको वृद्धिदरको व्यवस्थापन हुनुप¥यो । साथसाथै वनविनासको रोकथाम, बढ्दो धुवाँयुुक्त सवारी साधनको नियन्त्रण र सोको ठाउँमा विद्युत र ब्याट्रीबाट सञ्चालित सवारी साधनको प्रयोग, आधुनिक प्रविधियुक्त ट्राफिक व्यवस्थापन प्रणाली, औद्योगिक प्रदूषण नियन्त्रण, नियमित एवं प्रभावकारी रूपमा वायुको गुणस्तर निरीक्षण एवं वातावरणसम्बन्धी शिक्षा र जनचेतनाको विकासमा जोड दिनु पनि उत्तिकै आवश्यक छ । तथापि वातावरण संरक्षणका लागि यी प्रयासमात्र पनि पर्याप्त हुन सक्तैनन् । 

राज्यले आप्mना नागरिकहरूलाई प्रदूषित वातावरणको चपेटाबाट मुक्त राख्न अन्य ठोस र प्रभावकारी कदमहरू चाल्नु आवश्यक छ । यसका लागि विद्यमान वातावरण संरक्षणसम्बन्धी ऐन नियमहरू आवश्यकताअनुसार परिमार्जन गरी दृढतापूर्वक कार्यान्वयन गर्नसक्नु पर्दछ । सबैभन्दा महŒवपूर्ण कुरा वातावरणीय विनाश रोकथामको प्रयास राजधानीमा मात्र केन्द्रित नगरी मुलुकका अन्य प्रादेशिक क्षेत्रहरू र त्यसमा पनि विशेषगरी औद्योगिक सहरहरूमा वातावरण स्वच्छ राख्ने काम प्राथमिकताका साथ अघि बढाउनु आवश्यक छ । 

वातावरणविद्हरू लगायत अन्य सरोकारवालाहरूले समेत बारम्बार जोड दिँदै आइरहेको एउटा मननीय र महŒवपूर्ण पक्ष हो वातावरण र विकासबीचको सन्तुलन । वास्तवमा वातावरण र विकास एउटै सिक्काका दुई पाटा हुन् । त्यसैले सिक्काका यी दुई पाटालाई एक अर्कोसँग अलग राखेर हेर्न मिल्दैन । अर्थात् वातावरण र विकासलाई एक अर्काको प्रतिद्वन्द्वीको रूपमा नलिई परिपूरकको रूपमा अंगीकार गर्नुपर्छ । होइन भने आज जुन भौतिक विकासलाई लिएर हामी गर्व गरिरहेका छौँ, भोलि त्यही भौतिक विकास हामी मानवजाति विनासको प्रमुख कारण पनि बन्न सक्छ ।  

यस किसिमको समस्या अहिले कतिपय स्थानहरूमा सडक लगायतका विभिन्न पूर्वाधार निर्माणको क्रममा देखिन थालेको छ । त्यसैले यसतर्फ राज्यको जिम्मेवार निकाय र सम्बद्ध सरोकारवालाहरूले ध्यान पु¥याउने बेला आइसकेको छ ।



Views: 90

सम्बन्धित सामग्री: