10th April | 2020 | Friday | 1:38:19 PM

कुरा समृद्धिका

सृजना शर्मा   POSTED ON : श्रावण १८, २०७५ (१२:०४ PM)

कुरा समृद्धिका

प्रकृतिले सुन्दरता खन्याउन कुनै कन्जुस्याइँ गरेन नेपाललाई । विश्वका अग्ला दश हिमशृंखलामध्ये आठ वटा आफूभित्र लिएर टलक्क टल्किएको देश हो यो जसलाई अथाह जल भण्डार प्रदान गरेको पनि छ प्रकृतिले । फलस्वरूप विश्वमै जलस्रोतमा दोस्रो धनी देश हुन पुग्यो नेपाल । त्यतिमात्र नभई दुर्लभ जडिबुटीको र बहुमूल्य रत्नहरूको देश पनि हो नेपाल । 

सत्र वर्षअघि दोलखाको सदरमुकाम चरिकोट एकाध वर्ष बस्ने संयोग मिलेको थियो । यसपूर्व नेपालको वास्तविक पहाडी जीवनसँग त्यति नजिक हुने मौका मिलेको थिएन । त्यस समय कोटेश्वरबाट पूर्व लागेपछि दुई लेनको अरनिको हाइवे सुनसान देखिन्थ्यो । राजमार्गमा खेत र कान्ला अनि केही घर देखिन्थे । अघि बढ्दै जाँदा धुलिखेल र बनेपा बजारमा झुरुप्प घर देखिन्थे । खाडीचौरबाट उकालो जाँदैगर्दा चैतको महिना भएकाले बाटामा डाँडाभरि लालीगुराँस फुलेको दृश्य अत्यन्त मनमोहक लाग्यो । डाँडै ढकमक्क फुलेको देखिन्थ्यो । डाँडामा पनि फुल्न सक्ने, मुस्काउन सक्ने अनि रुखभरि फुल्ने र डाँडा नै सजाउने भएर लालीगुराँस राष्ट्रिय फूल बनेको रहेछ भन्ने लागेको थियो । 

चरिकोट पुग्नै लाग्दा हिउँको सेतो घुम्टोले छोपिएको चाँदीझैँ टलक्क टल्किने गौरीशंकर हिमाल देखिन्थ्यो । गौरीशंकर हिमालको काखमा रहेको सुन्दर चरिकोट बजारमा बत्तीको सुविधा त पुगेको रहेछ तर बाटोमा भने कतै पनि बिजुली नहुँदा अँध्यारो हँुदै गएपछि पुरै गाउँ निस्पट्ट हुन्थ्यो । प्रकृतिले सुन्दर बनाएको चरिकोटलाई विकासले भने छुन सकेको रहेनछ । बाटोघाटो, पुलपुलेसा, शिक्षा, स्वास्थ्य आदि सबै क्षेत्रमा कमजोर रहेछ चरिकोट । यो सम्पूर्ण नेपालकै प्रतिनिधि हो जस्तो लाग्यो । 

मेरो बसाइकै क्रममा मैले त्यसबेला एस एल सीको तयारीका लागि चरिकोटमा कोठा लिई बसेका दुई भाइलाई भेटेकी थिए । परीक्षा केन्द्र चरिकोट परेकाले एक महिनालाई कोठा लिएर बस्नु उनीहरूको बाध्यता रहेछ । घर र परीक्षाकेन्द्र पाँच घण्टाको पैदल दुरीमा हुनु, दिनमा जान र आउन १० घण्टा खर्चिनु पर्ने भएपछि डेराको विकल्प थिएन उनीहरूसँग ।

उनीहरू प्रतिनिधि पात्र मात्र थिए । उनीहरू जस्ता धेरै विद्यार्थी सालैपिच्छे यही नियति भोगिरहेका थिए तर यसरी डेरा गरी एसएलसी दिने छात्र नै धेरै हुन्थे । कैयौं छात्राहरू पढ्ने अभिलासा हुँदाहँुदै पढाइमा पूर्र्णविराम लगाउन वाध्य हुन्थे । दुईघण्टा टाढाको विद्यालयलाई उनीहरू नजिकै ठान्थे । 

जाँदा आउँदा चार घण्टा हिँडेर पढ्नु कत्रो कष्टको काम हो तर उनीहरू त्यसरी नै पढेर एसएलसीसम्म पुगे । धेरैका लागि यो सम्भावनाबाहिरको कुरो पनि थियो । शिक्षाको उज्यालो घामबाट कोही पनि वन्चित हुन नपरोस् भन्नेहरू त्यो नारालाई साकार पार्न सकिरहेका थिएनन् ।  देशको मेरुदण्ड हो शिक्षा, बालबालिकाको नैसर्गिक अधिकार हो भन्ने सोचको विकास गर्न न सरकारलाई हतार देखियो न अरूलाई नै ।

दोलखाका थामीहरू पढाइमा अरूभन्दा पछाडि थिए । चौध वर्षकी किशोरी त्योभन्दा दोब्बर उमेका जस्ता देखिन्थे । उनीहरूका उमेरका शहरका बालिकाहरू आमाले पकाएको खाना खान्थे  र स्कुल जान्थे तर उनीहरू भने  गाउँको उकाली ओरालीमा घाँस दाउरा गर्दै घरको सबै कामधन्दा भ्याएर भाइबहिनीलाई पनि ख्वाएर आमालाई काम सघाउँथे । विद्यालय उनीहरूका लागि सपना थियो ।

उनीहरूसँग नुन तेल किन्ने पैसा मुस्किलले जोहो हुन्थ्यो । उनीहरूले वर्षमा एकजोर लुगा जेनतेन किन्ने गरेका थिए । उमेरभन्दा दोब्बर देखिने अनुहार, पुरानो फाटेर सिलाएको मैलो लुगा गोडाभरि मयल हुन्थ्यो । जुत्ताचप्पलबिहीन पटपटी फुटेका पैताला यी उनीहरूका नियति थिए । समाजमा व्याप्त गरीबी र अशिक्षाको आभासले पिडीत थिए उनीहरू ।  

मीठो दालभात खाने, वर्षमा एक जोर लुगा किन्ने, पैतालामा चप्पल लगाउने र स्कुल जाने रहर थियो उनीहरूलाई  । यहाँका यी बालबालिका प्रतिनिधि पात्र मात्र हुन् यस्ता धेरै बालबालिका यहाँ थिए र नेपालभरि नै पनि छरिएका थिए । खाजीपसे अझै पनि भेटिएलान् । आफ्नो बालापन बुझ्न नपाउँदै यहाँका केटीहरू विवाह गरेर जान्थे र यौवन बुझ्न नपाउदै बुढी हुन्थे । बालअधिकारका कुरा सहरमा मात्र गरिन्छ तर दुर्गमा बेखबर छन् उनीहरू । स्वास्थ्यको क्षेत्रमा पनि त्यतिकै पछि छ गाउँ । सामान्य बिमारी हुँदा पनि त्यहाँबाट काठमाडांै नै आउनुपर्ने बाध्यता थियो र अहिले पनि छ । त्यसैले हुनेखाने त्यहाँका मान्छे काठमाडौं बसोबास गर्छन् । सत्र वर्षमा सरकार कैयांै पटक फेरिए । प्रधानमन्त्रीका अनुहारहरू फेरिए तर गाउँको मुहारमा खुशी फेरिएन ।

कतै कतै निजी स्कुल र अस्पतालहरू बनेका छन् तर ती त्यति प्रभावकारी छैनन् । यातायातमा पनि सुलभता छैन । कहिले होला समृद्ध नेपाल यो कल्पनाको विषय जस्तो बनेको छ । विकास पर्खिरहेको छ नेपाल र समृद्धि पर्खिरहेका छन् नेपाली । संविधानसभाबाट नयाँ संविधान बन्यो । चुनाव भयो । स्थानीय तह र प्रदेश हुँदै केन्द्रसम्म तीन तहका सरकार बनेका छन् । तीनै तहका सरकारले एक स्वरमा समृद्धिको नारा लगाएका छन् । जनतालाई समृद्धिको आशा देखाएका छन् । ती दूरदराजका गरिबदुखी नेपालीका घर आँगनमा समृद्धि कहिले पुग्ने होला ¤ दोलखामा ती गाउँहरूजस्ता कति गाउँ होलान् देश भरमा जहाँ आज पनि शिक्षा र स्वास्थ्यको अँध्यारो होला । 


Views: 75

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)