10th April | 2020 | Friday | 2:13:48 PM

जगमोहनको शिक्षामोह

रमा लुइँटेल   POSTED ON : श्रावण १९, २०७५ (३:२२ PM)

जगमोहनको शिक्षामोह

घन्टी लाग्यो । शिक्षकहरू कक्षामा गए । कक्षा सुरु भएपछि उनी प्रत्येक कक्षाको बाहिरपट्टि एकछिन टक्क अडिँदै घुमे । उभिएरै एकछिन शिक्षकलाई सुने । विद्यार्थीको अनुहार पढे । 

उनी प्रत्येक बिहान चापागाउँस्थित बज्रबाराही माध्यमिक विद्यालय पुग्छन् । शिक्षक भेट्छन् । विद्यार्थीहरूसँग भलाकुसारी गर्छन् । विद्यालयको उन्नति र प्रगतिका लागि चिन्ता र चिन्तन समेत गर्छन् । बिहान ४ बजे उठ्छन् र साढे ६ बजेसम्ममा नित्यकर्म पूरा गरिसक्छन् । टेलिभिजन च्यानलमा प्रसारण हुने आध्यात्मिक र योगसँग सम्बन्धित कार्यक्रम हेर्न छुटाउँदैनन् । चापागाउँका यी ज्येष्ठ नागरिक हुन् जगमोहन मेयर कायस्थ । बिहानका लागि उनको अर्को रुटिन पनि छ इच्छुक युवाहरूलाई संगीत सिकाउने । 

उमेरले ८२ वर्षका यी ज्येष्ठ नागरिकको ऊर्जा देखेर प्रभावित नहुने कमै होलान् । इस्टकोटको बगलीमा मोबाइल फोन अक्सर बजिराख्छ । कहिले निःशुल्क स्वास्थ्य शिविरको निमन्त्रणाका लागि त कहिले कुनै अर्को सामाजिक कामका लागि । कुराकानी मैले भेटेको एक घण्टाको समयमा उनको मोबाइल धेरै पटक बज्यो । ती कुनै पनि फोन व्यक्तिगत कामका लागि थिएनन् । यसैबीच उनले भने, ‘तीन चार जनाको मुटु फेर्न सहयोग गरेँ ।’ यो भनाइले मेरो कौतुहलता जाग्यो । मैले केही सोध्न नपाउँदै जगमोहनले नै प्रष्टीकरण दिए, ‘मुटुको भल्ब फेर्नुे पर्ने रहेछ ।’ किताब किन्न सकिनँ भन्नेलाई उनी कि त आफैँ किताब किनिदिन्छन् कि त कुनै मनकारी खोजिदिन्छन् । 

थरसँगका रमाइला प्रसंग 

केशवमेयर कायस्थ र मोहमाया डंगोलको जेठा छोरा जगमोहनसँग नाम र थरसँग सम्बन्धी थुपै्र प्रसंग छन् । धेरै वर्षसम्म उनले बाबुले राखिदएको नाम जगमोहनपछि उनले डंगोल थर लेखे । नागरिकता प्रमाणपत्र लिन सरकारी अड्डा पुगेका उनलाई कर्मचारीले नाम पछाडि बाबुकै थर लेख्नुपर्छ भने । कर्मचारीले अनेक कारण देखाएपछि जगमोहन बाबुको थर लेख्न मन्जुर भए । ‘मेयर’ उनको पारिवारिक नाम रहेछ । बा, बाजेको नामसँग ‘मेयर’ जोडिएकाले उनले पनि आफ्नो नाममा ‘मेयर’ जोडेका रहेछन् । 

चापागाउँमा जन्मिएका जगमोहन रेडियो नेपालमा गीत गाउन गएका थिए । उनी नाम लेख्दा थर लेख्दैन थिए । ‘जगमोहन मेयर’ नै उनलाई पूरा लाग्थ्यो, लामो पनि लाग्थ्यो । नाम छोटकरीमा लेख्न अनुमति माग्दै ‘जगमोहन वामी’ लेखे । नेवारी शब्द वामीको अर्थ हो, चापागाउँ । नेवारी नै किन रोजे त उनले ?  ‘नामसँगै आफ्नो गाउँको नाम समेत आओस् भनेर,’ वामी राख्नुको कारण खुलाउँदै भने । नेपाली र नेवारी दुबैमा स्वर परीक्षा दिएका जगमोहन नेपालीमा भन्दा नेवारीमा अब्बल ठहरिए । उनले नेवारीमा धेरै गीत गाए । 

जगमोहन एउटा गीत गाएको १० रुपैयाँ पाउँथे । घर फर्कंदा बाटोभरि शुभेच्छुक र प्रशंसकले दिने स्याबासी त अमूल्य थियो । उनी त्यसलाई न शब्दमा व्याख्या गर्न सक्छन् न त त्यसलाई रुपैयाँमा रूपान्तरण गर्न । त्यो बेला सबैको घरमा रेडियो सेट हुँदैन थियो । जगमोहनले गाएको गीत सुन्न रेडियो हुनेहरू टोलको चोक, फलैँचामा रेडियो लिएर आउँथे । आफूलाई त्यतिबेला चर्चित बनाएको एउटा गीत उनी अहिले पनि सम्झन्छन् । नेवारी भाषाको त्यो गीतको उनले नेपाली भाषामा अर्थ लगाए । ‘झिलिमिली माला लगाउन १५ दिन बाँकी छ, .... म मेरो बिहेमा पञ्चैबाजा घन्काउँछु’ । आफ्नो बिहेको कल्पना गरिएको यो गीत बालबालिका, युवा, प्रौढ सबैको मुखमा भुण्डियो । सांस्कृतिक भाव भल्किएको यो गीत गाउँदा जगमोहन गौरवान्वित भए । आफ्नै स्वर, संगीत र शब्दको यो गीतले उनलाई गीत संगीतको क्षेत्रमा विशेष उचाइ दियो । 

बज्रबाराहीसँग साइनो 

धादिङमा प्राथमिक शिक्षक, चापागाउँमा किराना पसलका साहुजी हुँदै शिक्षासेवी, समाजसेवी हो जगमोहनको परिचय । जगमोहनको बज्रबाराही माध्यमिक विद्यालयसँग अनौठो साइनो छ । शिक्षा कार्यालयमा कार्यरत हरिहरमान कमाचार्य उनका निटकका थिए । जगमोहनले बज्रबाराहीलाई हाइस्कुल बनाउन सहयोगको अपेक्षा उनलाई सुनाइ राख्थे । गाउँको विद्यालय हाइस्कुल नभएकोमा चिन्तित देखिएका जगमोहन हरिहरमानको सिफारिसमा व्यवस्थापन समितिको सदस्यमा नियुक्त भए । त्यतिखेर सदस्य नियुक्ति पत्र शिक्षा कार्यालयबाट नै दिइन्थ्यो । जगमोहनले बज्रबाराही स्कुलमा आफ्ना सन्तान पनि भर्ना गराएका थिए । उनी विद्यालयको प्रगतिका लागि अझै प्रतिबद्ध भएर लागे । हाइस्कुलमा स्तरोन्नतिको स्वीकृतिका लागि उनले ताकेता गरिराखे । 

निरन्तरको ताकेतापछि कक्षा थपका लागि विद्यालय कक्षाकोठा अपुग देखियो । कक्षाकोठा थप्न गरेको प्रयासको उनले फेहरिस्त लगाए । बज्रबाराही वनबाट दाउरा ल्याएको, मानापाथी अन्न सहयोग उठाएको, कम मूल्यमा इँटा ल्याएको यस्तै यस्तै प्रसंग उनले सुनाए । चापागाउँका नाम चलेका व्यापारीसँग विद्यालय निर्माणका लागि लिएको आर्थिक सहयोगको सन्दर्भ सुनाउँदा उनी केही भावुक देखिए । त्यतिखेर उनले ती साहुजीलाई यस्तो भनेको रहेछन्, ‘वरपरका सबै विद्यालय हाइस्कुल भइसके किटनीको, ठेचोको । चापागाउँको चाहिँ हुन सकेन, यो त हाम्रो लागि पनि लाजको विषय भयो, तपाईं कति सहयोग गर्नुहुन्छ विद्यालयलाई, तपाईंले गरेको भन्दा एक रुपैयाँ कम गर्छु म ।’ यस्तो प्रस्ताव सुनेर केही बेर गम खाएका ती व्यापारीले एक हजार ५०० रुपैयाँ सहयोग गर्ने वचन दिए । पन्ध्र सयमा १ रुपैयाँ कमको नगद विद्यालय निर्माणका लागि जगमोहनले दिए । अहिले जस्तो कहाँ हो र ¤ त्यो बेलाको तीन हजार रुपैयाँको मूल्य नै निकै ठूलो थियो । उनी त्यो रुपैयाँले धेरै काम पूरा भएको सम्झन्छन् । कक्षा ८ को स्वीकृति पाएपछि चापागाउँका बासिन्दाले खुशीले दीपावली गरेका थिए । अहिले विश्वविद्यालयको स्वीकृति पाउन सजिलो छ, त्यतिबेला कक्षा ८ को स्वीकृति लिन त्यति गाह्रो थियो । निरन्तरको प्रयासले २०३३ सालमा बज्रबाराही स्कुलले ८ कक्षा पढाउने स्वीकृति पायो । यसपछि क्रमशः माध्यमिक कक्षा थपिँदै गयो । बज्रबाराही माध्यमिक विद्यालयका विद्यार्थी २०३६ सालमा एसएलसी परीक्षामा सामेल भए । अहिले देशभरका उत्कृष्ट ६० वटा प्लस टु मध्ये बज्रबाराहीको एक हो । 

आजकाल यो विद्यालयमा प्लस टुमा विज्ञान, व्यवस्थापन र मानविकी विषयको अध्यापन हुन्छ । स्नातक तहमा बीबीएस समेत पढाइ हुन्छ । यो विद्यालयले विद्यालयहरूमध्ये आफ्नै मान र प्रतिष्ठा कायम गर्न सकेकोमा जगमोहन प्रफुल्लित छन् । आफू र आफ्नो अभियानलाई साथ दिनेले हालेको जग मजबुत बनाउन सहयोग गर्नेप्रति उनी साधुवाद भन्छन् । यसरी आफू लागेर बनाएको विद्यालय एक दिन नपुग्दा उनलाई ठूलै काम छुटेको जस्तो हुन्छ । भन्छन्, ‘एक दिन स्कुल गइनँ भने मलाई त्यस रात निद्रा लाग्दैन ।’

देवी समानकी आमा 

जगमोहनलाई बाबुले सधैँका लागि छोडेर जाँदा उनी दश वर्षका मात्रै थिए । बाबुको निधन हुँदा रुन समेत आएन । त्यो उमेरले बाबुको मृत्युलाई समेत सामान्य रूपमा लिएको उनी बताउँछन् । भन्छन्, ‘मृत्यु पछि त मान्छे कहिल्यै नफर्कने पो रहेछ, पछि पो थाहाँ पाएँ ।’ बाबुलाई पेटको ट्युमर थियो । उपचारका लागि पटना लानुपर्ने थियो । हुन त साहु परिवारका जन्मिएका हुन् जममोहन । तर बिरामी परेका बाबुले कमाउन सक्ने कुरै भएन । अंशबण्डा भएको थिएन । घरमा गरिबी थियो । जुत्ता लगाउन सक्ने अवस्था थिएन । बाबुले निधन हुँदा जगमोहनका महिला भाइ सात वर्ष, साहिला तीन वर्ष र कान्छो भाइ चार महिनाका थिए । उनी आफ्नी आमालाई देवीको उपमा दिन्छन् । पुरुषार्थी भन्छन् । आमाको प्रसंशा गर्छन् । आमाले बाबुको अभावको अनुभव हुन दिइनन् । सबै जिम्मेवारी लिइन् । 

बाबु बितेपछि जगमोहनले पढ्न स्कुल जाने इच्छा आमालाई सुनाए । आमाले उनलाई चापागाउँमा खोलिएको संस्कृति पाठशालामा भर्ना गरिदिइन् । गुरु र अरू धेरै चेलाहरू ‘पर्वते’ थिए । जगमोहनलाई नेवारीबाहेक अर्को भाषा बोल्न आउँदैन थियो । पाठशाला गएको सुरुका दिनहरूमा त उनलाई पानी–पिसाबका लागि बाहिर निसक्ने आज्ञा माग्नसमेत कठिन भयो । तीक्ष्ण स्मरणशक्तिका जगमोहन शौचालय जानेले के भन्दा रहेछन् भन्दै कान थाप्न थाले । साथीहरूले बोलेको सुनेर उनले भाषा टिपे । 

जगमोहनले नेपाली साँवा अक्षर बाबुसँग घरमै सिकेका थिए । तीन वर्ष संस्कृत पाठशालामा पढ्दा नेपाली राम्रोसँग बोल्न सक्ने भए । नेपाली अक्षर राम्रोसँग लेख्न र पढ्न सक्ने भएपछि उनले चाणक्य नीति पढ्न सुरु भएको थियो । यसपछिको पढाइ उज्ज्वल प्रौढ भन्ने विद्यालयबाट सुरु भयो । उनी त्यस्तै कक्षा ७ तिर पुगेका हुँदा हुन्, विद्यालय नै खारेज भयो । अर्को विद्यालयमा पढ्न जानुपर्ने कुरा आमालाई भने । परिवारको आर्थिक अवस्था दयनीय थियो । किताब किन्न नसकेपछि उनको पढ्ने धोकोमा पूर्णविराम लाग्यो । 

त्यसपछि उनले निर्णय गरे, भाइलाई पढाउँछु । पछि छोराछोरीलाई पढाउँछु । अरूका छोरा छोरी र भाइबहिनीको शिक्षाका लागि जीवन समर्पित गर्छु । 


Views: 389

सम्बन्धित सामग्री:

साइनोको पीडा

राजेश अधिकारी : चैत्र २७, २०७६ (२:०० PM)

सरकार मानवता खै ?

सन्दिप लुईटेल : चैत्र २३, २०७६ (३:३३ PM)